रिवाज अर्याल ठेगाना – पर्सा , चितवनमा बस्छन् र नेपाली साहित्य राजनीति र समाजलाई नजिकबाट नियालीरहेका छन् । विशेष गरि नेपाली साहित्यको गम्भीर पाठकको रुपमा परिचय बनाएका छन् । प्रस्तुत छ साताको तीन कविता ।
सम्बाेधन
कुन बिम्बमा जाेडेर गरौँ तिम्राे सम्बाेधन !
या कुन रुपकले दिउँ तिमीलाई कुनै उपमा !
कहिलेकाहीँ सम्बाेधन गर्नु
केवल औपचारिकता मात्र पनि नहुँदाे रहेछ
कालिगडले मुर्तिलाई गरेकाे सम्बाेधन जस्ताे ,
चित्रकारले चित्रलाई गरेकाे सम्बाेधन जस्ताे ,
र कविले कवितालाई गरेकाे सम्बाेधन जस्ताे मात्र पनि त हाेईन
तिमीलाई सम्बाेधन गर्नु भनेकाे !
तिमी त पानीझैँ जिन्दगीसंगै बगिरहने मान्छे
बरफझैँ आफ्ना विचारहरुमा अडिरहने मान्छे
अनि बाफझैँ सपनाहरुसंगै उडिरहने मान्छे ;
तिमीलाई सम्बाेधन गर्नु भनेकाे त,
-कुनै पंक्षीकाे लामाे उडान नियाल्नु जस्ताे
-उकाली/ओराली गर्दा चौतारीमा बसेर आफ्नै मुटुकाे धड्कन सुन्नु जस्ताे
-अग्ला डांडामा पुगेर चिच्याउदा सुनिने अस्पष्ट आवाज बुझ्नु जस्ताे पाे हाे त !
याे सम्बाेधनकाे दुनियाँमा अल्झिँदा
असम्बोधित भावहरूले गर्ने सम्बोधन यदाकदा मेराे पनि हाे
वास्तवमा,
तिमी आफ्नाे प्रतिमा आफैँले बनाईरहने मान्छेलाई
मेरा हरेक सम्बाेधनहरु निरर्थक छन् !
ह्याङ्गओभर
वर्षौपछि हामी भेटिएका छौँ
जिन्दगीको मझधारमा
जहाँ तिमी केही तिमी जस्ताे छौ
जहाँ म केही म जस्ताे
तिम्रा स्वप्निल नयनहरुमा सजिएका सपनाहरु
जुन म मेरै जसरी सचित्र देख्थेँ
ती आज हेरिरहेछन् प्रश्निल दृष्टिले
नितान्त कुनै नौलाे मान्छे मान्दै
काेलाहल देखिएकाे वातावरणमा
मौनताकाे भारले थिचिएर
हामी मनमा अव्यक्त भावका ज्वारभाटा जन्माईरहेछौँ
मुहारमा नकाब पहिरिएर
म बाँचिरहेछु निस्सार जीवन
तिम्रो सबथाेक सुन्न/बुझ्न चाहदाँ-चाहदैँ पनि
तिमी छुटिनुअघि फेरि
मैले भन्न सकिन
म त तिमी भएकै समयकाे ह्याङ्गओभरमा छु |
अन्धकार
आमजीवीका धान्दै
आम दिनचर्या व्यतीत गरिरहेको मनुवा
मेघको भयावह रुपरेखासँगै
नियाल्छ रसाइरहेको घर
जो उसको फितलो मनस्थिति
र
जर्जर भाग्यका पुरकझैँ
तटस्थ खडा छ ।
तत्क्षण
हरेक कुना रसाइरहेको घरको पालीमा
देख्दछ निर्झर रुपमा आश्रीत माउसुली
आफू गरिबी , भोकमरी
झरी र यावत कारणहरुले
जीवनको यात्रामा निर्झर बस्न नपाएकोले
उसलाई बिझाउँछ त्यो दृश्यले
माउसुलीलाई समयले गरेको
नमीठो व्यङ्ग्य सम्झन्छ
ऊ सो माउसुली धपाउने सुरमा कसिन्छ
लखेटिदा लखेटिदै
विवश भइ
पुच्छर छाडी भाग्छ माउसुली
अन्ततः पुच्छर खस्न पुग्छ भुइँमा
जसरी यो उत्तर आधुनिक संसारमा
मानवता लम्पसार छ ।
फकिरझै निस्फिक्री टहलिन निस्किँदा
अचानक
बिरालोले बाटो काट्दछ
ऊ भन्छ अब तेरो कुसमय निश्चित छ
फलाक्छ केही दुर्वाच्य
त्यो अबोध प्राणीप्रति
र
तताउँछ आफ्नो बाटो
यात्रारत ऊ जब देख्दछ
बाटोमा बिरालो लास
तब सहानुभूतिका शब्दहरु
ओइरिन्छ्न् उसको मुखबाट
तर मनमनै भने
मेरो कुसमय अगावै
तेरो ऊ समय आएछ
र त तेरो आज
यो हविगत भो भनिरहेछ त्यो मनुवा ।
टहलिदा टहलिदै
पुग्दछ ऊ घाटमा
जहाँ लासहरु जलेसँगै निस्किएको धुवाँले
अन्धकार छाएको छ
कतैबाट सुन्दछ ऊ
तिमीले देखिरहेको यो धुवाँ त
केवल मिथ्या हो, तिम्रो दृष्टिदोष हुनुको
अन्धकार यहाँ चारैतिर व्याप्त छ
अन्धकार त तिमी हामीभित्र छ
म तिमीभित्रकै अन्धकार बोल्दै छु
जसलाई तिमी
अंहकार , आडम्बर र संस्कृतिको आडमा
ढाकछोप गरिरहेका छौँ ।
अघिका माउसुली , बिरालोलाई
जे गर्यौ तिमीले
त्यसमा तिमी
आफुभित्रको अन्धकारको विम्ब देख्दैनौ ?
धुवाँमा विलिन भैजाने यो जिन्दगीमा
हामी यहीँ अन्धकारमा
केही मुस्लो जीवन त बाचिरहेका छौँ ।





