स्थानीय तहको निर्वाचनका लागि सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बेचन मेहेता विजयी भएका छन । नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव बिजयी भएकी छिन ।
जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका हुन भने कांग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएकी हुन ।

जसपाको तर्फबाट पालिकाको अध्यक्ष पदमा बिजयी भएका बेचन मेहताको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता श्यामलाल मेहताले ६ हजार ३ सय ५८ मत प्राप्त गरी पराजित भएका छन । अध्यक्ष पदमा बेचनले ५ सय १६ मतले कांग्रेसका नेता मेहतालाई पछि पार्दै बिजयी भएका हुन ।
त्यसैगरी नेपाली कांग्रेसकी नेतृ कुमारी विभा यादवको प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीकी नेतृ आशमनी कुमारी यादवले ६ हजार ९७ मत प्राप्त गरी उनीसँग १५ मतले पराजित भएकी छिन ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट पालिकाको अध्यक्ष पदका बेचन मेहता नेपाली कांग्रेसका उम्मेदवार लाली प्रसाद मेहतासँग पराजित भएका थिए । जनताको मन जित्दै पाँच वर्षमा संगठन निर्माण गरेर यस पटकको स्थानीय तहको निर्वाचनमा मेहता भारी मतले बिजयी भएका हुन ।
सुनसरीको १२ वटै स्थानीय तह मध्ये यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले पालिकाको अध्यक्ष पदमा पहिलो पटक निर्वाचित भएका हुन । पालिकाको अध्यक्ष पदमा जसपाबाट पहिलो खाता खोलेर सुनसरीमा पार्टीको नाम उच्च राखेको जसपाका नेताहरुको भनाई छ । जनताले विश्वास गरेर दिएको मतलाई कदर गर्दै पाँच वर्षे कार्यकाललाई जनतामुखी सेवामा समर्पित रहने नवनिर्वाचित अध्यक्ष मेहताको कथन छ ।
देवानगंज गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुर्य नारायण पाल, वडा नम्बर–२ मा नेकपा एमालेका जगनारायण मेहता, वडा नम्बर–३ मा जसपाका अनिल भगत, वडा नम्बर–४ जसपाका सुशिल मेहता, वडा नम्बर–५ मा नेकपा एमालेका मनोज कुमार मण्डल, वडा नम्बर–६ मा हरिनन्दन मेहता, वडा नम्बर–७ मा सुर्य नारायण यादवको प्यानल सहित निर्वाचित भएका छन ।

तपाईको प्रतिक्रिया