काठमाडौं । भाइरोलोजिष्ट डा. कुलराज राईले कोभिड १९ बाट मानिसको मृत्यु हुनुको प्रमुख कारण अत्याधिक साइटोकिन स्ट्रोमले मल्टिपल अर्गान फेलियर गराउनु रहेको बताएका छन् ।

नेपालमा हाल कोभिड १९ को दोस्रो लहर चलिरहँदा विशेषतः युवा वर्गहरुको मृत्युले हतास बनाएको अवस्थामा जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोवायोलोजी विभागले आयोजना गरेको भर्चुअल सेमिनारमा कोभिड १९ को भाइरसले हाम्रो शरीरका अंगहरुलाई कसरी खराब बनाएर मृत्युसम्म पुरयाउँछ भन्ने बारेमा चीनमा कार्यरत डा. राईले यस्तो बताएका हुन् ।

नेपाली विज्ञहरुको उक्त छलफलमा बोल्दै डा. राईले हाम्रो शरीरमा अक्सिजनको मात्रा घटबढ गर्ने तत्व साइटोकिन आँधी बारे यसो भने :

के हो त साइटोकिन आँधी ?

जब कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गरी संक्रमण गर्दछ, भाइरसको स्पाइक प्रोटिन हाम्रो शरीरको कोषिकामा भएका ACE2 मा गएर टाँसिन्छ । यो ACE2 र भाइरस स्पाइक प्रोटिनको बन्धनले भाइरसलाई हाम्रो कोषिकामा आन्तरिकरण गर्दछ । अब भाइरस हाम्रो शरीरको कोषिकामा वृद्धि हुन्छ । भाइरस वृद्धि हुने क्रममा भाइरसमा भएका प्रोटिन, RNAs हरु हाम्रो जन्मबाट प्राप्त प्रतिरक्षा प्रणालीका अणुहरुले बाहिरी अणु हो भन्ने थाहा पाउदँछ । त्यसैले यसले हाम्रो शरीरमा भएको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँदछ ।

हाम्रो कोषिकाले विभिन्न किसिमका साइटोकिनहरु उत्पादन गर्दछ । वास्तवमा संतुलित साइटोकिन्सको उत्पादनले भाइरसलाई निस्क्रिय गर्न मद्दत गर्दछ । तर अत्याधिक साइटोकिनको उत्पादनले उल्टो हाम्रो शरीरलाई वेफाइदा गर्छ । कोभिड १९ का सिरियस बिरामीहरुमा अत्याधिक साइटोकिनहरुको उत्पादन भएको अध्ययनहरुले देखाएका छन् ।

No description available.
भाइरोलोजिष्ट डा. कुलराज राई

कोभिड १९ का गम्भीर बिरामीहरुको विशेषता भनेकै अत्याधिक वा कम साइटोकिन उत्पादन हुनु हो । विशेषत अत्याधिक मात्रामा IL-6, TNF-a, VEGF-A जस्ता साइटोकिनहरु उत्पादित हुन्छन्, जसले हाम्रो अंगहरु फोक्सो, कलेजो, मुटु, मृगौला जस्ता अंगहरुलाई खराब पारिदिन्छ र व्यक्तिको मृत्युसम्म हुन सक्दछ । नेपालमा अहिले सम्म साइटोकिन आँधीको बारेमा अध्ययन गरिएको छैन । वास्तवमा कुन साइटोकिन कति मात्रामा उत्पादित भयो भन्ने मापन गर्ने हो भने त्यो साइटोकिनलाई ध्यानमा राखे बिरामी बचाउन सकिन्छ । जस्तो IL-6 नै सबै भन्दा बेसी मात्रामा उत्पादित भएको पाइयो भने त्यसलाई न्युट्रलाइज गर्ने मनोक्लोनल एण्टिबडी प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा डा.बसन्त गेलालले उठाउनुभएको साइटोकिन मापन सम्बन्धमा डा. कुलराज राईले यो नेपालमा सम्भव भएको जानकारी दिनुभयो । यसलाई एक्स भिभो एक्सपेरिमेन्ट गर्न सकिने, जनशक्ति र प्रयोगशाला पर्याप्त भएको तर सरकारसँग बजेट नभएको वा सरकारले पनि यस बारे चासो नराखेको डा. राईको भनाइ छ ।

No description available.

देश विदेशमा रहेका नेपाली माइक्रोवायोलोजिष्ट, बायोलोजिष्ट, बायोटेक्नोलोजिष्ट, बायोकेमिष्टहरु सक्षम रहेको तर नेपाल सरकारबाट उत्पादित जनशक्तिलाई उचित सदुपयोग नगरिँदा आज हाम्रो देश अरुको प्रविधि र भ्याक्सिन किन्ने लफडामा आफ्नो सम्पूर्ण समय लगानी गरिरहेको महसुसा भएको पनि राईले बताउनुभयो ।

कार्यक्रमका सहजकर्ता जनप्रिय बहुमुखी क्याम्पस माइक्रोबायोलोजि विभागका डा. सुवास अधिकारीले अहिले नेपाली वैज्ञानिकहरु विभिन्न मुलुकमा रहेको र हामीले किन नेपाली वैज्ञानिकहरुलाई नै प्लेटफर्म नदिने भनेर नेपाली विज्ञबाटै प्रस्तुती गराइएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी जनप्रिय बहुमुखी क्याम्पस प्रमुख तथा सह प्राध्यापक विरञ्जी गौतमले नेपालमा माइक्रोबायोलोजीको धेरै महत्व रहेको र अहिलेको महामारीमा सरकारले नीति बनाएर माइक्रोवायोलोजी विज्ञहरुलाई भरपुर प्रयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया