क्रान्ति सुब्बा

खोप नलाउनेलाइ कम्पनीले बर्खास्त गर्न सक्नेछ

खोप नलगाएका कर्मचारीलाई कामबाट  बर्खास्त गर्ने अनुमति हङकङका प्रत्येक रोजगारदातालाई दिइएको छ । फेब्रुअरी २४ तारीखबाट हङकङमा “भ्याक्सिन पास” लागु हुदैछ । सरकारले नियमन गरेका निर्दिष्ट स्थानमा खोप नलाएकालाइ सो दिनबाट प्रवेश निशेध गरिनेछ। भ्याक्सिन रेकर्ड नहुदा काममा जान नसकिने भएपछि काममा गयल हुने स्थिति आउन सक्दछ। परिणामस्वरूप संबंधित कामदारलाई कम्पनीले बर्खास्त गर्न पनि सक्छ। तर त्यो बर्खास्ती बैधानिक हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले भनेकी छिन फेब्रुअरी ८ तारीखको एक पत्रकार सम्मेलनमा।

मंगलबारको उक्त पत्रकार सम्मेलनमा लामले महामारीविरुद्धको कदमलाई लिएर कामदार र रोजगारदाताबीचको द्वन्द्वलाई न्यूनीकरण गर्न सरकारले रोजगार ऐनमा आवश्यक संशोधन गर्ने पनि बताइन।

त्यो ऐन संशोधनको एउटा बुँदा यस्तो हुनेछ – फेब्रुअरी २४ मा सुरु हुने भ्याक्सिन पासले कभर गर्ने ठाउँहरूमा भ्याक्सिन पास उपलब्ध गराउन नसक्दा कुनै पनि रोजगारदाताले भ्याक्सिन पास देखाउन असमर्थ आफ्नो कर्मचारीहरूलाई बर्खास्त गरिहालेमा त्यस निष्कासनलाई अनुचित बर्खास्ती  मानिने छैन।

यस पासले कुल २३ स्थानहरु कभर गर्ने छ जस्तै : बार, रेस्टुरेन्ट, जिम, सिनेमा, मसाज पार्लर, ब्यूटी सेन्टरहरू जो पहिले नै घोषणा भैसकेका थिए ।  र पछि थप  ६ वटा स्थानहरू संलग्न गरिएका थिए  ती हुन – सपिङ मल, वेट मार्केट र अन्य मार्केटहरू, सुपरमार्केटहरू, डिपार्टमेन्ट स्टोरहरू, धार्मिक स्थलहरू र हेयर  सैलुन।  न्युनतम  एक डोज खोप प्राप्त गर्ने व्यक्तिलाई मात्र ती  स्थानहरूमा प्रवेश गर्ने अनुमति दिइनेछ।

अध्यादेशमा आएको अर्को परिवर्तन अनुसार  रोजगारदाताले कामदारलाई  संबंधित कामदार  बस्ने एस्टेटमा लकडाउन भएमा वा निजलाई क्वारेन्टाइनमा पठाइएको अवस्थामा बर्खास्त गर्न नमिल्ने प्रावधानको  व्यवस्था गर्नेभएको छ। त्यस्तो अवस्थामा ती कामदारहरू बिरामी बिदा( सिक लिभ) को लागि योग्य हुनेछन । यदि ती कामदारलाई  बर्खास्त गरिएको खण्डमा त्यसलाई  “अवैध बर्खास्त” मानिनेछ र बर्खास्त गर्ने रोजगारदाताले कानुनी कार्वाहीको भागिदार बन्नु पर्ने छ।

सरकारले महामारी विरोधी कोष अन्तर्गत हङकङ डलर २६ बिलियन (२६ अरब हङकङ डलर) अनुमोदन संसदबाट गराउने कुरा पनि लामले भनिन।

हङकङको सन्दर्भमा बेरोजगारलाई पनि  पहिलो चोटि हङकङ डलर दस हजार (HK$ 10,000) अनुदान दिइने भएको छ। तर यसको वितरण कसरी गर्ने भन्ने बारे अधिकारीहरूले  गृहकार्य गरिरहेका छन।

सरकारी अनुदान प्राप्त गर्नेमा किसान, पर्यटन र यातायात क्षेत्र पनि  पर्नेछ । महामारी विरुद्धको युद्धमा संलग्न  फ्रन्टलाइन कामदारले पनि नगद अनुदान प्राप्त गर्नेछन जसमा सुरक्षा गार्ड, क्लिनर, संक्रमणको उच्च जोखिममा रहेका कर्मचारी जस्तै विमानस्थलका कामदार परेका छ्न । उनीहरु प्रत्येकले हङकङ डलर दस हजार प्राप्त गर्नेछ्न महिनाको दुई हजारको दरले पाँच महिनासम्म ।

अनुदान संबंधी प्रस्तावहरू आगामी मंगलबार व्यवस्थापिका संसदको अर्थ समितिमा पेस हुनेछन।

जुन महिनाभित्र बुस्टर लगाइसक्नुपर्ने

८ फेब्रुअरी मंगलबार १८:००

हङकङ सरकारले लागू गरेको  “भ्याक्सिन पास” अन्तर्गत  १२ वर्ष वा सोभन्दा माथिका बासिन्दाहरूले यही आउदो  जुन महिना सम्ममा क्रमशः तीनवटा कोभिड-१९ भ्याक्सिनहरू लगाइसक्नु पर्नेछ  एक जना स्वास्थ्य अधिकारीले मंगलबार घोषणा गरे।

भ्याक्सिन पास अन्तर्गत खोप लगाइएकाले मात्र रेष्टुरेन्ट, सुपरमार्केट, शपिङ मल र मनोरन्जन स्थल लगायत नियमन गरिएका परिसर सूचीमा अंकित स्थानमा प्रवेश  गर्न सक्छन।

खाद्य तथा स्वास्थ्यका स्थायी सचिव थोमस चान चुङ-चिङले यो योजना तीन चरणमा लागू गरिने बताए।

फेब्रुअरी २४ मा सुरु हुने भ्याक्सिन पासको पहिलो चरणमा खोपको प्रथम मात्रा  प्राप्त बासिन्दाले मात्र तोकिएका स्थानहरुमा प्रवेश गर्न पाउनेछ्न।भ्याक्सिन पासको दोस्रो चरण अप्रिलको अन्त्यमा सुरु हुनेछ। यस चरणमा १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दुईवटा डोज पूरा गर्नुपर्छ। तर १२ देखि १७ वर्ष  बीचको उमेर समूहले एक डोज खोप लगाएको भए प्रवेश प्राप्त गर्न सक्छ्न।

भ्याक्सिन पासको दोस्रो चरण अप्रिलको अन्त्यमा सुरु हुनेछ। यस चरणमा १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दुईवटा डोज पूरा गर्नुपर्छ। तर १२ देखि १७ वर्ष  बीचको उमेर समूहले एक डोज खोप लगाएको भए प्रवेश प्राप्त गर्न सक्छ्न।

भ्याक्सिन पासको अन्तिम चरण जुन महिनाको अन्त्यमा सुरु हुनेछ। यस चरणमा १८ वर्ष वा सो भन्दा माथिका सबै बासिन्दाले आफ्नो बुस्टर खोप लगाउनु पर्नेछ।

भ्याक्सिन पास लागु भएको कुरालाई कसरी अनुगमन गर्ने भन्ने प्रश्नको उत्तरमा चानले भिडभाड संलग्न स्थानहरु जस्तै  सुपरमार्केट, शपिंग मल र वेट मार्केट तिर निष्क्रिय दबाब मात्र प्रयोग गरिनेछ भने। ती इलाकामा हिडडुल गर्ने मानिसलाई उनीहरूको भ्याक्सिन पास एक एक गरेर चेक गरिने छैन । तर अधिकारीहरुले बेला बेलामा ती स्थानहरुमा छडके चेक गर्ने छ्न।

फेब्रुअरी १० तारीख बिहीबारदेखि दुई भन्दा बढी घरपरिवारहरु एकै स्थानमा भेला हुन मनाही गरिएको छ।

दुई भन्दा बढी परिवार जम्मा भएको अवस्थालाई चेक गर्न अनुगमनकर्ताहरु घर घरमा  पुग्दैनन। तर यदि  एक जना व्यक्ति मात्र संक्रमित भएको पाइयो भने र कन्ट्याक्ट ट्रेसिङको रेकर्डले कानून उलंघन हुनेगरी पारिवारिक जमघट भएको पाइएमा सोही बमोजिम  कानुनी  कार्वाही हुनेछ।

सार्वजनिक यातायातलाई भ्याक्सिन पासको दायराभित्र तत्काल ल्याइ हाल्ने योजना सरकारको नरहेको जानकारी चानले दिए।

महामारीको असर वृद्ध आश्रम

८ फेब्रुअरी मंगलबार १८:०० बजे

हङकङमा मंगलबार ६२५ वटा कोभिड पुष्टि केस देखिएको थियो । आज रिपोर्ट गरिएका धेरै जसो केस पारिवारिक क्लस्टरबाट आएका थिए । परिवारहरू भेला भएर खानपिन वा कुनै विशेष काम गर्दा ३६७ जना संक्रमित भएका थिए । र यस्ता भेलाले कम्तीमा १९ ठुला क्लस्टरहरु जन्मिएका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआंग शुक-क्वानले जानकारी दिए अनुसार १५ वटा केसहरूमा L452R म्युटेन्ट स्ट्रेन भेटिएको थियो । र यो स्ट्रेन डेल्टाको हो। बाँकी सबै केसहरू मुख्यतया ओमिक्रोन थिए। प्रारम्भिक पोजेटिभ केस संख्या ५००  थिए।

चुआङले एउटा क्लस्टरको डिनर पार्टीमा ४७ जना मानिसहरू भेला भएको कुरा बताइन। उनले यस्ता किसिमका ठुला फेमिली भेला नगर्न पनि आग्रह गरिन।

स्वास्थ्य निर्देशक रोनाल्ड लाम मान-किनले  गत दुई हप्ताको अवधिमा २,६२८ पोजिटिभ केसहरु  रिपोर्ट गरिएको बताए । हिजो सम्ममा  कुल ८९ अज्ञात स्रोतका केसहरू रिपोर्ट गरिएका थिए । ती केसहरु निम्न स्थानबाट आएका थिए -शा तिन, शाम शुई पो, क्वाई चिंग र काउलुन सिटि ।

चुआङले  हङकङका वृद्ध आश्रमहरुमा पनि  महामारीको प्रकोप गम्भीर ढंगले बढिरहेको उल्लेख गरिन।
युन लङमा रहेको अन हङ होम फर एज्ड भन्ने वृद्ध आश्रम निवासी एक वृद्धलाई प्रारम्भिक पोजिटिभ भएको थियो । र उनको कारणले गर्दा  नवौं तलामा बस्ने अन्य नौ जनालाई क्वारेन्टाइनमा पठाइएको थियो ।  वाइजी क्रिस्चियन सर्भिस च्यङ क्वान ओ इन्टरगेटेड रिह्याबिलिटेसन सर्भिसेस सेन्टरका १४ जना बासिन्दालाई पनि त्यहाँको एक कामदार संक्रमित भएपछि क्वारेन्टाइनमा पठाइएको थियो।

यान ओइ एल्डर सेन्टर लिमिटेडका एक हेरचाहकर्ता प्रारम्भिक पोजेटिभ भएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँका २५ जनालाई क्वारेन्टाइन पठाएका थिए। स्यङ वान स्थित पो ल्यङ कुक क्वोक ल क्वाई चुन होम फर द एल्डर्लीका ७५ जना बासिन्दालाई त्यहाँका दुई एल्डरहरू संक्रमित भएपछि क्वारेन्टाइन पठाइएको थियो।

शाम शुई पोको फु च्यङ एस्टेट स्थित  फु युत हाउसको दोस्रो तल्लामा रहेका पाँच वटा युनिटबाट केहि केसहरू फेला परेका थिए । र त्यस तल्लाका बासिन्दालाई विस्थापित  गर्नु पर्छ भनिएको थियो ।

स्वास्थ्य अधिकारीहरूले उक्त भवनको पाइपहरू निरीक्षण गरेका थिए। तर भाइरस फैलिने माध्यम पाइप नभएको ठहर गरेका थिए ।
अर्को नोटमा लामले बताए अनुसार  आज मंगलबारदेखि शुरु भएको स्टेहोमसेफ कार्यक्रम अन्तर्गत दिउँसोसम्ममा ३८ जना नागरिकलाई होम आइसोलेसन आदेश जारी गरिएको थियो।  यी नागरिकले चार दिन अन्यथा १४ दिन होम आइसोलेसनमा बस्नुपर्ने लामले बताए ।

लामले होम आइसोलेसनको मामलामा तीन वटा  मुख्य तत्व ख्याल गर्नुपर्ने कुरा आउँछ भने। पहिलो हो स्वास्थ्य व्यवस्थापन जसमा नागरिकहरूले आफू संक्रमित भए नभएको हेर्न चिकित्सकीय निरीक्षण र नियमित परीक्षण गर्नुपर्छ। दोस्रो हो प्राविधिक सपोर्ट जसको लागि  नागरिकहरूले अधिकारीहरूसँग सम्पर्क गर्न २४-घण्टे हटलाइन डायल गर्न सक्छन। तेस्रो हो प्रत्यक्ष सपोर्ट जसको लागि आइसोलेसनमा बसेका नागरिकले दिनको तीन चोटिको खाना आफन्तलाई  मगाउन सक्छन या त कुरियर मार्फत सम्पर्क-रहित डेलिभरी अर्डर गर्न पनि  सक्छ्न।

ताइ पो र शा तिनमा लकडाउन

८ फेब्रुअरी मंगलबार  २१:०० बजे।


मङ्गलबार राति ताइपो र शा तिनका तीनवटा आवासीय ब्लकहरू त्यहाँबाट निस्किएका ढलको नमूनामा कोभिड-१९ पोजेटिभ देखिएपछि लकडाउन गरिएको थियो। ती भवन हुन-
– ताई पो मा वांग फुक कोर्ट  वांग शिंग हाउस र वांग ची हाउस

– शा तिन मेई लाम एस्टेटमा मेई फंग हाउस।

९ फेब्रुअरी बुधबार ११:०० बजे

सरकारले बुधवार बिहान शाम शुई पोको आवासीय ब्लकमा रातभर जारी गरेको लकडाउन हटाएको थियो जहाँ  २९ वटा प्रारम्भिक पोजिटिभ केसहरू फेला परेका थिए ।
दुई चरणमा सम्पन्न परीक्षणमा शाम शुई पो स्थित फु च्यङ इस्टेटको फु युत हाउसका करिब ४ हजार ८२० व्यक्तिले सहभागिता जनाएका थिए ।

वास्तवमा लकडाउन मंगलबार बिहान समाप्त हुने थियो तर पहिलो चरणको परीक्षणबाट १५ वटा  भन्दा बढी कोविड केसहरू बाहिर आएपछि  अरु एक दिन लकडाउन थपिएको थियो।
बुधबार  बिहान ८.३० बजे लकडाउन हटाइएको हो ।

ताइ पोका दुईवटा आवासीय ब्लकहरूमा पनि मंगलबार  राति लकडाउन गरिएको  थियो जसमध्ये एउटामा चारवटा प्रारम्भिक पोजेटिभ कोभिड-१९ को संक्रमण भेटिएको थियो।

स्वास्थ्य अधिकारीहरूले वाङ फुक कोर्टको वाङ ची हाउसमा बस्ने करिब ५३० जनालाई  परिक्षण गर्दा यी  चार जना संक्रमित भेटिएका थिए ।

त्यही हाउजिङ एस्टेटको  वाङ शिङ हाउसका ५०० जनामा परिक्षण हुँदा शुन्य संक्रमण भेटिएको थियो । यद्यपि एउटा नमूनाको भने पुनः परीक्षण गर्नपर्ने भएको थियोे ।

बुधबार  बिहान ९ः१५ बजे लकडाउन हटाइएको थियो  ।

ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकका दुई स्टाफ धरौटीमा रिहा

९ फेब्रुअरी बुधबार १४:०० बजे

मेडिकल निगरानी नियम तोडेको आरोपमा पक्राउ परेका दुई जना भूतपूर्व क्याथे प्यासिफिकका फ्लाइट एटेन्डेन्ट ( उडान परिचर) फेब्रुअरी ९ तारीख बुधबार जमानतमा रिहा भएका थिए । हङकङमा हाल चालु कोभिड-१९ को पाँचौं प्रकोप शुरुआत भएको बेला मून प्यालेस क्लस्टर जन्माउने यी दुई जना नै हुन।

मेडिकल निगरानी सहित होम आइसोलेसनमा बसेको बेला  ४५ वर्षीय वङ युन-लुङ र ४४ वर्षीय निल्सन लाउ कोक-वाङ खाना खान बाहिर गएको शंका गरिएको थियो । केहि समयपछि दुवै जनालाई कोभिड पोजेटिभ भएको थियो ।

मलेसियाका नागरिक वङलाई डिसेम्बर २४,२०२१ का दिन जारी  मेडिकल सर्भेलेन्स सम्बन्धि नियम र सर्तको पालना गर्न असफल भएको आरोप लगाइएको थियो।

हङकङवासी  लाउले भने गत वर्ष डिसेम्बर २५ र डिसेम्बर २७ मा समान आरोपको दुईवटा मुद्दा सामना गर्नु परेको थियो। यी दुई जना बुधवार इस्टर्न  मजिस्ट्रेट अदालतमा पहिलो पटक उपस्थित भएका थिए ।

जरिवाना स्वरूप हङकङ डलर पाँच हजार नगद बुझाएपछि हप्तामा एक पटक पुलिसलाई रिपोर्ट गर्नुपर्ने आदेशका साथ ती दुईको रिहा भएको थियो ।

उनीहरूलाई हङकङ छोडन बन्देज गरिएको छ। उनीहरूले आफ्नो पासपोर्ट बुझाउनु परेको थियो । र उनीहरूले  रिपोर्ट गर्दा जुन ठेगाना दिएकाछ्न त्यसैमा बस्नु पर्दछ। मुद्दाको सुनुवाई अप्रिल ७ सम्मको लागि स्थगित भएको थियो ।

९ फेब्रुअरी बुधबार १५:०० बजे

तिन शुई वाइमा स्थित  तिन शिङ कोर्टको शिङ यिन हाउसको ढलको नमूना कोभिड पोजिटिभ भएपछि  बुधबार दिउँसो त्यहाँ लकडाउन गरिएको थियो।

लकडाउन दिउँसो २ बजे घोषणा गरिएको थियो र बिहीबार दिउँसो करिब २ बजे हटने अपेक्षा गरिएको थियो ।

कोभिडबाट दुइजनाको मृत्यु

९ फेब्रुअरी १८:००

हङकङमा फेब्रुअरी ९ तारीख  बुधबार १,१६१ वटा कोभिड  केसहरू थपिएका थिए । हङकङले कोभिड-१९ को प्रकोप पछि पहिलो पटक चार अंकको केस नम्बर रिपोर्ट गरेको हो।

आयातित केस संख्या  केवल आठ थिए । बाँकी सबै स्थानीय संक्रमण थिए । अधिकांश संक्रमणहरू ओमिक्रोन भेरिएन्ट थिए। केहि  केसहरूमा डेल्टा भेरिएन्ट पनि समावेश थिए ।

आजको केसहरु चीनिया नयाँ वर्षको जमघटले उत्पादन गरेका अनगिन्ती फेमिली क्लस्टरबाट आएका थिए । जसमा  गृहिणी, वयोवृद्ध वृद्ध र  सेवानिवृत्त नागरिक थिए । यी  नागरिकहरु चीनिया नयाँ वर्षको अवसरमा विभिन्न  शपिंग मल तथा वेट मार्केट गएका थिए ।

डाक्टर चुवाङले हङकङ पाँचौं लहरको चपेटामा परेदेखि १० भन्दा बढी केयर होम संक्रमणको शिकार भैरहेको बताइन ।

यसैबीच अस्पताल प्राधिकरणले ७३ र ७६ वर्षका दुई पुरुषको मृत्यु कोभिडबाट भएको बताएको थियो । ७३ वर्षीय पुरुषले गत वर्ष सेप्टेम्बरमा सिनोभ्याक खोप पूरा गरेका थिए र फेब्रुअरी ७ तारीख सोमबार अस्पताल भर्ना भएका थिए।  उनको हिजो  बिहान अर्थात फेब्रुअरी ८ तारीख  निधन भएको हो ।

अर्का खोप नलगाएका ७६ वर्षीय पुरुषमा श्वासप्रश्वाससम्बन्धी लक्षण र फोक्सोमा पानी जम्ने समस्या  देखा परेको थियो । उनको आज फेब्रुअरी ९ तारीख बिहान करिटास मेडिकल सेन्टरमा निधन भएको हो।
यी दुई जनाको मृत्यु थपिएपछि कोविड मृत्युको संख्या २०७ पुगेको छ।

प्राधिकरणले उल्लेख गरे अनुसार  दुई संक्रमित बिरामीको अवस्था कृटिकल   अन्य तीनको अवस्था गम्भीर थियो ।

तपाईको प्रतिक्रिया