पोखरा महानगरपालिका वडा नं १४ कि १४ वर्षीय दिपिका भण्डारीलाइ हरेक महिनाको मसान्त शुरु भएपछि मानसिक तनाव हुन थाल्छ । कारण हो महिनावारी । एक वर्ष अघि रजस्ववाला शुरु भएदेखिकै नियमित तनाव हो यो उनको । उनि भन्छिन – टेन्सनले होला मेरो एक्ज्याममा स्कोर पहिलेको वर्ष भन्दा कम भयो । महिनावारी भएका बेला आँफु सुतेको विस्तारामा सुत्न नपाउनु र परिवारसँग सँगै बसेर माम खान नपाउनु उनको सबैभन्दा ठूलो तनाबको विषय हो । “यहि विषयमा मम्मीसँग सँधै डिसकस हुन्छ , एक दिन त जबरजस्ती उहाँहरुसँग छोइएरै खाना खान बसें, मम्मीले पिटम्ला जसरी हेर्नुभयो र उठेर अर्को टेबलमा जानुभयो, म फेरी पनि त्यहि टेबलमा गएँ त्यस पछि देखि मम्मीले मेरो भावना बुझ्नु भएछ क्यारे सँगै खाना खान सम्म एलाउ गर्नुभको छ” महिनावारी हुँदाका आफ्ना अनुभुति सुनाइन उनले ।
हाम्रो समाजमा दिपिका जस्ता धेरै किशोरी छन , जसले महिनावरीको बेला हुने भेदभाव तथा सामाजिक मान्यताहरुसँग संघर्ष गर्नमा समेत आफ्नो इनर्जी खर्चनुपरेको छ । उनिहरुलाइ सबै भन्दा रिस त्यतिबेला उठछ जतिबेला दुध र फलफुल खान पनि हुँदैन भनेर बन्देज गरिन्छ, दाजु भाइ बुवा सँग झुक्केर पनि छोइन हुँदैन भनेर सावधानीको पाठ पढाइन्छ । पोखरा ३१ बेगनासतालककी १६ वर्षीय सविना सापकोटा भन्छिन – स्कुलमा एउटा कुरा सिकिन्छ, घर मा आएर अर्कै थोक अँगाल्नुपर्छ ।

महिनावारी सँग जोडिएको सविनाको छुट्टै कथा छ । महिनावारी कै विषयमा मम्मीसँग कुरा नमिल्दा भएको चर्काचर्कीले उनलाइ एक हप्ता सम्म तनाव दियो । यो तनावले उनि विरामी नै भइन । एकातिर एसइइका लागि पढाइ पुग्दैनकी भन्ने तनाव पहिल्यै देखि त्यहि माथि अनावश्यक कुरीतीका कुरामा वादविवाद गर्दा अहिले सम्मकै सबैभन्दा नमिठो गाली खानुपरेको अनुभव छ उनिसँग । एसइइ को तयारी गरिरहँदा , एक दिनको कुरा हो मम्मी घर हुनुन्थेन महिनावारी भएर निक्कै टाउको दुखीरहेको थियो । अरु बेला पनि धेरै टाउको दुख्दा धेरै पानी र फलफुल खाएपछि निको हुन्थो । त्यस दिन किचनबाट पानी दिने कोइ भएनन । आँफै गएर पानी झीक्नलाग्दा मम्मी आएर देखिहाल्नुभयो । “त्यस दिन किचनमा पसेर पानी खाएको निहुँमा मैले खाएको गाली सम्झदा अझै पनि किताब फालेर हिँडौ जस्तो हुन्छ” सविनाले भनिन ।

महिनावारी हुँदा घरका बुढापाकाले लगाइदिने बन्देजको मानसिक भार कास्कीको रुपागाउँपालिकाकी १३ वर्षीय बिपना ओझा लाइ पनि छ । यहिकारण उनको मानसिक र शारिरक स्वास्थ समेत प्रभावित छ । जन्मीए देखि अहिलेसम्म बेलुका सुत्नेबेला गाइको दुध खानै पर्ने उनको दिनचर्यामा महिनावारी भएयता तुषरापात पर्यो । हरेक महिना ३ दिनसम्म दृुध खान पाउँदीनन उनले । त्यसैले कक्षा ७ कि बिद्यार्थी बिपनालाइ त्यो समयमा अध्ययन तथा गृहकार्यमा पनि रुची हुँदैन रे । उनि भन्छिन– बिद्यालय पनि नजाउँ जस्तो हुन्छ तर घरपरिवारको थप गाली खाइने डर लाग्छ नसकी नसकी भएपनि जानै पर्यो ।
शरिरको जैविक संरचनाले महिनावारी भएको बेला सरसफाइ र स्वास्थ्यमा बहुत ध्यान पुर्याउनु पर्छ भन्छ । यसका लागि थुप्रै बैज्ञानिक कारणहरु छन । शरिर कमजोर हुँनेहुँदा पर्याप्त आरामको जरुरत हुन्छ , चिसो लाग्ने वा शरिरलाइ तत्काल हानी पु्र्याउन सक्ने खानेकुरा बाट टाढा रहनुपर्ने हुन्छ । सामाजिक मान्यताहरुले महिनावारीमा बिभिन्न बन्देज अँगाल्नु पनि यहि बैज्ञानिक कारणको आधारमा स्वाभाविक हो । तर यो बैज्ञानिक मान्यतालाइ परापुर्वकालदेखिनै भेदभावयुक्त तरिकाले लागु गरेका कारण यो जमानामा किशोरी तथा महिलाका लागि निक्कै मानसिक बोझ बन्ने गरेको छ ।
कास्कीकै मादी गाउँपालिका वडा नं ६ की ३० वर्षीय जमुना पौडेलसँग सुत्केरी हुँदा ताकाका अझै नमिठा अनुभव छन । सुत्केरी हुँदाबेला पुराना मान्यता लागु गरेकै कारण उनको सासु ससुरासँग मनमुटाव भयो । करिव ६ वर्ष अघि उनले पहिलो बच्चा जन्म दिँदा २१ दिनसम्म बाख्रा बाध्ने कटेरोमा सुत्नु परेको थियो । रातभर निन्द्रा लाग्थेन उनलाइ ।त्यहिमाथि अप्रेशन गरेको शरिर पिडा माथि पिडा थियो ।

“सुत्केरी कुरुवा वस्न सासुआमा पनि छेउमै विस्तारा लगाएर सुत्नु त हुन्थ्यो, तर उहाँ पनि दिनभर घर धन्दा , वस्तुभाउ गर्दा थाकिसकेकोले होला निदाइ हाल्नुन्थ्यो । त्यसैले केहि गारो सारो पर्यो वा केहि खानमन हुँदा सासुलाइ अह्राउन सक्थीनथेँ मैले” आफ्ना अनुभव सुनाइन उनले । श्रीमान बिदेश थिए उनका । सुत्केरी बेलामा पनि आफुलाइ चित्त नबुझेको कुरा श्रीमानका घरपरिवारलाइ खुलस्त राख्न सक्थीनन उनि । खानेकुरा पनि केहि खान नहुने , मासु खाँदा कब्जीयत हुने र अप्रेसनको टाँका फुत्कीने भनेर ३ महिनासम्म मासु समेत खान पाइनन उनले ।

“जतिबेलानी ज्वानोको झोल र भात मात्र हुन्थ्यो खानेकुराको नाउँमा । पोषिलो खाना माग्थ्यो मनले , तर खानहुँदैन भनेर घर पट्टिीकाले भनेपछि आँतै मारेर बस्थें म” जमुनाले भनिन। अझै त्यहिमाथि सुत्केरीको रगत लागेको कपडा अरुले देखे भने बिगार पर्छ भनेर सासुआमाले भनेपछि सुत्केरीको ८ दिनमै आँफैले बेड विस्तारा समेत धुन पर्यो उनले । यी कुराले मन मनै असह्य पिडा हुन्थ्यो उनलाइ , पोषिलो खानेकुरा खान नपाएको तनाव , कच्चा सुत्केरी अवस्थामा चिसो पानीले धेरै लुगा धुन परेको , गोठमा सुत्न परेकोले रात रात जागा वस्नुपरेको पिडा त छँदै थियो , वच्चाका लागि दुध समेत पर्याप्त नआए पछि उनको मन भित्र भित्र कुँडिन्थ्यो । पर्याप्त पोषक तत्वले दुध नआएको उनले ठान्दथिन।

“तर गाउँघरका केहि कुरौटे महिलाले अन्य अर्थ लगाउँथे र उल्टै मलाइ नै शिशुलाइ दुध नख्वाउने अपराधी सावित गर्न खोज्थे ” पहिलो बच्चा पाको सुत्केरी अवस्था र समाजले अँगालेका भेदभाव जन्य मान्यताहरुको शिकार हुन परेको दिनहरु सम्झेर आँसुका ढिक्का खसाल्दै उनले भनिन ।
आखिर त्यहि सुत्केरी अवस्थामा सृजना भएको आत्मीयताको दुरी बढेपछि उनको श्रीमानका बुबा आमा सँगसँगै वस्न नसक्नु को मुख्य कारण बन्यो र केहि वर्ष पछि छुट्टाभिन्दा भएर आफ्ना बच्चासँग एक्लै बस्न थालिन उनि । अहिले उनको दोस्रो बच्चा जन्मिएको ६ महिना भयो । तर यो पटक भने उनले टन्नै पोषिलो खानेकुरा खाइन्, सँधै सुतिरहेकै बेड विस्तारामा सुतिन् , तातो पानीले बेला बेलामा शरिर पुछिन , सुत्केरी रगत लागेका बेड विस्तारा मान्छे ज्यालामा लगाएर धुन लगाइन , श्रीमान पनि सँगै भएकोले आँफूलाइ आवश्यक परेको सामाग्री मगाउन दकस भएन । “आखिर सबै कुरा झन राम्रो हुँदो रहेछ त सुत्केरी अवस्थाका पुराना मान्यता तोडेर ” पहिले भन्दा धेरै फ्रेस र उमगं दिल दिमागमा छाएकोले आफ्नो र बच्चाको स्वास्थ्य पनि धेरै राम्रो बनेको तर्क दिँदै जमुनाले भनिन ।

महिनावारी तथा सुत्केरी अवस्थाको विषयमा अझै सम्म समाजको मान्यता रुपान्तरण हुन नसकेको र यसले अहिले युवा पिँढी लाइ कति बाधा दिएको छ भन्नेकुराका जल्दा बल्दा उदाहरण हुन माथिका घटना अध्ययन । यो जमाना सुचना, ज्ञान, प्रविधि र समग्रमा विश्वव्यापीकरणको युग हो । युगले मागेका काम कर्तव्य, जिम्मेवारीमा आँफूलाइ खरो उतार्दै यिनै विश्वव्यपाकिरणका सुविधा उपयोग गर्ने प्रतिष्पर्धा गरिरहेका हुँन्छन आजकलका युवा पिँढी । त्यसैले जमाना अनुरुप, हरेक परिवार टोल गाउँ, समाज देश तथा विश्वमा शिक्षाको चेतना फैलिएको छ । आफ्नो व्यक्तित्व बढाउने होडमा मानिसहरु लागिरहेकाछन । जुनबेला यी व्यवस्था, अवस्था तथा सुविधाहरुको कुनै नाम निशान नै थिएन त्यतिबेलाकै परिपाटि अँगाल्नुपरे पछि किशोरी तथा युवाहरुमा मानसिक तथा शारिरक तनावको वातावरण सृजना हुनु स्वाभाविकनै हो ।
महिनावारी , सुत्केरी स्वास्थ्य तथा सरसफाइका विषयमा पुराना मान्यता त्यतिबेला नै सान्दर्भिक थियो , जति बेला अँगाल्दा पनि कुनै मानसिक परेशानी हुन्थेन । तर अहिले जमाना फेरिएको छ , बुझाइ फेरिएको छ, वैज्ञानिक र व्यवहारिक रुपमा समेत कुनै सामाजिक मान्यताका विषयमा नयाँ नयाँ तथ्य फेला परिसकेका छन। गाउँपालिकामा महिनावारी सरसफाइ सम्बन्धि काम गरेको अनुभव बटुलीसकेकी मादी गाउँपालिका तप्रागं स्वास्थ्यचौकी प्रमुख प्रतिमा अधिकारी भन्नुहुन्छ – त्यसैले महिनावारी सम्बन्धि सामाजिक मान्यता लागु गराउँदा महिनावारी वा सुत्केरी भएकी महिला मानसिक रुपमा तयार छन छैनन भनेर विचार गर्नु पर्छ ।

अहिलेका किशोर किशोरिहरुलाइ बिद्यालयको पाठ्यक्रममा महिनावारी सम्बन्धि जस्तो पाठ्यवस्तु बुझाइएको हुन्छ, व्यवहारमा पनि त्यहि लागुहोस भन्ने चाहन्छन । महिनावारी तथा सुत्केरी भन्ने कुरा स्वास्थ्य तथा सरसफाइको मुद्दा मात्र भएकोले यतिकुरा मात्र ध्यान दिए पुग्छ भन्ने उनिहरुको बुझाइ हुन्छ । तर सामाजिक मान्यताले पाप धर्म सँग जोडेको हुन्छ । यहि बुझाइमा फरकपनको कारणनै किशोरीहरुलाइ अनावश्यक मानसिक बोझ पर्ने गरेको स्थानीय स्वास्थ्यकर्मी ले पनि अनुभव गरेका छन।

महिनावारी तथा सुत्केरी अवस्थाका कारण महिलाको शारिरिक तथा मानसिक स्वास्थ्य नबिग्रीयोस भनेर आजकल बिगत केहि वर्ष अघि देखि स्थानीय तहहरुमा समेत महिनावारी सरसफाइ अन्तर्गत स्यानीटरी प्याड वितरण, किशोरी शिक्षा कार्यक्रम, जनचेतनामुलक अन्तरक्रिया तथा अभिमुखिकरण लगायतका कार्यक्रमहरु संचालन भइरहेका छन । ति कार्यक्रम संचालन गर्दा , स्वास्थ्यकर्मीले सँगालेका अनुभवहरुले बताउँछ , अरुले के भन्लान भन्ने हिचकीचाहट र मान्यता नमानेकोमा समाजले बहिष्कार गर्ने होकी भन्ने डरले मात्र धेरै महिलाहरुले आफ्ना छोरी, नातीनीहरुलाइ महिनावारी तथा सुत्केरी अवस्थामा डर देखाउँछन । मादि गाउँ तप्रागं स्वास्थ्य चौकी प्रमुख प्रतिमा अधिकारीका अनुसार, सचेतनाका कार्यक्रम भएको ठाउँमा यस्तो परातनवादी प्रवृति कम पनि भएको छ । “ तर यो विषयमा प्रदेश र संघ सरकारले पर्याप्त बजेट छुट्याउन नसकेको कारण सोचे अनुरुप कार्यक्रम भनेु भएको छैन ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गत महिला तथा किशोरी कार्यक्रम प्रमुख सविना श्रेष्ठका अनुसार, पोखरा महानगरपालिकाले बेलाबेला संचालन गर्ने हेल्थ क्याम्पमा करिव ४ प्रतिशत महिलामा पाठेघर सुन्निने तथा भिआइए पोजेटिभ देखिएको छ । “यसको मतलव यो पनि होकी शहरी क्षेत्रमा समेत अझै पनि महिलाहरुले महिनावारी तथा सुत्केरी अवस्थामा राम्रो स्याहार तथा आहार पाएका छैनन” उनले भनिन ।
विगतका वर्ष झैं पछिल्ला वर्ष स्थानीय तहमा महिला स्वास्थ्य तथा किशोरी शिक्षा कार्यक्रमका लागि उतिसारो बजेट पनि छैन । यसरी आउने बजेटमा करिव ६० प्रतिशत कटौती भएको छ । त्यसैले महिनावारी सरसफाइ तथा स्वास्थ्यका सवालमा समुदायमा पर्याप्त कार्यक्रम छैनन । कार्यक्रम प्रमुख श्रेष्ठका अनुसार, जति ठाउँमा कार्यक्रम भएका छन , त्यहाँ प्रभावकारी भएको पाइयो र त्यहि कार्यक्रमको प्रभावस्वरुप पछिल्लाक्रममा स्थानीय तहका धेरै बिद्यालयहरुले स्यानीटरी प्याड वितरण गर्ने, छात्राका लागि छुट्टै शौचालय बनाउने लगायतका काम गरेका छन । “ तर किशोरीहरुको घर परिवार र समुदायका लागि उपयुक्त हुने गरि अभिमुखिकरण लगायतका कार्यक्रम पनि उत्तिनै जरुरी छ” उनले भनिन ।

तपाईको प्रतिक्रिया