क्रान्ति सुब्बा

कोविड फैलावटलाई दबाउन पूर्ण-शहर लकडाउन हुन सक्ने

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चुई लोक-किनले शनिबार  हङकङमा बढदै गइरहेको कोविड-१९ संक्रमणलाई काबुमा ल्याउन  पूर्ण लकडाउन हुने  सम्भावनालाई अस्वीकार गर्न मिल्दैन भने फेब्रुअरी १२ तारीख शनिबार ।

महामारी शुरु भएको दुई वर्षको अन्तरालमा यस पटकको पाचौं लहर सबैभन्दा क्रूर युद्धमा साबित भएको कुरा चुइले बताए । उनले सबै नागरिकलाई घरमै बस्न अनुरोध गरेका थिए । हाल लागु कडा सामाजिक दूरीका मापदण्डले संक्रमणका प्रसारण चेनहरू काटन सक्ने आशा पनि व्यक्त गरेका थिए ।

सरकारले शहर व्यापी लकडाउन गर्छ कि गर्दैन भन्ने प्रश्नको उत्तरमा लकडाउनको  सम्भावनालाई नकार्न नसकिने बताए । यदि हाल लागु  कडा कोभिड नियन्त्रण संयन्त्रहरूले संक्रमण संख्या घटाउन राम्रोसँग काम गरेन भने सरकारले अझ कठोर  नियमहरु लादन सक्छ जस अन्तर्गत शहर व्यापी लकडाउन गर्ने कुरा पनि पर्न सक्छ उनले थपे। तर यस्तो विकल्पले काम गर्छ या गर्दैन भन्ने विषयमा यथेष्ट छलफल गर्न समय लाग्ने उनले बताए ।

एडविन चुइ

हङकङमा आज १,५१४  पुष्टि केसहरूदेखिएका थिए । र १,५०० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरिएका थिए ।

चुइले केस संख्या बढने क्रम चरम चुलीमा अझै पुगिसकेको छैन र भविष्यमा अझै बढने क्रम जारी रहने कुरा व्यक्त गरे। र हाल लागु विद्यमान नियन्त्रण संयन्त्रले कोरोनाभाइरसको फैलावटलाई केहि हदसम्म  सुस्त तुल्याउन उपयोगी भएको बताए ।

उनले  प्रारम्भिक पोजिटिभ आएका नागरिकहरूले अस्पतालमा भर्ना हुनु अघि केही दिन घरमै  पर्खनु पर्ने हुन सक्छ भन्दै त्यस्तो अवस्था भएका परिवारका सदस्यहरूले घरमा बस्दा  मास्क लगाउनु पर्दछ र  संक्रमितलाई क्वारेन्टाइनमा राख्न छुट्टै कोठा उपलब्ध गराउनु पर्दछ भने।
परिवारले संक्रमितजनले प्रयोग गरेको  शौचालयको सरसफाइमा पनि बढी ध्यान दिनुपर्छ भन्दै चुइले कोविड-१९ लाई रुघाखोकी जस्तो हल्का नलिन अनुरोध गरे। किनकि ओमिक्रोन संस्करण थप म्युटेट भइ अझ  घातक भाइरसमा परिणत हुन सक्छ उनले जोड दिएर भने।

१२ फेब्रुअरी शनिबार  १९:०० बजे

शातिनको शुई चुन ओ एस्टेटमा रहेको माउ चुन हाउसलाई शनिबार राति त्यहाँको ढलको नमूनामा कोभिड-१९ पोजेटिभ देखिएपछि लकडाउन गरिएको थियो।

हङकङमा शहर व्यापी पुर्ण लकडाउन गर्न ढिलो भैसक्यो

१३ फेब्रुअरी आइतबार  १४:०० बजे

श्वासप्रश्वास रोग विशेषज्ञ ल्यङ चि- चिउले आइतवार हङकङले क्षेत्रीय लकडाउन गर्ने उचित समय पहिले नै  गुमाइसकेको बताए।

प्रशासन मुख्य सचिव जोन ली का-चिउले फेब्रुअरी १२ तारिख  शनिबार शेन्जेनमा चीनिया अधिकारीहरूसँग भेट गरेका थिए । भेटपछि उनले स्थानीय पत्रकारहरूलाई तत्काल पुरै शहर लकडाउन गर्ने  सरकारको कुनै योजना नभएको बताएका थिए ।

बरु सरकारले नागरिकलाई  परीक्षण गराउने अन्य विभिन्न  विकल्पहरू सक्रिय रूपमा अपनाउनेछ भनेका थिए । स्रोतका अनुसार  एउटा विकल्प भनेको सहरलाई स-साना जिल्लाहरूमा विभाजन गर्ने र त्यो निश्चित  जिल्लालाई पाँच दिनको लागि लकडाउन गरि बासिन्दाहरूको परीक्षण गर्ने भन्ने थियो ।

तर आइतबार एक रेडियो कार्यक्रममा बोल्दै ल्यङले जिल्ला लक डाउन गर्ने  समय हङकङले गुमाइ सकेको टिप्पणी गरे। यस्तो विकल्प त प्रकोपको शुरुवातमा मात्र उपयुक्त हुन्थ्यो । अहिले त कोभिड-१९ सर्वत्र  फैलिसकेको छ उनले भने।

ल्यङ चि- चिउ

यदि अधिकारीहरूले एउटा जिल्लालाई लकडाउन गरे पनि अन्य क्षेत्रमा प्रकोप जारी रहनेछ उनले बताए। लक डाउन गरिएकै क्षेत्रभित्र पनि परिवार आपसमा र भवन परिसरभित्र संक्रमणको प्रसारण जारी रहनेछ।  ट्रान्समिसन चेन रोक्नको लागि त अन्तिम केस पहिचान भएपछि कोरोनाभाइरसको इन्क्युबेशन अवधि भर लकडाउन हुन जरुरी छ। यसको अर्थ  कुल पाँच दिनको लकडाउन  पर्याप्त हुने छैन उनले भने।

पूरै सहरलाइ लक गर्ने सन्दर्भमा ल्यङले यदि सरकारसंग  समयमै संक्रमित पत्ता लगाउने र संक्रमितलाई समय मै आइसोलेट गर्न सक्ने क्षमता भए मात्र यो सम्भव छ भने । यसको लागि त लकडाउन अवधिमा बारम्बार शहरव्यापी परीक्षण गर्नु पर्ने हुन्छ अन्यथा लकडाउन समाप्त भएपछि प्रकोप पुन: सुरु फर्किएर आउनेछ।

उनले लामो समयसम्मको लकडाउन हङकङको अर्थतन्त्र र जीविकोपार्जनको लागि अफापसिद्ध हुने  चेतावनी दिन बिर्सिएनन।

१३ फेब्रुअरी १४:०० बजे

शातिनको शुई चुन ओ एस्टेट र श्यङ शुईको च्यङ लुङ वाइ एस्टेटमा रातभर भएको लकडाउनमा चौध वटा  प्रारम्भिक पोजेटिभ  र एक अनिश्चित केस पत्ता लागेको थियो।
शातिन र श्यङ शुईमा क्रमशः बिहान १०.३० र ११.३० बजे लकडाउन समाप्त भएको थियो ।

शनिबार राति ११ बजेसम्म शातिनको शुई चुन ओ एस्टेटको माउ चुन हाउसका करिब १,१५० बासिन्दाहरूले कोभिड परीक्षण गरेका थिए र तीमध्ये आठ जनामा कोरोनाभाइरस प्रारम्भिक पोजेटिभ देखिएको थियो।

शुइ चुन ओ एस्टेट, शातिन

करिब १,५५० बासिन्दाहरूले मध्यरातसम्म श्यङ शुईको च्यङ लुङ वाइ एस्टेटको चिङ च्यङ हाउसमा कोविड परीक्षण गरेका थिए, जहाँबाट ६ वटा  प्रारम्भिक पोजिटिभ केस र एक अनिश्चित केस फेला परेका थिए।

कोभिड पोजेटिभ भएकाले अस्पताल नगइ घरमै भर्नाको पालो कुर्नुपर्ने

१३ फेब्रुअरी १५:०० बजे

कोभिड–१९ सङक्रमण बढेसंगै हङकङको सरकारी अस्पतालको एक्सिडेन्ट एन्ड इमर्जेन्सी सेवामा खचाखच मानिसहरु आउन थालेपछि नागरिकले आफ्नो जचाउने पालो आउन आइतबार सार्वजनिक अस्पतालमा आठ घण्टासम्म कुर्नुपरेको थियो  ।

अस्पताल प्राधिकरणले एक्सिडेन्ट एन्ड इमर्जेन्सी (A&E) विभागहरू शहरव्यापी रूपमा गम्भीर रूपमा ओभरलोड भएकाले  प्रतीक्षा समय थपिएको बताएको थियो ।

आइतबार दिउँसो ३ बजेसम्मको स्थितिमा रतोनजी अस्पतालका बिरामीले ८ घण्टाभन्दा बढी कुर्नुपरेको थियो ।

नर्थ लान्ताउ अस्पताल र पोक ओइ अस्पतालले ४ घण्टाभन्दा बढी कुर्नुपर्‍यो भने करिटास मेडिकल सेन्टर, क्वङ वाह अस्पताल र प्रिन्सेस मार्गरेट अस्पतालका बिरामीले ३ घण्टाभन्दा बढी कुर्नुपरेको थियो । अन्य सरकारी अस्पतालमा एक देखि दुई घन्टासम्म लाइन लाग्नु परेको थियो ।
अस्पताल प्राधिकरणले अन्ततः कोभिड-१९ पोजेटिभ देखिएका बिरामीलाई अस्पताल भर्नाको व्यवस्था मिलाएको खबर नआइन्जेल  घरमै कुर्न आग्रह गरेको थियो । हल्का लक्षण भएकाहरूलाई एक्सिडेन्ट एन्ड इमर्जेन्सी (A&E ) विभागमा जानको सट्टा निजी क्लिनिकमा गएर जचाउन  सल्लाह दिएको थियो ।

अस्पताल  प्राधिकरणका अनुसार शनिबार सार्वजनिक अस्पतालमा ४ हजार १२४ जनाको उपस्थिति जनाएका थिए । जसमध्ये ७ सय ७८ बिरामी उपचारका लागि भर्ना भएका थिए । मध्यरातसम्ममा सबै अस्पतालका ९३ प्रतिशत बेड ओगटिएको थियो भने १६ अस्पतालमध्ये ५ वटा अस्पताल क्षमताभन्दा बाहिर गैसकेको थियो ।

युनाइटेड क्रिस्चियन अस्पताल, क्यारिटास मेडिकल सेन्टर र तिन शुई वाइ अस्पताल १०५ प्रतिशत अधिग्रहण (ओकुपेन्सी) दर पुगेको थियो भने   च्यङ क्वान ओ अस्पताल र प्रिन्स अफ वेल्स अस्पतालको अधिग्रहण दर १०२ प्रतिशत पुगेको थियो ।

सरकारी अस्पतालमा गम्भीर बिरामीलाई मात्र भर्ना मिल्ने

१३ फेब्रुअरी आइतबार १८:०० बजे


हङकङमा आइतवार १,३४७  पुष्टि कोभिड-१९ केसहरू रिपोर्ट गरियो ।  प्रारम्भिक पोजेटिभ देखिनेको संख्या २,००० पुगेको थियो ।

नयाँ संक्रमित मध्ये १ हजार ३ सय ४५ स्थानीय संक्रमित थिए । जसभित्र ओमिक्रोन बोक्ने १,२८३ थिए भने डेल्टा बोक्नेको संख्या १४  थिए।

शनिबारसम्ममा हङकङको स्थानीय संक्रमित केस संख्या  जम्मा ८,३०० पुगेको थियो । जसमध्ये ५५ प्रतिशतले दुईवटा खोपहरू पाएका थिए । १४ प्रतिशत १८ वर्ष मुनिका थिए भने ११ प्रतिशत ६५ वर्षभन्दा माथिका थिए।

अस्पताल प्राधिकरणका एकीकृत क्लिनिकल सेवाका प्रमुख प्रबन्धक ल्यारी ली लाप-यिपले चार जनाको अवस्था गम्भीर रहेको बताए।  जसमा एक तीन वर्षीया बालिका र ८०, ८४, ९७ वर्षका तीन जना वृद्ध थिए ।

सार्वजनिक अस्पतालहरू  क्षमताभन्दा बाहिर गइरहेको  र आइसोलेसन फेसिलिटीहरु पनि फुल भएको जानकारी लिले दिए। पब्लिक मेडिकल सिस्टम धरायसी नहोस भनेर  कमजोर र गम्भीर अवस्थाका बिरामीहरूलाई मात्र अस्पतालको आइसोलेसन बेडमा राख्ने प्राथमिकता दिइने कुरा लिले जनाए ।

स्थिर (स्टेबल) अवस्थामा रहेका बिरामीहरूलाई नर्थ लान्ताउ हस्पिटल हङकङ इन्फेक्सन कन्ट्रोल सेन्टरबाट एसिया वर्ल्ड-एक्सपो कम्युनिटी ट्रीटमेन्ट सेन्टरमा  सारिनेछ।  युवा र हल्का लक्षण भएका व्यक्तिहरूलाई घरमा धैर्यपूर्वक पर्खन र उपचार सल्लाह लिन हटलाइनमा कल गर्न भनिएको थियो ।

अस्पतालहरूमा गैर-आकस्मिक सेवाहरू पुरै  घटाइनेछ र नियमित सेवाहरू निलम्बन गर्न पनि सकिन्छ लीले भने।
लीले भने – हजारौं संक्रमित मानिसहरू अझै घरमा पर्खिरहेका छन र कहिले  उनीहरूको अस्पतालमा भर्ना हुने पालो आउँछ पत्तो छैन। उनीहरूलाई आफ्नो कोठाभित्रै बस्न र परिवारका सदस्यहरूसँग सँगै बसेर  खान नजान आग्रह गरिएको थियो ।

१३ फेब्रुअरी २१:०० बजे

लि शिङ हाउस, ली अन एस्टेट, मा अन शानमा आइतबार राति ढलको पानीमा कोभिड-१९ पोजेटिभ देखिएपछि लकडाउन घोषणा गरिएको थियो ।

सोमबार दिउँसो समाप्त हुने अपेक्षा गरिएको यस लकडाउनमा स्टुवार्डस पूई चुन किन्डरगार्टनलाई  समावेश गरिएको थिएन ।

माथि जनित  भवनबाट निस्कने ढलमा कोभिड–१९ पोजेटिभ देखिएपछि भवनमा लक्षणविहीन बिरामी रहेको आशंका गरिएको थियो ।

तीन वर्षदेखि माथिकाले पनि कोभिड सुइ लाउन पाउने

१३ फेब्रुअरी २१:३० बजे

सिनोभ्याक कोभिड-१९ खोप लगाउने न्यूनतम उमेर मंगलबारदेखि घटाएर तीन बनाइने सरकारले घोषणा गरेको थियो ।

पाँच वर्ष वा माथिका बच्चाहरूले पहिले देखि  नै खोप  प्राप्त गरिरहेका छ्न।  वैज्ञानिक समितिका विज्ञहरुको सल्लाह र कोरोना भाइरसबाट जनतामा पर्न सक्ने खतराका आधारमा उमेर घटाउने निर्णय गरिएको सरकारले आइतबार जनाएको थियो  ।

खोपको लागि बुकिङ सोमबार खुल्नेछ भनिएको थियो ।  आमाबाबु वा अभिभावकहरूले खोप वेबसाइट (www.covidvaccine.gov.hk) मार्फत दर्ता गर्न सक्छन।
उनीहरूले बालबालिकालाई १,००० भन्दा बढी निजी चिकित्सक वा क्लिनिकमा लैजान पनि  सक्छन।  सूची यहाँ उपलब्ध छ: www.covidvaccine.gov.hk/zh-HK/VSS।

वयस्कहरू झै  बच्चाहरूले पहिलो खोप ग्रहण गरेको २८ दिन पछि मात्र दोस्रो खोप लाउन सक्छन।

साथै मंगलबारदेखि ५ देखि ११ वर्ष उमेर समूहका व्यक्तिले पनि बायोएनटेक भ्याक्सिन लिन सुरु गर्न सक्नेछन ।

तपाईको प्रतिक्रिया