समर्पण श्री

कथा लेख्नु अघि मेरो मस्तिष्कमा पात्रहरू भरिए ।
सुरूवात कसरी गरौं? अलमलमा थिएँ । कसलाई कुन भूमिका दिऊँ ? कसलाई सहानुभूतिको पात्र बनाऊँ ? कसलाई क्रान्तिकारी वा बदनामीको बिम्ब बनाऊँ ? केही पात्रहरूको जमघट गराएर म घोरिनँ थालेँ ।
अचानक कतैबाट खासखुस सुनियो ।

अनौठो लवजमा कोही बोलेजस्तो लाग्यो । आफू बसेको कुर्चीको वरिपरि हेरेँ । ढोका बन्द थियो । बाहिरबाट कुनै आवाज आउने सम्भावना नै थिएन । रातको एक बजे । कोही निद्रालाई बिटुलाएर उठ्नेवाला थिएन । कोठा सुनसान थियो । शंकालु आँखाले भित्ताहरूमा हेरेँ । हेरिरहेँ, भित्ता अनौठो आकृतिमा ढल्दै थियो । अमूर्त लागिरहने त्यो भित्तामा मैले अनौठा अनुहारहरू देख्न थालेँ ।
अनुहार एक, अनुहार दुई, अनुहार तीन, अनुहार चार…!!
अरे ! ती अनुहार कसरी भित्ताभरि पोतिए ?
के मध्यरातमा मैले कुनै भ्रम पालिरहेको छु ??
भ्रमसँग मेरो केही दिन अघिमात्र भेट भएको थियो । उसको दाबी थियो कि मैले उसलाई चिन्न सकिनँ । मैले उसको अस्तित्वलाई सत्य मानिरहें ।आखिर म सिधा मान्छेले सिधै सोचेँ ।

भ्रम भन्दै थियो–
तिमीहरूमा यही कमजोरी छ । तिमीहरूका देशका प्रधानमन्त्रीले मलाई ओठमा च्यापेका छन् । नेता, कार्यकर्ता सबैले च्यापेका छन् । उनीहरूले गीत गाउँदा मै गुन्जिन्छु। उनीहरूले भाषण गर्दा मै थर्कन्छु । उनीहरूले दिने आश्वासन मै हुँ । उनीहरूले देखाउने सदासयता मै हुँ । मेरो राज्य साम्राज्य यति ठूलो छ तिमीहरू बुझ्नै सक्दैनौँ ! मलाई चिन्नै सक्दैनौ !

उसले भनेको आधाआधी पनि मलाई बुझ्न हम्मे थियो ।

प्रधानमन्त्री, नेता, कार्यकर्ता थुप्रैको उदारहण उसले किन दियो ?
‘मैले आधा बुझेँ । आधा बुझिनँ,’ प्रस्ट भनेँ ।
‘हो त्यही आधा आधा बुझ्ने बानीले तिमीहरू मूर्ख भयौ । मलाई सत्य नठान्नू । म सत्य नभएरै भ्रम भएको हुँ। तिमीहरूले जे जे कुरा सत्य ठानिरहेका छौ । त्यो सत्य हैन । म हुँ । यतिबेला सत्य मेरो साम्राज्यले खडा गरेको कारागारमा सजाय भोगिरहेको छ । तर, बन्दी बनाउन कम्ता कठिन भा छैन। कहिले कुनै क्रान्तिकारीको शरीरमा घुसेर मेरो विरूद्ध देखापर्छ । धन्न, मैले चाल पाउँछु । अनि पक्रन आदेश गरिहाल्छु । यसरी धेरै क्रान्तिकारी मैले बन्दी बनाएको छु ।
‘अरे, अनि हाम्रा अहिलेका कम्युनिष्ट नेता पनि त क्रान्तिकारी हुन् नि?’ मैले प्रतिवाद गर्दै भनेँ, ’ के तिनीहरू पनि भ्रम थिए । अनि हामीले पाएका प्राप्ति पनि भ्रम थिए?’
त्यो राणाशासन होस् वा शाहीसासन । पछि प्रजातन्त्र र गणतन्त्र भनेर तिमीहरू खुसीले उफ्रियौ र थाक्यौ । क्यै भयो ? यदि भयो त मेरो खेति भयो ।चोक चोकमा । सडक सडकमा ।’
‘अनि हिजो जनयुद्धमा १७ हजार मरे । के त्यो सत्य थिएन ?’ मलाई जोडले चिच्याउन मन लाग्यो । म चिच्याएर बोलें । मेरा रगतहरू उम्लिएका थिए । म अधैर्य भइसकेको थिएँ ।

मेरो स्थिति देखेर भ्रम एकछिन मौन बस्यो । मलाई एकटकले नियालेर हेर्यो ।
‘तिमीले कथा नलेखेको कति भयो ?’ उसले सुस्तरी सोध्यो ?
‘एउटा कथा लेखेको छु । दुई वर्षअघि ।’
‘अनि अहिलेसम्म किन लेखेनौ?’
‘कन्टेन्ट छैन ।’
‘हो, सत्य के हो तिमीलाई थाहा नै छैन । तिम्रो मस्तिष्कमा पनि मेरो साम्राज्य छ । छैन भन्ने तिम्रो सोचाइ नै म हुँ । तिमीले भन्यौ नि १७ हजार मरेको सत्य हो कि हैन भनेर ? हो यही विषयमा तिमीले सोचिदिएको भए अर्को कथा लेखिसक्थ्यौ । सत्यका हजारौं अंश उनीहरुसंगै बली भए ।’

मैले मेलोमेसो पकडिसकेको थिएँ । मसंग आज साक्षात भ्रम थियो । अचम्म त ऊ नांगो भएर आएको थियो । उसका नग्नताहरूले विचारका उत्तेजना भरिदिए ।
‘खासमा म भ्रम हुँ । सत्यलाई मैले बन्दी बनाएको छु । तर, मैले स्विकार्नुपर्छ कि आज म नांगो भएर तिम्रो अघि उभिएको छु । मभित्र पनि अन्तिम सत्य छ, त्यो यही नग्नता हो । जब तिमीले मलाई चिन्छौ त्यहाँ मेरो अस्तित्व सकिन्छ ।’

आखिर किन मलाई द्वैध चरित्रमा उसले कुरा गरिरहेको थियो ? यतिबेला भ्रम अस्तित्वमा थिएन । ऊ आफैँमा एउटा सत्य थियो । जब मैले यो कुरा बुझेँ, अचानक भ्रम गायब भयो ।

कहाँ गयो ? देखिनँ ।
त्यसरात मलाई निकै छट्पटी बढेर आएको थियो । निदाउनै सकेको थिइनँ । बिहान पत्रपत्रिका पल्टाएर हेरेँ- मन्त्रीको आश्वासन, नेता कार्यकर्ताको भाषणको उद्दत !
अहो ! ती सबै भ्रम थिए ? मैले सोच्न थालें ।
सोच्दासोच्दै म थकित हुन्थेँ । खासमा मलाई भ्रम र सत्य ठम्याउन ठूलै जमर्को लाग्यो । त्यसअघि कहिले सोचिनछु यसरी । खुब पश्चाताप पनि भयो । त्यसदिन यता म खुब भ्रम र सत्यबारे केलाइरहेको थिएँ । देशका राजनीतिक घटनाहरू खोजी खोजी पढ्न थालेको थिएँ ।

यही क्रममा आज लेख्ने मुडमा म उठें । कथाका पात्रहरूको जमघट गराएर घोरिएँ । अनि खासखुस सुनेर भित्तातर्फ आँखा लगाउँदा मैले अमूर्त आकृतिहरू देखेँ । र, म सोच्दो थिएँ– के म भ्रम पालिरहेको छु।

जवाफमा उताबाट आक्रोस आयो– भ्रम हैन । कुण्ठा पालिरहेका छौ तिमीले, कुण्ठा !
अरे, मेरो मस्तिष्कको पात्र एक भित्तामा अस्पष्ट देखियो । उसले मतर्फ प्रहार पो गर्यो ।
’कसरी कुण्ठा भन्छौ तिमी हँ ?’
मैले आफैंले सोचेको पात्रसंग प्रतिप्रश्न गरें ।
‘यो किन कुण्ठा हैन ? तिम्रो कुण्ठाको पहिलो सिकार मलाई बनायौ । मलाई तिमी एउटा दुःखी पात्र बनाउँदैछौं । कहिल्यै नघटेको घटना ममाथि घटाउँदैछौ । म सहन सक्दिनँ । मलाई तिम्रो कथाको पात्र नबनाऊ । मलाई स्वतन्त्र छाडिदेऊ । म तिम्रो कथामा युगौंसम्म दुःख सहेर बन्दी भएर बस्न सक्दिनँ ।’
अहो ! मैले प्लट नबनाउँदै पात्रले सब कुरा ओकल्यो । मभन्दा अघि अघि कथाका पात्र कसरी पुगे । सायद म घोरिएर सोच्ने बेला अघिल्ला कुरा सम्झँदै दिएँ । त्यति नै बेला पात्र-१ ले मलाई नियालेको हुनुपर्छ ।
‘तिमी मेरो पात्र हौ । तिमीलाई मैले मेरो योजनाअनुसार ढाल्न सक्छु । तिमीमाथि जुन घटना घट्छ, त्यो नेपाली समाजको यथार्थता हो । ताकी त्यही घटना फेरि नदोहोरियोस् । एउटा परिवर्तनको लागि तिमी तैयार हुनुपर्छ ।’

‘भुत्राको हुनु तैयार । हजारौं मान्छेको बलीले नभएको परिवर्तन, हामीजस्ता कथा र आख्यानका पात्रले ! यो निर्मम छ राज्यका लागि अब फेरि किन तयार हुने ?’

बल्ल बल्ल कथा लेख्दैछु । नितान्त आफूले सोचेको पात्र पनि आफूसँग सहमत छैन । म चिन्तामा परेँ ।
‘तिम्रो कथामा मलाई पक्कै तिमीले नेता बनाउँदैछौ । म त्यस्तो घृणित पात्र बन्न चाहन्न । मलाई नेता मन पर्दैन ।’
पात्र’२ फुत्त देखापर्यो । उसको हातमा चल्तीको पार्टीको झण्डा थियो । त्यो झण्डा फाल्ने तरखरमा थियो ऊ । मानौं कसैले जबर्जस्ती भिराइदिएजस्तो । उसले नेता बन्न अस्वीकार गर्दैछ ।

‘नेताको समाजमा कत्रो मान मर्दन हुन्छ । ऊप्रति समाजको कति ठूलो आशा छ । किन तिमी नेता बन्न चाहन्नौ ? मैले सोचेको पात्र हौ, तिमी नेता बन्छौ मेरो कथामा,’ मैले जोड गरेँ ।
‘तिम्रा पाठकको गाली र घृणा सहेर म यो जीवन्त आयु कसरी बाँच्न सक्छु । असल नेता भइदिएको भए सायद तिमी यो कथा नै लेख्न चाहन्न थियौ । बिन्ती, मलाई नेता नबनाऊ ।’

उसको कस्तो घतलाग्दो कुरा । मेरो पात्र यति सचेत ! मसँग बिमती राखिरहेछ, त्यो पनि वैचारिक तर्कसहितको । म कन्भिन्स भएँ । तर, कथा त लेख्नुपर्यो !

‘कथा नलेख तिमी । तिम्रा समीक्षकहरू नै असल छैनन् । तिम्रो कथालाई पाठकसम्म पुग्ने तगारो हुन्छन् । बेकार हामी पात्रहरू तिम्रो कथाको सुली किन चढ्ने ?’
पात्र-३ । जो पढेको र बुझेको जस्तो हाउभाउमा बोल्दै थियो । पक्कै ऊ कथामा कवि पात्र बन्ने थियो । उसले समीक्षकहरूकै समीक्षा गर्दै थियो । समीक्षकहरूबाट आफ्नो अस्तित्व संकटमा पर्ने चिन्ता व्यक्त गर्दै थियो ।

‘अरे, अहिले समीक्षाहरु सुस्ताएका छन् । खासमा बजारमा समीक्षककै अभाव छ । पछिल्लो समय अत्यन्तै कम समीक्षा छापिएका छन् । आत्तिनुपर्दैन मेरो कथाको होनहार कविवर !’ मैले थोरै मुस्कुराउँदै भनेँ ।
‘समीक्षक सुस्ताएका हैनन । सबै समीक्षक अहिले उपन्यास लेख्न बसिरहेका छन । कोही कनिकुथी कविता लेखिरहेका छन । तिमीलाई यति पनि थाहा छैन ! तिमीलाई यो पनि थाहा नहोला, प्रकाशक स्वयम यतिबेला समीक्षा लेख्न थालिरहेका छन । यस्तो बेलामा कथा नलेख ।’

कस्तो पात्र ? मभन्दा बढी सोच्न र तर्क पेस गर्न सक्ने । म मौन बसें केहीबेर । त्यही मौनतालाई चिर्दै भित्ताबाट महिला आकृतिको आवाज आयो । ’तिमीहरू लेखक महिलालाई सधैं सहानुभूतिको पात्र बनाउँछौ । मलाई डर छ । कतै मलाई कुनै पुरुषको पासोमा अल्झाउने त हैन ?’ पात्र-४ अलि कड्किएको आवाजमा बोल्न थालिन् ।

मेरा पात्र किन यति उग्र ? के मलाई कथा लेख्न नदिने दाउपेचमा छन् यिनीहरू ? मैले शान्त भएर सम्झाएँ– तिमीलाई म महिलाहरूको न्यायका लागि उभ्याउँदैछु । तिमी एउटा बलियो पात्र हुनेछौ कथाको । सबैले तिमीलाई प्रशंसा गर्नेछन् ।’

मेरो कुराले उसको चित्त बुझ्ला सोचेको थिएँ, तर परिणाम झन विपरीत आयो– पितृसत्तात्मक सोच भएको ग्रसित पुरूष मानसिकताले महिलालाई बलियो देख्नै चाहँदैन । यो तिम्रो फुस्रा आश्वासन मात्र हो । तिमी कथामा आफूलाई नारीवादी सावित गर्न चाहन्छौ। तर, कुन लेखक वास्तविक जीवनमा आफ्नै घरमा नारीवादी बनेर रहन सकेको छ ! तिमीले मलाई जसरी उभ्याए पनि म नयाँ पात्र हैन । म हरेक कथाको पात्र छु । तर, कतै सन्तुष्ट छैन । तिमीसँग मेरो आशा नै बाँकी छैन । मलाई तिम्रो कथाको पात्र बन्नु छैन लेखक ।’

अब भने मलाई ठूलो छटपटी भयो । कुनै पनि पात्र मेरो कथामा राजी छैनन । यदि, जबर्जस्ती गरूँ उनीहरूको स्वतन्त्रतामाथि मिँच्याइ हुन्छ । म विलखबन्दमा परेँ ।

कि यी सब भ्रम हुन ?

हैन, उनीहरूको अभिव्यक्ति भ्रम हुनै सक्दैन । म पनि उनीहरूलाई भ्रममा राखेर कथा लेख्न सक्दिनँ । उनीहरू मभन्दा चनाखो भइसके । सायद, कैद हुनुको डर छ उनीहरूमा । खै किन मैले पात्रहरूको तर्क जित्न सकिनँ ।
‘तपाईँहरूलाई मैले मुक्त गरिदिएँ । जानुस । मैले यो कथा नलेख्ने निर्णय गरेँ,’ सोचेका सबै पात्रहरूलाई मुक्त गरिदिएँ । दंग पर्दै, खुसी हुँदै भित्तामा देखिएका सबै आकृति विलिन भए ।
०००

धेरै दिन त मैले नयाँ कथाको प्लट सोच्नै सकिनँ । डर थियो, पात्रहरू सचेत छन । यति सचेत म हुन सकेको भए, देशका नागरिक हुन सकेको भए भ्रमको साम्राज्य फैलन्न थियो । सत्यहरु भूमिगत हुनु पर्दैन थियो । यो गुनासो आफैंसंग छ ।
जसरी भ्रम मेरो अघि नग्न भएर आइदियो, त्यसरी आम मानसमा आइदिएदेखि राज्यबाटै शोषित र दमित कोही हुनु नपर्ने थियो । तर, म बोलें भने भिडले कुल्चन्छ मलाई । सजायको भागीदार हुनुपर्छ म । त्यो साहस म गर्न सक्दिनँ । तर, चुप बस्न पनि त सधैं सक्दिनँ !
०००

एक बिहान, मस्तिस्कमा यस्तै गन्थन सोचेर सहरको एक गल्ली हिँडिरहेको थिएँ । हिँड्दा दायाँबायाँ हेर्ने मेरो बानी छैन । सधैंझै त्यसदिन पनि झोला बोकिरहेको थिएँ । झोलामा विचार भरिएका पन्नाहरु थिए । गल्लीको बाटो हुँदै भित्र छिरेपछि एउटा चिया पसल आउँछ । त्यहाँ हरेक दिन आफ्ना सर्कलका साथीभाइ भेटिन्छन् । केही चिन्ता, केही चिन्तन र केही योजना मिसाइएका चिया पिउँदा शरीरमा अनौठो जादु देखापर्छ । त्यही चियापसल जाने सुरमा म अघि बढ्दै थिएँ ।

अचानक पछाडिबाट कोही कुदेको आवाज कानमा पर्यो ।
‘पर्खनुुस्’ पछाडिबाट कसैले मेरो पाखुरीमा च्याप्प समात्यो । म झस्किएर पछाडितर्फ फर्किएँ । नेपाल प्रहरीका एक जना असई र २ जना जवान थिए । मलाई तिनै जनाले सामु आएर घेरे । ‘हो, हाम्रो सूचीको मान्छे यही नै हो,’ असईले बोल्यो ।
‘संकेत शर्मा तपाईँ नै हैन ?’
‘हो, मै हुँ । किन समाउनुभयो मलाई,’ मनमा अचानक डर उम्रिएको थियो । तै पनि बाहिर संयमित भएर बोलें ।
‘तपाईंलाई समाउने आदेश छ । के छ त्यो झोलामा खै दिनुस्,’ असईले कड्किएर झोला खोस्न थाल्यो ।
‘विचार छ, पढ्नु भयो भने तपाईहरूलाई जलाउला,’ मैले ड्यांग दिएँ ।
‘बडो क्रान्तिकारी रैछ । अब देख्नेछ ।’
म अचम्मित थिएँ । किन समातिएँ म । न कुनै पार्टीको सदस्य, न कुनै म अपराध, न कुनै त्यस्तो दुष्कर्म ।
मलाई हत्कडी लगाएर गल्लीबाट हाइवेतर्फ लगियो । बाटोमा सबैले अनौठो नजरले मलाई हेरिरहेँ झैं लाग्यो । म चुपचाप अघि लागें ।
केहीदिन अघि सरकारको निरंकुश शैलीमाथि व्यंग गर्दै मूलधारको पत्रिकामा लेखेको एउटा लेख सम्झिएँ । कतै त्यही लेखले पो मलाई अभियुक्त बनायो कि ? कि मेरा व्यंगशैलीका ट्विटले पो प्रहरीलाई चनाखो बनायो ? नानाथरि सोचेँ ।
मलाई प्रहरीको भ्यानमा हालियो ।
–यी लेखक भनौदाहरू अराष्ट्रिय तत्व भए
अनायास कतैबाट कानमा धारिला शब्द ठोकिए ।
०००
वरिपरि प्रहरीले घेरिएको भ्यानमा चढेर म सजाय भोग्न जाँदैछु । यतिबेला मेरो आँखासामु उही नग्न भएर उभिएको भ्रमले भनिरहेछ- सत्यवान हुनु मेरो साम्राज्यमा अभिषाप हो ।
आज म त्यो अभिषाप भोग्न बाध्य भएको छु । किनकि एउटा कथाको स्वयं पात्र हुँ म । जुन कथा कुनै क्रुर शासकले लेखिरहेको छ ।
०००

तपाईको प्रतिक्रिया