क्रान्ति सुब्बा

क्वाइ चुङको लकडाउनमा एउटा कोभिड केस भेटियो

जनवरी ३० तारीख आइतवार राति घोषणा गरिएको रातभरको लकडाउनले क्वाई चुङमा एउटा  प्रारम्भिक पोजिटिभ केस फेला पारेको  थियो।

स्वास्थ्य अधिकारीहरूले  क्वाई चुङको शेक लेई (II) एस्टेटको शेक वाह हाउसमा उक्त  प्रारम्भिक पोजेटिभ  केस फेला पारेका हुन। जहाँ  करिब १,८७२ व्यक्तिको परीक्षण भएको थियो ।

अधिकारीहरूले परीक्षणको क्रममा लगभग ६४४ अपार्टमेन्टको भ्रमण गरेका थिए जसमा ४० फ्लाटका निवासीले ढोका खोलेनन। ढोका नखोल्ने परिवारलाई सरकारले कुनै माध्यमबाट फलोअप गर्ने बताइएको थियो ।

यसैबीच तो क्वा वानमा रातभरको लकमा कुनै नयाँ कोविड केस   फेला परेनन। जहाँ उनीहरूले १८,२० यिन अन स्ट्रिट र १७,१९  चुन फात स्ट्रिट स्थित आवासीय भवनमा बस्ने करिब ५५ व्यक्तिको परीक्षण गरेका थिए ।

गृहमन्त्री क्यास्पर चुइले राजीनामा दिए

३१ जनवरी सोमबार १३:०० बजे


हङकङ गृह मामिला सचिव (गृहमन्त्री ) क्यास्पर चुई यिङ-वाइले  सरकारले एक जन्मदिनको भोज काण्डमा मुछिएका सरकारी  अधिकारी माथि  अनुशासनको कार्वाहीको नतिजा घोषणा गर्नु पुर्व राजीनामा दिएका थिए ।

उनले जनवरी ३१ तारीख सोमबार नै  कार्यकारी प्रमुखलाई राजीनामा बुझाएका थिए र सोही दिन पद छाडने मनसाय राखेका थिए ।

“महामारी विरुद्धको लडाईलाई  नेतृत्व गर्ने प्रमुख अधिकारी मध्ये एकको भुमिका निभाउने क्रममा मैले हालैको प्रकोपको समयमा उत्कृष्ट उदाहरण स्थापित गर्न सकिन । मैले जनवरी ३ को भोजमा उपस्थित हुने गलत निर्णय गरें र भाइरसको फैलावटलाई रोक्न सम्पूर्ण बलबुँताका साथ समर्पित हुनको सट्टा अनुचित व्यवहार गर्न तिर लागेँ।” राजीनामा पत्रमा उनले लेखेका थिए ।

क्यास्पर चुइ

“म आफुले गरेको कार्यको जिम्मेवारी लिन्छु । त्यसैले गृह मन्त्रीको पदबाट राजीनामा दिने निर्णय मैले गरेको छु।”

चुईले सरकारमा सामेल हुने र हङकङको सेवा गर्ने अवसर पाएकोमा आफू कृतज्ञ भएको बताए।  उनले कार्यकारी प्रमुख  क्यारी लाम,आफ्ना सहकर्मी र विभिन्न क्षेत्रका साथीहरूलाई समर्थन र मार्गदर्शन गरेकोमा धन्यवाद पनि दिए।

हङकङमा अत्याधिक संक्रामक ओमिक्रोन संस्करण भर्खरै फैलिन लागेको बेला वान चाइको एउटा  रेस्टुरेन्टमा जनवरी ३ का दिन  शेन्जेन छयानहाइको लागि  नियुक्त कुटनितिज्ञ प्रीन्सिपल लियासन अफिसर   विटम्यान हुङ वाइ-मानको ५३ औँ जन्मदिनको भोजमा सहभागी हुने १५ शीर्ष सरकारी अधिकारीहरूमध्ये एक जना चुई पनि थिए। 
कार्यकारी प्रमुख  लामले यसअघि  कार्यकारी प्रमुखको कार्यालयका निर्देशक एरिक चान क्वोक-की र निजामती सेवाका सचिव प्याट्रिक निप ताक-कुनको नेतृत्वमा कार्यदल गठन गरि  छानबिन गर्न आदेश दिएका थिए।

अनुसन्धान पूरा नभएसम्म चुइलाइ ड्युटीबाट निलम्बन गरिएको थियो तर अन्य अधिकारीहरूले भने पहिले नै काम सुरु गरिसकेका थिए। सोमबार चुइको फेसबुक पेज निष्क्रिय गरिएको थियो ।

हङकङलाई कोविडसँग बाँच्नका लागि तयार हुन अझै ६ महिना लाग्ने

३१ जनवरी सोमबार  १३:०० बजे

सोमबार एक रेडियो कार्यक्रममा बोल्दै सरकारी खोप परियोजना अन्तर्गत गठित वैज्ञानिक समितिका अध्यक्ष प्राध्यापक लाउ यु-लुङले कोभिड-१९ एक स्थानीय रोग बन्ने सम्भावना भएकाले सोही अनुसार अब हङकङले तयारी सुरु गर्नुपर्ने बताए।

उनको भनाइ अनुसार कोविडसँग बाँच्न सुरु गर्नको लागि कम्तिमा कुल जनसंख्याको ९० प्रतिशत खोप दर हासिल गर्नुपर्छ । त्यो भनेको हङकङको लगभग ६७ लाख मानिसहरूले  खोप लगाएको हुनुपर्दछ।

लाउ यु- लुङ

कोभिडबाट हुने क्षतिलाई नियन्त्रणमा ल्याएर सिजनल इन्फ्लुएञ्जाबाट भन्दा कम मानिसले कोभिडबाट मृत्युवरण  गर्ने अवस्था ल्याउनु पर्दछ उनले भने।

लक्ष्यित खोप दर हासिल गर्न हङकङलाई अझै तीन महिनाभन्दा बढी समय लाग्ने अपेक्षा लाउले लिएका छ्न। कुल मिलाएर भन्नु पर्दा सहरलाई कोभिडसँग बाँच्न तयार हुनको लागि  ६ महिना लाग्नेछ।

हङकङ  सरकारले आफ्नो निजि  योजनालाई  कार्यान्वयन गर्दा सिंगापुरको उदाहरण हेरेर  पाठ सिक्नुपर्छ मेडिकल एक्स्पर्टले भने।

लिभहोमसेफ एप नै हो भ्याक्सिन पास

३१ जनवरी सोमबार १४:०० बजे

हङकङ सरकारले फेब्रुअरी २४ देखि  भ्याक्सिन बबल विस्तार गर्ने भएको छ। बबल विस्तार भएपछि कुनै पनि व्यक्ति कुनै पनि रेस्टुरेन्टमा  खाना खान गएमा उसको सम्पूर्ण  व्यक्तिगत विवरण र सम्पर्क पत्ता लागाउन सकिने संयन्त्र स्थापना गर्ने भएको छ। विशेष गरि कुनै पनि रेस्टुरेन्टमा कोभिड संक्रमण भएमा त्यहा खान गएकालाइ पत्ता लाउन सजिलो हुनेछ यो बिधिबाट ।

यो संयन्त्र लागू भएपछि सधैंको जस्तो कुनै पनि संक्रमित भएको इलाकामा गएका मानिसलाई  अनिवार्य टेस्टमा जाउ भनेर अनुरोध गरिरहनु पर्दैन । सम्पूर्ण विवरण उक्त उपकरण मार्फत थाहा हुने भएकोले अधिकारीहरुले संक्रमण फैलिएको रेस्टुरेन्टमा खाना खान  गएका मानिसहरूलाई पहिचान गरेर कल गर्न सकिन्छ, इनोभेसन तथा टेक्नोलोजी मन्त्री  अल्फ्रेड सिट विङ-ह्याङले जानकारी दिए।

लिभहोमसेफ एप

भ्याक्सिन बबल लागू भएका  स्थानहरू भ्रमण गर्दा लिभहोमसेफ ( LeaveHomeSafe)  एप प्रयोग गर्नु पर्नेछ  र यो एपमा नै खोप रेकर्ड पनि  लिङक गरिएको हुन्छ । यस मानेमा यो लिभहोमसेफ नै  “भ्याक्सिन पास” को रूपमा प्रयोगमा आउनेछ।

भ्याक्सिन पासबाट अधिकारीहरूले संबंधित व्यक्तिको नाम, परिचय पत्र नम्बर र टेलिफोन नम्बरहरू प्राप्त गर्न सक्नेछन र कन्ट्याक्ट ट्रेसिङको लागी कल गर्न सकेछ्न।

गृहमन्त्री क्यास्पर चुइको राजीनामा स्वीकृत

३१ जनवरी १७:०० बजे

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले सोमबार गृहमन्त्री क्यास्पर चुइ यिङ-वाइको राजीनामा स्वीकृत गरेकी छिन र उनले जन्मदिनको भोजमा स्वास्थ्य नियम उलंघन  गरेर आफू र सरकारलाई लाजमर्दो बनाएको बताइन।

उनले चुइ संगै एउटै पार्टीमा उपस्थित भएका दुई सरकारी अधिकारीहरू – विकास मन्त्रीका राजनीतिक सहायक एलेन फङ यिङ-लुन र पोलिसी इनोभेसन एन्ड कोअर्डिनेसन अफिसका  उपनिर्देशक भिन्सेन्ट फङ हाओ-यिनलाई मौखिक वार्निङ दिने  घोषणा पनि गरिन।

सेन्जेन छयानहाई अख्तियारमा नियुक्त  हङकङ प्रमुख सम्पर्क अधिकारी तथा राष्ट्रिय जन कांग्रेसका हङकङ प्रतिनिधि  विटम्यान हुङ वाइ-मानको ५३औँ जन्मदिनको भोजमा भाग लिने १५ जना उच्च सरकारी अधिकारीहरूमध्ये चुई पनि एक थिए । अत्यधिक संक्रामक कोभिड-१९ ओमिक्रोन भेरिएन्टले स्थानीय प्रकोप बढाउदै गरेको बेला उक्त भोज वान चाइ स्थित एक स्पेनिश रेस्टुरेन्टमा जनवरी ३ मा  आयोजित भएको थियो ।

कार्यकारी प्रमुख क्यारी लाम

माथि उल्लेख तीन जना बाहेक पार्टीमा उपस्थित अन्य १२ जना सरकारी अधिकारीहरूले कुनै जरिवाना नपाउने जानकारी पनि लामले दिइन।  तिनीहरूमा वित्तीय सेवा र ट्रेजरी सचिव क्रिस्टोफर हुई चिंग-यु, पुलिस प्रमुख रेमन्ड सिउ चाक-यी, अध्यागमन प्रमुख आउ का-वाङ, र ICAC आयुक्त साइमन पेह युन-लु समावेश छन।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै लामले  महामारी विरुद्ध छेडिएको लडाईको नेतृत्व गर्ने एक मुख्य सदस्यका रूपमा रहेका गृहमन्त्रीले आफ्नो कार्यप्रति बढी संवेदनशील हुनुपर्ने बताइन।

  चुईले “हङकङ सरकारको छविलाइ कलंकित गरेको ” र “सामान्य जनताको अपेक्षा पूरा नगरेको” लामले बताइन।

  अनुसन्धानको रिपोर्ट अनुसार चुईले सामाजिक दूरीका नियमहरू उलंघन  गरेको थिए । पार्टीमा मास्क नलगाई बसेका थिए । लिभहोमसेफ( LeaveHomeSafe) सम्पर्क ट्रेसिङ एप पनि प्रयोग गरेका थिएनन।

हङकङको कोविड नियमलाई चुइले उलंघन गरेको बिषय ज्यादै गम्भीर भएको चर्चा लामले गरिन।  र पार्टीमा सामेल हुनुभन्दा केही घण्टा अघि मात्र  सामाजिक-दूरीका  नियमलाई कसरी अझ कडा पार्न सकिन्छ भन्ने एक आन्तरिक बैठक भएको थियो र त्यसमा उनको उपस्थिति पनि  थियो । तर उनले नै सिमारेखा पार गरे ।

उनले जोड दिदै भनिन  चुइ त गृह मामिला ब्यूरोको नेतृत्व गर्दै  कोविड विरुद्धको लडाईमा संलग्न एक महत्त्वपूर्ण बिभागका प्रमुख भएका नाताले झन बढी जिम्मेवारी बहन गर्नु पर्थ्यो।

उनले आज बिहान सुईको राजीनामा प्राप्त गरेको र यसलाई स्वीकृत गरिसकेको बताइन । त्यसपछि उनलाई पदबाट हटाउन केन्द्र सरकारसँग स्वीकृति लिने पनि  बताइन।

दुई जना  सरकारी अधिकारी  मध्ये एक एलेन फङ जो पार्टीमा चार घण्टाभन्दा बढी समय बसेका थिए । राजनीतिक रूपमा नियुक्त भएको अधिकारीले त्यो पार्टीमा त्यति लामो समय सम्म बस्नु हुन्नथ्यो लामले भनिन।  भिन्सेन्ट फङको सम्बन्धमा   लामले भनिन स्वास्थ्य बिभागबाट कोभिड टेस्टको लागि सूचना पाइसकेपछी पनि उनले अटेरी भएर आफ्नो कार्यलय आउन छोडेनन। उनको यस्तो कृत्यले  आफ्नो सहकर्मीहरूलाई संक्रमणको जोखिममा राखेको थियो ।

ती दुबै जनालाई यस्तो हर्कत गरे बापत निज द्वयको आफ्नो निकायको माथिल्लो तहबाट आवश्यक नसिहत दिइनेछ लामले भनिन।

अन्य १२ जना सरकारी अधिकारीहरूको बारेमा भने  उनीहरू मध्ये कोहि   थोरै मात्र पाहुना उपस्थित हुदै गरेको बेला चाँडै आइपुगेका थिए र कोही चाहि थोरै समय  मात्र बसेर हिडेका थिए । र उनीहरूले  कोभिड नियमहरू पनि पालना गरेका थिए । मास्क लगाउने र LeaveHomeSafe एपमा आफ्नो भ्रमण दर्ता गर्ने काम गरेका थिए लामले भनिन।

तपाईको प्रतिक्रिया