काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलन गरेर अदालतलाई तर्साउने काम गर्न नहुने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने पनि देउवाले बताए । ‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं ।’

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस सूचना, सन्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’

उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए । ‘स्वतन्त्र न्यायालय बचाइ राख्नुपर्छ । स्वन्तन्त्र न्यायलयको निर्णय हामीले मान्नुपर्छ,’ उनले भने । तर प्रजातन्त्र, मानवअधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने उनले बताए ।

तपाईको प्रतिक्रिया