हङकङ । हङकङबासी नेपाली लगायत अल्पसंख्यक समुदायप्रति लक्ष्यित एक कार्यक्रममा हङकङका रक्षामन्त्री क्रीस ताङ पीङ क्यङले गत मंगलबार अक्टोबर ४ तारीख आफ्नो बिशेष उपस्थिति जनाएका थिए ।  ‘सामुदायिक एकता – राष्ट्रिय दिवस तथा सुनौलो सरदऋतुको अवसरमा शुभकामना आदानप्रदान साथै अग्नि नियन्त्रण गतिविधि ’ (community integration – the national day greeting the golden autumn with fire prevention activities ) नामक औपचारिक  कार्यक्रमको समापन पश्चात् मन्त्री स्वयम जोर्डन स्थित नेपाली र अन्य अल्पसंख्यकहरुको घरपरिवारमा गइ आगलागिबाट बच्ने उपकरण वितरण गरेका थिए । साथै भ्रमण गरिएको घरमा फायर  डिटेक्टर पनि जडान गरिदिने कार्य भएको थियो । 

गत बर्ष हङकङको जोर्डनमा ८ जना नेपालीको मृत्यु हुने गरि एउटा भयानक आगलागी भएको थियो । उक्त  घटना पश्चात नेपाली लगायत अल्पसंख्यक समुदायलाई केन्द्रित गरेर विशेषगरि दशैँ तिहारको मुखमा र अन्य  चाडवाडका अवसरमा हुनसक्ने संभावित आगलागी जस्ता घटनाबाट कसरी बच्ने र आवश्यक सावधानी कसरी अपनाउनेबारे सचेतना फैल्याउन  विभिन्न शिक्षामुलक कार्यक्रमहरु हङकङ सरकारले गर्दै आएको छ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रक्षा
मन्त्री ताङले अग्नि सुरक्षा समिति र याउचिममोङ जिल्ला कार्यालयलाई अग्नि नियन्त्रण गतिविधिलाई सक्रियतापूर्वक प्रवर्द्धन गरेकोमा कृतज्ञता व्यक्त गरे ।  कार्यक्रम समाप्ति पछि नेपाली लगायत अन्य अल्पसंख्यक समुदायका पसल तथा घर घरमा गइ  आगलागी रोकथाम संबंधी पर्चाहरू र बिजुलीका  मैनबत्तीहरू वितरण गरिएको साथै  फायर  डिटेक्टर जडान गरिएको हो।  

दशैं ,दीपावली तथा नेपाली नयाँ वर्ष जस्ता चाडहरूमा आगलागीको जोखिम कम गर्न परम्परागत तेल बत्ती र मैनबत्तीहरूको सट्टा इलेक्ट्रोनिक मैनबत्तीहरू प्रयोग गर्न  प्रोत्साहित गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।

याउचिममोङ जिल्ला अग्नि सुरक्षा समिति, याउचिममोङ जिल्ला कार्यालय र हङकङ फायर सर्भिस डिपार्टमेन्टको संग्युक्त अयोजनामा सम्पन्न यस कार्यक्रमको उदघाटन  रक्षामन्त्री  क्रिस ताङ पिङ-क्यङले गरेका थिए। अन्य प्रमुख अतिथिहरूमा अग्नि सेवाका उपनिर्देशक  वङ चुन-यिप, याउ चिम मोङ जिल्ला अधिकारी एडवर्ड यु जेपी र  जिल्ला अग्नि सुरक्षा समितिकी अध्यक्ष  सुश्री एन अउ जेपी रहेका थिए । 

हङकङको जोर्डन स्थित म्याक सेन्टरमा आयोजित कार्यक्रमको संचालन याउचिममोङ फायर सेफ्टी कमिटीका एकमात्र नेपाली सदस्य अरुणा गुरुङले गरेकी थिइन् । कार्यक्रमपछि सहभागीहरुलाई चीनको राष्ट्रिय दिवसको अवसरमा भाग्यसाली झोला पनि वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया