नेपाली साहित्यमा भिन्न, शान्त र शालिन व्यक्तित्व , लेखक विप्लव प्रतीक चुपचाप बहिरहेको बतास जस्तो आफ्नो लेखनमा प्रेमील । उहाँको हालसम्म प्रकाशित कृतिः नहारेको मान्छे (कविता सङ्ग्रह), अविजित (उपन्यास), अ पर्सन किस्ड बाई दि मून (कविता सङ्ग्रह, जसको स्पेनि र फ्रान्सेली भाषामा अनुवाद भएर प्रकाशित) अग्रेजी भाषामा पनि राम्रो दखल राख्ने सर्जक हुनुहुन्छ । उहाँले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका मुख्य कृतिहरु कनकमणि दीक्षितको ‘धुमधामको घुमघाम’, फ्रेडरिक बास्टियाको प्रसिद्ध कृति ‘दिल’, मन्नु भण्डारीको ‘महाभोज’, आर्थर मिलरको ‘डेथ अफ अ सेल्सम्यान’ र सराह केनको ‘४४८ साइकोसिस’ छन्। पत्रकारिता पेशामा पनि लामो समय सक्रिय लेखनमा प्रेम उहाँको ब्रान्ड हो । प्रस्तुत छ उहाँसग हङकङ खबरले लेखन र अनुभवहरुसँग केन्द्रीत रहेर गरेको कुराकानी

यस कालमा दिनहरु कसरी बितिरहेछ ? नयाँ के लेख्दै हुनुहुन्छ ?

– अठारौँ शताब्दीका एक जना हिन्दुस्तानी कविले भनेका थिए– ‘बिहान हुन्छ, साँझ पर्छ, उमेर यसरी नै रित्तिजान्छ ।’ दिन बित्न त के हो र ? यो यसै बितिजान्छ । गीत, कविता वा कुनै लेख्ने आइडिया जतिखेर जे जे फुर्छन्, तिनकै अभिलेख गरिरहेछु ।

तपाईँ विश्व साहित्यसँग पनि परिचित रहेका कारण भनिदिनुस् न वर्तमान समयमा लेखिईरहेको नेपाली साहित्य र विश्व साहित्य लेखनमा के भिन्नता छ ?

– नेपाली र विदेशी साहित्य भनेर विभेद किन गर्नु र ? जुन भाषामा लेखिएपनि साहित्य यो पृथ्वीको हुन्छ, विश्वकै हुन्छ, विश्व साहित्य अन्तर्गत नै पर्छ । सबैले आआफ्नो सँस्कृति, परिवेश र काललाई भोगेर लेख्ने हो, र तिनले यही धरतीलाई प्रतिनिधित्व गर्ने हुन् । यही धरतीमा यही धरतीका बासिन्दाले लेखेको कुरा यही धरती कै हो, विश्व कै हो । तर, गहनताको कुरा गर्ने हो भने हामीमा गम्भीर चिन्तनको अभाव भने छ । हुन त विश्वमै बिकाउ साहित्यको जमाना आएको छ भने त्यसको असर हामीमा पर्नु अस्वाभाविक होइन । तर, यही नै सुनौलो अवसर पनि हो, विश्वमा जे चलिरहेको छ, त्यसको असर हामीमा पर्न दिनुभन्दा हामी आफ्नो काममा केन्द्रित रहन सक्यौँ भने विश्व परिदृष्यमा हाम्रो लेखन उदाहरणीय हुनेछ ।

समकालीन लेखनमा नेपाली लेखकहरुले लेखिरहेको विषयवस्तुहरु बीच जुन ग्याप छ, त्यसलाई पुर्न के गर्नु पर्ला ?

–ग्याप भनेको के कुरालाई इङ्गित गरेको हो मैले बुझिनँ । तर, आफ्नै अनुसार बुझेर भन्नुपर्दा नेपाली लेखकहरुको रचनामा कुनै ग्याप छ जस्तो मलाई लाग्दैन । प्रत्येक साहित्यकार आफैँमा उसको जीवनदर्शनको इँट हो, अरु साहित्यकारको ईँटसँग जोडिएर सग्लो समकालीन साहित्यको स्तम्भ खडा हुन्छ । साहित्यकारहरुले लेखेको रचनामार्फत समकालीन कालखण्डको तस्बिर बनेको हुन्छ । त्यहाँ ग्याप हुँदैन, बरु पुरक हुन्छन् एकर्काका रचनाहरु । एउटा साहित्यकारले लेखेको कृतिलाई अर्को साहित्यकारको कृतिले कम्प्लिमेण्ट गर्छ ।

देशमा द्वन्द्वकाल शुरु भए यता नेपाली लेखनमा विभिन्न धार देखा परे । पछिल्लो समयमा सिमान्तकृत आवाजहरु सशक्त रुपमा आईरहेको छ । तर, तपाईँ चुपचाप लेखिरहनु भएको छ । के लाग्छ तपाईँलाई ?

– साहित्यको धार सँधै प्रगतिशील हुन्छ, कुनै वाद, धर्म वा सिद्धान्तको साम्राज्यभन्दा माथि हुन्छ साहित्य । साहित्यले मानिसलाई जीवनसँग जोड्दछ, जोड्नुपर्छ । नत्र त्यो साहित्य हुँदैन । र, साहित्यकार आफैँ सिमान्तकृत वर्गमा पर्छन् किनभने उनीहरु बोली नभएका मानिसहरुलाई वाणी दिन दृढनिश्चित मानिस हुन् । म चुपचाप लेखिरहेको छु भन्ने यदि कसैलाई लाग्छ भने यो बुझ्नुपर्छ कि कविहरु चुपचाप लेखि मात्रै रहने जीव हुन् । कविहरु कहिले पनि चिच्याउँदैनन् । तर, परेको आघातलाई, आफू बाँचेको कालखण्डमा छाएको अन्यायलाई उनीहरु बिर्सेर बस्दैनन्, नदेखेझैँ गर्दैनन् । बरु त्यसको विरोधमा आफ्नो विमति उनीहरु मधूर आवाजमा गुन्गुनाईरहन्छन् । सुन्दैनन् कसैले भने, कविले सुनिदेउ मेरो आवाज भनेर चर्को स्वरमा आग्रह पनि गर्दैन । कुनै कविले त्यसो गरेको मलाई थाहा छैन ।

तपाईँका पाठकहरुले तपाईँ केही भिन्न, अनि भर्सटायल लेखनमा अत्यन्तै कोमल, के हो के जस्तो, सुक्ष्म, शालिन लेखक भनेर चिन्दछन् । तपाईँ आफैँले चाहिँ कसरी यस समाजलाई महसुस गर्नुहुन्छ ?

– प्रशंसाकालागि अनुगृहित छु ।
म वनमा फुलेको फूल अर्थात वनफूल हुँ, बस्तीमा बाँचे पनि । र, जुन बस्तीमा बाँचेको छु, त्यस बस्तीका सारा मानिसले सहेका पीडा, त्यसले खोजेको निकास, त्यसको दुःख, त्यसको खुशी सबैसँग परिचित छु । मैले खोजेको समाज भूस्वर्ग हुनुपर्ने विश्वासमा हिँडेको हुँ । त्यो हुन पाएको छैन, विचलित छु त्यसैले । कुनै दिन हाम्रो समाज उदाहरणीय बन्नेछ भन्ने विश्वासको दियो भने आफू जतिसुकै विचलित भए पनि निभ्न दिएको छैन ।

समाजमा जति नै प्रेमको कुरा गरेपनि प्रेम पनि वर्गीय हुँदो रहेछ । जस्तै अलिक हुनेखानेले प्रेम, शान्ति र समृद्धिको विषयमा लेख्ने, अलिक नहुनेहरुले समानताको निम्ति लेख्ने कस्तो गम्भीर परिस्थितिबीच हामी नेपाली लेखकहरु लेखिरहेछौँ हगि ?

– प्रेम वर्गीय हुन्छ भन्ने कुरा मेरो ज्ञान बाहिरको कुरा हो । साहित्यको पनि वर्ग हुँदैन, साहित्य असल बाहेक केही हुनै सक्दैन । साहित्य संसारको हितको लागि गरिने साधना होे । र, हुने खानेले शान्ति, प्रेम र समृद्धिको लागि लेख्छ र नहुनेले समानताको लागि लेख्छ भन्ने कुरा पनि मेरो विचारमा सम्भव नहुने कुरा हो । कविले विभेद र अन्यायको विरोध गर्छ जहिले पनि । ऊ त प्रगतिको संवाहक हो । एउटा साहित्यकारले प्रेम र अर्कोले क्रान्तिको जिम्मेवारी लिएको हुँदैन । दुवैले आआफ्नो जीवनदर्शन अन्तर्गत आफू बाँचेको समाजले अनुभूत गरेको संवेदनालाई महसुस गरेर लेख्छन् । अन्याय र उत्पीडनको विरोध गर्ने कविहरुले जुलुसमा जानुपर्छ, आमसभामा पुग्नुपर्छ, या अरु नै माध्यमबाट बोल्नुपर्छ– त्यो एकदमै जायज हो । तर, लेख या ओपेडबाट बोल्नुपर्ने कुरा कविताबाट या साहित्यमार्फत् बोल्नु आवश्यक छ भन्ने मलाई लाग्दैन । त्यसो गरयो भने साहित्य कमजोर हुन्छ । हाम्रो साहित्य कमजोर भयो भने हाम्रा आउँदा पुस्ताको चिन्तन कमजोर हुन्छ । उनीहरुले आफ्नो चिन्तनलाई गम्भीर तुल्याउन विदेशी भूमिमा लेखिएका साहित्यको सहारा लिनुपर्ने हुन्छ ।

तपाईँले लेखेको गीत ‘हर रात सपनीमा ऐँठन हुन्छ’ अत्यन्तै चर्चित रह्यो । एक हिसाबले साहित्यको सबै विधामा त्यत्तिकै सक्रिय रुपमा कलम चलाईरहनु भएको छ । खासगरि तपाईँको लेखनले प्रेमको जिकिर गरिरहेको हुन्छ । हाम्रो समाजमा वर्गले प्रेम निर्माण गर्दोरहेछ । जस्तै उदाहरणका निम्ति हाम्रो समाजमा प्रेम बडो विभेदकारी र वर्गीय छ, तपाईँ के भन्नुहुन्छ ?

– मैले प्रेमबारे मात्रै लेखेको छु भन्ने मलाई लाग्दैन । संसारभरिका कविहरुले जे जे विषयमा लेख्छन म पनि तिनै विषयभन्दा टाढा रहेर लेख्न सक्दिनँ । कविताको सीमा त्यही हो । प्रेम, सत्य, जीवन जुन दिन कसैले बुझ्यो भने त्यसदिन श्रृष्टिबारे जिज्ञासा रहनेछैन । र, जीवन बडो रहस्यमयी कुरा हो, कहिले पनि सुल्झिन नसक्ने रहस्य । जति नै सुल्झाउन चाहे पनि रहस्यको नयाँ लहरो पलाउँछ । तर, नयाँ लहरो पलाउँछ भन्दैमा सुल्झाउन छाड्ने कुरा आउँदैन । त्यसैले त हजारौँ वर्षदेखि कविताको यात्रा चलिरहेको छ । र, कविले कविता लेख्ने हो, कवितामार्फत नेताले बोल्ने कुरा बोल्ने होईन । संसारको सबभन्दा प्राचीन कविले जुन जुन कुरालाई सम्बोधन गरयो, हामीले पनि त्यही गर्ने हो । भावना, सम्बन्ध, प्रेम र श्रृष्टिप्रतिको खुल्दुलीको परिधिमा चिन्तन गरेर पाठकलाई नौलो आयामतर्फ लैजानुभन्दा पनि आफू नै त्यस वृत्तमा पुग्ने कोशिश रहन्छ कविको । र, आफूले भन्न खोजेको कुरा सर्वथा नौलो ढङ्गले भनुँ र पाठकको हृदयप्रवेश गरुँ भन्ने आकांक्षा हुन्छ कविको । म पनि त्यही गर्ने कोशिशमा छु । कुनै पनि समाजमा वर्गले प्रेम निर्माण गर्दो रहेछ, प्रेम डरलाग्दो छ, विभेदकारी छ भन्ने कुरामा भने म अनभिज्ञ छु । प्रेम त साधना हो, पाउनु र गुमाउनुको साँगुरोमा प्रेमको सम्भावना हुँदैन । पाउनु र गुमाउनुको हिसाबकिताबमा अल्झिएको हुँदैन प्रेम । यो त मदिर महसुसको नशामा डुब्दै आनन्दको उत्कर्षमा पुग्ने अवस्था हो । त्यहाँ पुगेपछि आकांक्षा र अपेक्षाको अवसान हुन्छ । यो मेरो परिभाषा हो, म त्यहाँ पुग्न सकेको छु वा छैन थाहा छैन । तर, त्यहाँ पुग्ने कल्पना टुटेको छैन मेरो । र, प्रेमको परिभाषा सबैको आआफ्नै हुन्छ । एउटाले बुझेको प्रेम अर्कोलाई काम लाग्दैन । र, प्रेम के हो भन्ने कुराको गणितीय जवाफ हुँदैन । तर, प्रेमलाई विपरित लिङ्गीबीचको सम्बन्धमा मात्र केन्द्रित गरेर हेर्ने हो भने चाहिँ हाम्रो समाज मात्र होइन विश्वका समृद्ध राष्ट्रमा पनि त्यसको तस्बिर भयावह छ, हृदय छिन्नभिन्न बनाउने खालको छ ।

तपाईँलाई लाग्दैन पशुभन्दा मान्छे तल छ । हामीले बाँचेको समाज, हाम्रो सँस्कार हामीले अँगालेको धर्म यी सबैको अवस्थालाई अध्ययन गर्दा तपाईँलाई त्यस्तो लाग्दैन ?

–हामी अहिले विवेकसम्पन्न अवस्थामा आइसकेको छौँ । प्रश्न गर्न सक्ने भएका छौँ । समाजमा रहेका विभेद, अन्यायहरुको जरा सयौँ वर्ष पुराना हुन् । जरैसहित नाश हुन समय लाग्छ । तर, जरा उखेल्ने मानसिकता र प्रणको सुर्य त हाम्रो चिन्तनमा उदाईसकेको छ नि । त्यो बडो आशलाग्दो र उदाहरणीय कुरा हो मेरो लागि । हाम्रो समाज सहिष्णु छ । त्यही सहिष्णुतालाई शक्ति बनाएर हाम्रो समाजमा अद्यापि विद्यमान विभेद, अन्याय र असमानताहरुलाई हामी आफैँ मिलेर मास्नुपर्छ । कुनै सरकार, व्यवस्था र नेताहरुले त्यसको जिम्मा लिन सक्ने हैसियत बनाएका छैनन्, बनाउने छैनन् भन्ने कुरा हामीले जति छिटो बुझ्यौँ, त्यति छिटो हामी नेपाली समाजलाई गर्व गर्न लायक अवस्थामा पुरयाउनेछौँ ।

‘अविजित’ उपन्यास लेखिसकेपछि पाठकहरुको कस्तो प्रतिक्रिया पाउनुभयो ?

– राम्रो पाएँ । राणाराजमा शुरु भएर पञ्चायती राजको अन्त्यमा टुङ्गिएको कालखण्ड समेटिएको कथालाई अहिलेका किशोरवयदेखि वयस्क पाठकले रुचाएको थाहा पाउँदा राम्रो मान्नु बाहेक के गरुँ र म ? तर, पद्यमा रमाउने मान्छे म, गद्यको तारिफ हुँदा मनग्य खुशी चाहिँ हुन जानिनँ कि ?

विश्व साहित्यमा तपाईँलाई मनपर्ने लेखकहरु को-को हुन् ? अनि आफ्नै देशका लेखकहरु चाहिँ को को मन पर्छ ?

– कस कसको नाउँ लिउँ ? धेरै छन्, सूची लामो छ, तर अहिले सम्झिँदा टोल्सटोय, चेखभ, सोल्जेनित्सिन, आस्त्रोभ्स्की, दस्तयभ्स्की, नाबाकोभ, पास्तेरनाक, जिब्रान, हर्मन हेस, क्यामु, सिमन दु बुभ्वा, अज्ञेय, निर्मल बर्मा र भी. एस. नयपलको नाम याद आउँछ । अहिले लेखिरहेका सबै नेपाली साहित्यकारहरु मलाई मन पर्छन । सबैले यस कालखण्डमा लेखिनुपर्ने कुराहरु उदाहरणीय रुपमा लेखिरहेका छन । दिवङ्गत नेपाली लेखकहरुको नाममा चाहिँ बीपी कोइराला, बालकृष्ण सम, मदनमणि, दौलतविक्रम विष्ट, धनुषचन्द्र गौतम, भवानी भिक्षु, पारिजात र मदनमणिको नाउँ चाहिँ बिर्सिँदा पनि याद आउँछ ।

गीतको विषयमा भन्नुपर्दा अहिलेको गीत लेखन कसरी अगाडि बढिरहेको छ ?

– नेपाली गीतहरु काव्य हराएको अवस्थामा छ । अर्थात पँखेटा हराएको पञ्छी जस्तो हुन्छ, त्यस्तै अवस्थामा गुज्रिरहेको छ नेपाली गीतको अहिलेको अवस्था । धेरै ओजस्वी गायिका-गायक र हृदयस्पर्शी धून बुन्न सक्ने सङ्गीतकारहरु भएको यस्तो विशिष्ट संयोग जुरेको बेला लेखिएका गीतहरुको अवस्था यस्तो हुनुलाई विडम्बना नै मान्नुपर्ला ।

विप्लव प्रतीकले आफैँले आफ्नो बारेमा भन्नुपर्दा चाहिँ के भन्नुहुन्छ ?

– आफ्नो बारेमा त आफैँ के भन्नु र ? लेख्छु, केर्छु र फेरि लेख्छु । केही लुकाउँछु, केही थन्क्याउँछु, केही सुनाउँछु, केही पाउँछु, केही गुमाउन पुग्छु र मुस्कुराउँछु । र, यसकै सेरोफेरोमा बाँचिरहेछु ।

तपाईको प्रतिक्रिया