तीन दशक देखि कविता लेखन र पत्रकारितामा सकृय बज्र कुमार राई हाल हङकङमा बसोबास गर्नुहुन्छ । चुपचाप लेख्न रुचाउने तर बाहिर ल्याउन नचाहने राई हङकङमा लेखीरहेका समकालिन कविहरुमा एक शसक्त कवि हुन् । प्रस्तुत छ साताको तीन कविता

साथीसँग !

जोर्डनको बुढो पार्कमा
चिन्ताओ क्यान समातेर
रातभर एक्लै बर्बराउँदै बस्ने मान्छे !
त्यो को होला साथी ?
जसको वासना धरोधर्म हाम्रै जस्तो निर्वासित छ।

उहि दुले रेष्टुरेन्टको बसाईपछि
मध्यरात उता ढुन्मुनिंंदै निस्केर
नाइट मार्केटको तल्ला चढ्ने को होला साथी ?
काम तमामपछि तल्ला झर्दै गर्दा हामीले भेटेको
त्यो मान्छे !
हामी जस्तै हुन्छन्
कि होइन हौ साथी ?

ओके सप र सेभेन इलभेनको पहिलो चियर्शबाटै
देश र राजनीतिको कुरा झिकेर
नेता र देशलाई तथानाम गाली बर्साउने
झुण्ड झुण्ड
विद्रोहीभावका मान्छेहरु !
को होलान साथी ?
कुरा सुन्दा यस्तो लाग्छ-
देशको सबैभन्दा ठूलो चिन्तकहरु हुन।
सबैभन्दा ठूला न्याय देवहरु हुन।
कि होइन साथी ?

बाटो बाटोमा खोलिएका
गेम सेन्टरबाट
सिगरेट तान्दै निस्केर
गल्ली गल्लीमा
ग्याङ फाइट गर्ने
हाम्रै छोरा जस्ता लाग्छन्
कि होइनन पो हौ साथी ?

ड्यूटीमै बेहाल मातेर
बिहानीपख,
तरुणहरुले माया गर्दै हिंडाई रहेका
तरुणी महिला
हाम्रै चेली जस्ता लाग्छन्
कि होइनन पो हौ साथी ?

जक्की हस्पिटलको पेटीमा

ट्याब्लेट लिन कुरी रहेका मान्छेहरु
पब्लिक ट्वाइलेटभित्र आफैंले आफैंलाई

इन्जेक्शनको निडिल घोपी रहेका मान्छेहरु !

या त
पुलमुनि प्लाष्टिक र

कार्टूनको घरमा सुति रहेका मान्छेहरु
हाम्रै हुन भन्छन त !
कि होइनन पो हौ साथी ?

बाउलाई छोराले चक्कु घोपेर मार्यो
छ्यामालाई छोराले काटेर मार्यो
थकानले सेफ्टी बार समाउँदै सींडी
उक्ली रहेकी आमाको कतै
गला लुछियो
ति सब नेपोई नै पो भन्छन त हौ साथी !
कि तपाईले भने जस्तो-
वित्थामा हाम्रो अन्तर्राष्ट्रिय
बेइज्जत मात्रै गर्दैछन हौ ?

ए साथी
आजकल म-
सुनेर पनि नसुन्ने भाको छु
देखेर पनि नदेख्ने भाको छु
जानेर पनि नजान्ने भाको छु
बुझेर पनि नबुझ्ने भाको छु
सम्झेर पनि नसम्झने भाको छु
गरेर पनि नगर्ने भाको छु
मानौं
म यीनै माहौलको निर्दोष कैदी भएको छु।
मेरा इन्द्रियहरु अवचेतन हुन थालेका छन
म आफ्नै निर्वासित भविष्यप्रति बेफिकर भएको छु
म भावशून्य हुँदैछु
म निर्मम हुँदैछु
मसँग अझै केहि कामनाहरु बाँकी छन कि छैनन?
केहि शुभचिन्तनहरु बाँकी छन कि छैनन?
हो,साथी !
यदि छन भने मेरा बाँकीहरुबाट नै,
आरम्भको चेष्टा खोज्ने यत्न गर्दछु
सारा हिजोहरुलाई मेटेर म
नव दैनिक दृष्य उदघाटन गर्न चाहन्छु।
कि कसो कसो पो गरुँ हौ साथी !

के होला नि ! ?

ति मान्छे उस्तै छन
ज्ञानीन्द्रिय उस्तै छन
फरक त महाशय !
घातक मस्तिष्क
पापी मन
धारिलो जिब्रो
र,उस्तै झुन्डिय अहंकार न हो।
जो मान्छे कै छातीभित्र
पक्षघात भएर शदियौंदेखि बसेका छन।

व्यवहारको स्वरुपमा,
कहिले ति-
भ्यागुता जस्ता लाग्छन
कहिले सर्प जस्ता लाग्छन
कहिले बिच्छी जस्ता लाग्छन

उनैले हो,
अगाडि बढ्न खोज्यो
खुट्टा तान्छन
कुवामै खसाउँछन
र,भन्छन-
तँ हामीभन्दाअघि बढ्न पाउँदैनस
पाउँदै पाउँदैनस…….

कसो कसो उम्काएर खुट्टा
परिबर्तनको संघारतर्फ पाइला बढाउँछु
त्यतै त्यतै सर्प बनेर उनै आउँछन
घेरा हाल्छन
बिना हलचल थचक्क बस भन्छन

कसो कसो उम्केर
सर्पको घेराबन्दीबाट
विवेकको राजमार्गतर्फ दौडन्छु
उनै सर्पहरुले फेरि
खेदाउँछन लखेटछन

केहि क्षणमै मेरो शरीरभरि टोक्छन
छाला छिद्रछिद्र बनाउँछन
खूनमा मिसिएर टोकाईको बिष फैलिन्छ
म त्यहिं ढल्छु
करिब करिब मृत्युको मुख नजिक पुग्न लाग्दा
मेरा आँखाले देख्छन-
बिच्छीहरुले मलाई अझै टोकी रेहेका हुन्छन।

मेरो विवेकले भन्छ-
तँ कुवाबाट निस्किस
सर्पबाट भागीस
तर बिच्छीबाट बच्न सकिनस
तँ भाग्न अघि नै तेरो शरीरमा बिच्छीहरु पसी सकेका थिए।

लु भन अब-
के भाग्नु भनेको उन्मुक्ति हो र छ त !
अब तँ जाग
अब तँ उठ
भाग्ने होइन भगा
जाक्ने होइन जगा
तँ भूत हुनु स्मृतिको
तँ योद्धा हुनु बर्तमानको
तँ आगमन हुनु भविष्यको

महाशय !
यति लेखेर जोशिलो कवि भाई हराएको छ।
अब के होला नि ?

अनाथ अभिव्यक्ति

तिमी
जति निचोर
अनाथ मन
र,पिउन खोज
आँखाको रस…..
चुहिदैन नुनिलो आँशु
र,तिमी पिउन सक्दैनौं पनि।
किनकि,
तिमीले पिउने आँशुमा
तिम्रै आलो रगत देख्नेछौ
सधै नै तिमीले।

तिमी
लाख सुइरो घोप
टुहुराको छातीमा।
र,छेड्न खोज
मुटु कलेजो
अति नमिठोले।
दुख्दैन रत्तिभर
र, तिमी दाह्रा किट्दै
चिमोट्न सक्दैनौ पनि।
किनकि,
तिम्रो अनगिन्ति बचन सहँदै बाँचेको
तिम्रै निर्धन मुटु -कलेजो पो हो यो।

तिमी जत्तिसुकै
क्रुर बर्बरताको प्रदर्शन गर
र, मेटाइदिन खोज
उत्साहको जिन्दगी
सक्दैनौ मार्न
र,तिमी खान सक्दैनौ पनि।
आफ्नै लाशको गतिलो चोक्टा।

भो
तिमी सपनाको साम्राज्यमा
टुहुराको दरबार बनाउछु नभन
र, नखोस उसको
एक्लोपनको
झस्कँदो निद्रा पनि।
केवल मान्छे !
प्रेममा बाँच्छ !
प्रेमले बाँच्छ !
सिर्फ प्रेम ………

तपाईको प्रतिक्रिया