आजको समयमा नेपाली साहित्यमा उसको उपस्थीति ढुङ्गा नै ढुङ्गाहरुबीच कुरी ढुङ्गा जस्तै हो जसका कविताहरुले आम मान्छेको कथालाई जीवन्तरुपमा बोलेको हुन्छ प्रस्तुत छ साताको कवितामा कवि स्वप्निल स्मृतिको तीन कविता ।

एक्काईसौँ शताब्दीमा यलम्बर

तीन हजार वर्षपछि
मेरो नातिको कोखमा पुनर्जन्म लिएको हुँ
म हुँ यलम्बर
यो मुलुकको प्रथम राजा
तिम्रो गणतन्त्रमा विना श्रीपेच उपस्थित छु ।

यो प्राचीन नगरीमा
प्रथमपल्ट मान्द्रोको दरबार मैले बुनेको हुँ
कुनै आदिम समयमा विष्फोट भएको यो उपत्यकामा
पानीको मुहान मैले पत्ता लगाएको हुँ
गाईको थुनमा झुण्डिरहेका मानिसहरुलाई
मानिसको दूध पिउन
यो काठामाडौँमा मैले नै सिकाएको हुँ ।

म हुँ यलम्बर
न कुनै हत्या
न कुनै कारावास
न कुनै अपमान
एक जुनी स–सम्मान शासन गरेर
यो मुलुक यो चार भन्ज्याङ यो साङ्ग्रिला
जन्म हुन बाँकी मानिसहरुलाई छोडिदिएर
तीन हजार वर्षअघि
स्वायत्त मृत्यु राज्यमा निर्वासित भए पनि
मायाले प्रेमले
बेला बेला म आइरहन्छु ।

म आएँ, राजा हुन नक्कल गर्नेहरुले
मेरो आँखा फुटाए
जिब्रो थुते
विश्वयुद्ध लड्न पठाए
म आएँ, मरेका या मारिएकाहरु
आउन नहुने यो मुलुकमा
फेरि म राजा हुन आएको आतङ्क फैलाए
कयौँ चोटि आधुनिक दरबारका बगैँचामुनि जिउँदै गाडे
तर म फुलिरहेँ रङ्गीविरङ्गी फूलहरुमा
इन्द्रेणी गेट टाँगेर
नयाँ नयाँ वसन्तलाई स्वागत गरिरहेँ ।

म यलम्बर
तिम्रो लोकतन्त्रमा फेरि आएको छु
यो राजधानीमा
म आएको छु र अफवाह फैलिएको छ
कि यलम्बर फेरि राजा हुन आएको छ
तर हिउँदे झरीले चुटिरहेको महाराजहरुका सस्ता सालिक देखेर
या त प्रत्येक मसलाका रुखहरुमा
शुक्रराज शास्त्रीहरु अझै जिउँदै झुण्ड्याइरहेको देखेर
मलाई भने राजा हुन रत्तिभर मन छैन ।

हारेका या हराइएकाहरु
मरेका या मारिएकाहरु
आउन नहुने नियम बनाउने
हजार जुनीसम्म यहीँ मुलुकमा जन्मन पाउँ भनेर
श्री पशुपतिनाथसँग वरदान माग्ने ए आधुनिक शासकहरु !
एक स्वायत्त नागरिक भएर
म प्राचीन राजा यलम्बरले बाँच्न पाउने कि नपाउने ?

म हुँ यलम्बर
मेरा सन्ततिहरुको कोखमा
हजारौँ वर्षसम्म मेरो पुनर्जन्म भइरहनेछ !

माउसुली शान्ति

खासमा त दिदी पुतली थिइन् पुतली !

एकदिन अम्लारी फूलको रस चुस्न खोज्दाखोज्दै
दिदीलाई
चिल्यो वैंशको अरिङ्गालले,
मनको कता कता भित्रैसम्म फैलियो विष
चिलाउन थाल्यो डल्लै पृथ्वी ।

जति कन्याए पनि धित् मरेन दिदीको !
बरु घाइते मात्र भए उड्न तम्तयार यौवनका पखेटा ।

जहाँ–जहाँ अफ्ठेरो
त्यही–त्यही चिलेछ पड्के अरिङ्गालले !

ऐया र आत्थु गर्दै कति बस्नु माइत गाउँ ?
धित् मर्नेगरी जिन्दगीलाई कहाँ गएर कन्याऊँ ?
एकदिन मेला उडिन् दिदी ।

सारीको पुच्छर हल्लाउँदै
फूलहरुको हाटमा धाननाची
खलामा धूलो सम्झेर कुल्ची ताराहरुको आँखीडाही
लाहुरेनी चन्द्रमाको शीर–फूल
ढल्काएर गएकी थिई, चम्किनु चम्किएछ
नबिग्रिनु बिग्रिएछ तन्देरीहरुका आँखा !

दिदीलाई–
असाध्य डर लाग्यो
अलिअलि सरम पनि लाग्यो
टाटनको बर्कोले सुटुक्कै छोपिन्
तन्देरीहरु देखेर हाँसिरहेको नाइटो
र, भागिन् आकाशैआकाश ।

भाग्दै जाँदा–
जङ्गलमाथि कतै खसेछ सुनको अहं र शीत बनेछ
बर्को बतासमा उडेर इन्द्रेणी बनेछ
सारीको पुच्छर चुँडिएर बादल बनेछ
ओहो, पालाम गाउँदै अरिङ्गाले तन्देरीले लखेटेको
संसार पुग्दा पनि छाडे पो !
रिसले दिदी अरिङ्गालको गोलाकै प्वालभित्रै पसी,
–बिच्किए अरिङ्गाल
–घेरिई दिदी अरिङ्गाल नै अरिङ्गालले…

र त दिदी अरिङ्गालबाट बिच्किएर माउसुली भएकी छिन्
माउसुली !

साँघुरो कोट

यसो उठाउँछु अभिवादनमा हात
दाहिने काखीमा उध्रिनु खोज्छ
सेवारो, नमस्कार गर्दा माननीयहरुलाई
कसैले पाता कसे झैँ लाग्छ
सिरानी हालेर सुत्न पनि त पुग्दैन घाँटी अररिन्छ
न जाँडो छेक्छ न गर्मीमा बाहुलाले पसिना पुछ्न मिल्छ
तै पहिरिनै परेको छ बिहेमा, भोजमा, सार्वजनिक समारोहमा…

मलाई थाहा छ—
यसलाई बुन्ने कपडाको जन्म कुनै कारखानामा भएको हो
तर त्यसको गर्भाधान मै जस्तो यही धरतीमा भएको थियो
म जान्दछु—
यसलाई तुन्ने धागो र सियो कस्को हातमा छ !
एक—एक सम्झिल्याउँदा
बजारमा नाङ्गै निस्कुँझैँ रिस उठ्छ
तर जति नै रिसमा, जोशमा, लाजसरममा पनि
दुवै हात गोजीमा लुसुक्क छिराएर
बडो शालिन मुद्रामा
बाँच्न त शान्त बाँचेको छु
थाहा छैन यसरी कतिन्जेल बाँच्न सक्ने हो !

मेरो साँघुरो कोट
मैले बाँचेको लोकतन्त्र हो ।

तपाईको प्रतिक्रिया