सुरेन्द्र अस्तफल नेपाली कविता लेखनमा तीन दशक भन्दा लामो समयदेखी कविता लेखी रहेका चितवन निवसी कवि हुनुहुन्छ । उहाँको कविताहरुमा मानविय संवेदनशीलता र राष्ट्रप्रेम गहिरोगरि झल्कीएको हुन्छ प्रस्तुत छ साताको तीन कविता ।
एकथान नागरिकता
सरकार
हामीसित तपाईको पञ्जापत्र भएको
एकथान नागरिकता छ
जो कहिले
राहतको लागि काम लाग्छ
जो कहिले
नेपाली हुँ भनेर सीमा नाकामा
हजुरलाई देखाउन काम लाग्छ
यसले कहिल्यै
शिक्षा, स्वास्थ्य मौलिक अघिकार हो भनेर
हजुरहरूलाई तर्साउँदैन
जो कहिलेकाहीँ
औठाछाप लगाउँदा
हजुरहरुको लागि
चुनावको बेला काम लाग्छ
जो कहिलेकाहीँ
हजुरको जुनाफमा
रेमिट्यान्स टक्र्याउँन
पासपोर्ट बनाउँदा काम लाग्छ
अलि बाँचिएछ भने सरकार
वृद्धभत्ता थाप्न काम लाग्छ
सबैभन्दा बढी त
हजुरकै लागि मसाज गर्न काम लाग्छ ।
सरकार एकथान नागरिकता बाँडेर
शासकको गुड्डी हाँकिरहन्छ कहिलेसम्म ?
चिरनिद्रा
म खिइँदै गइरहेछु
म सकिँदै गइरहेछु
म मेरा सन्तानहरूलाई अब
स्तनपान गराउन सक्दिनँ
सक्दिनँ काखमा राखेर लोरी खेलाउन
मात्र तिमीहरूलाई हेरीहेरी
वैकुण्ठको बाटो नापिरहेछु
जुन पाठेघरमा
तिमीहरूलाई जीवन दिने रस थियो
ममताको ओत थियो
त्यही पाठेघर
डाक्टरको कैँचीले काटिएर
बेघरबार भएपछि
अब म हिँड्दाहिँड्दै
रोकिन सक्छु कुनै दिन
म बोल्दा बोल्दै
अडिन सक्छु कुनै दिन
म बहँदा बहँदै
नबहन सक्छु कुनै दिन
यो उमेरको नदी
कति बगेर पुग्छ र ?
यो मायाको भाका
कति लाएर पुग्छ र ?
बस् मलाई
चिरनिद्रामा सुत्न देऊ
म अस्ताउन चाहन्छु जीवनदेखि
म निदाउन चाहन्छु छोराहरू
अब मलाई सुत्न देऊ ।
दागबत्ती
मृत्युशैयामा
चिरनिद्रामा सुतिरहेकी आमालाई
उनैले तेल घसीघसी
बनाइदिएका अभिशप्त हातहरूले
म कसरी दागबत्ती दिऊँ ?
सुसाइरहेछ गण्डकीको पानी
भर्भराइरहेछ दागबत्तीको आगो
काँपिरहेछु थुरथुर थुरथुर
आँखामा पीडाको लहर बोकी
थर्थराइरहेछन् दुई ओठहरू
धरती भासिएझैँ भासिरहेछन्
मेरा बलिष्ठ पाउहरू
म एकोहोरो हेरिरहेछु
चितामा आमाको शरीर
र हातमा
भर्भराइरहेछ विनाशको आगो
वेदको ऋचाहरू
किन यति कर्णकटु लागिरहेछन्
मन्त्रको मन्त्रणा
किन यति जर्जर लागिरहेछ
म निर्निमेष हेरिरहेछु आकाश
र आकाशको नीलिमा
तिमीले सुनाएको कथाकी परीजस्तै
तिमी पक्कै अब
तिनै ताराहरूबिचकी तारा बन्नेछ्यौ
म घरीघरी
आकाशको अनन्तता जाँचिरहेछु
म घरीघरी
मातृवात्सल्यको विराटता नापिरहेछु
उभिरहेछु
तमासे भएर नारायणी किनारमा
हेरिरहेछन् आफन्तहरू
रमिते भएर
मेरो बेहोसी
पण्डितजी पटकपटक भनिरहेछन्
बाबु
झोस चितामा आगो
छोरो हुनुको कर्तव्य पूरा गर
मृत्युशैयामा
चिरनिद्रामा सुतिरहेकी आमालाई
उनैले तेल घसीघसी बनाइदिएका
यी अभिशप्त हातहरूले
म कसरी दागबत्ती दिऊँ ?





