विदुर । नेकपा एमालेको नुवाकोटस्थित लिखु गाउँपालिका अध्यक्षमा दुर्गादेवी पुडासैनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । पुडासैनी अध्यक्षमा निर्वाचित हुने जिल्लाकै एकमात्रै महिला हुन् ।

अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा विभाजन भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन ।

गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवार बन्न सिफारिस भए पनि भेगीय सन्तुलत मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो । नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।

पुडासैनी विद्यार्थीकलादेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन् । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजनदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।

नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ ।

अन्यमा तिहारअघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ ।

मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा शोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया