पछिल्लो समय प्रभानमन्त्री केपी शर्मा वलीले किराँत समुदायको आस्थाको प्रतीक खुवालुङ ढुङ्गालाई फुटाएर कोशीमा जहाज चलाउने अभिव्यक्ती दिएपछि प्रतिगमनको विरुद्ध बृहत् नागरिक आन्दोलनसँग जोडिएर लेखक कलाकार रङ्गकर्मी रसमाजिक अभियान्ताहरुले निरन्तर अवाज उठाइरहेका छन् । तमोर, अरुण र दुधकोशीको संगमस्थलका रहेको उक्त ढुङ्गा आदिवासी समुदायभित्र बिशेष राई , लिम्बु याख्खा जिरेल लगायतका जनजातीहरुको आस्थाको केन्द्र हो । किराँत सभ्यता र मुन्धुममा समेत उल्लेख भएको यो खुवालुङ ढुङ्गा फुटाउने सरकारी कदमको बिरुद्ध पछिल्लो समय देशभरको लेखक कलाकार सामाजिक अभियान्ताहरुले “खुवालुङ भल्काउन हुन्न” भन्ने पक्षमा आफ्नो अभिमत राख्दै आएका छन् यसै बिषयमा केन्द्रीत रहेर सर्जक सँस्कृतिकर्मीहरुले राखेको आ–आफ्नो अभिमत ।

राजेश चाम्लिङ राई
सहसम्पादक, गोरखापत्र दैनिक

मावनसभ्यता र राज्य निर्माण प्रक्रियासँग चासो राख्नेहरुको लागि त यो धेरै नै महत्वपूर्ण विषय हो ।

खुवालुङ अहिले निक्कै चर्चामा छ । कतिपयलाई यो एक सामान्य ढुङ्गाको प्रसंग जस्तो मात्र लाग्नसक्छ । तर वास्तव यसको महत्व एक निश्चित क्षेत्र वा समुदायको चासोको विषय मात्र नभइ सम्पूर्ण देशको अस्तित्व माथिको प्रश्न हो । खुवालुङ खासगरी किरातीहरुसँग सम्बन्धित छ । यससँग जोडिएको मुन्दुम र मिथकहरुबारे अध्ययन गर्दा यो मानिसहरुले घुमन्ते जीवन समापन गर्दैगरेको समयको याद दिलाउँछ । यस अर्थमा खुवालुङ हाल जुन भूगोललाई नेपाल भनिएको छ, यो ठाऊँमा पहिलो स्थायी मानववस्ती बसाल्ने वा यहाँको भूगोल आवाद गर्ने विषयसँग सम्बन्धित छ । यसलाई चानचुने रुपमा कसैले पनि लिन हुँदैन । इतिहास, मावनसभ्यता र राज्य निर्माण प्रक्रियासँग चासो राख्नेहरुको लागि त यो धेरै नै महत्वपूर्ण विषय हो ।

समुदायकै रुपमा मात्र बुझ्ने हो भने खुवालुङ किरातीहरुलाई एक शुत्रमा बाँध्ने पहिलो विन्दु बन्नसक्ने देखिन्छ । हाल मुख्यत राई, लिम्बू, याक्खा र सुनुवारमा बाँडिएका भए पनि विगतमा लेख्य परम्परा नभएको हुनाले यी समुदायभित्र थुप्रै भाषिक विविधता तथा कतिपय त साँस्कृतिक विवधता पनि थपिइसकेको छ । आफ्नो जीवन सँस्कारलाई लेखित रुपमा शुत्रबद्ध नगर्नुकै कारण यी विविधताहरु थपिँदै गएकोमा कसैको विमति नहोला । झन पछिल्लो पटक उत्तर आधुनकितावाद, विनिर्माणवाद जस्ता अनेक अवधारणाहरुमा आधारित भएर प्रत्येक चीजलाई टुक्राटुक्रामा विभाजित गरिदिने एकीकृत हेराईमा दोष देख्ने मान्यता विकसित भएपछि यो समुदायभित्रै अनेक थरीका टुक्रिने तथ्यहरु खोजिँदै छ । तर वास्तविकता के हो भने अधिकार टुक्राटुक्रा भएर हैन सिङ्गो र एकीकृत भएर मात्र लिन सकिन्छ । खुवालुङले किरातीहरुलाई ‘तिमीहरु इतिहासमा एकै थियौ है ! ’ भन्ने निक्कै महत्वपूर्ण सन्देश दिन्छ । यस अर्थमा यो किराती समुदायलाई जोड्ने एक महत्वपूर्ण सेतुको रुपमा विकास हुनसक्छ ।

हरेक समाज वा व्यक्तिको लागि इतिहास एउटा महत्वपूर्ण शिक्षा हो । आफ्नो विगतबारे राम्रो ज्ञान वा जानकारी नभइ ऊ अघि बढ्न सक्दैन । विगतमा भएका कम्जोरीलाई सच्याउने र उपलब्धीलाई रक्षा गरेर अघि बढ्दा मात्र व्यक्तिले प्रगति गर्छ र समाजले अग्रगमनतर्फ पाईला चाल्न सक्छ । यसो नभई मानिसले जहिल्यै शून्य ज्ञानबाट आफ्नो जीवन वा समाज सञ्चालन गर्नुप¥यो भने ऊ सँधै पछि पर्छ । अर्कोतर्फ यसको मिथकमा चेलीको बलिदानको साह्रै नरमाईलो प्रशंग आउँछ । खुवालुङ खुलाउन चेलीको बलिदान दिएको प्रशंग आउँछ । यस अर्थमा किराती समुदायभित्र इतिहासदेखि नै महिलाहरुको भूमिका कति महत्वपूर्ण थियो भन्ने पुष्टि गर्ने यो अर्को महत्वपूर्ण दस्तावेज पनि हो । यसैले किरातीहरुले आफ्नो पूर्खाको विगत वा आफ्नो इतिहासको रक्षा गर्ने हो भने खुवालुङको संरक्षण अपरिहार्य हो । यो किरातीहरुको मात्र सरोकार नभइ नेपालमा मानव सभ्यताको शुरुवात वा मानववस्ती बसोबास कसरी शुरु भयो? भन्ने मानवशास्त्रीय अध्ययनको महत्वपूर्ण क्षेत्रसमेत हो ।
पौष ५ गते संसद बिघटनको असंवैधानिक कदमपछि प्रतिगमनको विरुद्ध आन्दोलनको ठूलो उभार आयो । प्रतिगमनको आन्दोलन चर्किरहेकै अवस्थामा फागुन ८ गते बिराटनगर सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मावलीले चतरादेखि भोजपुरसम्मको सुगम जलमार्ग विस्तारका लागि खुवालुङलाई क्रेन लगाएर फुटाउने उद्घोष गरेका थिए । त्यसपछि खुवालुङको प्रसङ्ग व्यापक रुपमा उठेको छ ।

खुवालुङ फोर्ने प्रधानमन्त्रीको अभिव्यक्ती नै खेदजनक रहेको छ ।

प्रेमीला राई कवि तथा अभियन्ता

खुवालुङ किरात राईहरूको मुन्दुमी महत्व बोकेको पूर्वको बराहक्षेत्र सुनसरी, भोजपुर र उदयपुरको सिमानालाई छोएर बग्ने अरुण नदीको संगम त्रिवेणीको मध्य भागमा अवस्थित ढुङ्गा हो । तर यो नदीको बिच भागमा रहेको सामान्य ढुङ्गा मात्र नभइ किरात राईहरूको साँस्कृतिक महत्व बोकेको सम्पदा हो । किरात राईहरूको आस्था हो ।

सत्ताले सधैँ आफू शक्तिमा सन्तुलित रहिरहन राज्यसंयन्त्रका तत्वहरू आफ्नो नियन्त्रणमा राखिरहन प्रपन्च मिलाइरहन्छ । सत्ताले कहिल्यै पनि शासन क्षेत्राधिकारभित्र बसोबास गर्ने जनसमुदायलाई आफूभन्दा शक्तिशाली बनाउन चाहदैन । बनाउँदैन । नेपालको सन्दर्भमा पनि लामो समयदेखि आदिवासी जनजातिहरू राजनितिक, आर्थिक, साँस्कृतिक रुपमा राज्यको दोहनमा परिरहेका छन् । आदिवासी जनजातिहरूको आस्था, पहिचान, संस्कृतिमाथि राज्यले सधैँ निगरानी गर्ने र गिद्धे दृष्टि फ्याँक्ने गरेको छ । यसैको पराकाष्ठा हो खुवालुङ अतिक्रमणको उद्घोष ।

खुवालुङ फुटाउने उद्घोषसँगै किरात तथा गैर किरातहरूले सांस्कृतिक आस्थामाथि प्रहार भएको भन्दै आक्रामक रुपमा सामाजिक संजालमार्फत भर्त्सना गर्‍यो । पछिल्लो समयमा किरात राई विद्यार्थी सङ्घ, किरात राई लेखक सङ्घ, आदिवासी जनजाति साहित्यकार महासङ्घ, बृहत् नागरिक आन्दोलन लगायत विभिन्न क्रियाशिल सङ्घ संगठनहरू खुवालुङ क्षेत्र पुगेर खुवालुङ फुटाउने घोषणाको विरोधमा आन्दोलन, र्‍याली, मार्चपास तथा रचनात्मक कार्यक्रमहरू गरिसकेका छन् ।

खुवालुङ आन्दोलन चर्किरहेको यस परिस्थितिमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको आफ्नै अभिव्यक्ती बाझिएको छ । खुवालुङ फोर्ने प्रधानमन्त्रीको अभिव्यक्ती नै खेदजनक रहेको छ । खुवालुङ सांस्कृतिक सम्पदा र किरातहरूको आस्था रहेको हुँदा प्रधानमन्त्री विरुद्ध मुद्धा हाल्न सकिने व्यवस्था संविधानमा छ । सांस्कृतिक आस्थामाथि ठेस पुर्‍याएकोले खुवालुङ फुटाउने अभिव्यक्तिप्रति प्रधानमन्त्रीले माफी माग्नुपर्ने अभियान्ताहरूको माग रहेको छ ।

यतिबेला सम्पूर्ण किरात, गैर किरात , संस्कृतिकर्मी, नागरिक समाज, बुद्धीजिवीहरू खुवालुङ बचाउ अभियानमा जुटेको छ । यस अघि नै खुवालुङ संरक्षण समिती पनि गठन भइसकेको र खुवालुङ संरखणको लागि खुवालुङ क्षेत्रमा विभिन्न गतिविधी गरिसकेको छ । यसै खुवालुङ संरक्षण अभियानका अभियान्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई फागुन २७ गते सुनसरी चक्रघटीका इलाका प्रहरी कार्यलयले पक्राउ गरेको छ । एउटा जाति समुदायको आस्था, सांस्कृतिक सम्पदा बचाउ अभियानमा लागेको अभियान्तालाई पक्राउ गर्ने सरकारको कार्य एकदमै निन्दनिय छ । बिडम्बना यति बितिसक्दा पनि किरात राई जातिहरूको साझा संस्था किरात राई यायोक्खा भने मौन छ । खुवालुङ सन्दर्भमा एउटा विज्ञपति सम्म निकाल्न सकिरहेको छैन ।

यसरी सत्ताले सदियौँदेखि आदिवासी जनजातिहरूको आस्था पहिचान, संस्कृती र सभ्यतामाथि प्रहार गर्दै आइरहेको छ । अब पहिचान र संस्कृतिको आन्दोलन एक पटक उठ्नु जरुरी देखिन्छ । आदिवासी जनजातिहरूलाई एकठाउँमा आउन नदिन सत्ताले हरेक तरहको जाल फ्याँक्नेछ यद्यपि अब आम आदिवासी जनजाती एकीकृत भएर सामूहिक पहिचान र संस्कृतिको आन्दोलन उठाउनुको विकल्प छैन । पहिचान र संस्कृतिको आन्दोलन नउठ्ने हो भने आम आदिवासी जनजातिहरूको सभ्यता एकदिन ब्ल्याकहोलमा गएर टुङ्गिने प्रष्ट देखिन्छ ।

मलाई बिस्वास राज्य सकारात्मक हुनेछ।

मुनराज शेर्मा कवि तथा समालोचक

तिमी जाति बचाउँछौ भने उसको संस्कृती बचाउ। राज्य भन्नु राष्ट्रको समग्र संस्कृति समेत हो। खुवालुङ राई लिम्बु सुनुवार याक्खा भोटे लगायत अरु पनि आदिवासिको सांस्कृतिक धरोहर हो। यसले नेपाल राज्यको सांस्कृतिक आर्थीक राजनैतिक सम्वृद्धिमा अतुलनीय योगदान राख्छ।प्रदेश एकको हकमा यो झनै अभीन्न र गौरवको विषय हो।आदिवासीको मिथिकल आदि सभ्यताको प्रागैतिहासिक स्थल र देवता ढुङ्गा भएकोले त्यसको संरक्षण राज्यको अहम दायीत्व हुन्छ। संस्कृति मानव जीवनमा गहन भुमिका निर्वाह गर्ने एक मुर्त अमुर्त वस्तु हो जो चेतनासँग प्रत्यक्ष सम्बन्ध राख्छ।त्यसको संरक्षणमा जनताले राज्यको उपस्थितिको महशुुस गर्छ। यसो गर्नु अन्तरसांस्कृतिक सहिष्णुता पनि हो।

जल यातायातको सन्दर्भको विषयमा खुवालुङ्ग पूर्वको बालुवा र पश्चिमको सानो ढुङ्गालाई हटाएर वा तेतैको भित्ता फोरेर ठूलो सजिलो बाटो बनाउन सकिन्छ। हालको स्टिमर खुवालुङ्ग पूर्वबाट सजिलै गैरहेकै छ। हरेक नागरिकको सांस्कृतिक अधिकारको प्रत्याभुति दिनु राज्यको अनिवार्य कर्तव्य हो। खुवालुङ मिथक मुन्धुममा वर्णित छ।आदिवासीहरुको दस्तावेज भन्नू मौखिक मुन्धुम नै सर्वाधिक सत्य हो।माघे सङ्क्राती कसरी सुरु भयो भन्ने प्रागऐतिहासिक प्रमाण खुवालुङ्ले दिन्छ।यस्तो जिवन्त प्रमाण आदिवासीको समाजशास्त्रिय अधिसभ्यता हो।

यो मात्र एक भौतिक पदार्थिय ढुङ्गा भन्दा पर चैतन्यसँग जोडिएको सत्य हो। फाल्गुण २२मा हामी खुवालुङ पुगेर हेर्यौं।खुवालुङ्ग जोगाएर पनि ठूलो स्टिमर चलाउन सकिन्छ भन्ने स्थलगत अध्ययनले प्रमाणीत हुन्छ। राज्यले गम्भीर भएर यो सदाशयता देखाउनु पर्छ।हामी शहिदहरुको बलिदानले निर्मीत लोकतान्त्रीक राज्यमा छौं ।हामीले चाहेको उदार लोकतन्त्र हो।जहाँ नागरिकको हक अधिकारको प्रत्याभुति हुन्छ। सांस्कृतिक चेतना सबैभन्दा अब्बल चेतना हो।हामीले देखेको र कल्पना गरेको शभ्य संसारको निर्माणमा सफ्टवेयरको काम सांस्कृतिक चेतनाले गहन भुमिका निर्वाह गर्छ ।यो पर्यापर्यटनको आधार स्तम्भ पनि हो ।मलाई विस्वास छ राज्य सकारात्मक हुनेछ।

खुवालुङ भत्काउने सन्दर्भ प्रतिनिधिगत प्रवृत्ति हो
राम मादेन सामाजिक अभियान्ता

धरानको विजयपुरस्थित ऐतिहासिक किरातकालिन विजयपुर दरवारको अवशेष रहेको ठाउँलाई विस्थापित गर्न २०७५ सालमा पानी ट्याङ्की निर्माण गर्न एशियालि विकास बैंकको सहयोगमा सरकार लाग्यो । झापाको लखनपुरमा झण्डै एक हजार भन्दा बढिको संख्यामा रहेको राई लिम्बुका पुर्खा वा सन्ततिका चिहानहरु भत्काएर आदिजासी रंगशाला बनाउने सहमति गरे पनि अर्थमन्त्रिको वजेट कितावमा उ रंगशाला भएर आयो । पछि स्थानीयहरुद्वारा विरोध भयो । हाल आदिवासीको नाममा रंगशाला बन्नु नहुने ‌झै गरेर अलपत्र अवस्थामा छ ।

ताप्लेजुङमा याक्थुङ लिम्बूहरुको पवित्रस्थल “मुक्कुमलुङ जहाँ पुज्ने ढुङ्गा छ ” लाई छोपेर राखिएको छ । अहिले उक्त ठाउँलाई पाथीभरा नामङ्कित गरिएको छ । जबकी यो धार्मीक अतिक्रमण हो अहिले यहा हिन्दु देविदेवताहरु गणेश, सरस्वतिको मुर्तिहरु राखिएका छन् । यस्तै गरेर, तेह्रथुमको मेयङलुङलाई सिंहदेवी, पान्थरको सुम्हात्लुङलाई सिद्दकाली बनाउने लगायतका अनगिन्ति दुष्टान्तहरु छन् ।

प्रजातन्त्र, लोकतन्त्र आएपनि शासकीय ढर्रा राणाकालिन, एक भाषा, एक भेषको, एक नश्ल, एक धर्मलाई निरन्तरता दिने महेन्द्रीय शैली कायम छ । सत्ता भन्दा निरन्तर बाहिर रहेका निमुखा, आवाजविहिनहरुको आस्था, परम्परालाई सकेसम्म मास्ने, नसकेमा हिन्दुकृत गर्ने कार्यमा राज्य संयन्त्र नै लागिपरेको छ ।

विकासको मूल फुटाउने हवाला दिदै केही समय अगाडि विराटनगरको आमसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रि केपि ओलिले भने
चतराबाट भोजपुरसम्म पानी जहाज चलाउन कोशी नदिको विचमा भएको ढुंगोलाई क्रेन लगाएर भत्काउनुपर्छ । लिम्बूवानको पानी खाएका प्रधानमन्त्रि र पानी जहाज व्यापारीहरुले अल्झाउने ढुंगा ठाने । तर त्यो ढुङ्गा सामान्य नभई किरात हरुको मुन्दुममा वर्णित पवित्र स्थल हो । प्रधानमन्त्रिले त्यो ढुङ्गोलाई क्रेनले भत्काएर छताछुल्ल पारेपछि विकासको मूल फुट्ने डिङ लडाए । प्रधानमन्त्रिले बुझेर पनि खुिसिटिउरी गर्दै आस्थामा ठेस पुर्याउने अभिव्यक्ति दिदैछन् कि भन्ने आम बुझाई निर्माण हुदैछ । अन्यथा प्रधानमन्त्रिले यतिका धेरै विरोधका स्वरहरु उर्लिदा, आस्थामा चोट पुग्दा समुदायसंग माफि माग्नुपर्ने होईन र

किरातिहरुको आस्थाको धरोहर खुवालुङलाई ढुङ्गा देख्ने, समाधिस्थललाई सिमेन्ट ढुङ्गाको थुप्रो मान्ने, मुन्धुमी ऐतिहासिक स्थलहरुलाई डाँडा पखेरा सम्झिने सोचले आदिवासी समुदायहरुको सांस्कृतिक र परम्परागत मर्मलाई कुठाराघात मात्र गर्दैन, समुदायको अस्तित्व संकटमा पर्छ । अतिक्रमण, हेपाहा प्रवृत्ति बढ्दै गए समुदायहरुको चेतना निर्माण भएको अवस्थामा जातीय सद्भाव खलल समेत हुन सक्दछ । यस्तो अवस्था सिर्जना हुन नदिन राज्य, राजनितिक दल र गैर राज्य पक्षहरुको भूमिका समयमा नै चनाखो हुनुको अलावा आगोमा ध्यू थप्ने कार्य सुखद मान्न सकिँदैन ।

जानु काम्बाङ लेखक
बिकासको नाममा पौराणिक महत्वको धार्मीक स्थलहरु भत्काउनु गलत हो यसको संरक्षणमा लागि सबै बोलौं ।

खुवालुङबाट आदिवासी जनजातीहरुको पुर्खाहरू उत्पती भएको भन्ने जन विश्वास अथवा धार्मिक आस्था रहि आएकोले गर्दा पनि यसको महत्व राई लिम्बु सुनार मेचेकोचे समुदायमा उच्च छ । र यो हाम्रो समुदायमा एक एतिहासिक मुन्धुमी क्षेत्र हो केही बर्ष पहिले लिम्बूहरूको धार्मिक स्थल मेंछ्यायेम डाँडाको बारेमा पनि हाम्रो धार्मिक आस्था, मुन्धुमी क्षेत्र जस्ताको तस्तै रहनु पर्छ भनेर हामीले आवाज उठाएका थियौं मलाई लाग्छ यो मुन्धुमी स्थल खुवालुङ पनि जस्ताको तस्तै रहनु पर्छ । मैले अग्रजहरूबाट सुने अनुसार किराँतीहरूको उत्पती नै त्यहाँ बाट भएको र त्यहाँ बाट तमोर पछ्याउंदै जानेहरू लिम्बु सुनकोशी पछ्याउँदै जानेहरू राई र दुधकोशी पछ्याउँदै जानेहरू सुनुवार भए भन्ने कथा सुनेकी हुँ ।

किराँती समाजमा प्रचलनमा रहेको झाँक्री परम्परा अन्तर्गत बिजुवाहरू शक्ती संचय गर्न त्यहाँ आउथे त्यसकारण पनि यस्तो एउटा एतिहासिक स्थल मास्नु भन्दा पहिले धेरै सोच्नु पर्छ जस्तो लाग्छ सृष्टिले उत्पती गरेको यस्ता दुर्लब स्थलहरू मास्नुको बदला सरक्षण गर्नुपर्छ्
प्रकृतिले सृष्टि गरेको खुवालुङ हाम्रो निम्ति सृष्टिको रुप हो, सृष्टिको रचना हो, सृष्टिको गर्भमा उत्पती भएको एक सुन्दर प्राकृतिक मुन्धुमी क्षेत्र हो खुवालुङ बिकासको नाममा पौराणिक महत्वको धार्मीक स्थलहरु भत्काउनु गलत हो यसको संरक्षणमा लागि सबै बोलौं ।

तपाईको प्रतिक्रिया