क्रान्ति सुब्बा । हङकङ ।

बुधवार संयुक्त राज्य अमेरिकाबाट हङकङमा एक ओमिक्रोन भेरिएन्ट केस भित्रीएको छ। यो एक केस थपिएपछी हङकङमा ओमिक्रोन केस संख्या ९ पुगेको छ। आज नै जर्मनीबाट एउटा  केस आयात भएको छ।

ओमिक्रोन भेरिएन्ट बोक्ने बिरामी २१ वर्षीया महिला हुन।  उनी आइतवार (डिसेम्बर १२) मा अमेरिकाबाट फ्लाइट CX845 मा हङकङ आइपुगेकी र विमानस्थल परिक्षणमा  पोजेटिभ साबित भएकी थिइन।  उनले मे १२ र जुन २ मा अमेरिकामा बायोनटेक भ्याक्सिनको दुई डोज ग्रहण गरेकि थिइन ।

उनमा गत शनिबार (डिसेम्बर ११) लक्षण देखापरेको थियो । आइतबार भर्ना भएपछि गरिएको परीक्षणको सिटि भ्यालु ३० भन्दा कम थियो र उनमा एन्टिबडी पोजिटिभ देखापरेको थियो ।  ओमिक्रोन भेरिएन्ट पत्ता लगाउनु अघि उनको केस हिजो (मंगलबार) आयातित केसको रूपमा रिपोर्ट गरिएको थियो।

आज रिपोर्ट भएको आयातित केस अन्तर्गत  जर्मनीबाट सोमबार उडान LH796 मार्फत हङकङ  आइपुगेका एक  ४६ वर्षीय पुरुष रहेका  थिए। उनले अप्रिल २५ र मे १६ मा हङकङमा बायोएनटेक भ्याक्सिनको दुई डोज लगाएका थिए। उनी लक्षणविहीन छन।

हङकङमा फेला परेका नौ ओमिक्रोन केस सबै एयरपोर्ट वा तोकिएको क्वारेन्टाइन एरियामा  फेला परेका थिए। र हाल सम्म यो भेरिएन्ट समुदायमा फैलिएको छैन।

हङकङमा विगत १४ दिनमा जम्मा ५९ वटा केस रिपोर्ट भएका छन। र ती सबै आयातित केस हुन ।  हङकङको कोभिड संख्या अहिले १२,४९७ पुगेको छ।

तपाईको प्रतिक्रिया