मनोज कुमार मेयाङबो

धरानका मेयर हर्क साम्पाङ जीको नेतृत्वमा विगत १ महिना देखि धराने जनताहरु धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक,भौतिक,शारिरीक सहयोग देश तथा बिदेशबाट जुटाएर अत्यन्तै उत्साहपूर्वक काम गरिरहनु भएको छ। पकुवा खोलाबाट खानेपानी ल्याउने कार्य  सफल भएपछि अहिले निसाने खोलाले प्राथमिकता पाएर पुर्वाधार निर्माण कार्य पनि शुरुवात भइसकेको छ। यस महान काममा नेतृत्व प्रदान गर्ने मेयर साम्पाङ लगायत सम्पूर्ण नगरवासीहरुलाई सम्मान गर्दै सर्वप्रथम सलाम गर्न चाहन्छु । तपाईंहरुको यस महान कामले विश्वभरी राम्रै चर्चा र सम्मान प्राप्त गरेको देख्दा मेरो धराने छाती पनि गर्वले फूलेको छ। तर यति हुदाहुँदै पनि केही फरक मत राख्ने चेष्टा गरेको छु यहाँ । कसैले यसलाई अन्यथा नलिई विवेकपुर्ण ढंगले विचार पुर्याउनु नै हुनेछ भन्ने अपेक्षा गरेकोछु, बिशेषगरि मेयर हर्क साम्पाङ जीले।



पहिलो कुरा, खानेपानीको समस्या मोचन गर्ने उद्देश्यले शुरु गरिएका पकुवा र निसाने खोलाका यी दुबै योजनाहरु त्यति भरपर्दो  देखिंदैन किनकि यी दुबै खोलाहरु बर्खे  खोला हुन। त्यसैले सुख्खा सिजनमा (जतिखेर हामीलाई पानीको अत्यन्तै अभाव हुन्छ ) यी श्रोतहरु विकल्प हुन सक्दैनन । यसर्थमा हाम्रो समस्या जिउँका तिउँ रहने कुरा पक्का छ र यदि त्यसो भएमा यस काममा आर्थिक ,भौतिक अनि शारिरीक हिसावले योगदान पुराउनु भएका मानिसहरुको योगदान माथि नराम्ररी तुषारापात हुनेछ। साच्चै नै यस्तो अवस्था आयोभने मेयर साबको शाख गिर्न पनि सक्नेछ। वहाँको शाख गिर्यो भने धरानकै शाख गिर्नेछ। त्यस्तो अवस्थामा सिंगै धरानको बिश्वसनीयता गुम्नेछ।

हामीले साँच्चै खानेपानीको विकल्प नै खोज्ने हो भने धरान ४ मा बग्ने मार खोला र धरान २० मा बग्ने कोका खोला उचित विकल्प हुनसक्छ। यी दुबै खोलाहरुमा सुख्खा मौसममा पनि पर्याप्त पानीको श्रोत भेटिन्छ।

मेरो विचारमा हालसालैको होस वा प्रत्येक मनसुनको समयमा खटकिने पानीको अभाव जलश्रोत नहुनुले भएको थिएन, होईन। बिद्यमान जलस्रोतको उचित व्यवस्थापन नहुनुले यो समस्या आएको हो,वितरण प्रणालीलाई मिलाउन नसक्नाले आएको समस्या हो यो। वास्तवमा यी समस्या बल्झाउने पनि हामी नै हौं । यदि तत्कालिन खानेपानी संस्थानका कर्मचारीहरुलाई उचालेर खानेपानी आयोजनालाई असफल पार्ने जस्ता काम हामीले नगरेको भए धरानमा खानेपानीको यो हबिगत पक्कै हुने थिएन।

श्रमजीवी मेयर हर्क साम्पाङ पकुवा खोलामा
पकुवाको पानी

यदि खानेपानीको समस्या समाधान गर्ने नै हो भने सर्वप्रथम पानीको सहज आपुर्ति हुने मनसूनको यो समयावधिमा वितरण प्रणालीलाई सुधार गरेर दुरुस्त पारौं । वाटर पम्प मर्मत गराउँ। नयाँ पम्प खरिद गरेर जडान गरौं । खानेपानी बोर्डको बैठक तुरुन्त बोलाएर कार्यक्रम र बजेट तर्जुमा गरि समय छँदै समस्याको समाधान खोजौं। असल कामका लागि सबैलाई साथ लिएर चल्नु नेतृत्वको खुबी हो। मैले होइन हामीले, मेरो होइन हाम्रो भन्ने भावनाको विकास गरौं । यसैमा सिंगो धरान र हामी धरानवासीको भलाई हुनेछ।

.लेखक धरानका पुर्व मेयर हुन।

तपाईको प्रतिक्रिया