कथा

टंकेको घरमा रातभरी हल्ला थियो । उसको बानी नै यस्तै हो । सधैं रक्सी खाने । सधैं स्वास्नी पिट्ने । केटाकेटीको चिहिलबिहिल । छिमेकीको पनि हैरान । सबभन्दा नजिक शम्भुको घर छ । एकदिन हैन, दुईदिन हैन । सधैं कति बिगार्नु निद्रा ? राखे राखोस, स्वास्नी उसकै हो । मारे मारोस, थुनिने ऊ नै हो । शम्भु गएन टंकेको घरमा । अरु पनि कोही गएनन् ।

बर्षौंदेखि गाउँ प्रतिनिधि विहीन थियो । यसपाली देशमा ऐतिहासिक चुनाव हुँदै छ । स्थानीय तहमा जन–प्रतिनिधि चुनिदै छन् ।
गाउँका ठिटाठिटी चुनाव लागेर व्यस्त छन् । कहिले राजनैतिक दलको प्रशिक्षण । कहिले आमसभा । कहिले घरदैलो । आज सदरमुकाममा पार्टीको केन्द्रीय नेता आउने दिन । स्वागत गर्न बेलैमा पुग्नुपर्ने पार्टीको उर्दी छ ।
… … …
चञ्चला बिहानको झिसमिसेमा घरबाट निस्किई । घरमास्तिरको चौबाटोमा पुगेर सदरमुकामतर्फ मोडिई । राम्ररी उज्यालो भएको थिएन । फटाफट हिंडेकी चञ्चलाको खुट्टा नरम तर ठूलो वस्तुमा ठोकियो ।
आप्पुई !
चञ्चला तर्सिई । धड्कन तीव्र भयो । सास फेर्दा आवाज आउन थाल्यो ।
चञ्चला घरतिरै फर्कन चाहन्थी । फर्किने आँट आएन । पछाडिबाटै पाइला सार्दै उल्टो हिंडी । केही कदम हिंडेर अडिई । वेगवान धड्कन र ध्वनियुक्त सास फेर्दै हाते झोलाबाट मोबाइल निकाली । मोबाइलमा टर्चलाइट बाली । टर्चको प्रकाश खुट्टा ठोकिएको वस्तुतर्फ सोझ्याई ।
थुइक्क !
चञ्चलाको सातो उडाउने चीज त टंके पो रहेछ । रक्सी पिएर रातभरी हल्ला ग¥यो । जहान–परिवारको बिल्लिबाठ बनायो । कतिखेर मुलबाटोमा आएर ढलेछ, उभिण्डो मुन्टोले ।
हैन, मान्छेलाई सताउन पनि कति सकेको ? चञ्चलाले आजचाहिं टंकेलाई चखाउने बिचार गरी ।
‘काका !’ टंकेको छेउमै गएर बोलाई ।
टंके बोलेन । ब्युँझेको भए पो बोल्थ्यो र ? चञ्चलाले टंकेलाई झकझक्याई । तैपनि टंके अहँ, ब्यँझिएन ।
टंकेको गलामा गलबन्दी कहिल्यै टुट्दैन । चञ्चलाले गलाबाट गलबन्दी निकाली । टंकेको दुवै हात पछाडि लगेर बाँधिदिई । टंकेको पाउमा एउटा मात्रै जुत्ता रहेछ । चञ्चलाले त्यो पनि खोलिदिई । त्यसैको तुना खोलेर दुई खुट्टा पनि बाँधिदिई । नजिकै सिस्नुको झाङ थियो । चञ्चलाले झोलाबाट नेलकटर निकाली । त्यसको चक्कुले सिस्नुका मुन्टाहरु काटी । आफ्नै ओढ्नेले समातेर सिस्नुका मुन्टाहरु टंकेको अनुहार वरिपरि राखिदिई । उज्यालो भैसकेको थियो । चञ्चला हिंडी ।
काउकुति लाउनु, लाउनै मात्र । चुट्किला भन्नु, भन्नै मात्र । शम्भु मरे हाँस्दैनथ्यो । बडा अनौठो स्वभाव । तर, आज अचम्म भयो । शम्भुले खित्का छाड्यो ।
चौबाटोमा एकाबिहानै मान्छे कराइरहेको थियो । गुहार मागिरहेको थियो । कसलाई के भएछ ? शम्भु हेर्न गयो । को होला भनेको त टंके पो रहेछ । मोरा हरिबिजोक भएछ । हातखुट्टा बाँधिएका रहेछन् । सर्पजस्तो घस्रिँदो रहेछ । घस्रिँदा अनुहारमा सिस्नुले चिल्दो रहेछ । तर्सेर उता फर्किंदो रहेछ । सिस्नुले उतै पनि चिल्दो रहेछ । अनि कराउँदो रहेछ– ‘आत्थाथाथा गुहार !’
वरिपरिका सिस्नुका झाम्टा अनुहारले माडिसकेछ । अनुहार ठेउला र डाबरले सुन्निएछ । शम्भुलाई टंकेको दया पनि लाग्यो । तर, ‘आत्थाथाथा गुहार’ भनेको सुन्दा हाँसो थामिएन । खित्कै छाड्यो ।
शम्भु हाँस्न त हाँस्यो । तर, हाँसिमजाक गर्ने स्थितिमा टंके थिएन । उसको हरिबिजोग थियो । शम्भुले टंकेलाई उठायो । हातखुट्टाको बन्धन खोलिदियो । उसै त धङधङी । त्यसमाथि सिस्नुले डामेको । टंके थरथर काँप्यो । काँप्दैकाँप्दै एक शब्द नबोलि घरतिर हिंड्यो ।
टंके त गयो । शम्भु भने आश्चर्यमा प¥यो । टंकेलाई कसले बाँध्यो होला त ? शम्भु सोच्न थाल्यो । रातभरि हल्ला त गर्दै थियो टंके । स्वास्नीले पो बाँधी कि ? बिचरी ! वचन त नफर्काउने सोझी छे । के बाँध्थी ? छोराछोरीले पो बाँधे होला भनौ भने ती त झन सानै छन् । अरु कसले बाँध्यो होला त ? फलानो या ढिस्कानो, कसैले बाँधेजस्तो लाग्दैन ।
अँ, चञ्चलाको काम हुनुपर्छ । अघिल्लो बर्ष भकभकेलाई पनि बाँधेकी थिई ।
… … …
नयाँ बर्षको दिन थियो । गाउँका सबैजना वनभोज गए । खोलाको बगरमा नाचे, गाए र खेले । खूब रमाइलो भयो । खाना खाने वेलामा चञ्चलाले सबैलाई आँखा बन्द गर्न लगाई । एउटा खेल खेल्ने रे ।
आँखा त सबैले चिम्लिए । तर, चोरेर नहेर्ने कोही थिएन ।
चञ्चला एकएक गर्दै प्रत्येक व्यक्तिको पछाडि गई । सबको हात पछाडि लगेर बाँधेजस्तो गरी । अरुको बाँधेजस्तो गरी । भकभके माइलाको चाहिं पुरै बाँधिदिई ।
खेल सकियो । सबैले आँखा खोल्नुस रे । सबैले आँखा खोले । अरु खाना खान थाले भकभके माइला हेरेको हे¥यै भयो ।
‘माइला, के हेरेको ? खाना खाउ न ।’ भनी चञ्चलाले ।
‘हा हात बा बा बाँधेर क क कसरी खानु नि ?’ भन्यो माइलाले ।
सबैजना हाँसे ।
‘तिमी गाईभैंसीलाई महला लगाएर चराउँछौ हैन ?’ चञ्चलाले सोधी ।
‘अँ ।’
‘जसरी हात बाँधेपछि तिमीले खान मिलेन । त्यसैगरी महला लगाएपछि गाईभैंसीले पनि खान मिल्दैन । त्यसैले गाईभैंसीलाई चरनमा लग्दा महला लाइदिनु हुन्न । बुझ्यौ ?’
माइलाले कुरा बुझेको भन्ने इसारामा मुन्टो हल्लायो । चञ्चलाले हात खोलिदिई । गुञ्जायमान हाँसोबीच माइलो खाना खान थाल्यो ।
चरनमा लग्दा गाईभैंसीले बाली खाएर हैरान पार्थे । माइलाले जुक्ति लगायो । गाईभैंसीलाई महला लगाएर चराउने । त्यसपछि गाईभैंसीको हैरान भयो । चरनमा जानु छ, खान पाउनु केही छैन । सिर्फ डुल्नु छ, आउनु छ ।
चञ्चलाको नाम झैं स्वभाव पनि चञ्चल । वनभोज रमाइलो मात्र भएन । भकभके माइलाको चेत पनि खुल्यो । त्यही चञ्चली चञ्चलाको काम हुनुपर्छ । आज सदरमुकाम जाने भन्थी । आएपछि सोध्नुपर्ला । यस्तै सोच्दै शम्भु घर गयो ।
… … …
जीवन अमुल्य थियो रे । तर, बेहिसाब बलिदान गरेर कैयौं मान्छे शहीद भए रे । ती शहीदको सपना अब पूरा हुँदै छ रे । देश संघीयतामा गयो रे । संघीयता कार्यान्वयन गर्ने पहिलो माध्यम स्थानीय तहको निर्वाचन हो रे । यसमा सबै जनता एकजुट भएर लाग्नुपर्छ रे । सदमुकाममा केन्द्रीय नेताले भनेको पहिलो कुरा ।
तिनले अर्को कुरा पनि भने । अब सिंहदरबार गाउँमा आउँछ रे । मन्त्रीलाई भेट्न जनताले जुत्ता फटाउन पर्दैन रे । मन्त्रीले गर्ने काम स्थानीय प्रतिनिधिले नै गर्छन् रे । त्यसका लागि सक्षम प्रतिनिधि चाहिन्छ रे । उनको पार्टीले मात्र सक्षम, सशक्त र दूरदर्शी उमेद्वार उठाएको छ रे । अत्याधिक मत दिई विजयी बनाउनु रे । उनको पार्टीले घात गर्दैन रे ।
भाषण गरेर नेता फर्किए । चञ्चलाहरु चुनावी प्रचारमा गाउँ पसे ।
हाटको दिन बिहिबारेमा धेरै मान्छे हुन्छन । त्यहाँ आमसभा राख्दा धेरै जनताले सुन्छन् । त्यसकारण पार्टीले बिहिबारेमा आमसभा राख्ने भयो । चञ्चलाहरु बिहानैदेखि मञ्च बनाउन जुटे । अग्ला बाँस गाडेर पाल टाँगे । मञ्चको भित्तामा नेताको फोटो टाँसे । फोटोको समानान्तर हुने गरी मुनिपट्टि ब्यानर टाँगे, जसमा पार्टीको नारा लेखिएको थियो । मञ्चको चारैतिर माइक राखे । रङ्गीचङ्गी पार्टीको झण्डाले मञ्च झकिझकाउ भयो ।
सभा औपचारिक रुपमा सुरु हुनै लागेको थियो । उमेद्वारहरु मञ्चमा जाँदै थिए । एक्कासी आएको भीडले मञ्च घे¥यो । तिनीहरु नारा लगाउँदै आएका थिए । झण्डा र ब्यानर पनि बोकेका थिए । तर, अर्कै पार्टीको । त्यस ठाउँमा उनीहरुले आमसभा राख्न खोजेका रहेछन् । चञ्चलाहरुको पार्टीले ठाउँ ओगटेपछि रिसाउका रहेछन् । तिनीहरुले मञ्च तोडफोड गर्न थाले । उमेद्वारहरुलार्ई छानीछानी भकुर्न थाले ।
विपक्षीहरुको अगाडि चञ्चलाहरुको पार्टी निरीह भयो । ज्यान जोगाउन भाग्नुको विकल्प थिएन । कतिपय भागे पनि ।
चाहेको भए भाग्न सक्थी चञ्चला । आफ्नो उमेद्वारहरुलाई गोदाइ खुवाएर भाग्न मन लागेन । सके एकजनाको ज्यान जोगाउँछु, नसके पिटाइ सहन्छु । समर्पण भावले चञ्चला दृढ भई । दृढताले आत्मबल बढायो । मञ्चमा उमेद्वारहरुको धुलाइ भैरहेकै थियो । चञ्चला मञ्चमा चढी ।
वडाध्यक्षका उमेद्वार निकै नै घाइते भैसकेछन् ।
‘खबरदार ! ज्यान मर्ला !’ चञ्चला विपक्षीहरुलाई वडाध्यक्षको बचाउमा खडा भई ।
हुलमुलको एकदुई चड्कन चञ्चलाले पनि भेटी । विपक्षीहरु महिलाप्रति संवेदनशील नै रहेछन् । चञ्चलाले छेकेपछि वडाध्यक्षका उमेद्वारमाथिको प्रहार रोकियो । अन्य उमेद्वारहरुको धुलाई भने रोकिएको थिएन । त्यसैबेला दुईचार प्रहरीहरु आइपुगे ।
प्रहरी देख्दा चञ्चलाको मनमा भरोसा जाग्यो । अब भने उमेद्वारहरु बच्ने भए भन्ने लागेको थियो । तर, त्यस्तो भएन । प्रहरी देख्दा विपक्षीहरु झन आक्रोशित भए । प्रहरीमाथि नै ढुङ्गामुढा गर्न थाले । चुनावका प्रहरी त हुन् । धेरैजसो तालिम न हतियारका म्यादी थिए । उनीहरु लुसुक्क भागिदिए ।
अब भने बाँच्न मुश्किल हुने भयो । चञ्चलाले हरेस खाई । तर धेरैबेर हरेस खान परेन । आफ्नो पार्टीका सयौं युवाहरु आइपुगे । विपक्षीहरुलाई छेकीछेकी घेरा हाले । घेराभित्र पारेर गोद्न थाले । मरणासन्न भएपछि बल्ल भगाए । घाइते उमेद्वारहरुलाई उपस्वास्थ्य चौकीतर्फ कुदाइयो ।
पालिका प्रमुखको उमेद्वारलाई टाँका लगाउनु प¥यो । अरुलाई भने पट्टी बाँध्दा काम चल्यो । उमेद्वारहरुको उपचार सकिन लागेको थियो । फेरि सयौं युवाहरुको विपक्षी दस्ता आइपुग्यो । पुनः दोहोरो झडप भयो । झडपले बिहिबारे दिनैभर तनावग्रस्त रह्यो । कुनै पार्टीले आमसभा गर्न सकेनन् ।
त्यसदिन त त्यसदिन नै भैगो । चुनाव अवधिभर नै बिहिबारेमा कुनै पार्टीको सभा हुन सकेन ।
… … …
चञ्चलाहरुले घरदैलो अभियानलाई व्यापक बनाउने रणनीति अपनाए ।
चञ्चलाहरु बस्तीबस्ती डुल्न थाले । दलित बस्तीमा पस्दा पहिलो घरमा बूढीआमा भेटिइन् । उनी पिंढीमा बसेर मकै छोडाउँदै रहिछन् ।
‘आमा नमस्ते !’ चञ्चलाले अभिवादन गरी ।
बूढीआमाले शिर झुकाएर हात जोड्दै अभिवादन फर्काइन् ।
‘एक्लै हुनुहुन्छ आमा ?’ चञ्चलाले सोधी ।
‘छोरो पनि छ नानी ।’ मकै छोडाउँदै जवाफ दिइन् बूढीआमाले ।
‘खै, कता हो त ? बोलाउनू न एकचोटी ।’ भनी चञ्चलाले ।
‘विकास ! ए विकास ! बाहिर आइज अरे है !’ बूढीआमाले छोरालाई बोलाइन् ।
विकास आयो । अग्लो न अग्लो जुँगामुठे । बटारिएका हातपाखुरा । हेर्दै लोभलाग्दो लोर्के ठटो रहेछ ।
‘आम्मौ ! फिलिमको हिरोजस्तो छोरा पो रहेछ त आमा ।’ चञ्चला त हो, भनिहाली ।
‘भएर के गर्नु ? बिहे गर्न मान्दैन ।’ भनिन् बूढीआमाले ।
‘केटी नपाएर पो हो कि ?’ हाँस्दै सोधी चञ्चलाले ।
‘खोजे पो पाउने नि ।’ बूढीआमा झर्किइन् ।
‘कति न पहिल्यै चिनेजस्तो गर्छे । कहाँकी नखर्माउली रैछे ?’ विकासलाई अलिअलि रीस उठ्यो । तर केही बोलेन ।
चञ्चला उफ्रेर विकासको छेउमा गई । विकाससँगै उभिई ।
‘आमा, हेर्नोस त । के म तपाईंकी बुहारी हुन सुहाउँछु ?’
आखिर चञ्चला पनि के कम थिई र ? छद्महीन ठूलाठूला आँखाहरु । गहुँरङ्गे त्वचामा रक्तकणको समृद्घ उपस्थितिले स्याउ झैं रातो गाला । गुलाबी ओठभित्र चम्किला दन्तलहर । सुहाउँदो उचाइ र मोटाइ । जवानीले फक्रिएकी नवयौवना, उसै सुन्दरी ।
‘जोडी ता असाद्दे खुल्दो रछ नि । के गर्नु ? बिष्टकी छोरीलाई सोच्न पनि पापै होला ।’ बूढीआमाले पीडा व्यक्त गरिन् ।
‘म कहाँ बिष्टकी छोरी हुँ त आमा ? म त पातिखर्क हर्कोपाध्यकी छोरी पो हुँ त ।’ भनी चञ्चलाले ।
‘हो र नानी ?’ बूढीआमाले कुरै बुझिनन् ।
‘हो नि । फेरि जातैले ठूलो र सानो हुने जमाना पनि कहाँ छ र ? मन मिल्यो भने त…हैन विकास ?’ चञ्चला हाँस्दै विकासको छातिमै लेपासिई ।
भोट माग्न सँगै हिंडेका चञ्चलाका साथीहरु मरीमरी हाँसे । विकास लाजले रातोपिरो भयो ।
चञ्चलाहरु आफ्नो पार्टीलाई भोट माग्दै भोट हाल्ने तरिका सिकाएर बिदा भए । सारा गाउँ घुमे । पार्टीलाई भोट मागे ।
चुनाव सकियो । मेहनत गरेअनुसार नतिजा राम्रो आयो । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म चञ्चलाहरुकै पार्टीले जित्यो ।
… … …

परिवेश उही हो । तर, नौलो लाग्दै छ । सेरोफेरो आफ्नै हो । तर, बिरानो लाग्दै छ । कलकल बगिजाने खोलाले पनि विरही सुस्केरा हाल्न थालेको छ । रानीवनकी कोइली चरीले पनि नचिने झैं गरी खिज्याउन थालेको छ । दिन कति ननिको ? उज्यालो न उज्यालो । बरु रात निको । अँध्यारो भैदिन्छ । न कसैसित भेट्नपर्छ, न कसैसित बोल्नपर्छ ।
ऊ उस्ती चञ्चल चञ्चला थिई । अहिले यस्ती गम्भीर एकान्तप्रेमी भएकी छे । घरबाट बाहिर निस्कन्न । कसैलाई भेट्दिन । कसैसित बोल्दिन ।
गाउँभरि हल्ला छ । खैलाबैला छ ।
‘तिम्री छोरीले कसको भुँडी बोकेकी ?’ बेलमायालाई गाउँलेहरु भेट्नै हुन्न, सोधिहाल्छन् ।
कसको हो कसको ? सोध्यो भने रुन्छे मात्रै । मरे बोल्दिन । एउटा गल्तीले मान्छेको स्वभावमा आमुल परिवर्तन ल्याउँदो रहेछ । न फकाउँदा भन्छे, न तर्साउँदा । सौता हालेको दिन हर्के उपाध्येलाई गुहु छोडेजस्तो छोड्थिन् बेलमायाले । छोरीको मायाले सकिनन् । आखिर यस्तो दिन देख्नलाई रहेछ । आकास खसेर बेलमायाको टाउकोमा थुप्रिएको थियो । बोझ नबोकेर के गर्नु ?
बेलमाया चञ्चलाको आमा मात्र हैनन्, बाउ पनि हुन् । कर्तव्य बोधसँगै अठोट गरिन्– अब बोझ पन्छाउनै पर्छ ।
आज पातिखर्कमा वडाका प्रतिनिधिहरु भत्ता वितरण गर्न आउँछन् रे । बेलमायाले मौका छोप्ने योजना बनाइन् ।
बेलमायाले बूढाबूढी, अपाङ्ग र अशक्तहरुलाई आफ्नै घरमा डाकिन् । गन्नेमान्ने, बोल्न जान्ने र सामान्य मान्छे समेत सबैलाई बोलाइन् । वडा प्रतिनिधिहरु भत्ता बाँड्न आउँदा बेलमायाले घरमा कचहरी बसाइन् ।
गन्नेमान्ने र वडाका प्रतिनिधिहरु गुन्द्रीमा बसेका छन् । बाँकी अरु आँगनभरि अटिनअटि । कुनाको भीडमा भकभके माइला काँपिरहेको छ ।
‘भन् ऐ फुँडी, कसको पाप बोकेकी होस ?’ बेलमायाले चुल्ठोमा तान्दै चञ्चलालाई आँगनमा निकालिन् ।
‘… … …
‘यसकै मुख हेरेर मैले जोवन बिताएँ । आज यसैले मुख देखाउन नहुने बनाई ।’ बेलमायाले साँच्चीकै चर्को स्वरमा भनिन्, ‘मसँग मरे बोल्दिन । कसको नासो भिरेकी हो ? तपाईंहरु सोधिदिनुहोस र जिम्मा लगाइदिनुहोस ।’
बेलमायाले सबैसामु हात जोडिन् । चञ्चला झोक्राएर रोइरही ।
बूढापाकाहरुले सम्झाएर सोधे, चञ्चला बोलिन । महिलाहरुले फकाएर सोधे । अहँ, बोल्दै बोलिन । प्रतिनिधिहरुले तर्साएर सोधे । अहँ अहँ, बोल्दै बोलिन । मात्रै रोइरही ।
‘यो बाइफाले केटी हो । सोध्नै बेकार छ ।’ टंके कड्कियो ।
‘त्यै त । चौतारीको मादल । जसले भेट्यो उसले बजायो । के बोल्थी ।’ कसैले भनिहाल्यो ।
‘चौतारीको मादल !’
बेलमायाको रगत एकाएक उम्लेर आयो । पटुकामा भिरेको हँसिया झिकेर चञ्चलालाई झम्टिइन् । ‘के भनि मागिस ? सुनिनस् ? अझै बोल्दिनस् ? ऐ नकचरी, बोल् ! क–कसले बजाए तँलाई ?’
धन्न अरुले छेकिहाले र केही हुन पाएन ।
बेलमाया थरथर कामेकी थिइन् । आँखाबाट आगोको झिल्का छुट्लाजस्तो थियो । चञ्चलाले आमाको यो रुप कहिल्यै देखेकी थिइन । ऊ डराई ।
अब नबोले कहिले बोल्ने हो ? चञ्चलाको अन्तर चक्षु सक्रिय भयो ।
सुर्र्यास्त हुनु । दिनको समाप्ती हुनु । के यत्ति नै रात हो ?
होइन ।
दिनभरको छिनाझपट । कोषकोष थाक्दछन् । शरीर विश्राम खोज्दछ । त्यही विश्राम हो रात । सम्पूर्णतः विश्राम । यस्तै विश्रामको बेला हुँदै थियो । अर्थात रात पर्दै थियो । प्राणीहरु आ–आफ्नो बासस्थान छिर्दै थिए । चराचुरुङ्खी गुँडगुँडमा । गाईभैंसी गोठगोठमा । कुखुरा बाख्रा खोरखोरमा । फ्याउराहरु वनवनमा । अनि मान्छेहरु घरघरमा ।
रात परेकै हो । सबका सब बास बसेकै हुन् । यात्रा चुनावी अभियानको थियो । दुईजना भने हिंडिरहेकै थिए । चञ्चला र ऊ ।
मारमुङ्ग्रीमा बितेको घघडान दिन । थकाइले चुर भएको शरीर । प्रयास गरेकै हुन उज्यालैमा गन्तव्य चुम्ने । सकेनन् तर कसैगरि । बाटैमा रात प¥यो । उनीहरु बिसाए ।
मूलबाटो हो । दिनको उज्यालोमा भए दुनियाँ हिंड्थे । रातको अँध्यारोमा निर्जन थियो । सिङ उम्रेका मानछेले घेरे झैं लाग्ने । डर पो रहेछ रात ।
त्यसैले त होला, ऊ नजिक आयो । चञ्चलाको हातै समात्यो । निर्जन अँधेरीमा उसको स्पर्श नमीठो थिएन । भलै, हातै समात्नेसम्मको सहारा चाहिएको थिएन होला । चञ्चलाले झड्कारेर हात छुटाई । चुरा भए छिन्द्रिङ्खै बज्ने थियो । नभएकैले बजेन । नबजेकैले त आँट बढ्यो । बायाँ हात चञ्चलाको काँधमा राख्यो ।
र बोलायो सुस्तरी, ‘चञ्चला !’
‘हुँ’ भनी चञ्चलाले । बन्द ओठ खुलेन ।
ऊ कानछेउ आयो । र फुस्फुसायो, ‘आई लव यु ।’
अँध्यारोको ? एकान्तको ? स्पर्शको ? खासखुसको या समर्पणको ? पातिखर्क जाने मूलबाटोमा केको नसा फैलियो ? चञ्चला मदहोस भई । पृष्ठभूमि, समाज र भोलिको दिन । अहँ, केही आएनन् सम्झनामा । निष्फिक्री भई मदहोसीमा । सुम्पिई आफुलाई । जसोजसो ऊ, उसैउसै चञ्चला ।
बिहिबारेमा चुनावी सभा बिथोलिएको रात । जीवनकै पहिलो रात ।
रातलाई सम्पूर्णतः विश्राम ठानिनु भ्रम रहेछ । सम्पूर्ण शक्ति लगाएर भिड्नुपर्ने, रात त युद्घ पो रहेछ । अहो ! मीठो युद्घ ।
पहिलो युद्घरातपछिका रातहरु भने परिस्थितिवश नभई योजनाबद्घ बन्न थाले ।
कठै !
रात त धोका रहेछ । सम्झन मनै लाग्दैनथ्यो । तर, आज बाध्य भई । सम्झिदिई चञ्चलाले ।
‘चौतारीको मादल !’ सम्झन बाध्य बनायो । घिन्ताङघिन्ताङ गरेर सहनै नसक्ने बेतालको आरोप लाग्यो । आमाको रुप बदलिएको छ । अप्रिय निर्णय नगर्लिन् भन्न मुश्किल छ ।
‘चौतारीको मादल !’ खरी भइन्जेल बजाउने त रहेछ । अब त खरी पो झरिसक्यो कि ? तब को तयार होस बजाउन ।
‘हो, वडाध्यक्षले…’ चञ्चलाले सहसा भनिदिई ।
‘हँ…!’ आँगनमा एकाएक सन्नाटा छायो ।
‘आ आफु बजाउँदो रछ मा मादल ।’ भकभके माइला सन्नाटा चिर्दै जुरुकक उठ्यो । र गन्गनिदै हिंड्यो, ‘म मलाई पो जि जि जिम्मा लिई भ भ भन्छ ।’

तपाईको प्रतिक्रिया