पौवासारताप ३ पाँचथर स्थायी घर तर हाल कोरीयामा रहेर कविता लेखनमा सकृय साहित्यीक नाम बियोगी काईला    (महेन्द्रबिक्रम नेम्वाङ ) समकालीन साथीहरुबीच परिचित नाम हो । काईला पचासको दशकदेखि नेपाली साहित्यमा उदाएको रङवाद आन्दोलनसँग आवद्व हुनुहुन्छ । उहाँको हालसम्म ‘नीलो सपना’कविता कृति प्रकाशित छ भने कवि दक्षिण कोरीया याक्थुङ लेखक संघको अध्यक्षको रुपमा सकृय हुनुहुन्छ प्रस्तुत छ साताको तीन कविता

ब्ल्याक एण्ड ह्वाईट मनको अटोग्राफ

जिन्दगीलाई त्यस्तरी
कठिन मोडतिर मात्र पनि धकेलिन दिनु हुदैन
सरल ढंगले पनि हेर्न पर्छ जीवनलाई
तर त्यस्तरी हेर्दा सरल सहज काईदाले
हेराईको यौटा आँखामा सिर्जनशिलता
र अर्को आँखामा हुनु पर्छ गतिशिलता ।

समय
समय
समय
धारणाको आयतन
दुर्लभ गहिरो डुब्छ
दुर्लंग्य उकालो झर्छ ।

माफ पाउँ-कालोमन

बाङ्गोटिङ्गो सर्प हिडछ
कम्मर मर्काई नदी भाग्छे
बालअबोधता कति मिठो कि झूर ?
कुहिरोसँग फक्ताङलुङ हिमाल पनि कुदिजान्छ
जून पनि वादल भन्दा बेजोड हुईकिदिन्छ
काडाले मानौ पैतला टेकिहिडछ
हरियो सपनाको अटोग्राफ

ईश्वर
ईश्वर
ईश्वर
भ्रमको सौन्दर्य
ढुङ्गा पुण्य उपदेश दिन्छ
माटो सबै पाप पुरिदिन्छ

माफ पाउँ-सेतोमन

शिकारी जङ्गलमा हराउछ
माछा पाल्दै खोला बाँच्छ
परिपक्वता कति सरल कि कठिन ?
पृथ्वी चेप्टिएर कति चाँडै गोलो भईदिन्छ
भगवान मर्छ कि मर्दैन मस्तिष्कमा कि त बाँच्न दिउँ भ्रमले
शिकारले मानौं आफै खोजीहिडछ
मनको जङ्गली शिकारी

मनलाई त्यस्तरी
अक्करहरूमा मात्र पनि ठेली दिन मिल्दैन
आत्माको मुटुले पनि फूल्नु पर्छ गमलालाई
र त्यस्तरी फूल्दा नरम स्पर्शले
फक्राईको यौटा पत्रमा विगतका ईतिहास
र अर्को पत्रमा फक्रिनु पर्छ आगतका सुनौला किरण ।

नयाँ खोप

यो कोरोना भाईरस त के हो र ?
शताब्दीमा एक दुई पटक
महामारीको रुपमा आउने न हो
हाम्रा उत्तर र दक्खिन तिरका
दुई भाईरसहरुबाट जो बर्षौदेखि संक्रमित छौं
जसको निर्मुलीकरणको निम्ति
नयाँ भ्याक्सिन खोप बनाउन
अब तयारी नगरी हुन्न देशले

जसको निम्ति जरुरी छ
मेटाबोलिजम र ईम्युन पावर सिस्टम बढाउन
एउटा स्वस्थ्य मानिसको निम्ति
युद्धरत सैनिक जवानको निम्ति
जसरी शारिरिक र मानसिक रुपले
स्वस्थ्य र तन्दुरुस्त पहिलो सर्त हो
त्यसरी नै आन्तरिक राष्ट्रियता बनाउनु छ मजबुत बलियो
कमिला,मौरी र अरिङ्गालका गोला हेरेर
र त्यस्तो खोप बनाउ कि समुचित चेतनाले
जुन भ्याक्सिन हानिसके पछि
पुनः संक्रमणको कल्पनासम्म कहिल्यै नहोस
ईतिहास र उत्तरातिहासमा

यो कोभिड -१९ त के हो र ?
शताब्दीमा एक दुई पटक
महामारीको रुपमा आउने न हो
हाम्रा उत्तर र दक्खिन तिरका
दुई भाई-रसहरुबाट जो सदियौंदेखि संक्रमित छौ
जसको मुक्तिको खातिर
एउटा नयाँ खोप आविष्कार नगरी नहुने भो
अब, जनताको सम्यक विवेक र तागतले ।

टीका

कहिलेकाही
म सोच्दछु-कि
मानिसका आँखा एउटा मात्र
त्यो पनि निधारमा भईदिए
अनि टाउको चाहि रावणको जस्तो भईदिए
कस्तो देखिन्थ्यौ होला ?
कहा लगाउथ्यौ होला ?
अविर,अक्षता टीका
विजयोत्सवहरुमा
हर्षोउल्लासहरुमा
थापेर शुभाषिश ।

तपाईको प्रतिक्रिया