हेटौंडा -९, मकवानपुरका कवि डीबी बर्तौला शिक्षण पेशासग आवद्व हुनुहुन्छ । साहित्य सङ्गम मकवानपुर अध्यक्ष र मुक्तक मञ्च मकवानपुर संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँ मुक्तक,कविता ,गजल,गीत,निबन्ध कथा लेेखनमा क्रियाशील हुनुहुन्छ । मस्तिष्क र हृदयका समायोजनबाट लेखिएका यी कविताहरु मान्छेलाई मान्छे नै भएर बाँची रहन अपिल गरेका छन् । प्रस्तुत छ साताको तीन कविता ।

 म तिम्रो साथमा छु

कतिन्जेल ओइलिएर बस्छौ ?

कतिन्जेल धमिलिएर बस्छौ ?

फुत्की सक्यो समय तिम्रो हातबाट

चुडी सक्यो अवसरका डोरीहरु

तिमी भने चुपचाप चुपचाप शान्त छौ……

त्यही शान्त स्वभावमा म निराशाका बादलहरु सलबलाएको देख्छु।

तिमी कमजोर होइनौ

तिमीमा आलस्यताका रङ्गहरु कदाचित थिएनन्

तिमी त युग हाँक्न सक्ने महायोद्धा थियौ

भन कसरी मुर्झायौ  अनि यसरी सेलायौ

आशाका दियाहरु निभेकै हो त ?

आस्था टुटेर गएकै हो त ?

 

उज्यालिएको त्यो तिम्रो अनुहार आज पनि झझल्को आउँछ

त्यो तिम्रो आटुट साहस

तिम्रो गन्तव्यप्रतिको चाह

यतिबिघ्न उत्साहले भरिएका तिम्रा ती कान्तिप्रिय अनुहार

आज कता हरायो ?

तिम्रा पदचापहरु आफ्नै सपना भेट्न आतुर हुन्थ्यो

भन प्रिय मित्र केले तिमी अल्झियौ ? केले यसरी हिर्कायो?

कसरी तिमी रसबिनाको फुल भयौ ?

म तिम्रो सम्भावनाहरु मर्दै गरेको कसरी टुलुटुलु हेरूँ

तिमीमा भएका किरणहरु

धुमलिएको कसरी नियालूँ

आत्मीय मित्र तिम्रा सपनाहरु तुइँदै गरेको दृश्य

कसरी मुक दर्शक भइ हेरी रहूँ

तिमीलाई अभावको पीडाले हिर्काए होलान्

समस्याका पहाडहरु तिम्रै जीवनमा पहिरो बनी खस्यो होला

दु:खरुपी हम्मरले ट्वाङट्वाङ हानेर तिमी शिथिल भयौ होला

धोकाहरुको साङ्लोमा बेरियौ  होला

आफ्नाले पिधमा पुग्ने गरी पछारी दिए होलान्

तिमीलाई चोट माथि चोट थप्नेहरु

हरबखत तिम्रो आँसु देखेर हासे होलान्

जेजे जस्तोसुकै बद्लाव आए तापनि

तिमी हिजोको भन्दा विल्कुल अर्कै भएछौ

अलिकति साहस मुठ्ठीमा बोकेर तिमी धैर्यताको बाँध बाधेर

आशाको ज्योति जगमगाएर

बदला होइन बदलिएर नअत्तालिकन अगाडि बढ

अफ्ठ्यारोमा मलाई खोज म तिम्रो साथमा छु ।

 बुङ्दल झरना 

त्यो –

निश्चल,स्निग्ध पहराको छातीमा ठोक्किएर

निरन्तर आफ्नै बहावमा झरी रहने बुङ्दल झरना

तनलाई छोएर मनलाई लोभ्याएर थकानलाई मेटी दिने

तिमी अदभूत , अलौकिक छौ

जङ्गलको बिचमा कठोर पत्थरको छातीमा

बुङ्दलको लयात्मक स्पर्शले

लोभ्याई दिन्छ आँखालाई

तातिएको शरीर र थाकेका गोडाहरुलाई

बुङ्दलको कञ्चन बहावभित्रबाट बहने त्यो शितल पवनले

आनन्दको गहिराइमा पुर्‍याउँछ

नजिकैको कलकल बग्ने नदीको सुरम्य धुनले

कानलाई तृप्त पार्छ……

बडेमाको चट्टानमा पसिना ओभाएर

आँखाहरुलाई बुङ्दलको कलाभरि नचाउन पाउँदा

हर्षविभोर भएका छौँ।

प्रकृतिको यो प्राकृत कलाले प्रकृतिकै काखमा रम्न

उत्प्रेरित गरी रहेछ।

साँच्चै रुसोले त्यसै भनेका होइनन् रहेछ प्रकृतितिर फर्क ।

 

खुसीवाला मान्छे

हिटलरमा आनन्द थियो?

ट्रम्प खुसी छन् त ?

मोदी खुसी होलान् ?

सत्ता र शक्ति खुसी हुन्छ?

कदाचित हुँदैन ……..

रमझम देखाउनलाई

खुसीको लेप हाल्न सक्छन्

सुरक्षाको घेराभित्र हाँस्न सक्लान्

सायद यस्तै यस्तै व्यक्तित्वहरु

सम्पन्नताको नाममा

शक्तिको आडमा  खोक्रो भएका छन् ।

निस्सार निरस जीवनको यात्रा

कृत्रिमताको खोल

महङ्गा ह्विस्कीका झोलमा हराएको छ जीवनको मोल

खुसीका निम्ति –

भौतिकताभित्र शरीरको खुसी

आत्मिक आनन्दको खडेरी

मनको शुद्धतामा झरी

वास्तविक सन्तुष्टिमा पूर्णविराम

पदभित्र निराशा सत्ताभित्र त्रास

आफ्नाका लागि समयको अभाव

बाच्नुमा खोजिएन जीवन जीवनभित्र अपनत्व भेटिएन

र त म भन्छु –

खुसी नै जीवन आनन्द नै जीवन

जीवनको अर्को नाम हो सन्तुष्टि

सन्तुष्टिको पराकाष्ठामा केही हुँदैन

आनन्दभित्र एकाकार हुनुपर्छ

लोभ,घृणा,घमण्ड हटाएर

आफ्ना लागि समय छुट्टाएर

यहाँ बुद्ध जस्तै

यहाँ विवेकानन्द जस्तै

यहाँ अब्दुल कलाम जस्तै

यहाँ मदर टेरेसा जस्तै

जीवनका घुम्तिहरुमा आफैंसँग साक्षात्कार हुनु छ

आफ्नै लागि समय खोज्नु छ

आफू हुनुमा आफैंभित्रको मान्छे चिनेर

भित्रभित्रै रम्न सक्ने रुटिङ जीवनबाट बाहिर खुसी खोजेर

मान्छे हुनुको अर्थबोध हरबिन्दुमा हुनुपर्छ ।

 

तपाईको प्रतिक्रिया