नर प्रसाद लुम्फुङवा लिम्बु


निर्दलीय पञ्चायती व्यवस्था मै लिम्बुवान अटोनोमस (स्वायत्तता) को माग राख्दै राजनीतिक संगठन खोलेर अगाडि बढेका वीर नेम्बाङ २०२२ साल जुन १२ तारीख  धरानमा आयोजित एक समारोहमा `काङसोरे सम्मान´ बाट सम्मानित भए ।
लिम्बुवान नागरिक समाज युकेको आयोजना र लिम्बु पत्रकार संघ नेपालको व्यवस्थापनमा धरान स्थित चुम्लुङ हिममा यो समारोह  सम्पन्न भएको हो। यस  प्रथम काङसोरे पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा  प्रदेश १ का सभामुख माननीय प्रदिप भण्डारी थिए । उनै प्रमुख अतिथिका हातबाट नेम्बाङलाई रु. एक लाखको चेक र सम्मान स्वरुप ताम्रपत्र हस्तान्तरण गरिएको थियो ।

‘लिम्बुवान नागरिकहरुको चाहना, लिम्बुवान राज्यको पुनस्थापना’ नाराका साथ सन २००८ मा युकेमा स्व. प्रसाद थेबेको सक्रियतामा  लिम्बुवान नागरिक समाज युके नामक संस्था स्थापना भएको थियो । संस्थाका वर्तमान अध्यक्ष छत्र वनेमको सभापतित्वमा सम्पन्न उक्त  सम्मान कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, लिम्बु पत्रकार संघ र विभिन्न थरगत संस्थाहरुको उपस्थिति रहेको थियो ।

`काङसोरे´ पृथ्वीनारायण शाहको सेनापती रघु रानासँग संखुवासभाको चैनपुर सभा खोलामा षडयन्त्रपूर्वक मारिएका लिम्बुवानी सेनापती हुन । उनको नाउँमा रु. १० लाखको अक्षय कोष बनाई हरेक तीन वर्षमा एक लाखको नगद राशी सहित सम्मान पत्रका साथ लिम्बुवानी राजनीति, इतिहास, भाषा, संस्कृति आदिको क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउनेलाई प्रदान हुने लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेमले बताए ।

पुरस्कार ग्रहण गर्दै वीर नेम्बाङ ( बीचमा )


वीर नेम्बाङलाई सम्मान गर्दै प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिप भण्डारीले, ‘वीर नेम्बाङ अपरिचित नाउँ होइन । उनको लिम्बु भाषा,लिपि संरक्षण लगायत राजनीतिक जागरणमा महत्वपूर्ण योगदान रहेको’ बताएका थिए ।


सम्मानित व्यक्तित्व वीर नेम्बाङले सम्मान ग्रहण गर्दै, ‘सम्मानको हकदार आफु नभए पनि लिम्बुवान नागरिक समाज युकेको सम्मानप्रति खुशी लागेको’ र कार्यक्रमलाई संबोधन गर्दै  ‘लिम्बु याक्थुङबाहरु भूमिहीन अवस्थामा पुगेको´ बताए । उनले आफुले ‘सन १९८६ मा लिम्बुवान मुक्ति मोर्चा गठन गरेपछि नेपालमा वान्टेड हुनुपरेको र भारतको पुर्वोत्तर राज्यहरुमा समेत संगठन विस्तार भएको’ रोचक प्रसंग सुनाए ।
सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व वीर नेम्बाङलाई बधाई एवम शुभकामना प्रकट गर्दै किरात याक्थुङ चुम्लुङको संस्थापक सदस्य एवम संघीय सल्लाहकार नरप्रसाद लुम्फुङवाले, ‘पहिलो काङसोरे सम्मान उचित व्यक्तिलाई छनौट भएकोमा सबै लिम्बुवानी अभियन्ताहरु सम्मानित भएको महसुस भएको’ बताए ।

कार्यक्रममा बोल्दै नेम्वाङ

अर्का वक्ता किरात याक्थुङ चुम्लुङको संघीय उप–महासचिव डा.योगेन्द्र पालुङवाले, ‘वीर नेम्बाङले लिम्बुवान स्वायत्तताको माग गरेर पहिचानको राजनीतिको वीउ रोपेको बताउँदै उनी साहित्यिक व्यक्तित्व पनि भएको’ बताए ।
अर्का वक्ता युवा राजनीतिकर्मी ताजुब लिम्बुले, ‘काङसोरे सम्मानको व्यवस्था र सही व्यक्तिको छनौटले लिम्बुवान आन्दोलन कहिल्यै ननिभ्ने आगो भएर रहने’ विचार व्यक्त गरे ।
कार्यक्रममा पुष्पा लिम्बुले ‘लिम्बुवानको लागि सही तरिकाले नेतृत्व हुन नसकीरहेको अवस्थामा वीर नेम्बाङ प्रति आशा बढेको’ बताएकी थिइन।
सम्मानित नेम्बाङको जीवनीबारे लिम्बु पत्रकार संघका सल्लाहकार स्वर्णिमहाङ फोम्बोले प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन लिम्बुवान नागरिक समाज युकेका नेपाल प्रतिनिधी निलिफा सुब्बाले सञ्चालन गरेकी थिइन ।

तपाईको प्रतिक्रिया