काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नै दलका नेतामाथी संसदमा अविश्वासको प्रस्ताव दर्ता गराउनु प्रचण्ड–नेपाल पक्षको महाभूल भएको बताएका छन् । आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरोध गुटमा भए पनि अविश्वासको प्रस्ताव ल्याउन पटक पटक रोकेको स्पष्ट पार्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रनिनिधिसभा विघटन गर्दा र प्रचण्ड–नेपाल पक्षको अविश्वास प्रस्ताव दर्ता गराउने पक्षबारे आफू अनभिज्ञ रहेको स्पष्ट पारे ।

राष्ट्रिय सभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्री ओलीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको टिप्पणी गरे । पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने उनको तर्क छ ।

‘प्रधानमन्त्रीको म कटु आलोचक हो । ४३ वर्षदेखिको सहयोद्धा हो । उहाँका कारण पार्टीमा धेरै समस्या आए । उहाँलाई धेरै अनुरोध गरेँ सुधारका लागि तर यसपटक प्रनिनिधिसभा भंग गर्दा उहाँले सोध्नु भएन’ गौतमले भने, ‘अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन । मलाई जानकारी थिएन । म हुन्थे भने अविश्वासको प्रस्ताव लगि राखेका छन् भन्ने जानकारी हुँदा अविश्वासको प्रस्ताव दर्ता गर्नु पहिला नै राजीनामा दिन्थे । पार्टी जोगाउँथेँ ।’

राष्ट्रिय सभा सदस्य भएपछि पहिलो पटक बैठकमा बोलेका गौतमले आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन पार्टीका नेताहरुलाई धन्यवाद थिए । पहिलो पटक बैठकमा बोल्दा आफू खुसी हुनुपर्ने भए पनि त्यस्तो अवस्था नरहेको गौतमले बताए ।

‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदम हो’, गौतमले भने, ‘सर्वोच्चको संवैधानिक इजलासमा लगेपछि यो संवैधानिक विषय हो, यसलाई असंवैधानिक कदम भन्न मिल्दैन, यसो भनियो भने संविधानविरुद्धमा हुन जान्छ । असंवैधानिक भन्यो भने राजनीतिक रुपमा अपमान हुन्छ ।’ उपाध्यक्ष गौतमले अदालतले संसद पुनःस्थापना गरिदिए पनि यो कदम असंवैधानिक भन्न नमिल्ने तर्क गरे ।

तपाईको प्रतिक्रिया