काठमाडौँ । अनेरास्ववियूले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको जनवर्गीय संगठन अनेरास्ववियूले आज पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।

अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरुमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने जनाएको छ ।

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङका अनुसार पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस निकाल्ने उपत्यकाबाहिर लाल्टिन, सिठ्ठी, लाठी जुलुश प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम छ ।

त्यसैगरी, पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गरिनेछ ।

सह–संयोजक तामाङका अनुसार अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । संघीय संसद्बाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशित गरेको पाठ्य सामग्री तत्काल वितरण गर्न दबाब दिइने पनि उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया