काठमाडौँ । सेवासुविधासहित विभिन्न ५ सूत्रीय माग राख्दै धर्ना दिइरहेका वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । स्वास्थ्यकर्मी तथा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमबीच छलफलको क्रममा आज भनाभन भएपछि प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो ।

विभिन्न ५ सूत्रीय मागसहित धर्ना दिइरहेका कर्मचारीसँग छलफलको क्रममा तनावपूर्णस्थिति सृजना भएपछि डा. गौतमले प्रहरी बोलाएका थिए । प्रहरीले कर्मचारीहरुलाई बैठकस्थलबाट निकाल्नका लागि बल प्रयोग गरेको थियो । सो क्रममा अस्पतालका ५ जना कर्मचारी घाइते भएका छन् । उनीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।

ुचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीले छलफलका लागि गएको बेलामा प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले प्रहरी बोलाएर कुटाएको बताए । डा. गौतम भने दर्जनौं प्रहरीको घेरामा बसेर अस्पतालबाट बाहिरिएको उनको भनाई छ ।

धर्ना कार्यक्रम सोमबार पनि जारी रहने जानकारी दिए । डा. गौतमको प्रतिक्रियाका लागि गरिएको प्रयास भने सफल हुन सकेन ।

कर्मचारी युनियनले २०७७ साल भदौदेखिको कोभिड भत्ता, असोजदेखिको सेवा विस्तार भत्ता र ०७७ सालको औषधि खरिद भत्ताको माग गरेर धर्नामा बसिरहेका छन् । यस्तै उनीहरुले यथाशीघ्र कोभिड-१९ युनिफाइड अस्पताल संचालन हुनुपर्ने र डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई दिएको करोडौंको टेण्डरको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

यस्तै, वीर अस्पतालको नेपाल स्वास्थ्यकर्मी संघले एक विज्ञप्ति जारी गर्दै डा. गौतमले फिर्ता नभएसम्म र प्रहरीले माफी नमागेसम्म कडा आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया