केशवराज ज्ञवाली

‘दाइ एकैछिन भेटनुपर्ने थियो ?’ उसले हेलो भन्ने बित्तिकै भन्यो ।
मलाई उसको आवाज परिचित लागेन ।
परिचय सोध्न भ्याएकै थिइनँ, फेरि आवाज आयो, ‘दाइले मलाई चिन्नुभएन होला, म श्रवण ।’
मैले अझै चिनिनँ । तर भनेँ, ‘भन्नुस श्रवणजी, केही काम छ कि ?’
‘दाइले मेरो केसको कथा लेख्नुभएको थियो । त्यसकै सिलसिलामा भेटनु थियो ।’
‘एऽऽ’ मैले बल्ल बुझेँ । ऊ पक्का पनि मेरो अफिसमा आएको होला । मैले उसलाई मेरा कुरामा अल्मल्याउँदै आफ्नो ल्यापटपमा उसको नाम खोजेँ ।
हो रहेछ, उसको केसको फाइल अदालतमा पेश भएको थियो । ग्रिनकार्डको प्रक्रिया पनि अगाडि बढिसकेको हुनुपर्छ ।

‘के काम थियो होला ? भोलि सोमबार अफिसमा आउनुस न त । वकिल सरसँग पनि भेटने हो ?’
‘होइन दाइ, तपाईंसँग मात्रै भेटदा हुन्छ । भोलिको सट्टा आजै भेटन पाए हुने ।’ आग्रह गरयो ।
‘आज त आइतबार हो । अफिस बन्द छ । भोलि भेटौँ न ! तपाईंलाई हाम्रो रेट थाहा छ नि ?’
‘थाहा छ दाइ, घण्टाको दुई सय डलर होइन त ? बरु म तीन सय दिउँला । आज एक घण्टा समय दिनुहोस । आज साँझ मेरो फ्लाइट छ । उडनु अघि म तपाईंलाई भेटन चाहन्छु ।’
‘एऽऽ, कहाँ जाँदै हुनुहुन्छ ?’
‘नेपाल ।’
‘ह्वाट ?’ तपाईंलाई थाहा छ, अहिले नेपाल जानुभयो भने तपाईंको केस बिग्रिनेछ ।
‘थाहा छ दाइ तर एक पटक तपाईंलाई भेटेर मात्रै जान मन छ । आज मिल्छ दाइ ?’ सबै कुरा छोडेर फर्किन लागेको मान्छेलाई कसरी हुँदैन भन्नु । घरमै बसी–बसी एकैछिन उसको कुरा सुनेको भरमा तीन सय डलर पनि आउनेवाला थियो ।

म अपार्टमेन्टमा एक्लै थिएँ । श्रीमती र छोरी एउटा बर्थ–डे पार्टीमा गएका थिए ।
‘हुन्छ, आउनुस न त यतै, मेरो अपार्टमेन्टमा । म तपाईंलाई ठेगाना पठाइदिन्छु ।’
‘दाइ, म पन्ध्र–बीस मिनेटमा आइपुग्छु ।’ ऊ बोल्यो ।

मैले उसको केस सरसर्ती पढेँ । श्रवणले आफ्नो डायरीमा पाना पल्टाउँदै, आफ्नो कथा भनेको थियो । उसले भनेको कथामा अलि फुल बुट्टा, दुःख र प्रमाण भरेर भरोसा लाग्ने केस मैले नै लेखिदिएको थिएँ । पहिले नेपालीमा र पछि अङ्ग्रेजीमा ।
मैले वकिललाई पठाइसकेको थिएँ । त्यस बापत पैसा लिइसकेको थिएँ । उसको कथा पठाएको इमेलमा वकिलले केस सफल हुने सम्भावना छ भनेर पनि लेखेको थियो ।
ग्रीनकार्ड बन्ने सम्भावना बलियो हुँदा पनि श्रवणचाहिँ नेपाल जान आँटेको छ किन होला ?
उत्तर त श्रवणले नै दिनसक्छ । उसको निवेदन पेश गर्ने वकिललाई पनि थाहा थियो । उसको कथा आधा झुटो हो । श्रवणले अमेरिकामा शरण माग्नुपर्ने साँच्चीकै समस्या भोगेकै थिएन ।
मलाई उसको र अरूको शरणार्थी आवेदनका कुरा लेख्दा पनि थाहा थियो । यता यस्ता धेरै कथाहरू बन्छन ।
‘म माओवादी पीडित, मैले कति दुःख भोगेँ । म नेपाल गएँ भने मारिनेछु ।’
पिटाइ खाएर अस्पताल बसेका नक्कली कागजातहरू, नक्कली प्रमाणहरू सजिलै र प्रशस्त जम्मा हुन्थे ।
जो साँच्चै पीडित भएर आफ्नो घरबार छोडेर भागेका होलान, उनीहरू लाखौँ खर्च गरेर अमेरिका शरण माग्न यहाँ कसरी आइपुग्नु ?
पहिलो बसाइँमा उसले आफ्नो कथा रिठ्ठो नबिराई भनेको थियो । कसरी दलालमार्फत नेपाल, भारत, टर्की, निकारागुवा, एल सल्भाडोर, ग्वाटेमाला र मेक्सिको हुँदै डेढ वर्ष र चालीस लाख सकेर अमेरिका छिरेको थियो ।
उसले भनेका कथामा अनेकौँ रङ भर्ने काम मैले नै गरेको थिएँ ।
‘ऊ राजावादी हो । नेपालमा राजाको शासन गएपछि ऊ टिक्न सकेन । आफ्नो राजनीतिक आस्थाकै कारण, कैयौं पटक शारीरिक यातना पनि पायो ।’ यस्ता अनेक झुट्टा कुराहरू भरेपछि उसको आवेदन तयार भएको थियो ।
यसो गर्ने ऊ पहिलो मान्छे थिएन । अन्तिम त हुने कुरै भएन ।
ढोकाको घण्टी बज्यो । श्रवण थियो ।
बेस्सरी दुब्लो, फुकेर नै ढल्ने । सिरक नै ओढेजस्तो लाग्ने गरी बाक्लो ज्याकेट लगाएको थियो । पिठ्यूँमा एउटा सानो झोला र दुई वटा ठूला सुटकेश दायाँ बायाँ राखेर उभिएको थियो ।
‘कस्तो जाडो छ है, आज’ उसले हात जोडदै भन्यो ।
मैले हतार–हतार चिया बनाएर दिएँ ।
हामी डाइनिङ्ग टेबलमा आमनेसामने बस्यौँ ।
‘भन्नुस ।’ मैले नै कुरा सुरू गरेँ । उत्सुकता कम र काम सक्काउने हतार बढी थियो मलाई ।
उसले सानो झोलाबाट एउटा डायरी निकाल्यो ।
लामो आवाज निकालेर चियाको सर्को तान्यो । ‘रेकर्ड गर्नुहुन्न ?’
पहिले भेटदा म हामी बीचको कुराकानी रेकर्ड गर्ने गर्थेँ । पछि लेख्न सजिलो होस भनेर । यहाँको केस नै गर्ने भएपछि, त्यसको केही प्रयोजन थिएन । ऊ नेपाल जाँदै थियो ।
‘तपाईंको ६ महिनादेखि १ वर्षमा ग्रिनकार्ड हुन्थ्यो होला । किन हतार गर्नु भो ?’
‘त्यो त हो दाइ, मलाई यता बसेर पुग्यो । तपाईंलाई थाहै छ, म कसरी आइपुगेको हुँ । आउँदा लागेको ऋण तिरेँ । एक दुई वटा फोन र आइप्याड किनेँ ।’
मलाई बीचमै रोकेर सोधूँ सोधूँ लागेको थियो । ‘किन त ?’ सोधिनँ ।
कसैले आफ्नो कुराभन्दा बीचमा नअल्झाई छोडदिनुपर्छ जस्तो लाग्छ ।
बीच–बीचमा अडकायो भने, बहाव बिथोलिन्छ । भन्न खोजेको कुरा आउदैन ।
श्रवणले चियाको लामो सर्को तान्यो । एकपटक डायरी हेरयो र शून्यमा आफ्ना आँखा अड्यायो ।
‘दाइ, जीवनमा ठूल–ठूला घटना, दुर्घटना घटछन । ती सबैको चोट बडो विकराल हुन्छ । सम्झनामा गहिरा डोबहरू छोडेर जान्छन तिनीहरूले । तर दाइ ती ठूला–ठूला चोटभन्दा धेरै साना र दैनिक व्यवहारमा आइरहने मसिना छेस्काजस्ता समस्याहरू झन गहिरोसँग बिझ्दारै’छन । ती स–साना दुःखका बीउहरू भित्रभित्रसम्म धसिन्छन । कहिलेकाहीँ ती कति भित्रसम्म धसिएका छन पनि थाहा हुँदैन । तिनीहरूले सुत्दा, उठदा, बस्दा दुखाइरहन्छन । कुनै अजङ्गको पीडाको स्रोतलाई सम्झाइरहन्छन ।’
मैले उसको कुरा बुझिनँ । अब भने नबोली भएन भनेर भनेँ, ‘के भयो भाइ ? अलि खुलस्त भन्नुस न ।’
ऊ फेरि डायरीको पानामा घोरियो– ‘दाइ तपाईंलाई आफ्नो कथा लेखाएपछि म मिसिगन गएँ । एकजना साथीको परिचय मार्फत एउटा ग्याँस स्टेशनमा काम पाएको थिएँ । भारतीय मूलको मालिक र म दुई जनाले त्यो पसल चलाउँथ्यौँ । दिउँसोको १२ घण्टा ऊ बस्थ्यो र रातिको १२ घण्टा म काम गर्थें ।’
काम खोजिदिने साथीले भनेको थियो, ‘अलि नेपालीहरू नपुगेको ठाउँ हो । चिसो पनि छ तर पैसाको सम्भावना छ ।’
‘हुन पनि महबुबले काम चित्त बुझ्यो भने एक वर्षपछि नाफाको बीस प्रतिशत दिन्छु भनेको थियो । पैसै कमाइएला भनेर यता आएपछि के नजिक के टाढा । म गएँ ।’
श्रवण रोकियो र एकैछिन वाल्ल परयो ।
‘चिया लिँदै गर्नुस न ।’ मैले उसलाई वर्तमानमा ल्याउन खोजेँ । श्रवणमाथि मेरो आग्रहको कुनै असर भएन । ऊ पहिले जसरी नै शून्यमा आँखा अड्याएर बोल्न थाल्यो ।

‘दाइ ६ महिना जतिमा राम्रैसँग काम सिकेको थिएँ । महबुब पनि मान्छे सजिलो थियो । हामी मालिक र कामदारभन्दा पनि साथी भएका थियौं । ६ महिना जतिपछि उसले शनिबार र आइतबार मात्रै काम गर्ने अर्को मान्छे खोज्यो । शनिबार ऊ छुट्टी लिन्थ्यो । आइतबार म । एउटा पुरानो गाडी किनेँ । एक कोठाको अपार्टमेन्टमा सरेँ । लाग्न थाल्यो म सम्पन्नता र सुखको पहिलो खुडकिलोमा उभिएको छु । म बस्ने ठाउँ एकदम सस्तो र सामान्य थियो । टिभी वा सिनेमामा देखिने अमेरिकाभन्दा एकदम फरक । मेरो अपार्टमेन्टको ठिक माथि एकजना बूढो मान्छे बस्थ्यो । सायद एक्लै । आमने सामने पर्दा अगाडिका दुई वटा दाँत खसेका गिजा देखाएर हाँस्थ्यो । म बाहिर उभिएर चुरोट पिउँदा खुसुक्क मेरो पछाडि आउँथ्यो र भन्थ्यो, ‘एउटा चुरोट छ ? हेर न मैले ल्याएको सबै सकियो । पछि थाहा भयो, उसको नाम केन रै’छ ।’
‘बा आमासँग दिनदिनै कुरा हुन्थ्यो । उनीहरू पनि खुसी थिए । एक्लो छोरो ठाउँमा पुग्यो भन्ने लागेको हुँदो हो । सबैका आँखामा, एउटा सपना थियो — अब सब ठिक हुनेछ, पैसा हुनेछ, इज्जत हुनेछ । दाइ, सिसाले बनेका सुन्दर सपनाहरू कठोर यथार्थसँग नाठोकिदासम्म मात्रै मोहक हुने रै’छन । कसैगरी फुटे भने तिनै सपनाका तिखा बिझाउने टुक्राहरू, गहिरा दुःखका कारण बन्दा रै’छन ।’
श्रवण फेरि बहकिन थाल्यो ।
‘के भएको थियो श्रवण ?’ मैले नचाहेरै पनि बोलेँ ।
ऊ फेरि पुरानै लयमा फर्किर्यो ।
‘त्यो हप्ता बेस्सरी हिउँ परेको थियो । पूरै सहर सेतो, चम्किलो हिउँ ओढेर बसेको थियो । सेतो च्यादरलाई बीचबीचमा चिरेर काला सफा सडकहरू, सहरको एक छेउदेखि अर्को छेउसम्म तन्किएका थिए । रुखका हाँगाहरू हिउँ पग्लेर जमेको बरफले बेरिएका थिए । सिसाको जलप चढेजस्ता । कहिल्यै हिउँ नदेखेको मलाई त्यो सबै दृश्य नौलो र मोहक थियो । भोलिपल्ट छुट्टी भएकोले शनिबार राति अलि अबेरसम्म बसेँ । त्यो साँझ घरमा फोन पनि गरिनँ । दिनदिनै उस्तै कुरा कति गर्नु । उताबाट पनि फोन आएन ।’
बिहानै महबुबले फोन गरयो– ‘श्रवण आज काम पे आ सक्ते हो ? दुसरा आदमी नही आएगा । मेरे घरपर मेहमान है ।’
‘ओ के, आधे घण्टेमे पहुँचता हुँ ।’
एक कप चिया र एउटा चुरोट सकेर म काममा पुगेँ । त्यो बिहान एकदम धेरै मान्छे आइरहे । एकैछिन फुर्सद भएन । दश बजेतिर फोन हेरेँ । ३ वटा मिसकल थिए । तिनवटै बाका । तुरुन्तै कल ब्याक गरेँ । फोन उठेन ।
फेरि गरेँ, यसपटक भने छिमेकी दाइले फोन उठाए ‘बा खै ? तपाईंले बाको फोन कसरी उठाउनु भयो ?’
‘आमा जानुभयो, भाइ’ सबैभन्दा नराम्रो कल्पना मनमा आयो ।
‘के भनेको दाइ ? आमा कता जानुभयो ।’ मेरो आवाजमा आतङक हुँदो हो ।
‘आमा बित्नु भो भाइ । हामी अहिले घाटमा छौँ ।’
के भनूँ ? आँखा कल्पनाले भरियो । ठूलो दाउराको चाङमाथि आमा सुतेकी होलिन । बा, मुडुलो टाउको र अर्धनग्न नजिकै उभिएका होलान ।
‘कसरी ?’ मुखबाट मसिनो स्वर आफैँ निस्कियो ।
‘अचानक भयो । बिहानको खाना खाएर टाउको दुख्यो भनेर पल्टिनुभएको रै’छ । एक–दुई घण्टापछि बा हेर्न जाँदा, जीउ चिसो भइसकेको रै’छ । हतार हतार अस्पताल लग्यौँ । आमाले छोडिसक्नु भएको थियो ।’ यति भनेर दाइ चुप लागे ।
भनेँ, ‘दाइ, बासँग कुरा गर्छु ।’
‘१५ मिनेटपछि फोन गर है ।’ दाइले नै फोन काटे । मेरो अगाडि ग्राहकहरू उभिएका थिए । सबैले मलाई एकोहोरो हेरिरहेका थिए । कसैको हातमा चुरोटको बट्टा थियो । कसैको हातमा रक्सी र अरू सामानहरू थिए । मान्छेको लर्को रोकिएको थिएन ।’
‘दाइ तपाईँलाई त थाहै छ, अमेरिकामा सबै ग्राहकलाई धन्यवाद भन्ने र मुस्कुराएर बिदा गर्ने चलन छ । म भने मनभरि सम्झिरहेँ आमालाई । जो चितामा सुतेकी होलिन । म भने सामान बेचिरहेँ , सामान्य व्यवहार गरिरहेँ । मैले रुन पाइनँ । मेरो वरिपरि कोही थिएन जसले मलाई सम्झाओस, भनोस धैर्य गर, सबैलाई पर्छ यस्तो ।’ श्रवण एकैछिन रोकियो ।
पन्ध्र मिनेटपछि बालाई फोन गरेँ र सोधेँ , ‘बा, म के गरूँ ?’ बाले लामो सास फेरेको आवाज मात्रै आयो ।
‘बा, म आउँछु मैले फेरि भनेँ ।’
‘त्यसै दौडेर के गर्छस । जे हुन भइहाल्यो । बल्ल बल्ल त्यहाँ पुगेको छस । एकछिन हतार नगर पछि सल्लाह गरौँला ।’
‘मैले के गर्नुपर्छ बा ।’
‘जे सक्छस त्यही गर्नू । जे जानेको छस त्यही गर्नू ।’
सायद बाले फोन काटिदिए । केही आवाज आएन । अगाडि फेरि ग्राहकहरूको लाइन थियो । सबैको वेवास्ता गरेर महबुबलाई फोन गरेँ । ‘छिटो आऊ आपत परयो ।’
‘के भयो ? पसलमा सबै ठिक छ ।’
‘म यहाँ धेरैबेर बस्न सक्दिनँ । तिमी छिटो आऊ ।’
उसले पटक पटक सोध्यो, ‘के भयो ? के भयो ?’
श्रवणले लामो सास फेरयो र फेरि बोल्न सुरु गरयो– ‘दाइ मैले भन्नै सकिनँ । मेरी आमा मरिन । भनिरहेँ, आपत परयो, छिटो आऊ ।’
महबुबले भन्यो– ‘म आघा घण्टामा आइपुग्छु ।’
‘म महबुबलाई कुर्दै सामान बेचिरहेँ । धेरै बेरसम्म आएन ।’ फेरि फोन गरेँ महबुबलाई भनेँ, ‘अब अति भयो । म नसक्ने भएँ ।’
‘मेरे घरमे बहुत सारे लोग है । दुकान बन्द करके जाओ । त्यो पटक उसले सोधेन ‘के भयो ?’ सोधेको भए आवेगमा भन्थेँ होला आमा मरिन । भन्नु परेन । म डेरामा फर्केँ ।’
बाहिर फेरि हिउँ पर्न सुरू भएको थियो । पूरै शहर बरखी बार्न तम्तयार थियो ।
अब के गर्नुपर्ने हो ? केही थाहा भएन ।
चुरोटको सर्कोसँग आँखा चिम्म गरेर सम्झन खोजेँ, आफुले देखेका कुरा । कपाल खौरिन्छन, त्यो पक्का हो । काँचो केरा भुटेर खान्छन जस्तो पनि लाग्यो ।
म कपाल खौरिने ठाउँ खोज्न हिँडेँ । आइतबार परेकोले धेरै जसो पसलहरू बन्द थिए । बल्ल बल्ल एउटा पसल भेटियो कपाल काटने ठाउँ ।
‘मेरो कपाल खौरिदेऊ’ मैले हतारिँदै भनेँ ।
हातमा कैची लिएकी महिलाले भनिन । हाम्रोमा कपाल खौरिन मिल्दैन, लाइसेन्स छैन । एकदम मसिनो गरी काटन सक्छु । हुन्छ ?’
त्यतिले मेरो काम भएन । अरू पसलहरूमा पनि पुगे, त्यहाँ पनि त्यस्तै भयो ।
‘दाइ, म बरखी बारेर सुतेको सहरको छातीमा यताउति हिँडिरहेँ । एउटा ठाउँ पनि भेटिएन । म टाउकोभरि कपालको भारी बोकेर डेरामा फर्किएँ । के गर्ने ? के नगर्ने ? बाहिर असाध्यै चिसो थियो । म भने भित्रैदेखि जमिरहेँ ।’

समय त जसरी पनि बित्दो रै’छ । अप्ठेरोमा पनि वा सजिलोमा पनि । दिनभरि हिउँ खसालेर ठुस्किएको आकाश अँध्यारो हुँदै आयो । म अपार्टमेन्टको बाहिर उभिएर हातमा जलिरहेको चुरोट र आकाशतर्फ उठिरहेको त्यसको धुवाँ हेरिरहेँ । सायद यसैगरी एक मुस्लो धुवाँ मेरी आमाको अस्तित्वको सुगन्ध बोकेर हरायो होला शून्य आकाशमा । म भन्दा हजारौँ माइल टाढा ।
पछाडिबाट एउटा आवाज आयो– ‘तिमीसँग एउटा अर्को चुरोट छ ? हिउँ परेकोले कतै लिन जान सकिनँ ।’
बूढो केन थर्थर काप्दै उभिइरहेको थियो ।
मैले चुपचाप उसलाई बट्टा र लाइटर दिएँ । केन मेरो छेउमा उभिएर चुरोट उडाउन थाल्यो । एकैछिनपछि अनायास सोधेँ, ‘मेरो कपाल खौरिन सक्छौ ?’
‘यतिबेला ? किन ?’
‘हाम्रोमा यस्तै चलन छ । मेरी आमा बितिन । आमाको लागि मैले त्यति गर्नुपर्छ ।’
सकिएको चुरोटलाई हिउँको सानो ढिस्कोमा छुवाउँदै केनले भन्यो, ‘मेरो हात एकदम काप्छ । तिमीलाई चोट लाग्ने हो कि ?’
‘केही फरक पर्दैन । तिमीले त्यति गरिदिए ठूलो गुन हुन्थ्यो ।’
‘हुन्छ ।’
म केनलाई पछि लगाएर डेराभित्र आएँ । टाउको भिजाएर बाथरुमको भुइमा टुक्रुक्क बसेँ । थर्थरी हात कपाउँदै केनले मेरो टाउको खौरिदियो । साँच्चै उसका हात बेस्सरी हल्लिने रै’छन । हरेक पटक उसको हात हल्लिँदा मेरो टाउकोमा घाउ पार्थ्यो । मैले टाउको झुकाएर मेरो आफ्नो रगतले रङ्गिएका रौहरू भुइँमा खसेको हेरिरहेँ ।
बल्ल तल्ल सकियो । सकिनेबित्तिकै केन हिँडिहाल्यो । ऐनामा हेर्दा थाहा भयो । मेरो टाउको आफ्नै रगतले रङ्गिएको रहेछ ।
आफ्नो मुडुलो टाउको पखाल्दा टाउकोमा लागेका घाउहरूबाट चुहिएका रगतका थोपाहरू सबै शरीरमा फैलिए । एकक्षणका लागि लाग्यो मेरो फेरि जन्म भइरहेको छ । म छुट्टिइरहेको छु, आमाको शरीरबाट । आफ्नै शरीरबाट निस्केको आमाको रगतमा लत्पतिएर मेरो ज्यान, बिस्तारै छुट्टिदै उनीबाट । अब एक्लो हुँदै छु म । अब एकदम एकांकी छ अगाडिको बाटो ।

म बाथरुमबाट बाहिर निस्किँदा ढोकामा केन अर्को मान्छेसँग उभिएको थियो ।
मैले केही सोध्न नभ्याउँदै केनले भन्यो, ‘उनी हाम्रो चर्चका पादरी हुन । तिम्री आमाको लागि प्रार्थना गर्न आएका ।’
‘तिम्री आमाको बारेमा केही भन्छौ कि ?’ पादरीले खल्तीबाट सानो किताब निकाल्दै भन्यो ।
म के भनूँ मेरी आमाको बारेमा । भनूँ कति कोमल थियो उनको स्पर्श वा कस्तो छहारी थियो उनको । आकाश खसेर थिचिए जस्तो भएको थिएँ म । आकाश जस्ती रै’छन मेरी आमा । मैले भन्न जानिनँ केही पनि ।’
एकैछिनको चुपचापपछि पादरीले आफ्नो पुस्तकबाट केही नबुझिने अंश पढ्यो । आफ्नो घाटीमा झुन्डिएको क्रसलाई एकचोटि छाम्यो । फेरि थप कुराहरू भन्यो । अन्त्यमा केन र पादरी दुवैले एकै स्वरमा ‘आमेन’ भने ।
मैले पनि उनीहरूको आवाजको पछि लागेर ‘आमेन’ भने ।
उनीहरू गए ।

श्रवणले आफ्नो गला साफ गर्यो र बोल्यो, ‘दाइ त्यो रात भुइँमा पल्टिएर मैले सम्झिरहेँ आमालाई । सोचेँ, म आमासँगै भएको भए । म आमाको टाउकोनेरै बस्दो हुँ । उनलाई छुँदो हुँ पटक पटक । उनको चितामा आगो लगाउँदो हुँ । शोकमग्न बस्दो हुँ झोक्राएर, आफ्ना मान्छेको वरिपरि । दाइ मैले गर्न नसकेका सारा कर्मकाण्ड मेरो अस्तित्वमा मसिना छेस्कासरि गडेका छन । हरेक पटक सास फेर्दा बिझाइरहन्छन ।’

श्रवण रोकियो । चुपचाप ।

‘भाइ, जे हुनु भइसकेपछि ती सबै कुराको त्यति ठूलो महत्त्व छ र ?’ म उसलाई सान्त्वना दिन चाहान्थेँ । उसको भावहिन आँखासँग मेरा आँखा जुधे ।
गएको दुई वर्षदेखि म त्यही सोचिरहन्छु दिनरात । दाइ मैले ती सबै कर्मकाण्ड गरेको भए आमालाई केही फरक पर्थ्यो वा पर्दैनथ्यो म त्यो जान्दिनँ । मेरी आमाले मसँग कहिल्यै केही मागिनन । केही आश गरिनन । मैले बेस्सरी पढे हुन्थ्यो भन्ने चाहना बाबुको थियो । थुप्रो पैसा कमाउने इच्छा मेरो थियो । आमाले एक दुई पटक भनेकी थिइन, ‘छोराले मलाई दागबत्ती देला, मेरो क्रिया गर्ला ।’ मैले आमाको जीवनभरिको आशा, उनको अन्तिम इच्छा पूरा गर्न सकिनँ ।’
उसले आफ्नो टाउकोबाट टोपी खोल्यो । उसको टाउको खौरिएको थियो । उसको टाउको भरि भर्खर खाटा बस्न आटेका ससाना घाउहरू थिए । मैले उसको टाउको हेरिरहेँ ।
‘दाइ, गएको दुई वर्षदेखि हरेक हप्ता म आफैँ मेरो कपाल खौरिन्छु र जानाजान ब्यूताउँछु यी घाउहरूलाई । यिनै घाउहरूले मलाई आमा सम्झाइरहन्छन ।
उसले एकैछिन अडिएर नाडीको घडीमा हेरयो । ऊ भित्र छिरेको ठिक एक घण्टा भएको थियो ।
उठदा उठदै भन्यो, ‘अब म जान्छु । फेरि भेट होला वा नहोला । उता बा एक्लै छन । म अब यता बस्न सक्दिनँ ।’
ढोकामा पुगेर उसले फेरि भन्यो, ‘दाइ, म तपाईंसँग कुरा गर्न आएकोमा अचम्म नमान्नुहोला । मैले गएको दुई वर्षमा धेरै मान्छेलाई भन्ने कोसिस गरेँ । दाइले जसरी सुन्ने मान्छे भेटिनँ । तपाईंको त पेशा नै कुरा सुन्नु । तपाईंले पक्का सुन्नुहुन्छ भनेर यता आएँ ।’
अरूबेला भएको भए मुस्कुराउँथेँ होला । उसले भर्खर सुनाएको घटनाको उदासीले मलाई हाँस्न दिएन ।
मैले ढोकैबाट उसलाई हेरिरहेँ । ऊ दुई वटा सुटकेश घिसार्दै सडकको पेटीमा गयो । ट्याक्सीसँग पहिले नै कुरा मिलाएको हुनुपर्छ । एउटा पहेलो गाडी उसलाई कुरिरहेको थियो ।
श्रवणले आफ्ना सामान गाडीमा राख्यो । गाडीमा छिर्नै लाग्दा उसको मुडुलो टाउकोमा मेरा आँखा पुगे । सायद उसले टोपी छोडेछ । म भित्र दौडेँ । टेबलमा उसको टोपी थियो । टोपी उठाएँ, त्यहाँ उसको डायरी थियो । डायरी टिप्दा, त्यसको मध्यबाट सय सय डलरका तीन वटा नोट खसे । म त्यो पैसा राख्न सक्दिनथेँ ।
म सबै कुरा बोकेर बाहिर पुगेँ ।
मेरो हातबाट डायरी र पैसा दुवै खसे । नोटहरू उडेर पर–पर पुगे । डायरीको मध्य भाग सडकको पेटीमा खुलै थियो । त्यसलाई टिप्न खोज्दा राता अक्षरमा लेखिएको लाइनमा आँखा पुग्यो ।
‘आमा मलाई माफ गर ।’
ठिक त्यतिबेला श्रवणको ट्याक्सी अलि परको घुम्तीमा मोडिनै आँटेको थियो ।

तपाईको प्रतिक्रिया