कवि अनिल कार्कीको जन्म २० जुन १९८६ मा पीपलतड (मुवानी) गाउँ, पिथौरागढ,उत्तराखण्ड, भारतमा भएको हो । उनका पुर्खाहरू नेपालको सुदूर पश्चिमबाट धेरै अगाडि भारतमा गएर बसेका हुन । उनले समाजशास्त्र, हिन्दी र पत्रकारिता विषयमा एमएका साथै ‘छायावादोत्तर लम्बी कविताओं में रचना विधान तथा विचारधारा’ विषयमा पीएचडी उपाधि हासिल गरेका छन । उनका प्रकाशित कृतिहरूमा उदास बखतों का रमोलिया, भ्यास कथा तथा अन्य कहानियाँ,एक तारो दूर चलक्यो, ‘लोक पहरुवे, उत्तराखण्डका लोक कलाकारहरूमाथि लेखिएका महत्त्वपूर्ण लेखहरूको सम्पादन, धार का गीदार कथा सङ्ग्रह पलायन से पहले,अपनी माटी अपना बचपन,परिवेश सुन सुवा बणखंडी ,नदी भेड़ नहीं होती , सुन सुवा बणखडी लगायतका कृति प्रकाशित छन । उनलाई सन २०१५ मा कहानी सङ्कलनका लागि अनुवाद सम्मानद्वारा सम्मानित गरिएको छ । उनका कविताहरूमा भारतीय पहाडी जनजीवनको सुन्दर र कलात्मक चित्रण पाइन्छ । प्रस्तुत छ साताको तीन कविता ।
घाँस र आमा

राजाहरूले देख्दैनन सपनामा घाँस
कस्तो अचम्म !
जङ्गलले पनि बोलाएन कहिल्यै
तवस्वीहरूलाई आफूछेउ

आमा भन्छिन- उनका सपनामा
प्रायः आउँछ घाँस
जङ्गल त एकाबिहानै
बोलाउन थाल्छ
आमालाई आफूतिर

घाँस
साथी हो आमाको
रचेकी हुन आमाले
जङ्गलका छातीहरूमा
घाँससम्म पुग्ने
सबैभन्दा पुराना बाटाहरू

यति नजिक छन
आमा र घाँस
दुवैले ढाकेका छन आफ्नो धरातल
उम्रिए दुवै
सबैभन्दा कठोर चट्टानमा
दुवैले जोगाए आर्द्रता
र त्यसका एक एक थोपा
यसरी धरती जोगियो
सुकेर जानबाट !

महाकाली नदी पर बाँध

ठगिन्छ-
जब एउटा नदी
त्यसरी नै ठगिन्छन
किनारमा बस्नेहरू पनि

ठगिन्छन-
सरल पशुहरूका आवाज
ठगिने गर्छन पुल-
जसलाई टेकेर
मनुष्य अएका थिए धरतीमा
त्यो सेतु-
जसको बलमा अडिएको थियो
रोटी-बेटीको सम्बन्ध
सभ्यतादेखि वर्तमानसम्म

नदी नै ठगिएपछि
ठगिने गर्छन-
तिर्खासम्म पुग्ने सबैभन्दा सही बाटाहरू

ठगिन्छ-
चराहरूको तिर्खा
बिजुलीका तारको बाहनामा

नदी नै ठगिएपछि
अबोध अवाक बुढा देवताहरू पनि
आफूलाई ठगिएको जस्तो अनुभव गर्छन
जो कामदारहरू
गोठालाहरूका पछिपछि
साउनको नदी पौडिएर
गर्ने गर्थे वारि-पारि

वास्तवमा, नदी ठगिनु
मनुष्यता ठगिनुको
सबैभन्दा नयाँ र ठुलो घटना हो-
यो संसारको ।

प्रिय बालकहरू

किसानका छोराछोरीले खोले
किताबका पाना पाना
धेरै बेरसम्म खोजे किताबमा
आफ्ना बुबालाई
मिस्त्रीको छोराले
खोजिरह्यो मिस्त्री
किताबहरूमा
संसारका सबैभन्दा ठुला महल
र धरहराहरूको
इतिहास पढ्दै
घँसिनीहरूका छोराछोरीले
खोजिरहे आफ्ना आमाहरू
पढदै गर्दा किताबमा-
पहाडका बारेमा
कपाल काटनेकी छोरीले
खोजिरही-
कैँचीबाट निस्किरहने
भँगेराको जस्तै आवाजका साथ
आफ्नो पितालाई
किताबहरूमा
सफाइकर्मीको बच्चाले
खोजिरह्यो-
एउटा सफासुग्घर कुरा-
किन छैनन उसका बा किताबमा ?
कसले भनोस यिनीहरूलाई
यो संसार केवल
डाक्टर, इन्जिनियर, मास्टर, प्रोफेसरहरूको हो
अधिकृत, जिल्ला प्रमुखहरूको हो
यहाँ कुनै स्थान छैन-
श्रमिक, किसान, घँसिनी र कपाल काटनेहरूलाई
मेरा प्रिय बालकहरू,
फेर्नु छ तिमीले यी किताबहरू !

अनुवादः निमेष निखिल

तपाईको प्रतिक्रिया