काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थपुर्तिमा केन्द्रित रही अराजक भएकाले संसद विघटन गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत नेता रहको आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको पनि प्रष्ट पारेका छन् ।

प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका सांसदहरू अनुशासनहीन भएको र सभामुखले पनि पदीय मर्यादाअनुसार काम नगरेकाले ‘ताजा जनादेशको दबाई’ खोजेको प्रष्ट पारे । आफ्नो संबोधनको क्रममा प्रधानमन्त्री ओलीले सरकारले निर्णयका लागि संसदमा पठाएको बिषयलाई सभामुखले रोकेर राखेको तथ्य पनि खोले । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको ओलीको आरोप छ ।

‘संसदले गर्नुपर्ने निर्णय नगरेर सभामुखले रोकेर राखेका छन । संसद् विघटन भइसकेपछि केही सांसदहरूले हस्ताक्षर लगेर साढे ३ बजे प्रस्ताव पेस गरे । विघटन भइसकेको संसदको अविश्वास प्रस्तावको कुनै अर्थ थिएन,’ सभामुख सापकोटाले किर्ते गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन भइसकेपछि साढे ३ बजे आएको अविश्वासको प्रस्ताव १०ः४० मै आएको थियो भनेर किर्ते सनाखत गरेको थियो । सभामुखजस्तो मर्यादित पदबाट वैधानिकता दिनका लागि साढे १० बजे भएको छ भनेर झुटो सनाखत, सभामुखबाट किर्ते काम भयो, लज्जास्पद भयो ।’

सभामुख सापकोटा र आफ्नै दलका सांसदहरू अराजक भएको कारण त्यसको विकल्प ताजा जनादेश भएको प्रधानमन्त्रीको भनाई छ ।
‘यसको दबाई ताजा जनादेश हो । चल्नै नसक्ने संसदको दबाई ताजा जनादेश थियो । संसद अनुशासनहीन र अराजक भयो,’ प्रधानमन्त्री ओलीले भने । पार्टीभित्र अस्थिरतातर्फ लैजाने काम भएकाले आफूले कदम चालेको भन्दै उनले अब निर्वाचनतिर मुलुक होमिएको बताए । ‘बहुमत, अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि हुन्छ । त्यो देखाउनका निम्ति सक्रिय हुन आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने । बहुमत भए निर्वाचनबाट आउन पनि ओलीले आग्रह गरे । प्रचण्ड र माधव समुहले गणतन्त्र र संघीयता ठीक होइन भन्नेहरूलाई बढावा दिइरहेको खुलासा पनि प्रधानमन्त्री ओलीले गरे ।

आफ्नो र राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा प्रचण्ड र माधव समुह लागेर राजतन्त्र सही हो भन्नेहरूलाई ठाउँ पुगिरहेको उनको भनाइ थियो । ‘यहाँ त राजा चाहिन्थ्यो भन्नेलाई ठाउँ दिनलाई राष्ट्रपतिको हुर्मत लिने काम भएको छ । संविधान खत्तम हुन्छ भन्ने निरर्थक कुराहरूको हल्ला चलाइएको छ । संविधान कार्यान्वयनका लागि मैले कदम चालेको छु । प्रणालीको रक्षा हुन्छ भनेर त्यसका लागि मैले कदम चालेको छु । पार्टीले यस अभियानलाई ठीक ढंगले अगाडि बढाउँछ भनेर त्यसका लागि मैले यो कदम चालेको छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नहुने भन्दै सबैलाई निर्वाचनमा आउन सवैलाई आग्रह पनि गरे । उनले आफू नेतृत्वको नेकपा नै आधिकारिक रहेको भन्दै सूर्य चिह्न आफूले पाउनेमा ढुक्क रहन कार्यकर्ताहरूलाई आश्वस्त पारे । ‘कसैले निवेदनको चिर्कटो निर्वाचन आयोगमा पुर्याउँदैमा वैधानिकता प्राप्त हुँदैन । हामी वैधानिक नेकपा हौं । अदालत र आयोगमा उहाँहरु जानुभएको छ । हामी यहाँ छौं भनेर छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्था हाम्रो होइन । दुनियाँलाई थाहा छ हामी कहाँ छौं । उहाँहरु अलपत्र पर्दै हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले प्रचण्ड माधव पक्ष अभद्र र अशिष्ट भाषा र नारासहित सडकमा पुगेको भन्दै नारी अस्मितामाथि खेलबाड जस्तो गम्भीर अपराध गरिरहेको बताए । राष्ट्रपति संस्थामाथि असभ्य आक्रमण गरेर प्रचण्ड पक्ष गणतन्त्रविरुद्ध लागेको उनको भनाई छ । ओलीले प्रचण्ड माधव पक्षले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानु परेको र त्यो अधिकार संविधानले दिएको प्रष्ट पारे ।

 

तपाईको प्रतिक्रिया