नेपाली कविता लेखनको क्षेत्रमा ललित विक्रम सिंह राम्रो कविको रुपमा परिचित हुनुहुन्छ । स्थायी ठेगाना कुशे २, जाजरकोट, कर्णाली प्रदेश हाल बुढानीलकण्ठ २, काठमाडौँमा बस्दै आउनु भएको उहाँको कविताहरुले मानविय सम्वेगहरुलाई निक्कै गहिरो रुपमा उजागार गरेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता ।
तिम्रै काखमा
खुट्टा लुलाउँदै
दशधारा दुध चुसेको
आज झैँ लाग्छ आमा ।
तिम्रै कोखेलामा
लुटपुटिएर खेलेको
मायालु यादहरू
आज झैँ लाग्छ आमा ।
पिठ्यूँमा दाउराको भारी
मुन्टामा बोकेर मलाई
तिमीले गाउँबेशी गरेको
अहिले झैँ लाग्छ आमा ।
त्यो जेठको महिनामा
हनहनी ज्वरोले
म थला परेको बेला
रातभरि रुँघेर
अनेक ओखतीमूलो गरेर
कुनै विशेक नहुँदा
भलभली आँशु झारेर
सुँक्क- सुँक्क तिमी रोएको
अहिले झैँ लाग्छ आमा ।
म एक्लै छु
यो शहरमा म एक्लै छु
चोकको शालिक झैँ
हो, म एक्लै छु।
भीडहरूका बीचमा म एक्लै छु
नितान्त एक्लै छु
किनारलाई छाडेर
बग्दै – बग्दै गइरहेको फूलको थुँगा झैँ हो, म एक्लै छु।
एक्लै जन्मिएँ
एक्लै हुर्किएँ
संघर्षको बाटोमा
एक्लै म होमिएँ
त्यसैले पनि म एक्लै छु।
भावनाहरू
बिचारहरू
हिँड्ने बाटाहरू
पुग्ने गन्तब्यहरू
फरक भएपछि हाँस्ने बहानाहरू
रुने व्यथाहरू
एकै नभएपछि
रुँदा पनि एक्लै
हाँस्दा पनि एक्लै हाँस्नु परेपछि
म साँच्चै एक्लै छु
हुलहरूले घेरिएको
बीच सडकमा
उभिएको सालिकझैँ हो म एक्लै छु ।
उठ्न सकिन्छ
रुने मात्रै कहाँ हो र ?
हाँस्न सकिन्छ
जीन्दगीमा केही नयाँ
गर्न सकिन्छ ।
नगर भो अब निरासाका कुरा
गर्नु पर्छ सबैले सपना ती पूरा
लड्ने मात्रै कहाँ हो र ?
उठ्न सकिन्छ
यो जुनीमा
केही कुरा गर्न सकिन्छ ।
कति गर्नु आलोचना अर्कैको सँधै
आफूसँग केही गर्ने तागत त्यो छँदै
मर्ने मात्रै सोच्ने हो र ?
जीउन सकिन्छ
जीन्दगीका लक्ष्यहरू चुम्न सकिन्छ ।
कति जान्छौ पराइ भूमी आँशुधारा बगाउँदै
सुन फलाउने फाँटहरू यही देशमा छँदै
बिदेश मात्रै ताक्ने हो र ?
गर्न यहीँ सकिन्छ
सुख – समृद्धी आफ्नै देशमा
जताततै पाउन सकिन्छ ।





