काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले सरकारविरुद्ध आज राजधानीसहित देशभर शक्ति प्रदर्शन गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड–माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

केन्द्रीय कमिटीको पुस ७ र ८ गते बसेको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दैछ ।

केन्द्रीय आन्दोलन परिचालन समितिका अनुसार बिहान ११ बजे शुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुस निस्कनेछन् ।

स्थायी कमिटी सदस्य वर्षमान पुनले राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दाबी गरेका छन् ।

प्रचण्ड–माधव पक्षले आजको प्रदर्शनलाई आफ्नो शक्ति देखाउने अवसरका रुपमा लिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा आफूहरुको विजय भइसकेको बताउँदै अब सडकबाट त्यो निर्धारण हुन बाँकी रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया