पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरि हत्या गरेर फरार रहेका एक व्यक्ति मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर मृत फेला परेको प्रहरीले जनाएको छ ।
पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गत पुस ९ गते मध्यरात धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो । घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो ।