नेपाली साहित्यको अनेक बिधाहरुमा आफ्नो दह्रो पहिचान बनाउन सफल उपेन्द्र सुब्बा आफैमा एक ब्रान्ड हुन नेपाली साहित्यीक क्षेत्रको । उहाँको लेखनी नेपाली समाज र मौलिकतालाई जुरुक्क उचालेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नै बान्की सहित उभिन सक्षम छ । प्रस्तुत छ साताको तीन कविता ।
अँध्यारोको गीत
उज्यालोमा हीरा चम्किँदोरहेछ
उज्यालोमा ढुङ्गा चिनिँदोरहेछ
हीरा पनि पत्थर हो , ढुङ्गा पनि पत्थर
सत्य !
फाल्गुनन्द पनि मान्छे , हामी पनि मान्छे ।
सुर्यलाई गोबरले छ्यापी मार या गुलेलीले हानी झार
सारा आगोहरु निभाउ
चुलाहरु उखेली फाल
हीरा उज्यालोमा चम्किँदोरहेछ
हामी ढुङ्गा
उज्यालोमै ढुङ्गा चिनिँदोरहेछ ।
महाराज !
अँध्यारोमा मेरो पुच्छर आफै बल्छ म के गरुँ?
साला जूनकिरी !
हीरा चम्किने भो
हामी ढुङ्गा चिनिने भयौं ।
जँड्याहाको तर्क
सबैले मलाई रक्स्याहा भन्छन् जँड्याहा भन्छन्
थुक्छन्
गाली गर्छन्
बेकामे अस्ति मरी जा भन्छन्
घरका मान्छेहरु
तल्लाघरे माइलाजस्तै अरब जा भन्छन्
शुभचिन्तक साथीभाई
सक्सी छोड हामी जस्तै गरि खा भन्छन्
किन बन्नु मैले अरु मान्छे जस्तो ?
कोही बनेका छन् बन्न खोजेर बुद्वजस्तो?
बन्न खोजेर कोही बन्छ र महावीर ?
शिर मुडे पनि बदलिँदैैन मान्छेको तस्बिर
आ, जे छु म, म जस्तै छु
खुशी छु ।
मातेर ढुल्मुलिँदै हिडे पनि
दुनियाँको नजरमा गिरे पनि
सडकपेटीमा सुते पनि
मैमाथि कुकुरले मुते पनि
अरे ! म म जस्तो छु यार !
मान्छेले लाख कोसिस गरोस्
अरु जस्तो बन्न असम्भव छ
र म स्वयम् जस्तो बाँच्न ठूलो साहास चाहिन्छ
हे… हे…हे….( एउटा गोप्य कुरा )
त्यो साहस जो छ
यै सिसीको बोतलभित्र कैद छ ।
खोला
जीवन त खोला पो होला …
पौौडिन जान्नेलाई रमाइलो
नजान्नेलाई काल
किनारामा बसी हेर्नेलाई रमिता
साँच्ची,
जीवन त खोला पो होला ।





