क्रान्ति सुब्बा

सुपर मार्केटको अवस्था हेर्न भिडियो हेर्नुहोस

फेब्रुअरी २८ तारीख सोमबार राति हङकङकि  कार्यकारी प्रमुख क्यारी लामले टेलिभिजन मार्फत क्यान्टोनिज भाषामा सम्बोधन गर्दै मार्च मध्य ताका शुरु हुने शहरव्यापी अनिवार्य कोभिड परीक्षण परियोजनाबाट त्रसित हुन जरुरी छैन भनेकी थिइन । यो योजना  नागरिकको आवश्यकतालाई पुर्णतः ध्यान दिएर मात्र शुरु गरिने स्पष्ट पारेकी थिइन। आगामी तीन महिना हङकङको लागि एकदम संकटपुर्ण समय भएको भन्दै  महामारीसंग जुध्न सबैले साथ दिन अनुरोध लामले गरेकी थिइन।

हङकङमा संक्रमित हुनेको संख्या तीन दिनको अन्तरमा १७ हजार बाट फेब्रुअरी २८ तारीख ३४ हजार अर्थात दोब्बर भएपछि शहर व्यापी लकडाउन हुने विषयले पुन चर्चा प्राप्त गर्न थालेको थियो २८ फेब्रुअरी सोमबारबाट ।त्यसो त हङकङमा प्रत्येक रात लकडाउन भएको महिनौं भैसकेको छ । संक्रमण दर उच्च भएको र संक्रमण जोखिम व्याप्त भएको भवनलाई छानी छानी अहिले पनि लकडाउन प्रत्येक रात भैरहेको छ।
हङकङमा अकल्पनीय तवरले स्थानीय संक्रमणको प्रकोप आतेस लाग्ने हिसाबले बढेपछि अनिवार्य मास टेस्टिङको अवधारणालाई अघि सारियो। जुन अवधारणा अनुसार शहरका प्रत्येक नागरिकले निश्चित समयभित्र अनिवार्य कोभिड परिक्षण गर्नु पर्दछ। यो टेस्टमा पोजेटिभ आएका सबैलाई क्वारेन्टाइन फेसिलिटिमा लानु पर्दछ। पोजेटिभको सम्पर्कमा रहेका समेतलाई निगरानीको लागि आइसोलेशन फेसिलिटिमा यथाशीघ्र लानु पर्दछ। हस्पिटल , क्वारेन्टाइन सेन्टर र होटल आइसोलेसन फेसिलिटी समेत गरेर करिब ७० हजार बेडको तयारी हुने पक्का पक्की भैसकेको छ। लाखौं  मानिस संक्रमित भैसकेको  अवस्थामा ७० हजार बेड अपुग नै हुने देखिन्छ । तथापि शहर व्यापी अनिवार्य परिक्षण यथाशीघ्र  शुरु गर्नुको विकल्प हङकङ संग छैन ।
यो वृहत स्तरको परिक्षणलाई प्रभावकारी तुल्याउन लक डाउन त हुनैपर्छ परिक्षण बिधि तुरयाएर संक्रमित र असंक्रमितको बगाल छुटयाउने समय सम्मको लागि । अन्यथा मानिसको जथाभावी चलखेललाई तगारो नलगाएमा ती अज्ञात पोजेटिभ मानिस अर्को स्थानमा गएर प्रकोपको अर्को मुल फुटाउदछ।  
कतै शहर व्यापी अनिवार्य टेस्टिङ गर्दा सरकारले  लकडाउन गरेर हङकङलाई  नै ठप्प पार्ने त होइन भन्ने भय आम नागरिकमा आइतबार बेलुकी  र सोमबार अपराह्न बाट पर्न थाल्यो । त्यसपछि अन्नपात तथा आवश्यकिय वस्तु जोहो गर्न नागरिकको घुइँचो सब्जी मंडी , सुपरमार्केट तिर देखियो। मानिसहरु एक किसिमले आतंकित हुन थाले। त्यसपछि सोमबार राती क्यारी लामले नागरिकलाई  चिन्ता नलिन आग्रह गरेकी हुन।
हङकङको प्रतिनिधि सभाको बैठकले नै हङकङमा सात दिने शहर व्यापी लकडाउन गर्ने प्रस्ताव पारित गर्दै छ भन्ने हल्ला फैलिएपछी नागरिकमा आतंक छाएको थियो । तर सरकारले यो झुठो होहल्ला मात्र हो भनिसकेको थियो ।
त्यसो त २०२० सालमा पनि यो महामारीले नागरिकलाई यसरी नै किनमेल आतंक ( पेनिक बाइङ) गराएर खाद्यान्नको अति संचय गर्न बाध्य तुल्याएको थियो । टोइलेट पेपरको त हाहाकार नै थियो ।

हङकङको शतप्रतिशत जनसंख्यालाई अनिवार्य कोभिड परीक्षण गराउने योजनाबारे पुर्ण  विवरण सार्वजनिक हुन  बाँकी नै छ।  खाद्य र स्वास्थ्य मन्त्री (सचिव )  सोफिया चान सिउ-चीले पनि  आम परिक्षण बिधिबाट प्रभावकारी नतिजा प्राप्त गर्न मानिसहरूको भेटघाट , आवतजावत तथा  आवागमनलाई नियन्त्रण गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन। अर्थात नियोजित लक्ष्य हासिल गर्न लकडाउनको संभावनालाई नकार्न नसकिने संकेत स्वास्थ्य मन्त्रीले दिएपछि लकडाउनको खबर डढेलो झै फैलिएको हो।

अवश्य पनि मास टेस्टिङ गरेपछि मानिसहरुको निर्बाध आवागमनमा त केहि हद सम्म अंकुश लाग्छ नै । लगाउनु पर्छ पनि । सोही मनोविज्ञानको असर स्वरुप हङकङका विभिन्न सुपरमार्केटका खाद्यान्न राख्ने ताकहरु डाङडुङ  खाली भएको देखियो र खाली हुने क्रम निरन्तर जारी छ।

यस्तो हाहाकार जस्तो स्थिति सिर्जना भएपछि सोमबार साँझ लामले निराधार अफवाह फैलाएर आतंकित नगर्न सर्वसाधारणलाई आग्रह गर्न बाध्य भएकी थिइन।
हङकङमा मास टेस्टिङ परियोजना लागु गर्दा अवश्य  हङकङको विशिष्ट  परिस्थितिलाई ध्यानमा राखिने र  जनसमुदायको रायलाई शिरोपर गरिने लामले भनेकी छिन।

उनले चामल र चाउचाउ जस्ता प्रमुख खाद्य पदार्थको आपूर्ति सामान्य नै रहने स्पष्ट पारिन।

हङकङ सरकारले खाद्यान्नको स्थिर आपूर्ति सुनिश्चित गर्न ग्वाङडोङ प्रान्तीय सरकार र शेन्जेन म्युनिसिपल पिपुल्स सरकारसँग लजिस्टिक चेनहरू स्थापना गरिसकेको पनि  जानकारी दिइन।

हङकङको एउटा ठूलो सुपरमार्केट चेन पार्कएनशपका सबै २७० शाखाहरु अर्को सोमबार बन्द हुन्छ भन्ने अन्लाईन समाचार सरासर झुठ हो भनेर पार्कएनशपले खन्डन गरिसकेको छ। सबै स्टोर अर्को हप्ता  सामान्य रूपमा खुल्नेछन भनिसकेको छ।

हङकङमा मार्च १७ तारीखबाट ९ दिनको लागि नरम किसिमको लकडाउन हुने खबर सर्वत्र फैलिएपछि इनोभेसन तथा  टेक्नोलोजी मन्त्री अल्फ्रेड सिट विङ-हाङले  नागरिकहरूलाई आतंकित नहुन अनुरोध गरेका थिए मार्च १ तारीख ।

संभावित लकडाउनको खबर हङकङको स्थानीय अंग्रेजी पत्रीका  द स्ट्यान्डर्डको पृन्ट भर्सनमा सोमबार (फेब्रुअरी २८ ) छापिएको थियो ।  मार्च १७ देखि हुने भनिएको नौ-दिनको लकडाउन अवधिमा  शेयर बजार लगायत मुख्य वित्तीय गतिविधिहरू बन्द नहुने  संबंधित स्रोतले बताएको थियो ।

लकडाउनको यो ९ दिनको अवधिमा सरकारले हङकङको सिंगो ७५ लाख जनसंख्याको परिक्षण सिध्याउने योजना बनाएको छ। र प्रत्येक नागरिकले प्रत्येक तीन दिनमा एक पटक परिक्षण गर्नुपर्ने छ। यसको मतलब एक  व्यक्तिले तीन चोटि  परीक्षण गर्नु पर्दछ । तर हङकङमा लागु हुने लकडाउन चीनको जस्तो कडा प्रकृतिको पुर्ण लकडाउन नहुने बताइएको छ। चीनमा हुने लकडाउनमा घरबाट बाहिर जान पाइन्न थियो ।

यहाँ हुने लकडाउन पश्चिमी देशमा अभ्यास गरिएको लकडाउन जस्तै हुनेछ जहाँ मानिसहरूलाई आवश्यक कामको लागि बाहिर जान वा क्लिनिकहरूमा जान अनुमति दिइनेछ। खाद्य पदार्थ किन्न बाहिर जान दिइनेछ।
मार्च १ तारीखको रिपोर्ट अनुसार लकडाउन अबधिमा पब्लिक टान्सपोर्ट ( सार्वजनिक यातायात ) पनि निलम्बन हुन सक्ने संभावना छ भनिएको थियो ।

सरकारी अधिकारीहरूले व्यवस्थित ढंगले समुदायलाई  एन्टि-महामारीसंग सम्बन्धित अद्यावधिक सूचनाहरु यथासमयमा जानकारी गराउनेछ्न अल्फ्रेड सिटले भने।

उनले नागरिकहरूलाई कोभिड महामारी विरुद्धको लडाईमा एक्यवद्धता जनाउन अनुरोध गरे । र अधिकारीहरूले चालेको  महामारी विरोधी उपायहरू माथि  प्रश्न नगर्न आह्वान गरे।

हालै  लिभहोमसेफ ( LeaveHomeSafe) एपमा भएको  कन्ट्याक्ट ट्रेसिङ संबंधी  सूचना दिने फङसनलाई स्वास्थ्य विभागले निलम्बन गर्ने  निर्णय गरेको थियो जसलाई सिटले पनि  समर्थन गरेका थिए ।

कोभिड-१९ बिरामी जुन जुन जग्गा घुमेका थिए हङकङभरी त्यहाँ लिभहोमसेफ एप भएका मानिस गएमा उक्त लिभहोमसेफ एपले उक्त व्यक्तिलाई यो स्थान पहिला कोभिड संक्रमित आएको स्थान हो कृपया  परीक्षण गर्नुहोला भन्ने सूचना दिने गर्थ्यो। तर संक्रमणको प्रकोप गम्भीर र परीक्षण संयन्त्रमा अवरोध आएपछि  त्यस्ता अलर्ट गर्ने सूचना अब उप्रान्त पठाइँदैन भन्ने जानकारी  स्वास्थ्य अधिकारीहरूले सोमबार दिएका थिए ।

अहिले कोभिड-१९ का बिरामीले भ्रमण नगरेको कुनै स्थान छैन र त्यस्ता स्थानमा पुगेका व्यक्तिबाट आएको नोटिफिकेसनलाई व्यवस्थापन गर्नमा साधन र स्रोत खर्चनु बेकार भएको कुरा उनले औल्याएका थिए ।

फेब्रुअरी २८ तारीख एक रेडियो कार्यक्रममा बोल्ने क्रममा स्वास्थ मन्त्री चानले आम कोभिड परिक्षण परियोजना लागु गरिनु पुर्व रातभरको लागि लकडाउन जारी गर्ने बताइन र प्रत्येक दिन १० वटा बिल्डिङमा लकडाउन गरिनेछ भनेकी थिइन। यहि हप्ताको अन्ततिर रयापिड टेस्ट किटबाट आएको पोजेटिभ परिक्षण नतिजा सरकारलाई पठाउने सेल्फ- डिक्लेरेसन प्लेटफर्म ( स्व घोषणा फारम) पनि तयार हुने बताएकी थिइन।

सेन्टर फर हेल्थ प्रोटेक्सनका प्रमुख मेडिकल तथा हेल्थ अफिसर अल्बर्ट आउ का- विङले फेब्रुअरी २८ तारीख शहर व्यापी टेस्ट कसरी सम्पन्न गर्ने बारे गृहकार्य भैरहेको बताएका थिए । उनले प्रहरी , स्वास्थ्यकर्मी तथा एन्टि कोभिड ड्युटीमा खटिएकालाई लकडाउन नियम लागू नहुने बताएका थिए ।

मार्च १ तारिख बिहान प्रशारण भएको एक रेडियो कार्यक्रममा बोल्दै लेबर एन्ड वेल्फेयर मन्त्री लो चि- क्वङले मास टेस्टिङ स्किमबारे डिटेलमा अझै काम भैरहेकोले जनतालाई शान्त रहन अनुरोध गरेका थिए । उनले सरकारले यो योजना  घोषणा गर्नु अघि जनतालाई यसबारे पुर्व तयारी हुने प्रशस्त समय दिइनेछ भने।
भ्रममा पर्नुको सट्टा मास टेस्टिङ स्किमबारे  सरकारले गर्ने औपचारिक घोषणाको प्रतीक्षा गर्न लोले जनतालाई  आग्रह गरे।

सरकारी स्तरबाट शान्त रहन जति नै अनुरोध गरे पनि हङकङका जनताले संभावित लकडाउनको लागि पुर्ण तयारी हुन सुपर मार्केट र फार्मेसी जम्मै खाली हुनेगरी सपिङ गर्न छोडेका छैनन। यस किसिमको पेनिक बायिङ हङकङको आधुनिक इतिहासमा संभवत पहिलो चोटि घटेको छ।

दैनिक कोभिड केस बढेर नागरिक आफै त्यसै पनि हैरान भैरहेको बेला संभावित कोभिड लकडाउनको हल्लाले मानिसको सातोपुत्लो गएको अवस्था छ अहिले हङकङमा । सरकारले अनिवार्य सामुहिक कोभिड परिक्षण परियोजना बारे डिटेलमा गरिरहेको विस्तृत गृहकार्य टुंगो लागी सकेको छैन। अन्तिम खाका तयार हुनेसाथ जानकारीमा ल्याउने सरकारले भनिरहेको छ  । त्यसो त केहि समय अघि सम्म क्यारी लाम स्वयंले शहरव्यापी लकडाउन सरकारको सुचीमा नभएको कुरा बारम्बार दोहोर्‍याएकि थिइन।

हङकङले अपनाएको “डाइनामिक जिरो ” अर्थात शुन्य संक्रमण सहनसिलताले सम्पुर्ण प्रकोपलाई उन्मुलन गर्ने लक्ष्य राख्छ । मुलतः चीनले सफल पुर्वक परिक्षण गरिसकेको यो अभ्यास हङकङमा विशेष गरि चुलिदो संक्रमणको केन्द्रीयतामा सफल होला ? वृहत्तर पैमानामा आकस्मिक रूपले विस्फोटित प्रकोपलाई संबोधन गर्न अन्तर्राष्ट्रिय वित्तीय केन्द्र हङकङले सक्ला ?
अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको छविमा आच आउन नदिइ यो कम्पलसरी युनिभर्सल टेस्टिङ स्किम (CUT) लागु गर्ने प्रतिबद्धता हङकङ सरकारले जाहेर गरेको छ।

सरकारले विज्ञप्ति जारी गरेर स्पष्ट भनेको छ कि यस्तो टेस्टिङ जारी गरिएको विश्वका अन्य विभिन्न स्थानमा जनतालाई खाचो पर्ने सबै चिजबिजको आपूर्तिमा रोक लागाइएको हुदैन । त्यसैले  त्यस्ता आवश्यक बस्तु थुपार्ने होडबाजी  नगर्न अनुरोध गरिएको छ।
मार्च २ तारीख जारी सोसल मिडियामा मानिसहरुले मासु , सागसब्जी , फ्रोजन फुड,नुडल्स,टोइलेट पेपर र औसधिहरुको सख्त अभाव भएको कुरा जनाइएको थियो ।
हङकङ फुड काउन्सिलका अध्यक्ष थोमस ङ्ग विङ- यानले पनि मार्च २ तारीख बिहानको रेडियो कार्यक्रममा खाद्य पदार्थको भण्डारण गर्न आवश्यक छैन भनेका थिए ।
कोभिड इन्फेक्सनको कारणले स्यङ शुइ र चुन वानको बधशाला बन्द भएको थियो त्यसैले फ्रेश मासुको अभाव थियो  तर अब संचालन भैसकेको छ। फ्रोजन मिट र अन्य खाद्यान्नको आपूर्तिको स्थिरतालाई सुनिस्चित गरिसकेको जानकारी थोमसले दिए ।

हङकङका सुपर मार्केटहरुका स्टाफहरु हालमा धेरैजसो संक्रमित भै अनिवार्य क्वारेन्टाइनमा भएका कारण जनशक्तिको अभाव भैरहेको छ परिणामस्वरूप  स्टक सप्लाइ गर्न सकिएको छैन । त्यही भएर सुपर मार्केटका सामान राख्ने ताकहरु आज बिहान खाली भएका हुन उनले भने।
मार्च २ तारीख बुधबार क्यारी लामले पुनः सरकारले प्रबाह गरेको सूचना भ्रमपुर्ण नभएको खुलस्त  गरेकी छिन।सरकारले कहिल्यै पनि पुरै शहर लकडाउन गर्ने योजना बनाएको छैन अथवा शहरको ट्राफिकलाई ठप्प पार्ने कुनै  योजना छैन । र अहिले पनि सरकारको अवधारणा तेहि छ लामले भनिन।

लामले नागरिकलाई कुनै पनि किसिमको अन्नपानीको अभाव हुन नदिने प्रण गर्दै महामारी बारे पनि सहि सूचना दिने जानकारी दिइन। चीनले गार्गो रेलबाट पठाएको एन्टि एपिडेमिक सरसमान लिन हङकङ र चीनको बोर्डर लोवु पुगेर यस्तो अभिव्यक्ति दिएकी हुन।

मार्च २ तारीखको प्रेस ब्रीफिङमा डाक्टर अल्बर्ट आउले अनिवार्य आम परिक्षण जारी भएको बेला शहर व्यापी आंशिक लकडाउन मात्र हुने स्पष्ट पारेका छ्न।

पछिल्लो समयको सरकारी सुत्र अनुसार  अनिवार्य आम परिक्षण अर्थात कम्पलसरी युनिभर्सल टेस्टिङ शुरु हुने म्याद सारिएको छ। अथवा मार्च २६ तारीख देखि अप्रिल ३ तारिख सम्म ९ दिनको लागि अनिवार्य परिक्षण लागु हुनेछ । यो ९ दिनको अवधिमा प्रत्येक नागरिकले तीन पटक टेस्ट गर्नुपर्ने छ। र आंशिक , सिमित वा लिमिटेड  शहर व्यापी लकडाउन पहिलो चार दिन मात्र लागू गरिनेछ। सरकारले अझै यो योजनालाई परिस्कृत गरिरहेको छ।

तपाईको प्रतिक्रिया