विषय प्रबेश –
समसामयिक नेपाली वाङमयमा पहिचानको स्वर अत्यन्तै वाचाल देखिएको छ । विशेष गरेर २०६२-६३ को जनआन्दोलनपछि पहिचानको मुद्दा सतहमा देखिन आयो । सदियौंदेखि उत्पीडनमा पारिएका आदिवासी जनजाति, सिमान्तकृत, दलित, मधेसी र लैङगिक आवाजहरु सर्वत्र मुखरित हुन थाल्यो । बिस्तारै पहिचानको विषय राजनैतिक पार्टीहरुदेखि सामाजिक संघ संस्थाहरुमा समेत प्रबेश भयो । विकट मोफसलको सडकदेखि सिंहदरबारको सदनसम्म बिश्लेष्य विषयको केन्द्र बन्यो । सिङगै नेपाली सिने जगतदेखि साहित्यको सबै विधाहरुमा घुसिन पुग्यो र तातो बहसको बातावरण सिर्जना गरयो ।

समयान्तरमा आएर अहिले पहिचानको विषय सामयिक नेपाली साहित्यको प्रमुख प्रवृत्तिको रुपमा स्थापित भएको छ । नेपाली वाङमयको क्षेत्रमा कविताको प्रयोगवादी धारासंगै सुषुप्त रुपमा स्वपहिचानको खोजी हुन थालेको हो । सर्वप्रथम आयामेली कवि बैरागी काइँलाले आफ्ना कविताहरुमा प्रचुर किराती मिथकहरुको प्रयोग गरेको पाइन्छ । त्यसपछि महाकवि थाम्सुहाङ पुष्प सुब्बा, जसराज किराँती, भूपाल राई लगायतका अग्रणी पुस्ताहरुले आफ्ना काव्यहरुमा सर्वाल्टनका विषय, मिथक र प्रतीकहरुको सघन प्रयोग गरेका छन ।

कवि संदेश सुब्बा

अघिल्ला पुस्ताहरुलाई पछ्याउँदै सामुहिक रुपमा सिर्जनशील अराजक साहित्यिक आन्दोलनका अभियन्ताहरु फरक विचार सहित हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाहरुले आवाज थप बुलन्द गरयो । रंगबादी कविहरु : धर्मेन्द्रविक्रम नेम्बाङ, स्वप्नील स्मृति, चन्द्रबीर तुम्बापो, चन्द्र योङया र उत्तरवर्ति सोचका अभियन्ताहरु थाम्सुहाङ पुष्प सुब्बा, राज माङलाक, भवानी तावा, यलम्बर थाम्सुहाङ र सगुन सुसाराहरुले आन्दोलनमा थप हास्टेमा हैंसे पुरयाउने काम गरे । त्यसपछि कुकुर कविता आन्दोलन लिएर संगम सुहाङ, मधुराज केरुङ, टंक सेलिङ, विवश बेनाम र सुनिल आङबोहरुले कुकुरीय स्वभावमा आफ्ना आवाजहरु चर्को रुपमा उराले । शनैःशनैः आदिबासी जनजाति पहिचानको मुद्दा साहित्यमा देशव्यापी सल्कियो । अहिले आदिवासी जनजाति समुदायका छिमले सर्जकहरुमा पहिचानको लेखन प्रमुख विषय बनेको छ ।

कवि सन्देश सुब्बाको परिचय
कवि सन्देश सुब्बा (२०४६) साहित्यमा अपरिचित नाम होइन । साठीको दशकदेखि नै कविता, गीत, गजल र पत्रकारीता क्षेत्रमा उदाएका प्रतिभा हुन । उनले हालसम्ममा आगोको सौन्दर्य कविता संग्रह (२०७३), सम्झनाको आँधी गजल संग्रह (२०७८), दुई कृतिरत्नहरु प्रकाशित गरिसकेका छन । दोस्रो विश्वब्यापी खुला कविता प्रतियोगिता (२०१५) का प्रथम, पूर्वाञ्चलब्यापी खुला कविता प्रतियोगिता (२०७२) दोस्रो, फिदिम नगर पत्रकारिता पुरस्कार (२०७८) लगायतका पुरस्कारहरु हातलागि गरिसकेका छन । स्थानीय पत्रपत्रिका, विभिन्न अनलाइन र राष्ट्रियस्तरका म्यागजिन पेपरहरुमा उनको प्रशस्त रचनाहरु छापिएका छन । उनी यतिबेला आफ्नो जन्मथलो पान्थर सिवाको बाह्मुरेमा बसेर निरन्तर साहित्यमा साधना गरिरहेका छन । उनका हरेक रचनाहरुमा आदिवासी जनजातिको पहिचानलाई केन्द्रिय विषय बनाएर कलम चलाइएको पाइन्छ । यस बसाइमा सुब्बाको कविता संग्रह आगोको सौन्दर्य कविता संग्रहलाई उधिन्ने प्रयास गरिएको छ ।

कवि सन्देश सुब्बाकृत कविता संग्रह आगोको सौन्दर्यलाई विभिन्न शीर्षकहरुमा पर्गेल्न सकिन्छ । तथापी यहाँ सिंगो कृतिलाई समष्टिगत रुपमा केलाउने सततः प्रयत्न मात्र गरिएको छ । भनिन्छ, कवि, गीतकार, गायक, संगीतकारहरु आफ्ना समाज र परिबेशभन्दा पर उभिएर काव्य सिर्जना गर्न सक्दैनन । आफ्ना कवितामा आफूले बाँचेको परिबेश, युग, काल र समयको तरङगहरु नै प्रतिविम्बित भएका हुन्छन । प्रस्तुत सुब्बाका कविताहरुमा पनि आफ्नो लिम्बु जातिसंग सम्बद्ध मुद्दाहरुलाई नै मुख्य विषय बनाएर कविताहरु सिर्जेका छन । अंग्रेजी कवि टि.एस.इलियटले प्रत्येक कवि मन आफ्नो जातीय संवेदनाप्रति नतमस्तक हुन्छ भनेका छन । यहाँ सुब्बाले पनि नतमस्तक भएर सबै जाति, भाषी, धर्म र समुदायको समाबेशी र साझा लिम्बुवान राज्यको माग गरेका छन । आफ्नो एक विद्रोहीको वक्तव्य कवितामा ।

मैले आकाशको जून माँगेको छैन
मैले स्वर्गको साङग्रीला भनेको छैन
मात्र सदर हुनुपर्छ भनेको हुँ
सबै जाति अँटन सक्ने
सबै भाषा फूल्न सक्ने
सबै धर्म हाँस्न सक्ने
इतिहासको मेरो लिम्बुवान । पृ– ४० ।

सुब्बा लिम्बुवानको गाउँवस्तीमा खेली हुर्केका कवि हुन । उनले आँखामा आफ्ना परिबेशको चित्र कैद गरेर राखेका छन। उनलाई वरिपरिको डाँडाकाँडा, खोलानाला, झरना, पहाडपर्वत, छाँगा, छहरा र पाखापखेराहरुको खूब माया लाग्छ र त द्रविभूत भएर थुप्रै कविताहरुमा स्थानीकताको प्रष्ट चित्र उतारेका छन । जस्तै:

उस्तै उभेको छ सिलौटी डाँडा
बगिरहेको छ सिवा खोला । (साथीलाई चिठी, पृ –१४)
मान्छेहरु छन
गाडीहरु छन
जि.वि.स. छ
प्रशासन छ
स्वयम समयसंग बेखबर घण्टाघर छ
सरकारी अड्डा अफिसहरु छन
एन. जि.ओ.का कार्यालयहरु छन
र पनि केही छैन जस्तो
रित्तो–रित्तो लाग्दछ
फेदेन । (फेदेन, पृ–२९) ।

उदृत कवितांसहरु बाहेक थुप्रै कविताहरुमा स्थानीकताको चित्र खिचेका छन । आफ्ना कविताहरुमा केवालुङ, फक्ताङलुङ, सुम्हालुङ, बुढासुब्बा जस्ता साँस्कृतिक विम्बहरुको पर्याप्त प्रयोग गरेका छन । यस किसिमका विम्बहरुले कवितामा सौन्दर्यको सृष्टि गर्नुका साथै थप उजिल्याउने काम गर्छ र कवितालाई मौलिक कलर दिन्छ ।

बास्तविक कविहरु गरीबगुरुवा, असहाय र पिंधमा परेका भूइँमान्छेका पक्षधर हुन्छन । न्याय र सत्यको पक्षमा उभिएर वकालत गर्छन भनेर साहित्यका महारथिहरुले भनिसकेका छन । समाजका शोषित पीडित हुँदा खानेहरुको गुनासो र दुःखहरुलाई विषय बनाएर काव्य सिर्जना गर्न उद्यत हुन्छन । फान्सेली विद्धान मिसेल फुकोले भने जस्तै लेखक भनेको एउटा कर्म हो, क्रिया हो । ऊ एउटा पाठ खेल्छ भने जस्तै सुब्बा उम्दा शब्द खेलाडी हुन । मसिना विषयहरुलाई पनि कलात्मक पाराले कविता कथुर्न खप्पिस छन । सुब्बाका कवितामा दैनिक ज्यालादारीमा काम गर्ने एक मिस्त्रीका आक्रोसहरु आफ्ना मिस्त्री कविता मार्फत अभिव्यक्तित गरेका छन । यस कविताले संसारका सम्पूर्ण मिस्त्रीहरुको प्रतिनिधित्व गरेको छ ।

म हुँ एक मिस्त्री
प्रत्येक दिन खेलिरहेको हुन्छु
सुत्ता, तगारी, कर्नी र टक्टके संग
ढुँगा, माटो, वालुवा र सिमेन्ट संग
यो परजीवि सहरमा
कति बनाएँ हुँला आलिशान महलहरु ? हिसाब छैन
तर, बनाउन सकेको छुईन आफ्नै सपनाको एउटा छाप्रो ।
कसले बनायो ती अत्याधुनिक महल र कोठाचोटा ?
उपभोक्ताको ढाँड सेक्ने सुपरमार्केट बसेको होस
चाहे गरीब जनताको पसिनाको कमाइले भोज चल्ने मन्त्रालय
दाताको पैसा खान पल्केका एन. जि. ओ. का साइनबोर्ड झुन्डिएको होस
चाहे अरु नै के के थोक
ती अग्ला–अग्ला घर र कोठाचोटा त मैले बनाएको हुँ मैले
तर आज त्यसभित्र छिर्न पनि
पालेको अनुमति चाहिन्छ मलाई
बज्यालाई त्यै घर बनाउँदा चलाएको टक्टकेले
खप्परमै हान्दिउँ जस्तो झोंक चल्छ । (पृ.२५ र २६) ।

मूलतः कवि सन्देश सुब्बा बौद्धिक भन्दा पनि हार्दिक पक्षका कवि हुन । उनका कवितामा कारुणीकता र भावुकता बढी झल्किन्छ । विद्यमान नेपाली समाजमा युवा पुस्ताहरु बैदेशिक रोजगारीमा पलायन हुनुपर्ने दुखद अवस्था छ । विदेश जाने नेपाली दाजुभाईहरु धेरै जसो रातो बाकसमा फर्कन्छन । यस विषयलाई लिएर मनमाया कवितामा कारुणीक दृष्यविम्ब उतारेका छन ।

साँच्चै आज
पसिना बेचेर सपना किन्न गएको
उसको लोग्नेको मृत शरीर
आफ्नै अगाडि आइपुग्दा
उनी अर्थात मनमाया
न त हाँस्न सकेकी छ
न त रुन सकेकी छ
बरु उसलाई लाग्दैछ
कि, उसले टेकेको यो धरती नै
क्रमशः तल तल भासिदै–भासिदै गइरहेको छ । (पृ, २४)

यथार्थमा म कवि सुब्बाको दौंतरी र सुख दुःखको साँक्षी हुँ । उनी कस्तो सोच्छन ? के गर्छन ? के खान्छन र कस्तो लाउँछन ? उनको फेहरिस्तसंग म ज्ञातव्य छु । असलमा भन्ने हो भने उनी एकतर्फि प्रेमी पनि हुन । उ धेरै चोटी प्रेमप्रणयमा परेको छ र प्रेममा ज्युँदै मरेर बाँचेको छ । कतिपटक हाँसेर रोएको छ । ति आफ्ना यथार्थ भोगाइका प्रेमील अनुभव र अनुभूतिहरुलाई आफ्ना प्रेम तिमी, माया, बुढो प्रेमी र प्रेमीका, उपहार, हजुरको नाममा, कविताहरु मार्फत यसरी व्यक्त गरेका छन ।

विहानै दुबो पातहरुमा टल्किने
शीतको अनुहार
तरुनी फूलको मादक सौन्दर्य
अर्थात
मध्यरातमा पश्चिम क्षितिज ताकेर
एकसुरले हिंडिरहेको जून
सबै–सबैमा छौ तिमी । (पृ, ५०)

कि यै हातले रंगिएको भए तिम्रो सिउँदो
जीवन रहुञ्जेल तिमीलाई
यस्तै माया गरिरहन सक्थें । (पृ, ५३) ।

तिमी हिंडने बेलामा
तिम्रै हातमा राखिदिएको हुँ
तिमीले लेखेका प्रेमपत्रहरुको पोको
तिमीले नमाने पनि
तिम्रै सिरमा सिउरीदिएको हुँ
प्रणय दिवशको दिन
तिमीले दिएको रगतरङगे गुलाफको फूल
र, फिर्ता गरेको हुँ
जीवनको कविता लेख है भनेर
तिमीले सप्रेम दिएको निलो डायरी र कलम
अनि तिम्रा जम्मै फोटोहरु । (पृ, ५४ र ५५) ।

मलाई माफ गर मेरी जून
आज यै कविता मात्र छ
तिमीलाई स–प्रेम समर्पण गर्छु । (पृ, ६०) ।

कहिले काँही त झोंक चल्छ हजुर सम्झेर
झोंक चल्छ
हजुरको मनलाई पानी पानी बनाउने चिठी लेखुँ है भन्दा
दश कक्षा फेल भएको सम्झेर
झोंक चल्छ
सल्लेरी वनमा हजुरलाई सम्झिदै घाँस काटुँ है भन्दा
हातको औंला मात्रै काटेको सम्झेर । (पृ, ६३) ।

अन्य कविताहरु ढुँगा र इश्वर, मन्दिर र माग्ने, कविको धर्म, वि.पि. पार्क, साथीलाई चिट्ठी , इक्साहाङमा, एउटा कविता बहिनीको नाममा, फागुन १७, ०६४, र चैत ६, ०६४, युद्ध अस्तित्वको, कविताको तरवार लगायतका कविताहरुले समसामयिक विषयहरुको उठान गरेका छन । साथीलाई चिट्ठी , एउटा कविता बहिनीको नाममा र युद्ध सहअस्तित्वको शीर्षकका कविताहरु मौलिक साँस्कृतिक रंगले लेखेका कविताहरु हुन । कविले मुन्धुमी अधिचेतनामा लिम्बु लवजका कविताहरु पनि पस्केका छन । कविताहरु पाठ गर्दे जाँदा खाँटी लिम्बु कविले नै लेखेको कविता हो भन्ने अनुभूति हुन्छ ।

निष्कर्ष
कवि सन्देश सुब्बा जति राम्रो कविता लेख्छन त्यो भन्दा झन राम्रो वाचन गर्छन । उनले कविता वाचन गर्दा मन्त्रमुग्ध नहुने स्रोता शायदै होलान । कविताहरु कोमल शब्द र पदावलीहरुले बुनिएका छन । मसिनो र प्राञ्जल भाषाशैलीको प्रयोगले सर्वसाधारण पाठकहरुले पनि बुझ्न सक्ने पठनीय बनेका छन । आफ्ना साँस्कृतिक मिथक र विम्बहरुले नवीन सौन्दर्यको सृष्टि गरेका छन । कवितामा बढो भद्रतापूर्वक शालिन भाषामा पहिचानका स्वरहरु सुसेलेका छन । यद्यपी उनका कवितामा जति विचार पक्ष सबल भएर आउनुपर्ने हो त्यो हुन सकेको छैन । आफ्ना समुदायका अग्रणी कविहरुको ठाडो प्रभावबाट भने आफूलाई जोगाउन सकेका छैनन । आगामी दिनहरुमा अझै सुन्दर र शक्तिशाली कविताहरु सिर्जना गर्न गम्भीर अध्ययन र चिन्तन गर्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया