काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाखमा कुनै हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । आज नेपाली कांग्रेसले गरेको देशव्यापी आन्दोलनका क्रममा काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए ।

‘विश्वासको मतचाहिँ दिन नसक्ने दुई तिहाइको ओली सरकारले जनताको मत लिन कसरी सक्छ ?’ सिंहले भने, ‘संविधानको बाटो बिराएर हुँदै नभएको अधिकार दुरुपयोग गरेकाले त्यसलाई सच्याउनुपर्छ भन्दै नेपाली कांग्रेसले देशव्यापी आन्दोलन गरेको हो ।’

नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने भन्दै देशभर विरोधका कार्यक्रमलाई जारी राखेको बताए ।

कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेअनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा भइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया