क्रान्ति सुब्बा

हङकङ सरकारले कोभिड संक्रमितलाई व्यवस्थापन गर्न मुल भुमि चीनले अपनाएको हेल्थ कोड सिस्टम अर्थात  “रातो, पहेंलो र हरियो स्वास्थ्य कोडहरू” को अभ्यासलाई अनुशरण गर्ने भएको छ र यसलाई हाल कार्यान्वयनमा रहेको लिभहोम सेफ एपमा समावेश गरिने  भएकोछ।

रातो र पहेंलो कोडहरूमा ट्र्याकिङ फङ्सन समाबेश नभएकाले यसले  साधारण नागरिकहरूलाई असर गर्दैन। महामारीको भावी विकाससँग जुध्न शुक्रबार १५ तारिखदेखि यी क्वारेन्टाइनका नयाँ उपायहरू अप्टिमाइज गरिएको हो। बास्तबमा क्वारेन्टाइन वा आइसोलेसनमा बसेका संक्रमितले सम्बन्धित परिसर छाड्नु गैरकानूनी हो र वास्तविक नाम राख्ने प्रणाली लागू भएमा कानून कार्यान्वयन गर्न अधिकारीहरूलाई सहयोग पुग्ने स्वास्थ्य मन्त्री लो चुङ माउले बताएका थिए ।

न्यूक्लिक एसिड परीक्षण मार्फत पोजिटिभ भएका संक्रमितहरूको लिभहोमसेफ ( LeaveHomeSafe) एपलाई “रातो कोड” मा परिणत गरिनेछ जसले गर्दा यी संक्रमितहरूले अस्पताल तथा नर्सिङ होम साथै उच्च जोखिमयुक्त ठाउँहरूमा प्रवेश गर्न पाउनेछैनन । मास्क हटाएर बस्नुपर्ने जग्गाहरु उच्च जोखिमपूर्ण स्थान हुन।

हङकङका स्वास्थ्य मन्त्री लो चुङ–माउले जुलाई ११ को पत्रकार सम्मेलनमा यसबारे विस्तृत रूपमा बताएका थिए। जस अनुसार “रातो कोड” संक्रमित कोभिड-१९ का बिरामीहरू पहिचान गर्न प्रयोग गरिने छ भने “पहेँलो कोड” तोकिएको होटलमा क्वारेन्टाइन पूरा गरेर  होम क्वारेन्टाइनमा बसेकाहरूलाई पहिचान गर्न प्रयोग गरिनेछ। माथि जनित कोड प्राप्त गर्नेहरू कसैले  कुनै पनि रेस्टुरेन्ट र विभिन्न निर्धारित परिसरहरूमा प्रवेश गर्न अनुमति पाउने छैनन। जुलाई  १५ तारिखदेखि घरमा क्वारेन्टाइन बसेका संक्रमित व्यक्तिहरूले घरबाट बाहिर ननिस्कने कुरा सुनिश्चित गर्न इलेक्ट्रोनिक ब्रेसलेट लगाउनै पर्ने कुरा पनि मन्त्रीले बताएका थिए ।

जुलाई १२ तारीख हङकङका कार्यकारी प्रमुख जोन लीले कार्यकारी परिषदको बैठकमा जानु पुर्व गरिने नियमित मिडिया भेटमा हङकङले अख्तियार गरेको कोभिड नियन्त्रण प्रणालीबारे प्रकाश पारेका थिए ।

लीले प्रत्येक सरकारले आफ्नो देशको परिस्थिति अनुसार कोभिड नियन्त्रणका उपायहरु अवलम्बन गरेका हुन्छन् । हङकङ वृद्धवृद्धाको जनसंख्या उच्च  रहेको स्थान हो। यो सहरको जन घनत्व पनि अती घना छ। त्यसैले भाइरस सिघ्र गतिमा फैलिने जोखिम यहाँ उच्च छ उनले  भने ।

हङकङका कार्यकारी प्रमुख जोन ली

पाँचौं लहरको समयमा सरकारले अपनाएको सुरक्षा मार्जिन पर्याप्त नभएको विशेष गरि ओमिक्रोनको द्रुत गतिमा प्रसारण हुने क्षमताको अघि भन्ने कुरा सरकारले अनुभव गरेको उनले बताए । त्यसैले सरकारले यी दुई जोखिमलाई सन्तुलनमा राख्नुपर्छ । सरकारले मुलरुपमा उच्च जोखिममा रहेका व्यक्तिहरू जस्तै वृद्धवृद्धा, साना बालबालिकाहरू र दीर्घकालीन रोगबाट पीडित व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नुपर्दछ किनकि यस्तो अवस्थामा तिनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ साथै उच्च जोखिमयुक्त क्षेत्र जस्तै चिकित्सा पेशाका व्यक्तिहरूलाई पनि ख्याल गर्नुपर्दछ। सर्वप्रथम सरकारले यो पक्षबाट हुने जोखिमलाई सन्तुलनमा राख्नुपर्छ । फलस्वरूप सङ्क्रमित हुनेको संख्या बढ्न पाउदैन  र चिकित्सा र अस्पताल प्रणाली धरासायी हुन पाउदैन । साथै  उच्च जोखिमलाई सामना गर्नुपर्ने अबस्थामा रहेका मानिसहरूलाई पर्याप्त रूपमा सुरक्षित गर्न सकिन्छ उनले थपे।

सरकार आफ्नो कार्यमा वैज्ञानिक र सठिक हुन अति  आवश्यक छ अहिले अनि मात्रै यसले उच्च जोखिम सामना गर्ने मानिसलाई जोगाउन सक्छ, र सोही बखत हङकङ भित्र र बाहिर सुविधाजनक ढंगले आवतजावत गर्न सजिलो हुने स्थिति सिर्जना हुदछ। यसर्थमा सरकारले होटल आइसोलेसन वा होटल क्वारेन्टाइन बस्नु पर्ने दिनको संख्या घटाउने प्रयास गरिरहेको छ, ताकि आगन्तुकहरूले आफ्नो सामान्य गतिविधिमा शिघ्र जान सकून्। यो एउटा यस्तो  सन्तुलन कार्य हो जसलाई फत्ते गर्न त्यति सजिलो छैन तर वास्तविक परिस्थितिको  आधारमा विचार पुर्याउनु भने अवश्य पर्दछ उनले जोड दिदै भने ।

हेल्थ कोड सिस्टम केवल दुई प्रकारका मानिसलाई लक्षित गरि बनाइएको उनले स्पष्ट पारे। त्यसलाई बिशिस्टकृत गरेर  थोरै संख्यामाथि मात्र केन्द्रित गरिएको छ । जस्तै रातो कोड कोभिड-१९ बाट संक्रमित भएका व्यक्तिहरूलाई पहिचान गर्ने उद्देश्यले राखिएको हो जसले गर्दा उनीहरू भाइरस फैलाउन यताउता जान सक्दैनन् । लक्ष्यित दोस्रो समूह पनि धेरै सानो छ र त्यसलाई राम्रोसँग परिभाषित गरिएको छ। त्यो समुहमा पर्ने मानिसहरू भनेको क्वारेन्टाइन होटलमा राखिएका व्यक्तिहरु हुन । सरकारले ती क्वारेन्टाइनरत मानिसहरुका लागि यो पहेँलो कोड लागू गर्नेछ जसले  उनीहरूलाई केही सीमित गतिविधिहरू गर्न मात्र अनुमति दिनेछ जसले गर्दा व्यापार व्यवसाय ठप्प हुने अवस्था आउदैन ।

जुलाई १२ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २,७६९
.स्थानीय केस संख्या : २,५५८
.पिसिआरबाट पुष्टि केस संख्या : १,१०३
.एन्टिजेनबाट पुष्टि केस : १,४५५
.आयातित केस संख्या : २११ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १३५  जना
.आयातितमा युकेबाट ५६ जना,सिंगापुरबाट १८ जना, थाइल्यान्डबाट १३९ र अमेरिकाबाट १८ जना आएका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ५७
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १९

.साइ कुङ र क्वाइ चिङमा रहेको जम्मा दुई वटा  नर्सिङ होमबाट आएका केस २ वटा ।
.सातिन र चुक युनमा रहेको दुई वटा अपांग आश्रमबा आएको केस दुई वटा ।

.विभिन्न २८५ वटा स्कुलबाट ३६९ वटा केस आएका थिए ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ३० नयाँ  केस थपिएका थिए जसमा १९ लोकल केस अज्ञात स्रोतबाट आएका थिए । ११ वटा केसको सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित १६ वटा नयाँ  केस थपिएका थिए जसमा ७ जना स्थानीय संक्रमित केस  अज्ञात स्रोतबाट आएका  थिए । ९ वटा केसको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,२०७
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : १ जना । मृतकमा एक जना ९४ वर्षकी  महिला परेकी थिइन ।


जुलाई १३

क्वारेन्टाइन अवधि घटाउने र हटाउनेबारे

स्वास्थ्य मन्त्री लो चुङ माउले “एक देश, दुई प्रणाली” को सिद्धान्त अन्तर्गत केन्द्रीय सरकारले हङकङलाई चीनले अपनाएको महामारी रोकथाम नीति अन्धाधुन्ध पछ्याउन आग्रह गर्दैन भनेका थिए । तर मुल कुरा के हो भने कसरी हुन्छ  केसहरूलाई कुसलपुर्वक नियन्त्रणमा लिन आवश्यक छ जसले गर्दा  हङकङले महामारी रोकथाम सम्बन्धि नियमलाई थप कडा बनाउन नपरोस् उनले भने । 

मन्त्रीका अनुसार देश विदेशबाट हङकङ भित्रीएका मानिसले हङकङमा तोकिएका होटलहरूमा व्यतीत गर्नुपर्ने क्वारेन्टाइन अवधिलाई घटाउने योजनामा अहिले सरकार लागि परेको छ। क्वारेन्टाइन अवधिलाई थप घटाउन सरकारले विदेशबाट आएको तेस्रो दिनमा पेश गरिएको न्यूक्लिक एसिड परीक्षणको नतिजाको तथ्यांक अध्ययन गर्नुपर्ने हुन्छ । गत हप्ता मात्र लागू गरिएको यो नयाँ मापदण्डले  सरकारलाई क्वारेन्टाइन अवधि घटाउन महत्वपूर्ण अन्तर्दृष्टि दिने कुरामा दुइमत छैन। यदि हङकङमा देखापरेका  दैनिक कोभिड केस संख्याको तुलनामा  तेस्रो दिन आएको पोजिटिभ केसका नतिजाहरूको कुल संख्या सानो भएमा सरकारले यही वर्षको नोभेम्बरसम्ममा होटल क्वारेन्टाइन अवधिलाई क्रमशः घटाउदै ५ दिन अनि ३ दिन  र सम्भवतः शुन्य सम्म पुर्याउने रणनीति लिएको छ। यद्यपि होम आइसोलेसन समेत गरेर कुल होम क्वारेन्टाइन अवधि भने ७ दिन रहने सम्भावना भने यथावत  छ । अर्थात होटल क्वारेन्टाइन हटाइएता  पनि विदेशबाट आउनेहरूले ७ दिनको होम क्वारेन्टाइनबाट गुज्रनुपर्ने र न्यूक्लिक एसिड परीक्षण गराउनुपर्नेछ ।

स्वास्थ्य मन्त्री लो चुङ माउ

जुन महिनाको सुरुमा हङकङ मौद्रिक प्राधिकरण (HKMA) का  कार्यकारी प्रमुख  एडी यूले आगामी १ र २ नोभेम्बरमा हङकङमा  हुने शिखर सम्मेलनमा सहभागी हुन व्यक्तिगत रूपमा १०० भन्दा बढी वित्तीय अधिकारी, बैंकर र कोष प्रबन्धकहरूलाई निमन्त्रणा गरेको बताएका थिए। बहुपक्षीय हिसाबले उच्च मानिएको उक्त समारोहको व्यवस्थापनलाई सहज तुल्याउन हङकङलाई क्वारेन्टाइन फ्री बनाउन खोजिएको बुझिएको छ। तर मन्त्री लोले संकेत गरेअनुसार त्यतिबेला विदेशबाट हङकङ आउनेहरूले क्वारेन्टाइनबाट गुज्रनु नपरे पनि नियमित पीसीआर परीक्षण भने अवश्य गर्नुपर्नेछ र बार लगायतका अन्य  उच्च जोखिमयुक्त क्षेत्रहरूमा उनीहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाइने छ।

त्यसबेला हङकङ आउने ओभरसिज एराइभल्सहरुलाइ एल्लो हेल्थ कोड प्रदान गरिनेछ र मेडिकल सर्भाइलेन्सका साथ उनीहरु बस्नुपर्नेछ। उनीहरुले कुनै निश्चित स्थानमा क्वारेन्टाइन बस्नुपर्ने छैन तर उनीहरुलाई बार लगायतका उच्च जोखिम एरियामा जान मनाही गरिनेछ।

मन्त्री लोले हङकङ कोभिड-१९ सँग कहिल्यै सहअस्तित्वका साथ नरहने कुरा दृढता पुर्वक व्यक्त गरे । तर कुल दैनिक केसलाई एक हजारको हाराहारीमा ल्याउन सम्भव छ उनले भने। र संक्रमितको संख्या कहिल्यै शून्यमा झर्न नसक्ने कुरा पनि सरकारले बुझेको उनले स्विकारे। सरकारद्वारा आंकलित आन्तरिक मोडल अनुसार हाल चलेको महामारीको यो पाँचौं लहर आगामी सेप्टेम्बर महिनामा उत्कर्षमा पुग्ने अनुमान गरिएकोछ र त्यसबेलासम्ममा १० हजार बिरामी अस्पतालमा भर्ना हुन सक्ने संभावना रहे पनि यो महामारी नियन्त्रण भन्दा  बाहिर नजाने कुरामा  उनले जोड दिए ।

त्यसो त अहिले दैनिक करिब ३ हजारको हाराहारीमा रहेका कोभिड–१९ को सङ्क्रमणले मेडिकल सिस्टम माथि दबाब पुर्याइ रहेको कुरा उनले खुलाए।  लिभहोमसेफ एपमा संक्रमितको वास्तविक नाम उल्लेख गर्ने प्रणाली र हेल्थ कोड प्रणाली सरकारको यी दुईवटा नविनतम दृष्टिकोणको कार्यान्वयनले बास्तबमा गैर संक्रमित नागरिकको निर्वाध चलखेल गर्न पाउने स्वतन्त्रतालाई हनन नगरी महामारीको फैलावटलाई नियन्त्रण गर्नेछ भन्ने कुरालाई उनले पुनः दोहोर्‍याए। वास्तवमा यी दुई खम्बे नयाँ प्रणालीको बैशाखी टेकेर नै हो हङकङका नागरिकहरूले निकट भविष्यमा क्वारेन्टाइन-मुक्त यात्रालाई वास्तविकतामा बदल्ने उनले आत्मविश्वासका साथ भने ।

जुलाई १३ तारीख बुधबार  कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३,१५४
.स्थानीय केस संख्या : २,९४३
.पिसिआरबाट पुष्टि केस संख्या : १,४१४
.एन्टिजेनबाट पुष्टि केस : १,५२९
.आयातित केस संख्या : २११ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०१  जना
.आयातितमा युकेबाट ५३ जना,अष्ट्रेलियाबाट ११ जना , थाइल्यान्डबाट १२ र अमेरिकाबाट २० जना आएका थिए ।
.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ६७
.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : ४३

.४ वटा रेसिडेन्सियल केयर होमबाट ४ वटा केस आएका थिए ।

.विभिन्न ३०९ वटा स्कुलबाट ३८७ वटा केस आएका थिए । जसमा ३१४ जना विद्यार्थी र ७३ जना स्टाफ परेका थिए । ४ वटा स्कुलका कक्षाहरु १ हप्ताको लागि निलम्बन हुने सुचीमा परेका थिए ।

. हङकङमा ओमिक्रोन सबभेरिएन्ट बिए.२.१२.१ बाट संक्रमित ५८ नयाँ  केस थपिएका थिए जसमा ४० लोकल केस अज्ञात स्रोतबाट आएका थिए । १८ वटा केसको सम्बन्ध पुर्व केससंग जोडिएको थियो ।

बिए.४ र बिए.५ बाट संक्रमित २४ वटा नयाँ  केस थपिएका थिए जसमा १५ जना स्थानीय संक्रमित केस  अज्ञात स्रोतबाट आएका  थिए । ९ वटा केसको सम्बन्ध पुर्व केससंग रहेको थियो ।

हालसम्मको मृत्यु तथ्यांक
.हङकङमा पाचौं लहरले ल्याएको  कुल मृत्यु संख्या : ९,२०९
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : २ जना । मृतकमा एक जना १०२ वर्षकी २ खोप लगाएकी महिला परेकी थिइन भने अर्का खोप नलाएका ६५ वर्षका पुरुष परेका थिए ।

तपाईको प्रतिक्रिया