क्रान्ति सुब्बा

कोभिड संक्रमणको संक्षिप्त इतिहास

कोभिड-१९ महामारी मध्य चीनको हुबेइ प्रदेशको राजधानी वुहानमा सर्वप्रथम देखापरेको हो। वुहानको एउटा अस्पतालमा बडो रहस्यमय निमोनियाको रूपमा यसले पर्दार्पण गर्‍यो । त्यसपछि उक्त अस्पतालले यो केसबारे स्थानीय रोग निवारण तथा नियन्त्रण केन्द्र र स्वास्थ्य आयोगलाई २७ डिसेम्बर २०१९ मा सुचित गरेको थियो । डिसेम्बर २९, २०१९ मा विशेषज्ञको एउटा टोलिले यी रहस्यमय  निमोनियाको चार वटा अज्ञात स्रोतबाट आएका केस  हुआनान सीफुड होल्सेल मार्केटसंग संबंधित रहेको पत्ता लगायो।

७ जनवरी, २०२० मा अन्वेषकहरूले यो निमोनियाको  कारक तत्व सार्स-कोभ-२(SARS-CoV-2) हो भन्ने कुरा पुष्टि गर्न सफल भए । र जनवरी १० मा  यसको जीनोम अनुक्रम सम्पन्न गरियो ।

जनवरी २, २०२०  सम्ममा डाक्टरहरूले वुहानको एउटा अस्पतालमा गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग भएका ४१ व्यक्तिलाई सार्स-कोभ-२ (SARS-CoV-2 ) बाट संक्रमण भएको पुष्टि गरेका थिए। ती व्यक्तिहरू मध्ये  २७ जना हुआनानको सिफुड मार्केटमा गएका थिए।

शुरुमा “वुहान कोरोनाभाइरस ” अथवा  “वुहान निमोनिया” पनि भनिने यस रोगलाई  विश्व स्वास्थ्य संगठनले एउटा नाम दियो – “२०१९-एनकोभ”(2019-nCoV) जसको पूरा नाम हो “२०१९ नोभल कोरोनाभाइरस” अथवा  “२०१९ नोभल कोरोनाभाइरस एक्युट रेस्पिरेटरी डिजिज”।
विश्व स्वास्थ्य संगठनको २०१५ निर्देशिकामा आधारित थियो यो नाम। कुनै पनि भाइरस वा रोगको नाम भौगोलिक ठेगाना (जस्तै वुहान ) विशेषबाट राख्दा संबंधित स्थान सामाजिक रूपमा कलंकित हुने भएकोले यस्तो नियम राखिएको थियो ।

वुहानको होलसेल सिफुड होलसेल मार्केट

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस डिजिज २०१९ भन्ने रोगलाई छोटकरीमा कोभिड-१९ भनेर पुन नामाकरण गरयो । र यो रोग लगाउने भाइरसको नाम सार्स-कोभ-२ (SARS-CoV-2) राखिदियो।
कोभिड- १९ (COVID-19) को अर्थ – CO भनेको कोरोना भाइरस  हो। VI भनेको भाइरस हो। D भनेको डिजिज हो। 19 भने महामारी फैलिएको साललाई भनिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० सालको जनवरी देखि मार्च सम्म यसलाई चाइनिज भाइरस भनेका थिए । चीन बिरोधिले यसलाई सिपिपी अर्थात चाइनिज कम्युनिस्ट पार्टी भाइरस सम्म भन्ने गरेका छ्न।


२०२१ सालको मे महिनाबाट भने विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ इन्टेरेस्ट र भेरिएन्ट अफ कन्सर्नको नाम ग्रीक अल्फाबेटबाट राख्न थाल्यो ।
केहि भेरिएन्ट अफ इन्टेरेस्ट जस्तै एटा,आयोटा र काप्पालाई विश्व स्वास्थ्य संगठनले आफ्नो निगरानी सुचीबाट हटायो। यी भेरिएन्टहरु मानवको लागि खतरापूर्ण नभएपछि हटाइएको थियो । ग्रीक अक्षरको नु  (Nu) र सि ( Xi) लाई पनि विश्व स्वास्थ संगठनले भेरिएन्टको नाम राख्नको लागि प्रयोग नगर्ने निर्णय गरयो। नु भन्ने शब्दलाई सजिलैसंग न्यु सम्झिन सकिने र सि भन्ने शब्द मानीसको जातसंग मिल्ने भएकोले यसबाट भेरिएन्टको नाम नराख्ने निर्णय संगठनले गरेको कुरा रोइटर्सलाई बताएको थियो ।


सिपिपी अर्थात चाइनिज कम्युनिस्ट पार्टी भाइरसको प्रतीक जनाउने २० फिट अग्लो प्रतिमा जसलाई चीन सरकारका आलोचक न्युजिल्यान्डका कलाकार वेमिङ चेनले बनाएका हुन। क्यालिफोर्नियाको लिवर्टी स्कल्पचर पार्कमा यसको उदघाटन जुन ४, २०२१ मा भएको थियो ।

२०१९ साल डिसेम्बरबाट जब कोभिड-१९ महामारीको उदगमन भयो त्यही समयदेखि नै सार्स कोरोनाभाइरस -२ (SARS-CoV-2 ) का विविध उत्परिवर्तन , नश्ल वा संस्करण (भेरिएन्ट) हरू पनि बारम्बार देखा पर्दै आइरहेका छ्न। केही भेरिएन्टहरू विश्वव्यापी रूपमा फैलन सक्षम छन । ती भेरिएन्टहरुले फरकफरक क्षेत्रमा संक्रमणको ठुल्ठुला लहरलाई  निरन्तर ल्याउने काम गरे, गरिरहेछ्न। २०२० सालको अक्टोबर र डिसेम्बर बीचको अबधिमा विश्वले सर्वप्रथम भेरिएन्ट अफ कन्सर्न (VOCs) अर्थात भाइरसको  चिन्ताजनक संस्करण उदय भएको देख्यो । यी नवोदित  भेरिएन्टहरूमा देखिएको एउटा विरल गुण भनेको यीनको संक्रमण क्षमता निजको अग्रज भन्दा उच्च हुनु हो। अर्को गाँठी गुण यीनमा के छ भने हाम्रो शरीरमा भएको विद्यमान प्रतिरक्षा प्रणालीलाई यीनले छलेर संक्रमण गराउन सक्छ । यीनको यी दुई अजेय प्रतीत गुणका कारण महामारी नियन्त्रणको लागि जारी ग्लोबल प्रयासलाई नै निष्फल तुल्याइ दिएको स्थिति थियो र अध्यावधी छ।

विश्व स्वास्थ्य संगठन(WHO)ले स्थान विशेषका आधारमा भाइरसको नाम राख्ने प्रचलन त्यागी दिएको  सट्टामा ग्रीक अल्फावेटलाई प्रयोग गर्न थालेको चर्चा माथि भैसकेको छ। ऐन अवसरमा  भेरिएन्ट अफ कन्सर्न कोटिका अन्य जस्तै ग्रीक अक्षर अल्फा (α) अर्थात B.1.1.7 ( युके भेरिएन्ट), बिटा (β) अर्थात B.1.351(साउथ अफ्रीका)  र गामा (γ)अर्थात P.1 (ब्राजिल) नामक भेरिएन्टहरु पनि विश्वको चौकुनामा संक्रमणको मौलिक लहर ल्याउदै फैलिएका थिए । जब अत्याधिक संक्रामक अर्थात ट्रान्समिसिबल डेल्टा ( δ) संस्करण अर्थात B.1.617.2 (इन्डिया) धर्तीमा अप्रिल २०२१ सालमा भारतबाट  उदायो तब यसले भेरिएन्ट अफ कन्सर्नका दायरा भित्र पर्ने अन्य अधिकांशलाई विभिन्न देशबाट विस्थापित गराइदियो। २०२१ साल कै समर तिर दक्षिण अमेरिकी भुभाग जस्तै पेरु , इकुएडर,अर्जेन्टिना र ब्राजिल इलाकामा लामडा अर्थात C.37 (पेरु) नामको अर्को भेरिएन्ट देखा परेको थियो । डेल्टाको फैलावट आयतन बढदा यसबाट थुप्रै डेल्टा सह-संस्करण (सब-भेरिएन्ट) अर्थात उप गोत्रहरु पनि  विकसित भए। डेल्टाको उप गोत्रले केहि स्थानमा राम्रोसँग जरा गाडेको देखेपछि कतै विश्व स्वास्थ्य संगठनको भेरिएन्ट अफ कन्सर्नमा पर्न दक्ष डेल्टाको अर्को उप गोत्र संक्रमणको अर्को नयाँ सुनामी लिएर त आउने होइन भन्ने लख विशेषज्ञले गर्न थालेका थिए । जस्तै नेपालमा डेल्टा प्लस भन्ने भेरिएन्ट देखिएको थियो ।


कोरोना भाइरसको सतहमा रहेको किला जसलाई स्पाइक प्रोटिन भनिन्छ , यसैको माध्यमबाट यो हाम्रो फोक्सोमा रहेको मानव सेलमा गाडिएर भित्र पस्छ। माथिको तस्बिरमा डेल्टा भेरिएन्ट स्पाइकको चार स्थानमा म्युटेसन भएको देखाइएको छ।

२०२१ सालको अक्टोबरमा डेल्टाले उत्तरी गोलार्धमा उच्च प्रतापका साथ आफ्नो प्रसारणलाई जारी राखेको थियो भने दक्षिणी अफ्रिकामा आएको डेल्टाको ठुलो लहर लोप भइरहेको थियो।

अफ्रिकाको माटोमा देखा परेको यो लहर जब पराकाष्ठामा पुग्यो संयोगबस त्यसैबेला विश्व स्वास्थ्य संगठनले नयाँ भेरिएन्ट भनेर सूचीकरण गरेको पाँचौ भेरिएन्ट अफ कन्सर्न ओमिक्रोनको उदय भयो । अरु भेरिएन्ट भन्दा छिटो सर्ने ओमिक्रोन पुर्ववर्ती भेरिएन्ट भन्दा धेरै हिसाबले फरक देखियो। यो भेरिएन्ट कताबाट आयो अहिलेसम्म पत्ता लाग्न सकेको छैन। त्यसबेला यो ओमिक्रोन बोत्सवानाका चार व्यक्तिमा, दक्षिण अफ्रिकाबाट हङकङ पुगेका एक यात्रीमा र दक्षिण अफ्रिकाका ५४ व्यक्तिहरूमा लगभग एकैसाथ देखिएको थियो। त्यसपछि  २०२२ सालको सुरुमै ओमिक्रोनको १,००,००० भन्दा बढी जिनोमहरू उत्पादन भएको देखियो । अनि त वस कोरोनाभाइरस संक्रमणको विश्व नेतृत्व ओमिक्रोनले लिन थाल्यो ।

आखिर नयाँ स्वरुपको भाइरस अर्थात भेरिएन्टको जन्म किन हुन्छ?

कम्प्युटर उत्पादित ओमिक्रोन भेरिएन्टको तस्वीर

वैज्ञानिक समाजको झन्डै सय वर्ष भाइरस आखिर के हो भन्ने विषयमा छलफल गर्दै बित्यो ।  शुरुआतमा भाइरसलाई विषको रूपमा हेरियो । त्यसपछि जीवनकै एउटा स्वरुप भनेर अर्थ्याइयो। अनि त्यसपछि यसलाई जैविक रसायन भनियो। र आजभोलि यसलाई सजीव र निर्जीवको माझमा रहेको ग्रे एरियामा लगेर राखिएको छ। यिनिहरु आफैमा प्रजनन क्षमता हुन्न तर कुनै सजीव कोष पाउने साथ प्रजनन हुन थाली हाल्छ्न र जसको शरीर प्रजननको लागि उपयोग गरेका हुन्छन त्यो शरीरको कार्यव्यवहारमा ठुलो बदलाव ल्याइदिन्छ्न। अर्थात भाइरस छिरेको शरीरलाई यिनले ध्वस्त पार्छन। जीव उत्पत्ति र विकासको इतिहासमा भाइरसको अहम भुमिका रहेछ भन्ने कुरा वैज्ञानिकले भर्खरै बुझ्दैछ्न।

सबै भाइरसले हरबखत रुप परिवर्तन गर्छ , कोरोना भाइरस पनि  अपवाद रहने कुरा आउदैन । भाइरसले आफ्नो कपि आफै गरेर आफ्नो संख्या बढाउनु भाइरसको जीवन चक्रमा घटिरहने एउटा प्राकृतिक प्रक्रिया हो। रुप परिवर्तन गरेको बेला भाइरसले आफ्नै  जेनेटिक मटेरियल अर्थात अनुवांशिक पदार्थको फोटोकपी गर्दछ। जेनेटिक पदार्थ फोटोकपी हुने क्रममा त्रुटी भएमा  अर्थात गलत तरिकाले कपि भएमा खास किसिमको म्युटेसन (उत्परिवर्तन) हुने गर्दछ। यस मानेमा आफ्नो प्रतिलिपी आफै उतार्दा भुलवस अर्कै कपि भएमा त्यसबाट जन्मिएको त्रुटिपूर्ण कपिलाइ भाइरसको नयाँ संस्करण वा भेरिएन्ट भनिन्छ।


कोरोना भाइरसको जिउभरी काणा उम्रीएको हुन्छ। यसको आकारलाई धतुरोको फलसंग तुलना गर्न सकिन्छ। यसको शरीरमा उम्रीएको काँडालाई अंग्रेजीमा स्पाइक भनिन्छ। यही काटीलाई भाइरसले हाम्रो कोष भित्र छिर्न उपयोग गर्दछ।

धतुरोको फल

यी किला आकारका स्पाइकलाइ ग्लाइकन भनिने चिनीको पातलो पत्रले लपेटेको हुन्छ। यही पातलो पत्र भित्र भाइरसले आफ्नो विषाक्त भाइरल प्रोटिनलाई लुकाएर राखेको हुन्छ । यो चिनीको पातलो झिल्लीले मानिसको इम्युन सिस्टमलाई झुक्याउने गर्दछ।

“चिनीको भेषमा सजिएका भाइरस बास्तबमा भेडाको खोल ओढेका ब्वाँसा हुन” भन्छन प्रोफेसर क्रीप्सिन।


एसिइ २ भनेको के हो?

एसिइ२ हाम्रो कतिपय कोषको सतहमा हुने प्रोटिन हो। कोरोना भाइरसको किला सर्वप्रथम तालामा चाबी घुसे जस्तो यसमा आएर घुस्दछ। त्यसपछि हाम्रो कोषभित्र छिरेर संक्रमण गराउन थाल्दछ।

हाम्रो शरीरको फोक्सो ,मुटु ,रक्त नलि ,किडनी, कलेजो र आन्द्राभुडीको भित्तामा रहेको कोष तथा तन्तुमा रहेको हुन्छ। एपिथेलिएल सेल अर्थात हाम्रो शरीरको अंगको उपरी तहमा रहेको कोशिकामा पनि यसको उपस्थिति रहेको हुन्छ।

यो एसिइ२ मार्फत नै अक्सिजन र कार्वन डाइअक्साइडको विनिमय हाम्रो फोक्सोमा हुने गर्दछ।

.target cell अर्थात लक्ष्यित कोष भनेको मानिसको शरीरमा भएको कोष हो। (हरियो रंगमा माथि तस्बिरमा हेर्नुस)

ACE2 (angiotensin-converting enzyme 2) अर्थात एन्जियोटेन्सिन कन्भर्टिङ एन्जाइम २ मानिसको कोषमा हुने एउटा रिसेप्टर प्रोटिन हो जसमा गाडिएर भाइरस हाम्रो सेल भित्र छिर्दछ। भाइरस छिर्ने मुल ढोका हो यो।( निलो रंगमा माथि )

Receptor binding domain (RBD) अर्थात रिसेप्टर बाइन्डिङ डोमेन भाइरसको एउटा यस्तो बल्छी हो जसले मौका पाउना साथ हाम्रो सेलको एसिइ-२ मा गएर अडकि हाल्छ अनि शुरु हुन्छ संक्रमणको खेल। (माथि तस्बिरमा पिङक रंगमा)


कोरोनाभाइरसमा हुने आनुवंशिक सामग्रीलाई  रिबोन्यूक्लिक एसिड (RNA) भनिन्छ जसलाई प्रोटिनको एउटा पत्रले घेरेर राखेको हुन्छ । यही आरएनए पोलिमरेज भनिने इन्जाइमले भाइरसको नक्कल उतार्ने  संयन्त्रलाई नियन्त्रण गर्दछ र नक्कल उतार्ने क्रममा यसले अक्सर त्रुटिहरू गरिरहन्छ । आफ्नै फोटोकपी उतार्ने क्रममा भएको धेरै जसो उत्परिवर्तनहरूबाट नयाँ भाइरस (भेरिएन्ट) को सिर्जना  हुने गर्दछ । ती उत्पादित सबै भेरिएन्टमा आफ्नो नक्कल उतार्ने  क्षमता हुदैन त्यसकारण  मानिसहरूमा त्यो फैलिन सक्दैन।  यद्यपि, केही उत्परिवर्तनहरूले आफ्नो नक्कल उतार्न सक्ने भाइरस उत्पादन गर्दछ । हो तिनै आफ्नो नक्कल उतार्न सक्षम भाइरसलाई भेरिएन्ट भनिन्छ।

उत्परिवर्तनबाट जन्मिएको भाइरससंग केहि थप विशिष्ट सुबिधा हुन्छन। जस्तै संक्रामकताको पैमाना यिनमा उच्च हुन्छ । कि चाहिँ विषैलापन पगित्तो हुन्छ।  यदि यसले संक्रामक क्षमता अतिव पैमानामा लिएर आयो भने यो भेरिएन्ट यति छिटो फैलिन्छ कि यसले उ भन्दा पहिला आएका सम्पूर्ण अग्रज भेरिएन्टहरुलाई मुलधारबाट च्युत गरिदिन्छ।  कोरोनाभाइरसको अल्फा, डेल्टा र ओमिक्रोन भेरिएन्टहरूको हविगत बिए.२ आएपछि रक्षात्मक  भएको यसैकारणले हो।


कोरोना भाइरस तीन वर्गमा बिभक्त

वैज्ञानिकको टोलिले संसार भरिका विभिन्न स्थानबाट डिसेम्बर २४,२०१९ देखि मार्च ४, २०२० को अवधिमा भाइरसका जिनोम नमुनाहरु संकलन गरेर अध्ययन गरेपछि भाइरस फैलिएको आधारमा कोरोना भाइरसलाई तीन वर्गमा बिभाजन गरेका थिए ए, बी, सी।

१.टाइप – ए भाइरस

शोधकर्ताले मानव कोरोनाभाइरसको मुल जिनोमलाइ टाइप ए भनेर वर्गीकरण गरेकोछ। यो भाइरस चमेरो र सालकमा पनि  भेटिएको थियो । यसो भनौ यो भाइरसको उत्पत्ति चमेरोमा भयो । त्यसपछि यो भाइरस सालकमा सरयो र सालकबाट मान्छेमा सरयो। यो भाइरस नै महामारीको मुल जड भएको अनुसन्धानकर्ताले बताएका छ्न। वुहानमा पनि यो भाइरस देखिएको हो तर यो भाइरसको बाहुल्यता वुहानमा थिएन ।
यो ए बर्गबाट  म्युटेट भएको संस्करण वुहानमा बस्ने अमेरिकीमा देखिएको थियो । यो ए समुहबाट संक्रमित रोगीहरु धेरै जस्तो अमेरिका र अष्ट्रेलियामा भेटिएको थियो ।

२.टाइप-बी भाइरस


टाइप बीको जरा पनि टाइप ए नै हो । ए बाट भएको दुइटा म्युटेसनले यसलाई बी बनायो। वुहानमा देखिएको प्रमुख भाइरस बी बर्गको हो जुन पछि पुर्वी एशिया भरी फैलियो। तर थप म्युटेसन भएपछि मात्रै पुर्वी एशियाको नेटो काटेर अन्यत्र जान सक्यो यसले।

३.टाइप – सी भाइरस

सी टाइपको भाइरसको पिता बीलाइ मानिएको छ। सी बर्गभित्र पर्ने भेरिएन्ट चाहिँ मुलतः युरोपेली टाइपको भाइरस भएको शोधकर्ताले बताएका छन। जुन भाइरस फ्रान्स ,इटाली ,स्विडेन र इङग्ल्यान्डका सुरु सुरुका विरामीमा भेटिएको थियो ।


ओमिक्रोन (B.1.1.529.1)

फोक्सोको स्वासनलीमा डेल्टा भन्दा ७० गुणा छिटो प्रजनन हुने क्षमता भएको  ग्रीक वर्णमालाको पन्ध्रौं अक्षर अर्थात  ओमिक्रोन कताबाट आयो ?  कसैलाई यकिनका साथ थाहा छैन । यो दक्षिण अफ्रिकामा पहिलो चोटि पत्ता लागेको  साँचो हो। तर यो भेरिएन्ट खास कुन पुर्खाबाट चोइटिएर आयो  मार्गचित्र सुस्पष्ट छैन।
ओमिक्रोनको आविर्भाव बारे तीन वटा अनुमान अघि सारिएको छ।


१. पहिलो सिद्धान्त : अलग्गै रहेको समुदायमा यसको उत्पत्ति भएको हुनसक्छ ।


अनुसन्धानकर्ताले लाखौंको संख्यामा कोरोनाभाइरसको जिनोम अनुक्रम मिलाउने क्रममा अनगिन्ती म्युटेसनहरु स्वाभाविक रूपमा छुटेर जानू स्वाभाविक छ । ओमिक्रोनको उदगमन छोडिएका तिनै जिनोमबाट भएको म्युटेसनले भएको  हुनसक्छ । अथवा कुनै एकलास स्थानका निश्चित संक्रमित जनहरु भाइरसको कुन शिराबाट संक्रमित भएका थिए भन्ने कुरा पत्ता लाग्नु अघि नै निको भएपछि ओमिक्रोनले चुपचाप फैलने मौका पाएको हुन सक्छ ।

२. दोस्रो सिद्धान्त : कमजोर इम्युन सिस्टम भएकोमा विकसित भएको हुनसक्छ ।


प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता दीर्घ रोगका कारण वा कडा औषधि नियमित लामो समयसम्म सेवन गरेका कारण कमजोर भएका  व्यक्तिभित्र ओमिक्रोनले मौलाउने अवसर पाएको हुनसक्छ ।
त्यस्तो व्यक्ति क्यान्सर वा एडसबाट पीडित हुनसक्छ । दीर्घ रोगले मानिसको रोग प्रतिरोधात्मक शक्तिलाई कुण्ठित पार्दछ । परिणामस्वरूप त्यस्तो मानिसलाई संक्रमणसंग लडन धेरै समय लाग्दछ। र त्यतिन्जेलमा भाइरसले उनको शरीरमा विकसित हुने , म्युटेशन अर्थात रुप परिवर्तन गर्ने सुवर्ण मौका प्राप्त गर्दछ र संबंधित मानिसको रोग प्रतिरोधात्मक शक्तिलाई परास्त गरेर संक्रमण गर्न सक्ने शक्ति संचय पनि यसैबेला गर्न सक्दछ।

३. तेस्रो सिद्धान्त : जनावरभित्र विकसित भएको हुनसक्छ

यो भेरिएन्ट शुरुमा जनावरभित्र  विकसित भएको हुनसक्छ र त्यसपछि मानिसमा सरेको हुनसक्छ । यो भाइरस जनावरको झुन्डमा लुकेर बसेको थियो र ओमिक्रोनमा रुपान्तरण भएपछि  मानिसमा सरेको हुनसक्छ।


अल्फा भेरिएन्टमा भएको स्पाइक म्युटेसन ४ वटा , बेटामा ६ वटा ,गामामा ८ वटा ,डेल्टामा १० वटा , ओमिक्रोनमा २६ वटा ।
कोरोना भाइरसको स्पाइक प्रोटिनमा त्रिशूल आकारको अश्त्र हुन्छ जसले जीव कोषलाई च्याप्प समात्दछ। रातो रंग कोरोनाको स्पाइक प्रोटिन हो भने निलो मानव सेलको रिसेप्टर हो।

चीनको वुहानमा शुरुमा भेटिएको मुल भाइरस (Wuhan-Hu-1) को भन्दा बढी अर्थात  ६० वटा म्युटेसन ओमिक्रोनमा देख्दा खोजकर्ता स्वयं अति स्तब्ध भएका थिए । ३० वटा जस्तो म्युटेसन त यसको स्पाइक प्रोटिनमा हुने एमिनो एसिड अर्थात रिसेप्टर बाइन्डिङ डोमेन ( receptor binding domain ) मा भएको छ। जब कि यो भन्दा अघिका भेरिएन्ट अफ कन्सर्नमा १० वटा भन्दा  बढी स्पाइक म्युटेसन देखिएको थिएन । एमिनो एसिडले बनेको स्पाइक प्रोटिन नै यस्तो हतियार हो जसलाई कोरोनाभाइरसले हाम्रो शरीरको कोषसंग टाँसिएर एकाकार भइ हामीलाई संक्रमित तुल्याउन प्रयोग गर्दछ। अर्थात एमिनो एसिडले बनेको स्पाइक प्रोटिन मार्फत भाइरस हाम्रो फोक्सोमा छिर्दछ।
म्युटेसनको अस्वाभाविक शृंखलाका साथ आविर्भाव भएको यो भेरिएन्ट अनुसन्धानकर्ताको दृष्टिकोण भन्दा बाहिरको कोणबाट विकसित भएको देखिन्छ । इभोलुसनरी भाइरोलोजिस्टहरुका अनुमान अनुसार यसको नजिकको आनुवांशिक ज्ञात भएको पुर्वज  २०२० सालको मध्य तिर देखापरेको हुनसक्छ । “यो अकस्मात कताबाट आयो अत्तोपत्तो छैन ”  भन्छन युनिभर्सिटी अफ केप टाउन, साउथ अफ्रिकाका कप्युटेसनल बायोलोजिस्ट।
अहिले त ओमिक्रोनको उदगम पत्ता लगाउने विषयको वजन प्राज्ञिक महत्त्व भन्दा धेरै माथि छ। कस्तो अवस्थामा यस्तो भयंकर संक्रामक भेरिएन्ट मौलाएर आयो भन्ने कुरा ठम्याउन सकेमा त्यसले वैज्ञानिकलाई भविष्यमा उदाउने नयाँ भेरिएन्टको जोखिमलाई बुझ्न र जोखिमलाई कम गर्न कस्तो कदम चाल्नेबारेमा बुद्धि पनि दिन्छ भन्छिन युनिभर्सिटी अफ सास्काटुन क्यानाडा कि भाइरोलोजिस्ट एन्जेला रास्मुसेन।

डेल्टा र ओमिक्रोनको स्पाइक प्रोटिनमा भएको उत्परिवर्तन हेर्नुस। हङकङमा प्रायः जसो डेल्टाको L452R देखिएको थियो ।
डेल्टा र ओमिक्रोनको रिसेप्टर बाइन्डिङ डोमेन अर्थात भाइरसको मानव कोषभित्र छिर्ने हुकमा देखिएको म्युटेसन।

दक्षिणी अफ्रिकामा फैलिएको कोरोनाभाइरस ( SARS-CoV-2) महामारीलाई तीनवटा फरक फरक लहरहरुबाट चित्रण गरेर हेर्नुपर्ने देखिन्छ । पहिलो चोटिको लहर २०२० साल जुन देखि अगस्टको बीचमा आयो । यो लहर बि.१ वंशका दरसंतानले ल्यायो। दोस्रो लहर २०२० सालको नोभेम्बर महिना देखि २०२१ सालको फेब्रुअरी महिनाको अवधिमा भेरिएन्ट अफ कन्सर्नमा अनुसुचित बेटा ( B.1.351)  भेरिएन्टले ल्याएर आयो। र तेस्रो लहर २०२१ साल मे महिना देखि सेप्टेम्बर बीचको अवधिमा डेल्टा भेरिएन्ट (B.1.617.2) ले ल्यायो । तेस्रो लहर चलेकै बेला पांगो(PANGO) वंश अन्तर्गत पर्ने सी.१.२ (c.1.2) भेरिएन्ट पनि नगण्य स्तरमा देखा परेको थियो ।

जोहान्सवर्ग, साउथ अफ्रिका। यहि एरियाको नजिक पहिलो चोटि ओमिक्रोन भेटिएको थियो ।

२०२१ सालको नोभेम्बरमा दक्षिण अफ्रिका र बोत्सवानाका जीनोमिक सर्भाइलेन्स टिमले दक्षिण अफ्रिकाको गौतेङ प्रान्तमा संक्रमणको द्रुत पुनरागमनलाई निम्त्याउदै कोरोनाभाइरसको एउटा   नयाँ  भेरियन्ट आएको पत्ता लगाए। यस भेरिएन्टको पहिलो जीनोम अपलोड भएको तीन दिन भित्र नै  यसलाई (B.1.1.529) विश्व स्वास्थ्य संगठनले नोभेम्बर २४ तारीख पांगो (PANGO- phylogenetic assignment of named global outbreak – भाइरसको गोत्र छुट्याउने सफ्टवेयर ) लिनिएज अन्तर्गतको  भेरिएन्ट  भित्र राख्यो । त्यसपछि यसबाट  तीन वटा उप भेरिएन्टहरु पनि विकसित भए । ती हुन-


१. बिए.१ (मुल बंशशाखा- बि.१.१.५२९.१ )
२. बिए.२ (बि.१.१.५२९.२)
३. बिए.३ (बि.१.१.५२९.३)

बिए.१ आफैमा दुई भागमा बाँडिएको छ मुल बिए.१ र बिए.१.१।
२०२१ साल नोभेम्बर २६ तारीख यस गोत्रलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको सुचीमा राख्यो र यसको न्वारानको नाम ओमिक्रोन (B.1.1.529) तोकिदियो।  यो भेरिएन्टबाट पहिलो चोटि पुष्ठि भएको ज्ञात संक्रमणको नमुना २०२१ साल ९ तारीख नोभेम्बरमा संकलित भएको  थियो । माउ ओमिक्रोन बी.१.१.५२९ को कोखबाट जन्मिएको पहिलो  सन्तान बिए.१ हो। बिए.१ बाट  बिए.२ र बिए.३ जन्मेका होइनन तर यीनीहरु तिनै वटाको धेरै जसो म्युटेसन एकआपसमा मेल खान्छ। तर बिए.२ र बिए.३ को विकासक्रमको कडी ( evolutionary link) भने बिए.१ संग जोडिएको छ। यस मानेमा बिए.१ र बिए.२ लाई बिए.१ को भगिनी संस्करण मानिएको छ। यी तिन वटै उप संस्करण भने माउ ओमिक्रोन बि.१.१ को ग्रन्थीबाट छुट्टिएका हुन। यीनिहरुको आफ्नो छुट्टै पुर्वज छैन र यी तिन वटै हाँगाहरु आ आफनै तरिकाले अगाडि बढेका हुन।
बिए.१ को तुलनामा बिए.२ को संक्रामक क्षमता ३०% देखी ६०% बढी भएको तथ्य शुरुको अनुसन्धानले देखाएको थियो ।

भेरिएन्ट थरीथरीका

ओमिक्रोन परिवारका सदस्यले कुन कुन स्ट्रेन एक आपसमा शेयर गर्छन हेर्नुस भेन डाइग्राममा।

अप्रिल ११ तारीख २०२२ सोमबार विश्व स्वास्थ्य संगठनले बिए.१ कै दुई वटा भगिनी संस्करण बिए.४ र बिए.५ लाई आफ्नो निगरानीको सुचीमा राख्यो । यी भर्खरै पत्ता लागेका भगिनी संस्करणबाट भएको म्युटेसनमा मानिसको इम्युन सिस्टमलाई चक्मा दिने क्षमता छ छैन अध्ययन गर्नको लागी सूचीकरण गरिएको संगठनले बताएको छ। त्यसो त बीए.१ र बिए.२ को पुनर्संयोजनमा बनिएको ठेम्बर भेरिएन्ट एक्सइ (XE) लाइ पनि निगरानीमा राखिएको छ।
युके हेल्थ सेक्युरिटी एजेन्सीले गत हप्ता जनाए अनुसार बिए.४ सम्बन्धि केस साउथ अफ्रीका,डेनमार्क , बोत्स्वाना, स्कटल्याण्ड र इङल्यान्डमा २०२२ जनवरी १० देखि मार्च ३० भित्रको अवधिमा पता लगाएको थियो । बिए. ५  सम्बन्धि केही केस साउथ अफ्रीकामा पत्ता लागेको कुरा अप्रिल ११ तारिख सोमबार जनाएको थियो ।

ओमिक्रोनको एक्सइ (XE) सब भेरिएन्टले भारतमा कोभिडको तेस्रो लहर जनवरी २०२२ मा ल्याएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो एक्सइ भेरिएन्ट केस जनवरी १९ तारिख युकेमा देखिएको थियो ।


अफ्रिकामा चौथो लहरको सुत्रपात गर्ने ओमिक्रोनको फैलावट तीन हप्ता भित्रको अवधिमा अर्थात १६ डिसेम्बर २०२१ सालभित्र  ८७ देशहरूमा भैसकेको  थियो। २०२२ सालको जनवरी महिना सम्म आइपुग्दा विश्वका १०० देशबाट १००,००० थान जिनोमका नमुना संकलन भएका थिए । त्यस घडी उप्रान्त संसारको सबैभन्दा प्रभावशाली भेरिएन्ट अफ कन्सर्नको रूपमा ओमिक्रोन उदाउन थाल्यो।


बिए.२ र ओमिक्रोन

ओमिक्रोन सब भेरिएन्टबारे युनिभर्सिटी अफ साउथ क्यारोलिनाका इम्युनोलोजिस्ट प्रकाश नगरकट्टी र मित्जी नगरकट्टीसंग भएको कुराकानीको सार यहाँ प्रस्तुत छ।

बिए.२  के हो  र यो ओमिक्रोनसँग कसरी सम्बन्धित छ ?

बिए.२  भनेको  कोभिड-१९ रोग निम्त्याउने कोरोनाभाइरसको एउटा मुल शिरा ओमिक्रोनको नवीनतम उपसंस्करण (सबभेरिएन्ट) हो । बिए.२ को उत्पत्ति स्रोत अझै अस्पष्ट छ। समयको लघु अन्तरालमा धेरै देशमा यो उपसंस्करण सबैभन्दा प्रभावशाली संस्करणको रूपमा स्थापित भयो। प्रारम्भमा भारत, डेनमार्क र दक्षिण अफ्रिकामा देखा परेता पनि अहिले  यो युरोप, एशिया र विश्वका धेरै भागहरूमा फैलिने क्रम जारी छ।

ओमिक्रोनको आधिकारिक नाम हो बि.१.१.५२९  (B.1.1.529)। यो मुल भेरिएन्ट ओमिक्रोनको पनि तीन वटा मुख्य उप भेरिएन्टहरु छ्न। ती हुन – बिए.१( BA.1), बिए.२( BA.2) र बिए.३(BA.3)। सबैभन्दा पहिला पत्ता लागेको  ओमिक्रोन सबभेरिएन्ट हो बिए.१ (BA.1) ।  पहिलो पटक २४ नोभेम्बर २०२१ मा यो भेरिएन्ट दक्षिण अफ्रिकामा रिपोर्ट गरिएको थियो।

वैज्ञानिकहरूको विश्वास अनुसार  सबै सबभेरिएन्टहरू एकै समयमा देखा परेको हुन सक्छन र सन २०२१ को हिउँदमा विश्वको उत्तरी गोलार्धमा  संक्रमणको बाढी ल्याउन मुल रूपमा बिए.१ जिम्मेवार थियो।

ओमिक्रोनको पहिलो सबभेरिएन्ट बिए.१ को स्पाइक प्रोटिनमा संख्यात्मक परिवर्तन ल्याउने तरिका मूल संस्करणको तुलनामा अद्वितीय छ। यसको  स्पाइक प्रोटीनमा ३० भन्दा बढी म्युटेसन (उत्परिवर्तन) देख्न सकिन्छ । स्मरण रहोस स्पाइक प्रोटिन मार्फत  नै यी भाइरस हाम्रो  कोषभित्र  प्रवेश गर्ने हो।

बिए.१ र बिए.३ को रिकम्बीनेसन अर्थात पुनर्मिलनले बिए.४ को उत्पत्ति भएको हो।

स्पाइक प्रोटिनमा हुने  म्युटेसन (उत्परिवर्तन) वैज्ञानिकहरू र जनस्वास्थ्य अधिकारीहरूका लागि उच्च चिन्ताको विषय हो। किनकि ती स्पाइक प्रोटिनमा हुने  भाइरसको म्युटेसनले  कुनै विशेष भेरिएन्ट (संस्करण) कत्तिको संक्रामक छ भन्ने कुरालाई जाहेर गर्दछ । र खोप लगाइसकेपछी वा कोभिड संक्रमित हुन पुर्व हाम्रो शरीरले उत्पादन गरेको सुरक्षात्मक एन्टिबडीलाई छ्लेर उम्कन सक्षम छ कि छैन भन्ने कुरालाई पनि यसले खुट्याउदछ।

बिए.१(BA.1) मा फेला नपरेका आठ वटा बिचित्रको म्युटेसन बिए.२ मा भेटिएको छ भने बिए.२ (BA.2) मा नभएका १३ वटा म्युटेसन बिए.१ मा रहेका छन।   बिए.२ ले बिए.१ सँग लगभग ३० वटा  म्युटेसनहरु एक आपसमा बाँंडचुड गर्दछ्न। बिशेषगरि यसमा देखिएको सापेक्षिक आनुवंशिक समानता(relative genetic similarity) का कारण यसलाई पूर्ण रूपमा नयाँ संस्करण हो भनेर मानिन्न बरु त्यसको  विपरित यसलाई  ओमिक्रोन कै सबभेरिएन्ट मानिन्छ।

किन यसलाई ‘स्टिल्थ’ संस्करण भनिन्छ?

केही वैज्ञानिकहरूले बिए.२ लाई “स्टिल्थ” भेरिएन्ट भनेका छन । बिए.१ भेरिएन्ट र डेल्टा भेरिएन्ट बीचको अन्तरलाई छुट्टयाउन सकिन्छ । तर बिए.२ लाई  डेल्टा भेरिएन्टबाट  छुट्याउन सकिने त्यस्तो कुनै  विशेष आनुवंशिक हस्ताक्षर छैन। अर्थात जसरी ओमिक्रोनको ओरिजिनल भर्सनमा भएको जेनेटिक म्युटेसनलाई पिसिआर परिक्षणले सजिलै पत्ता लाउन सक्दछ तर  डेल्टा भेरिएन्ट र बिए.२ लाई कित्ता काट गर्न सकिन्न ।

त्यसो त  स्ट्यान्डर्ड  पिसिआर परीक्षणले अझै पनि बिए.२ भेरिएन्ट पत्ता लगाउन सक्षम छ। तथापि यो कतै   डेल्टा भेरिएन्ट नै त होईन भन्ने भ्रम परिरहने गर्दछ।

के यो अन्य भेरिएन्टहरू भन्दा बढी संक्रामक र घातक छ ?

बिए.२ लाई बिए.१ भन्दा धेरै संक्रामक (ट्रान्समिसिबल) मानिन्छ । तर बिए.१ लाई बिए.२ भन्दा विषालु (भाइरुलेन्ट) मानिन्छ । यसको मतलब बिए.२ छिटो  फैलिन सक्छ बिए.१ भन्दा । कुरा यति हो कि यसले बिरामीलाई साह्रो  बनाउन सक्दैन।

एउटा ध्यान दिन लायकको कुरा के छ भने अहिले विश्वभरको केस संख्या हेर्दा बिए.१ को एकल साम्राज्य रहेको देखिन्छ भलै यसले डेल्टा भेरिएन्टको तुलनामा कम गम्भीर रोगहरू निम्त्याउँदछ।  बेलायत र डेनमार्कमा भएको हालैका अध्ययनहरूले देखाए अनुसार बिए.२ ले पनि बिए.१ ले जस्तै अस्पताल भर्ना हुने जोखिम निम्त्याउन  सक्छ।

सिंगल आरएनए (rna) बाट बनेको कोरोना भाइरसलाई नजिकबाट हेर्दा

पहिला बिए.१ बाट भएको संक्रमणले के बिए.२ बाट हुने संक्रमणबाट बचाउन सक्छ ?

सक्छ । भर्खरैको अध्ययनले पहिले ओरिजिनल बिए.१ सब भेरिएन्टबाट संक्रमित व्यक्तिमा बिए.२ संग लडन सक्ने  बलियो क्षमता रहेको देखाएको छ।

बिए.१ ले विश्व व्यापी जनसंख्यालाई  संक्रमण गराइसकेको छ। यस मानेमा जनसंख्याको एउटा उल्लेखनीय हिस्सामा बिए.२ को आक्रमणलाई रोक्ने  प्रतिरोधात्मक क्षमता विकास भैसकेको छ। त्यसकारण   केही वैज्ञानिकहरू बिए.२ ले अर्को ठूलो लहर निम्त्याउछ भन्ने कुरामा विश्वास गर्दैनन।

कोभिड-१९ संक्रमण भएपछि हाम्रो शरिरमा स्वतः  प्राकृतिक प्रतिरक्षा शक्तिको विकास हुन्छ जसले हामीलाई भाइरसको विभिन्न भेरिएन्टबाट पुनः संक्रमण हुनबाट बचाउँदछ। तर ओमिक्रोनले भेटी हालेमा पुर्व  संक्रमणले हाम्रो शरीरमा विकसित गराएको प्राकृतिक  प्रतिरक्षा प्रणाली पनि बेकामे साबित गराइदिन्छ।

बिए.२ विरुद्ध खोपहरू कत्तिको प्रभावकारी छन , हुन्छन ?

विशेषज्ञबाट समिक्षा हुन बाकी हालैको एक प्रारम्भिक अध्ययनले कोभिडको दुई खोपले ओमिक्रोनको सब भेरिएन्टबाट संक्रमण हुन दिदैन केही समयको लागि । फाइजर बायोएनटेक वा मोडेर्ना भ्याक्सिनका दुई खुराक खोप लगाइसकेका र बिए.१ र बिए.२ बाट लक्षण देखिने गरि  संक्रमित भएका १० लाख भन्दा बढी कतारवासी व्यक्ति माथि यो अध्ययन गरिएको थियो  । अत: भ्याक्सिनको दुई खुराक ग्रहण गरेका मानिसलाई खोपले केहि महिना सम्म संक्रमण हुन दिएको थिएन ।

बूस्टर खोपले पनि झन्डै मूल स्तरको जत्तिकै सुरक्षा प्रदान गर्ने कुरा अध्ययनले देखाएको थियो।

महत्त्वपूर्ण कुरा के छ भने माथि जनित दुवै खोपले  अस्पताल भर्ना हुन वा मृत्यु  हुनबाट मानिसलाई  ७० देखि ८० प्रतिशत बचाएको थियो ।  र बूस्टर डोज लगाएपछि त सुरक्षाको घेरा  बढेर ९० प्रतिशतसम्म पुगेको थियो ।

विश्वको विभिन्न क्षेत्रमा बिए.२ द्वारा संक्रमित हुने क्रम वृद्धि हुनुको मुल कारण यसको उच्च संक्रमण क्षमता , मानिसको रोग प्रतिरोधात्मक क्षमता क्षिण हुँदै जानू र कोभिड नियम खुकुलो तुल्याउनुलाई मानिएको छ।

संक्रमित हुनु भन्दा भ्याक्सिन लगाएर इम्युनिटी बढाइ सुरक्षित हुनु उत्तम भन्ने सुझाव विदको रहेकोे छ।


बिए.२ को साम्राज्य

२०२२ मार्च २२ तारीख सम्ममा विश्व स्वास्थ्य संगठनले अप्डेट गरेको रिपोर्ट अनुसार कुल संक्रमित विश्व जनसंख्याको करिब ८५.९६% बिए.२ ले ओगटेको थियो । मुल ओमिक्रोन भेरिएन्ट जसलाई बिए.१ पनि  भनिन्छ यसले विश्वको कुल संक्रमणको ४% प्रतिशतमा सिमित हुन पुगेको थियोे भने ओमिक्रोनको तेस्रो स्ट्रेन जसलाई बिए.१.१ पनि भनिन्छ त्यसले संक्रमणको ९% मात्र ओगटन पुगेको थियो ।

बिए.१ को तुलनामा बिए.२ करिब ३०% बढी संक्रामक भएको मानिन्छ । यसकारण बिए.२ को प्रभुत्व सर्वत्र रहेको हो। युके , अष्ट्रीया र स्वीजरल्याण्डमा संक्रमणले आकाश छुनुको कारण यही हो भनिएको छ।

हङकङमा ओमिक्रोनको प्रवेश

फेब्रुअरी महिनाको जाडोमा दीर्घ रोगी वयोवृद्धजन ओमिक्रोन प्रकोपमा परेपछि अस्पतालको बेड अभाव हुँदा बाहिरपट्टी बस्न बाध्य ।

अफ्रिकी  भूगोलमा प्रथमतः देखापरेको कोरोना भाइरसको खतरनाक भेरिएन्ट (उत्परिवर्तित स्वरूप) ओमिक्रोनको मुल संस्करण बिए.१ (बि.१.१.५२९.१)  र त्यसको उप संस्करण बिए.२ (बि.१.१.५२९.२) संसार भर फैलिने क्रममा डेनमार्क, युके,इन्डिया हुदै अन्तमा हङकङ सम्म आइपुग्यो जसले हङकङमा अहिलेसम्मकै परम घातक महामारीको पाँचौ लहर ल्याइदियो।

हङकङमा सर्वप्रथम ११ नोभेम्बरका दिन साउथ अफ्रिकाबाट  कतार हुदै एउटा ओमिक्रोन केस देखापरेको थियो । र २०२१ साल डिसेम्बरको अन्तमा हङकङमा ओमिक्रोन पाँचौ लहर ल्याएर आयो।

“ओमिक्रोन माइल्ड किसिमको भेरिएन्ट होइन । यो डेल्टा भन्दा हल्का नरम मात्र हो।” विश्व स्वास्थ्य संगठनकि प्रतिनिधि मारिया भान केर्कोभले २३ फेब्रुअरी २०२२ मा भनेकी थिइन ।
सायद फोक्सोको भित्री तहसम्म छिर्ने क्षमता नभएर यो भाइरस डेल्टाभन्दा केही हदसम्म भुत्ते छ। त्यसैले तथ्यांकले बताउँछ – ओमिक्रोनको संक्रमण क्षमता डेल्टाको भन्दा ९१ प्रतिशत कम घातक छ र अस्पतालवास हुने जोखिम पनि ५१ प्रतिशत कम रहेको छ।

ओमिक्रोनको सह संस्करण बिए.२ एउटा विरलै किसिमको म्युटेसन भएकोले यसले ठुलो जनघनत्वलाइ संक्रमित पार्न सक्छ युनिभर्सिटी अफ टोकियोका भाइरोलोजिस्ट केइ सातोले शुरु मै भनेका थिए ।
नभन्दै संसार भरिबाट कोभिड -१९ केस संख्या  घटिरहेको भएता पनि  बिए.२ बाट  संक्रमण हुनेको संख्या भने बढी रहेको थियो र छ।

११ नोभेम्बरका दिन साउथ अफ्रिकाबाट कतार हुँदै हङकङ आएर रिगल एयरपोर्ट होटेल कोठा नम्बर ५११२ मा क्वारेन्टाइन बसेका एक जना ३६ वर्षका पुरुष  यात्रीमा सर्वप्रथम नोभेम्बर १५ तारिख ओमिक्रोन भेरिएन्ट केस देखा परयो। पाँच दिनपछि तेहि यात्री बसेको पल्लो पट्टी कोठा नम्बर ५१११ मा बस्ने ६२ वर्षका क्यानाडाबाट आएका व्यक्तिलाई ओमिक्रोनले भेट्यो। स्वास्थ्य बिभागले पहिलो केसबाट नै दोस्रोमा भाइरस सरेको शंका गरयो । पहिलो संक्रमितले भल्भ मास्क लगाएका थिए जुन मास्कले शरीरबाट बाहिर गएको स्वास राम्रो संग फिल्टर गर्दैन । त्यसकारण उनिबाट नै छिमेकी कोठाको व्यक्ति संक्रमित भएको ठहर भएको थियो । स्वास्थ्य बिभागले २०२१ नोभेम्बर २५  तारीख यस्तो मास्क क्वारेन्टाइन होटेलमा लाउन नपाइने नियम बसायो।

विश्व स्वास्थ्य संगठनकि कोभिड टेक्निकल लिडर मारिया भान केर्कोभ

२०२१ डिसेम्बर ३० तारीख बिहीबार हङकङमा पहिलो चोटि ओमिक्रोन केसको क्लस्टर तसल्ली भएको थियो जसमा एक ७६ वर्षीय पुरुष (एयर क्रीउका पिता) र एक ३४ वर्षीय पुरुष -जो दस मिटर पर बसेका थिए –  परेका थिए । दुबै जनाले पुर्ण मात्रा खोप लगाएका थिए र हङकङ बाहिर भ्रमण गरेको पनि इतिहास थिएन । २०२१ डिसेम्बर २७ तारीख सोमबार उनीहरु खाना खाएको क्वुन तङ्ग स्थित मुन प्यालेस रेस्टुरेन्टमा ओमिक्रोनधारी क्याथे प्यासिफिकका एक एयर क्रू सदस्य- जो क्रीसमसको दिन अमेरिकाबाट हङकङ आएका र बुस्टर डोज लगाएका लक्षणहिन थिए – को सम्पर्कमा आएपछि यो सबै भएको थियो ।

यो क्लस्टर पुष्ठि हुँदा  हङकङले २०२१ अक्टोबर ८ तारीख देखि  धानेको शुन्य सामुदायिक संक्रमणको रेकर्ड तोडिएको थियो ।
केहि समयपछि क्वारेन्टाइन होटेल तोडेर ओमिक्रोन भेरिएन्ट क्वाइ चोङको हाउजिङ स्टेटमा सल्कियो। आधा दर्जन भन्दा बढी पब्लिक हाउजिङ ब्लकहरु लक डाउनमा जादा दशौ हजारको जनजीवन अस्तव्यस्त भएको थियो ।


माइक्रोस्कोपबाट हेर्दा देखिने कोरोना भाइरसको तस्वीर रंगिनमा। यसको वरिपरि ताजमा जस्तो कल्कीहरु भएकोले यसलाई क्राउन अर्थात ल्याटिन भाषामा कोरोना भनिएको हो।

हङकङमा पाचौं लहरबारे गरिएको भविष्यवाणी

हङकङलाई पाँचौ लहरले छोपिसकेपछी यसले कत्तिको विकराल रुप लिन्छ ? यो कहिले उत्कर्षमा पुग्छ? मानवीय क्षति कतिको निम्त्याउछ ? जस्ता आँकलन , पुर्वानुमान विशेषज्ञको जमातले गर्न थालिसकेको थियो ।

यसै क्रममा युनिभर्सिटी अफ हङकङका मेडिसिन फेकल्टीले मार्च ८ तारीख महामारीको  बिश्लेषणात्मक अध्ययनको अप्डेट मोडेल सार्वजनिक गरेको थियो । उक्त मोडेलले दैनिक आउने नवीन  इन्फेक्सन संख्या २०२१ मार्च ४ तारीख टुप्पोमा पुगेको संकेत गरेको थियो । साबिक संक्रमित संख्या अर्थात ५० हजारको हाराहारीमा केही दिन देखि एक हप्ता सम्म जारी रहन्छ भनेको थियो । पुष्ठि केसको संख्या अप्रिल २३ मा तीन अंकमा झर्ने आकलन अध्ययनले देखाएको  थियो । र क्रमिक रुपमा संक्रमण घटदै गएर मे महिनाको मध्य  तिर दुई अंकमा झर्छ भनेको थियो ।

यो वर्ष अर्थात २०२२ को मे १ तारीख पाचौं वेभबाट संक्रमित हुनेको कुल संख्या सरदर ४३ लाख पुग्नेछ भने मृत्यु हुनेको संख्या ५,००८ पुग्नेछ भनेर सो मोडेलको गणितले भनेको थियो । त्यसो त मार्च ७ तारीखका दिन कुल संक्रमित रोगीको संख्या हङकङमा १८ लाख ४० हजार पुगेको अर्को अध्ययनले बताएको थियो ।

मार्च १४ तारीख जारी आकलनले भने अहिलेसम्म हङकङमा सरदर ३५ लाख ८० हजार (३.५८ मिलियन ) मानिस कोरोना संक्रमित भएको देखाएको थियो । यसको अर्थ  प्रत्येक दुई जनामा एक जना संक्रमित भएका छ्न भन्ने हो। हङकङमा संक्रमित हुनेको कुल संख्या सरदर अन्तिममा ४४ लाख ८० हजार (४.४८ मिलियन ) सम्म पुग्ने र मृत्यु हुनेको संख्या ५,१०२ पुग्छ भनिएको थियो ।

एक्स्पर्ट कमिटी अन क्लिनिकल इभेन्टस एसेस्मेन्टका उपसंयोजक डाक्टर आइभन हुङले पनि मार्च १९ तारीख एक रेडियो कार्यक्रममा बोल्दै पाँचौ लहरको उत्कर्ष अवधि सिद्विएको बताएका थिए । त्यसबेला उनले हङकङमा संक्रमण हुनेको कुल संख्या ३५ लाख पुगेको विश्वास प्रकट गरेका थिए ।
संक्रमण र भ्याक्सिन दरमा आएको वृद्धिले सामुहिक रोग प्रतिरोधात्मक क्षमता निर्माण भैसकेको आँकलन  पनि उनले गरे।

मार्च २० तारीख २०२२ का दिन सरकारी सल्लाहकार तथा हङकङ युनिभर्सिटीका माइक्रोबाइलोजी बिभागका अध्यक्ष युन क्वक युङले हङकङका प्रत्येक पाँच जनामा एक जना संक्रमित भएको बताएका थिए र संक्रमित संख्या अधिकतम ४ लाख सम्म पुग्ने बताए।

हङकङको जोर्डन स्थित कुइन एलिजावेथ अस्पतालमा जिउँदो बिरामीसंगै लासहरु मार्च महिनाको प्रारम्भ तिर

उदेकलाग्दो भविष्यवाणी

मार्च १४ तारीख सोमबार   २०२२
.चाइनिज युनिभर्सिटीका पब्लिक हेल्थ स्कलर प्रोफेसर क्वक किन – अनले अन्ततः हङकङमा संक्रमित हुनेको संख्या ४५ देखि ५० लाख र मृत्यु संख्या ९ हजार सम्म पुग्ने भविष्यवाणी गरेका थिए ।
केस संख्या गणनाको सन्दर्भमा मे महिनाको अन्तमा दैनिक संक्रमण संख्या १,००० हुने र जुन महिनाको अन्तमा दैनिक केस संख्या १०० हुने बताएका थिए ।

मार्च २२ तारीख २०२२
.फेकल्टी अफ मेडिसिन अफ हङकङ युनिभर्सिटीले भाइरसको आरोह अवरोहबारे नविनतम कम्प्युटर सिमुलेसन सार्वजनिक गर्‍यो । उक्त तथ्यांक अनुसार हङकङमा संक्रमित हुनेको संख्या ४४ लाख पुगेको दाबी गरिएको थियो । त्यसको अर्थ हङकङका प्रत्येक दुई जनामा एक जना संक्रमित भएको अवस्था हो।

हङकङमा नर्सिङ होम निवासी विभिन्न उमेर समुहका ज्येष्ठ नागरिकको जनसंख्या सरदर ७५ हजार रहेको छ र संक्रमण र मृत्यु दर पनि सबैभन्दा उच्च नर्सिङ होम कै रहेको देखाएको छ। मार्च ११ तारीख सेन्टर फर हेल्थ प्रोटेक्सनले अघि सारेको तथ्यांकमा ९१% नर्सिङ होम (रेसिडेन्सियल केयर होम फर एलडर्ली -RCHE) संक्रमित भएको देखाएको थियो । नर्सिङ होम निवासी कुल जनसंख्याको ३१% संक्रमित भएका थिए । हङकङमा पाँचौ लहरले ल्याएको कुल मृत्युको ५८% नर्सिङ होमले ओगटेको थियो ।

बालबालिका कतिको जोखिममा ?

हङकङमा पाचौं लहरले बालबालिकाको जीवनलाइ पनि धरापमा पार्न पछि परेन। यो लहरले ८ जना बालबालिकाले ज्यान लिइसकेको छ हङकङमा । बालबालिकाको जीवन किन कोभिडबाट  जोखिममा रहन्छ भन्ने बारे सरकारी विशेषज्ञ सल्लाहकार तथा हङकङ विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्यक्ष प्राध्यापक युन क्वोक-युङले सन २०२२ मार्च ९  तारिख एक रेडियो कार्यक्रममा  बालबालिकाको रोग प्रतिरोधात्मक प्रणाली अपरिपक्व अर्थात विकास हुने क्रममै भएका कारण उनीहरु कोभिड-१९ बाट संक्रमित भइहालेमा  मस्तिष्क एडिमा अर्थात मस्तिष्क सुन्निने रोग लाग्न सक्छ भनेका थिए । यस रोगले मस्तिष्कमा गम्भीर सुजन ( inflammationn) ल्याउदछ  र अचानक मृत्यु पनि हुनसक्छ ।

उनले सामुदायिक गतिविधि र सार्वजनिक स्थानमा संक्रमणको जोखिम रहेको बताउँदै बाहिर निस्कँदा एन ९५ मास्क लगाउन वा मास्कमाथि थप एउटा  कपडाको मास्क लगाउन सर्वसाधारणलाई आग्रह गरेका थिए  ।

गर्भवती महिलाले यदि  खोप लगाइसकेका छ्न कोभिड संक्रमित भए पनि आइसियुमा जाने खतरा कम हुन्छ । तर खोप नलाएका गर्भवती महिलाको आइसियुमा जाने संभावना उच्च हुन्छ उनले भने। खोप लगाइसकिएको अवस्थामा संक्रमित गर्भवतीबाट  समय भन्दा अगाडि बच्चा जन्मने, मृत बच्चा जन्मने संभावना पनि कम हुन्छ । बालबालिका र उनका परिवारले सकेसम्म चाडो खोप लगाउनु पर्नेमा उनको जोड रहेको थियो ।

खोप नलगाएका नागरिक संक्रमित भएको अवस्था रहेमा उनीहरुले निको भएको १ देखि ३ महिनाभित्र खोप लगाउन सक्नेछ्न। पाँचौ लहरबाट पोजेटिभ हुनु नै प्राकृतिक रुपले कोभिड खोप प्राप्त गर्नु सरह भएकोले विज्ञले यस्तो सुझाव दिएका हुन। तर  खोप नलगाएका संक्रमित ज्येष्ठ नागरिकले भने उनीहरुमा देखिएको सबै लक्षण हराएपछी खोप लगाउदा हुन्छ । वास्तवमा निको भैसकेको रोगी भित्र रोगलाई छेक्ने क्षमता ४ देखि ६ महिनासम्म कायम रहन्छ विज्ञजनले भनेका थिए ।

मार्च १२ तारीख शनिबार बसेको साइन्टिफिक कमिटीको बैठकले इम्युन फङसन राम्रो भएका जसले संक्रमित हुन पुर्व साइनोभ्याक वा बायोएन्टेक खोपको  दुई वा सो भन्दा बढी डोज लगाइसकेका छ्न उनीहरुले  निको भैसकेपछी बुस्टर खोप लाउनु आवश्यक छैन भन्ने कुरा पारित गरेको थिए ।

हङकङको मृत्यु दर किन उच्च ?

कुनै बेला शुन्य कोभिड केस भएको ७४ लाख जनसंख्या युक्त शहर  हङकङमा संक्रमित संख्याले ११ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ८ हजार कटेको छ। आखिर  हङकङ कोभिड नियन्त्रणमा कहाँ चुक्यो ?
हङकङले भोगेको पाँचौ लहरले निम्त्याएको संक्रमणको
साइजले संसार भरिका हङकङको स्तरको सबै शहरलाई जित्यो । यो लहर मार्चको प्रारम्भमा चुलीमा पुगेको बेला प्रत्येक १००,००० जनामा ९०० जना संक्रमित भएका थिए । यो भन्दा अघि अल टाइम हाइ रेकर्ड न्युयोर्कले कायम राखेको थियो जनवरी महिनामा जतिबेला प्रत्येक १००,००० मा ५०० संक्रमित केस आएको थियो ।

“विशेष गरि यहाँको हाउजिङ स्टेटका खचाखच बसेका साघुँरा अपार्टमेन्ट र उच्च जनघनत्व ” संक्रमण दर बढनुको एउटा मुल कारक तत्व हो भन्छ्न युनिभर्सिटी अफ हङकङका भाइरोलोजिस्ट विजयकृष्ण धनसेकरण।

विजयकृष्ण धनसेकरण, एसोसिएट प्रोफेसर , हङकङ युनिभर्सिटी

स्मरणीय छ ओमिक्रोनले शहरको पब्लिक हेल्थ केयर सिस्टमलाई जरैदेखि हल्लाइदिएको थियो । एकातिर बिरामीहरु अस्पताल बाहिर अलपत्र पालो पर्खिरहेका हुन्थे भने अर्कोतिर अस्पतालको भित्री वार्डमा मृत शरीरहरु पोको पार्ने धपेडी थियो । अन्ततोगत्वा ओमिक्रोनको प्रवेश नर्सिङ होममा हुन्छ जहाँ  हङकङका सबैभन्दा कमजोर र खोप दर कम भएका  ज्येष्ठ नागरिक बसेका हुन्छन। ज्येष्ठ नागरिकको घुइँचो अस्पतालमा भएपछि अस्पतालका सबै आइसोलेसन वार्ड भरिन्छ्न। ओमिक्रोन आक्रमणमा परेका सयौं वयोवृद्ध विरामीलाई तुरुन्तै उपचार गरिनुपर्नेमा आकस्मिक विभागको करिडोर , लिफ्ट लबि तिर अलपत्र छोडने काम हुन्छ । हङकङका सबै मुर्दाघरमा लास राख्ने जग्गा नभएपछि अस्पताल बाहिर रेफ्रीजेरेटर सहितका कन्टेनरहरु खडा गरेर अस्थायी लास भन्डार स्थपित गरियो।

पाचौं लहरले छोप्नु अघि हङकङमा कोभिडसंग संबंधित मृत्यु केवल २१२ मात्र थियो । पिक आवरमा त दैनिक मृत्यु संख्या नै २४९ सम्म  पुगेको थियो ।

हङकङ युनिभर्सिटी माइक्रोबायोलोजी बिभागका भाइरोलोजिस्ट सिद्वार्थ श्रीधर भन्छन हङकङको कोभिड -१९ मृत्यु दर विश्व कै खराबमा पर्दछ तर यो जति नै  दु:खद भए पनि अवश्यम्भावी थियो । उनले यसलाई प्रेडिक्टेबल ट्रेजेडी अर्थात आकलन गर्न सकिने दुर्भाग्य भनेका थिए । कारण नम्बर १.ज्येष्ठ नागरिकको खोप दर न्यून हुनु । कारण नम्बर २. संक्रमणले घेर्नु अघि समग्र खोप दर कम हुनु। कारण नम्बर ३. हेल्थ केयर सिस्टम ध्वस्त हुनु। यावत कारणले उपयुक्त आँधी (perfect storm ) को लागि हङकङ तयार भएको थियो ।( मार्च ७ तारीख २०२२ को टवीटबाट )।
हङकङमा संक्रमित केस संख्या डढेलो जस्तो सल्केर बढनुको एउटा प्राथमिक कारक तत्व ओमिक्रोन आफै भएको कुरा श्रीधर भन्छन।

हङकङ युनिभर्सिटीका भाइरोलोजिस्ट सिद्धार्थ श्रीधर

बायोएन्टेक र साइनोभ्याक दुबै खोप दीर्घ रोग भएकाहरुलाइ समेत उपयुक्त भएको उनले बताए। अध्ययनले बताए अनुसार बायोएन्टेकको तीन डोज खोप ओमिक्रोनलाई रोक्ने अचुक अश्त्र प्रमाणित भएको छ।

मार्च १६ तारीख २०२२ को एक टेलिभिजन कार्यक्रममा बोल्दै संक्रामक रोग विशेषज्ञ आइभन हुङले अब चौथो  ओमिक्रोन लक्ष्यित खोप पनि आवश्यक भैसकेको बताए।
त्यसो त हङकङ सरकारले मार्च २१ तारीख सोमबारबाट चौथो डोजको लागी अन्लाईन बुकिङ खुला गरयो। १२ वर्ष माथिका  इम्युनोसप्रेस्ड अर्थात रोग प्रतिरोधात्मक क्षमता दबिएको अवस्थामा रहेका रोगीहरु ( क्यान्सर , मधुमेह , एड्स आदि रोग भएको) ले तेस्रो खोप लगाएको तीन महिनापछि चौथो खोप लाउन सक्छ्न भनिएको थियो ।

अप्रिल ८ तारीख हङकङ सरकारले साइनोभ्याक र बायोएन्टेकको तीन डोज लगाएको समय तीन महिना भैसकेको उमेरले ६० नाघेका नागरिकले अब चौथो डोज लाउदा हुन्छ भन्यो। योग्य उमेदवारले सोही दिनको टिकट लिएर भ्याक्सिन लागाउन सक्छन भनेको थियो ।
कोभिड संक्रमित हुनु भन्दा अगावै तीन खोप लगाइसकेका निको भएका  नागरिकले चौथो डोज लाउनु पर्दैन ।
२०२२ अप्रिल १७ तारीख आइतबार सम्मको रेकर्ड अनुसार हङकङमा ३ वर्षदेखि माथिका नागरिकको पहिलो डोजको खोप दर ९० प्रतिशत र दुई डोजको खोप दर ८० प्रतिशत पुगेकोछ।

क्विइन एलिजाबेथ अस्पतालको आकस्मिक कक्षमा रहेको स्टोर एरियामा राखिएको शबहरु

“तथ्यांक आफै बोल्छ- अस्पतालमा भर्ना भएकाहरू प्रायःजसो  खोप नलगाएकाहरु थिए । नाजुक अवस्था सामना गर्नेहरु वृद्ध वृद्वा थिए । यसैबाट थाहा हुन्छ कहाँ चुकियो भन्ने कुरा” धनसेकरणले भने।

आखिर किन हङकङवासीले समय मै खोप लाउन हिचकिच गरे त ? यस बारेमा केहि अतिरिक्त  तर्कहरु पनि  अघि सारिएको छ । एक – प्रजातन्त्र समर्थकद्वारा छेडिएको आन्दोलनका असरका कारण सरकारले जनताको विश्वास गुमाउनु , दुई – राष्ट्रिय सुरक्षा ऐन कार्यान्वयन गरेर नागरिकलाई सामुहिक गिरफ्तार गर्नु , तीन- खोपले पुर्याउने संभावित नकारात्मक असरलाइ आवश्यकता भन्दा बढी महत्त्व दिनु।

के साइनोभ्याक खोपको प्रयोगले संकटलाई बढाएको हो त?
सरकारी आँकडा हेर्दा ७० वर्ष भन्दा माथिका नागरिकले साइनोभ्याक भ्याक्सिन रुचाइएको देखिन्छ । तर केहि अध्ययनले ज्येष्ठ नागरिकको हकमा बायोएन्टेक जति यो खोप प्रभावकारी नभएको देखिन्छ बिशेष गरि ओमिक्रोनको मामिलामा। तर केहि नर्सिङ होममा केवल साइनोभ्याक खोप मात्र वासिन्दालाई दिइन्थ्यो। हङकङमा चीन उत्पादित साइनोभ्याक खोपलाई सरकारले प्रोमोट गरेर खोपमा राजनीति गरेको आरोप नगण्य नागरिकले लगाएका थिए । जसले खोप प्रतिको नागरिक उदासीनता बढायो।

धनसेकरणका अनुसार कोरोनाभाइरसको पहिलेका भेरिएन्टका विरुद्ध साइनोभ्याक खोपले अन्य थुप्रै देशहरुमा राम्रो काम गरेको थियो तथापि बायोएन्टेक जति प्रभावकारी भने चाहिँ थिएन ।
हङकङको सन्दर्भमा साइनोभ्याक खोप त्यति ठुलो विषय होइन । तर खोप दर कम हुनु निस्संदेह ठुलो समस्या  हो उनले भने ।

हङकङको क्यारिटास मेडिकल सेन्टर बाहिर पट्टी मृत्यु कुरेर बसेका विरामीहरु।१६ फेब्रुअरी २०२२

हङकङले व्यहोरेको कोभिड लहरलाई  संसारका तीन वटा अन्तर्राष्ट्रिय शहर संग तुलना गर्दा अझ स्पष्ट तस्वीर आउँछ भनेर हङकङ फ्री प्रेसले तुलनात्मक तथ्यांक जारी गरेको थियो । ती शहर हुन लन्डन ,न्युयोर्क र सिंगापुर ।
अत्यन्त संक्रामक ओमिक्रोनले यी चारै शहरमा बिशेषगरि छुट्टीको सिजन सकिएपछि मृत्यु दर ह्वात्तै बढाएर ल्याएको थियो । तर हङकङको मृत्यु संख्या र संक्रमण दरले सबैलाई उछिन्यो।
हङकङमा मर्नेको संख्या बढी भएर अस्पताल प्राधिकरणले मृत्यु संख्याको दैनिक तथ्यांक निकाल्न नसक्ने अवस्था आएको थियो ।

मृत्यु हुने समुह

भ्याक्सिन दर कम भएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले नै हङकङको मृत्यु संख्याको ठुलो हिस्सा ओगटेको थियो । अस्पताल भर्ना गरिएका ६० प्रतिशत वयोवृद्धलाई बचाउन सकिने स्थिति थिएन । ८० वर्ष या सो भन्दा माथिका केवल ३० प्रतिशत नागरिकले मात्र दुई मात्रा या सो भन्दा बढी खोप लगाएका थिए ।

जबकि ८० वर्ष वा सो भन्दा माथिका नागरिकको खोप दर लन्डन ,न्युयोर्क  वा सिंगापुरको हङकङको भन्दा डबल थियो । 

मार्च १२ तारीख सम्मको कुरा गर्ने हो भने पाँचौ लहरका कारण मृत्यु भोग्ने ९० प्रतिशत नागरिकले सुइ लगाएका थिएनन , लगाएको भए नि एउटा खुराक मात्र लगाएका थिए ।

हङकङकि कार्यकारी प्रमुख क्यारी लामले पनि मार्च ११ तारीख शुक्रबारको दैनिक प्रेस सम्मेलनमा ज्येष्ठ नागरिकमा खोप लगाउने पहिलाको कदम यथेष्ट नभएको स्विकारेकी थिइन।
त्यसो त क्यारी लामको स्विकारोक्ती पुर्व नै  हङकङका लिडिङ माइक्रोबायोलोजिस्ट युन कोक युङले नर्सिङ होमले खोप लगाउने उपयुक्त समय गुमाइसकेको बताएका थिए र पाँचौ लहरको सबैभन्दा बढी मुल्य ज्येष्ठ नागरिकले तिर्नु परयो भनेका थिए ।

पाचौं लहर नियन्त्रण गर्ने सरकारको निति नै त्रुटिपूर्ण भएका कारण यत्रो वृद्ध वृद्वाले ज्यान गुमाउनु परयो। यो मानव निर्मित दुर्भाग्य थियो  भन्ने जन गुनासो पनि आएको  थियो ।

हङकङमा कोभिडको स्थिति कस्तो रहन्छ भविष्यमा ?

प्रोफेसर बेन काउलिङ

ओमिक्रोन महामारीको अन्त्य भएको एक दुई महीनासम्म भाइरस विरुद्ध हङकङको इम्युनिटी अति बलियो हुनेछ भन्छन हङकङ युनिभर्सिटीका महामारी विद प्रोफेसर बेन काउलिङ। हङकङको ७० प्रतिशत भन्दा बढी नागरिक संक्रमित भैसकेका कारण त्यसले उत्पादन गर्ने प्राकृतिक रोग प्रतिरोधात्मक शक्ति उच्च हुनेछ  र त्यसमाथि अझ भ्याक्सिन दर उच्च हुनाले त्यसलाई दह्रो मलजल गर्दछ उनले थपे ।

हङकङमा मात्र होइन विश्व स्तरमा पनि यही कुरा लागु हुन्छ भन्छ्न प्रोफेसर धनसेकरण। केहि वर्षको अन्तरालमा विश्व जनसंख्याको ठुलो हिस्साले खोप लगाइसकेका हुनेछन। त्यतिन्जेलमा मानिसहरु धेरै चोटि संक्रमित पनि  भैसकेका हुनेछ्न र यसो हुँदा उनीहरुको शरीरमा इन्फेक्सनसंग लडने बलिष्ठ प्रतिरोधात्मक शक्ति प्रजनन भैसकेको हुनेछ।

बिल गेटसले केहि समय अघि ओमिक्रोनलाइ धन्यवाद दिनुपर्छ भनेका थिए । अधिकांश मानिसमा ओमिक्रोन संक्रमणले प्राकृतिक रोग निरोधक शक्ति उत्पादन गराइदिएकोछ। ओमिक्रोनले वास्तवमा खोपको काम गरेको छ गेटसले भने।
तर यस पटकको महामारीलाई  नियन्त्रण गर्न मानिसलाई दुई वर्ष भन्दा ज्यादा लागेकोमा उनले दुख प्रकट गरेका थिए । अब भविष्यमा आउने महामारीलाई हामीले ६ महिना भित्र नियन्त्रण गर्न सक्नुपर्छ गेटसले भने। कल्पनातित महामारी समयको कुनै पनि फेरोमा आउन सक्छ सोचेर पुर्व तयारी बस्नु मानिसको लागि सदा स्मरणीय पाठ हुनसक्छ ।

तपाईको प्रतिक्रिया