१० मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

मे ७ तारीख अपरान्ह ३ बजेको प्रेस ब्रीफिङमा हङकङकि खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानले हङकङमा कोरोना भाइरसको रुपान्तरित अर्थात उत्परिवर्तित स्वरुप अर्थात म्युटेन्टसंग संबंधित कोभिड-१९ केसहरु देखापर्न थालेपछि सरकारले अतिरिक्त पुर्वसतर्कता अपनाउने रणनीति अवलम्बन गर्न थालेको छ। यो नयाँ नश्ल संक्रमणको असरमा परेका हङकङ वासिन्दाहरुले अहिले २१ दिने क्वारेन्टाइनबाट गुज्रनु परेको छ।

म्युटेन्ट भाइरसलाई समुदाय भित्र थप फैलनबाट यथाशीघ्र रोक्न कन्ट्याक्ट ट्रेसिङ (भाइरस आएको बाटो पत्ता लाउने विधि ) गर्ने कार्यलाई सरकारले अहोरात्र जारी राखेकोछ। अन्ततोगत्वा सरकारले भाइरसको नयाँ नश्लद्वारा फैलिएको सामुदायिक संक्रमणको साङ्लोलाई तोड्न सफल भएको कुरा मन्त्रीले पोख्दै यो संक्रमणको लहरबाट प्रभावित नागरिकहरुले गरेको सहयोग प्रति आभार प्रकट गरिन।

डाक्टर सोफिया च्यानले निकट भविस्यमा अब म्युटेन्ट केस भेटिएका भवन निवासीले २१ दिन सम्म क्वारेन्टाइन बस्नु नपर्ने कुरा पनि खुलासा गरिन।

दुबै डोज भ्याक्सिन ग्रहण गरेको १४ दिन भैसकेको  कुनै पनि व्यक्तिले २१ दिन क्वारेन्टाइनमा बिताउनु नपर्ने भएकोछ। हङकङबाहिरबाट आउने व्यक्तिले दुबै डोज भ्याक्सिन लगाइ सकेको अवस्था छ भने र संबंधित व्यक्ति कम जोखिमपूर्ण देशबाट आएका हुन भने उनको क्वारेन्टाइन अवधि छोटो हुनेछ।

स्वास्थ रक्षण केन्द्रका नियंत्रक डाक्टर रोनाल्ड लामले मे ६ तारीख सम्मको आँकडा पेस गरे अनुसार हङकङमा सामुदायिक संक्रमणको पहिलो केस भित्र्याउने व्यक्ति भारतीय इन्जिनियर ( केस नं ११६४३) जो दुबईबाट फर्किएका थिए समेत गरेर जम्मा ८ वटा म्युटेन्ट केसहरु रहेका छ्न। यी भारतीय इन्जिनियर बसेको भवन जोर्डनको पार्क्स बिल्डिङ हो जहाँका निवासीहरु २१ दिनको लागि क्वारेन्टाइनमा गएका थिए जसको क्वारेन्टाइन अबधि मे ८ तारीख रातको १२ बजे सकिएको थियोे र कोहि पनि  थप संक्रमित यो क्वारेन्टाइन अवधिमा भेटिएन। अहिलेसम्मको म्युटेन्ट केसको संक्रमण दरको जोखिमलाई मुल्यांकन गरि हङकङ सरकारले भविष्यमा संक्रमित भवनका निवासीले निर्दिष्ट क्वारेन्टाइन सेन्टरमा २१ क्वारेन्टाइन बस्नु नपर्ने प्रावधान ल्याएकोछ। तर कुनै पनि भवनमा यदि प्रारम्भिक वा पुष्टि संक्रमण भेटिएमा उक्त भवन निवासीले तेस्रो , सातौ ,बाह्रौं र उन्नाइसौं दिन अनिवार्य कोरोना परिक्षण गराउनु पर्दछ।

संक्रमित भवनवासीसंग क्लोज कन्ट्याक्ट वा नियमित भेटघाटमा रहेका व्यक्तिले आफुलाइ स्व निगरानीमा राख्नु पर्नेछ । तथापि हङकङका विभाजित फ्लाट अर्थात सबडिभाइडेड फ्लाट भएको भवनमा यदि कोरोना भाइरसको म्युटेन्ट केस भेटिएमा सबै निवासी अनिवार्य २१ दिनको लागि क्वारेन्टाइन सेन्टरमा क्वारेन्टाइनमा बस्नु पर्दछ।

अहिले २१ दिने क्वारेन्टाइन बिताइरहेका कोर्नहिल गार्डन् , रोयल्टन, क्यारिबियन कोष्ट ब्लक ११ आदि निवासीहरुले अर्को कोरोना भाइरस टेस्ट गरेपछि यदि परिणाम नेगेटिभ आएमा घर जान सक्ने भएकाछ्न। तर घर फिरेपछी पनि उनिहरुले आफ्नो अनिवार्य टेस्ट तेस्रो ,सातौ ,बाह्रौं  र उन्नाइसौं दिन जारी राख्नु पर्ने छ।

१.क्लोज कन्ट्याक्ट अर्थात घनिष्ठ सम्पर्कमा परेका तर कोभिड-१९ भ्याक्सिनको दुबै डोज लगाएर १४ दिन कटाई सकेका व्यक्तिको हकमा जारी नयाँ मापदण्ड

कोभिड- १९ संक्रमित व्यक्ति (नयाँ नश्लद्वारा संक्रमित नभएको रोगी )को क्लोज कन्ट्याक्ट्मा परेका व्यक्ति जसले दोस्रो डोज भ्याक्सिन लगाएर १४ दिन बिताइसकेका छ्न उनीहरुले ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। होम क्वारेन्टाइनको लागि योग्य हुन पुर्व उनीहरुको एन्टिबडी टेस्ट रिजल्ट पोजिटिभ र पोलिमरेस चेन रिएक्सन ( पिसिआर) टेस्ट रिजल्ट नेगेटिभ आएको हुनु पर्नेछ।

कोभिड- १९ संक्रमित व्यक्ति (नयाँ नश्लद्वारा संक्रमित भएको रोगी )को क्लोज कन्ट्याक्ट्मा परेका व्यक्ति जसले दोस्रो डोज भ्याक्सिन लगाएर १४ दिन बिताइसकेका छ्न उनीहरुले १४ दिन क्वारेन्टाइन सेन्टरमा बस्नुपर्नेछ र ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। क्वारेन्टाइनमा बसेको बेला पहिलो ,तेस्रो ,सातौं र बाह्रौं दिनको टेस्टमा नेगेटिभ रिजल्ट आएको हुनु पर्दछ । र १४ दिने क्वारेन्टाइन बसेर घर जाने व्यक्तिको एन्टिबडी टेस्ट पोजेटिभ आएको हुनु पर्दछ। उन्नाइसौं दिनमा पनि पुनः अनिवार्य कोरोना टेस्टमा जानुपर्छ

२. कोभिड-१९ भ्याक्सिनको दुबै डोज लगाएर १४ दिन कटाई सकेका हङकङ आउने यात्रीको हकमा जारी नयाँ मापदण्ड
खाद्य तथा स्वास्थ व्युरोका स्थाइ सचीव थोमस च्यानले भने अनुसार  हङकङ आउने यात्री तथा हङकङ फर्कने हङकङ वासिन्दा जसले भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन भैसकेकोछ उक्त व्यक्तिले केवल १४ दिन मात्र क्वारेन्टाइनमा बस्नुपर्नेछ। तर कुन देशबाट उक्त व्यक्ति आउने हो त्यसमा निर्भर पर्दछ। र यो नियम मे १२ तारीख बिहान १२ बजेबाट  लागु हुनेछ।

३. समुह A1 भित्र पर्ने निर्दिष्ट स्थानहरु (परम उच्च जोखिमयुक्त) – ब्राजिल ,भारत ,नेपाल ,पाकिस्तान ,फिलिपिन्स र साउथ अफ्रिका – उपरोक्त अति उच्च जोखिमपूर्ण देशबाट आउने यात्रीले दुबै डोज भ्याक्सिन लगाएको भएपनि २१ दिन होटेल क्वारेन्टाइन बस्नुपर्नेछ।

४.समुह A2 पर्ने निर्दिष्ट स्थानहरु ( अति उच्च जोखिमयुक्त)-
आयरल्यान्ड र युनाइटेड किङ्डम (युके)- यी स्थानबाट हङकङ प्रवेश गर्ने यात्रीले भ्याक्सिन लगाएको भएपनि २१ दिन होटेल क्वारेन्टाइन बस्नुपर्नेछ।

५. समूह B मा पर्ने निर्दिष्ट स्थानहरु( उच्च जोखिमयुक्त)- बङगलादेश, बेल्जियम ,क्यानाडा ,इकुएडर, इजिप्ट ,इथोपिया,फ्रान्स ,जर्मनी ,इन्डोनेसिया ,कजाकस्तान,रोमानिया,रशिया,स्विजरल्याण्ड,टर्की , युक्रेन,युएई ,र युएसए ।

यी देशबाट आउने भ्याक्सिन लगाइसकेको व्यक्तिले १४ दिन होटेल क्वारेन्टाइनमा  र ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। हङकङ प्रवेश गरेको तेस्रो , सातौं ,बाह्रौं ,सोह्रौं,उन्नाइसौं र छब्बिसौँ दिनमा अनिवार्य कोरोना परिक्षण गर्नु पर्दछ।

६.समूह C मा पर्ने निर्दिष्ट स्थानहरु ( मध्यम जोखिमयुक्त )- चीन र समुह A1, समुह A2, समुह B अथवा समुह D अन्तर्गत रहेका स्थानहरु ।
* चीन भन्नाले मुल भुभाग,हङकङ ,मकाउ र ताइवान हो।

यी देशबाट आउने भ्याक्सिन लगाइसकेको व्यक्तिले १४ दिन होटेल क्वारेन्टाइनमा  र ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। हङकङ प्रवेश गरेको तेस्रो , सातौं ,बाह्रौं ,सोह्रौं,उन्नाइसौं र छब्बिसौँ दिनमा अनिवार्य कोरोना परिक्षण गर्नु पर्दछ।

७.समूह D मा पर्ने निर्दिष्ट स्थानहरु (न्यून जोखिमयुक्त ) – अष्ट्रेलिया , न्युजिल्यान्ड र सिङ्गापुर ।

यी देशबाट आउने भ्याक्सिन लगाइसकेको व्यक्तिले ७ दिन होटेल क्वारेन्टाइनमा  र ७ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। हङकङ प्रवेश गरेको  बाह्रौं र उन्नाइसौं  दिनमा अनिवार्य कोरोना परिक्षण गर्नु पर्दछ।

तपाईको प्रतिक्रिया