- अनोज रोक्का

हङकङ : नेपालीहरू भन्ने वित्तिकै गोर्खाली, निडर र साहसीको छवि, हङकङको स्थानीय परिवेशमा पुरानो भइसकेको छ। व्यापार, व्यवसाय, शैक्षिक, खेलकुद लगायतमा पनि नेपालीहरूले बलियो उपस्थिति जनाइरहेका छन्।

पछिल्लो समय हङकङ रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै मनोज गौतमले नेपालीहरूलाई ब्लड डोनेशन (रक्तदान)का लागि आग्रह गरिरहेका छन्।

दुर्घटनामा जतिबेला पनि पर्न सकिन्छ, रगतको आवश्यक परेको खण्डमा विदेशी भूमिमा कसलाई गुर्हाने ? आफू स्वस्थ्य हुदा खेर जाने रगतको केही हिस्सा दान गरे आफू र आफ्नो परिवारलाई चाहिएको बखतमा सहज हुन्छ।

मनोज भन्छन्, ‘विदेशीहरू आफैं रेडक्रसमा आएर ब्लड डोनेशन गरेर जान्छन् तर नेपाली समुदायमा ब्लड डोनेशन गर्दा कमजोरी भइन्छ, यौन क्षमतामा कमि आउँछ लगायतका गलत धारणाहरूले गर्दा पनि जनचेतना जगाउनु, ब्लड डोनेशनका बारेमा चर्चा गर्नु आवश्यक छ।

मनोजले आफ्नो अगुवाइमा नेपाल विश्व अभियान नामक ग्रूप गठन गरि रेडक्रसमा ब्लड डोनेशनका लागि आग्रह गरे।

सन् २०१८ बाट सुरु भएको यो अभियान २०२२ सम्म आइपुग्दा करिब १५० भन्दा बढी नेपालीहरूले निरन्तर ब्लड डोनेशन गरिरहेका छन्।

आफ्नी बहिनीलाई ब्लड क्यान्सरले गुमाउँदाको पीडालाई नजिकबाट महसुस गरेका छन् मनोजले। बहिनीको आत्माले शान्ति पाओस् भन्दै मानवीय सुकर्मका लागि निस्वार्थ रूपमा, हङकङमा ब्लड डोनेशनका लागि नेपालीहरूलाई आग्रह गरिरहेको बताउँछन् उनी।

निर्माण क्षेत्रमा सेफ्टी म्यानेजरका रूपमा कार्यरत मनोज हङकङ सरकारको निर्माण उद्योग प्रशिक्षण बोर्ड (सिआइसी) अन्तर्गत अल्पसंङख्यक जातजाती उपसमितीको वोर्ड सदस्य समेत हुन्।

उसो त नेपालमा रहदा लाइन्स क्लब, राष्ट्रिय खेलकुद परिषद जस्ता संस्थाहरूमा आवद्ध मनोज रक्तदान, आँखा शिविर जस्ता कार्यक्रमहरूका आयोजनामा अग्रपंक्तिमा बसेर काम गर्थे।

एकदशक अघि हङकङ आएका उनी सुरुवाती दिनमा सामान्य मजदुरका रूपमा निर्माण कम्पनीमा प्रवेश गरेका थिए।
आफूसँगै काम गर्ने एकजना दिदीको रगतमै खराबी भएको र नेपाल फर्केर उपचार गर्दा पनि जीवन रक्षा गर्न नसक्दाको क्षण सम्झन्दा भावुक बन्छन्।

मनोज भन्छन् जुन कुरा पैसाले किन्न सकिदैन, तर बाँच्नका लागि अनिवार्य छ, रगत। हामीले समयमा नै आफ्नो र परिवारको सहयोग र स्वास्थ्यका लागि पनि रगतलाई अनावश्यक खेर जान दिनु हुँदैन।

हङकङको स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरूमा सरिक हुदा, नेपालीप्रति उनीहरूको सद्भावलाई अझ बढावा दिनपनि यस्ता सामाजिक कार्यमा सहभागी हुन उनी सबैलाई सुझाउँछन्।

के हो ब्लड डोनेशन?

आफ्नो शरीरमा भएको रगत अन्य व्यक्तिको जीवन रक्षाको लागि निशुल्क दान गर्नु नै रक्तदान (ब्लड डोनेशन) हो। ब्लड डोनेशन गर्दा अन्य व्यक्तिको जीवन रक्षा त हुन्छ नै सँगै रगत दिने व्यक्ति पनि स्वास्थ्य हुन्छ।

एउटा स्वास्थ्य व्यक्तिको शरीरमा सामान्यतया ६ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्छ। ब्लड डोनेशन गर्दा हाम्रो शरीरबाट ४७० मिलिमिटर अर्थात १ युनिट ब्लड मात्र निकालिन्छ। यो शरीरमा भएको सम्पुर्ण रगतको १० देखी १४ प्रतिशत मात्र हो, यसले स्वास्थ्यमा कुनै हानी गर्दैन।

मानिससको शरीरमा निर्माण भएको रगत १२० दिनभित्र स्वत नष्ट हुने गर्दछ। उक्त रगत दान गर्दा मानिसको शरीरमा रगत उत्पादन प्रक्रिया छिटोछिटो हुने गर्दछ, जुन स्वास्थ्यका लागि लाभदायक हो।

तर ब्लड डोनेशन गर्ने मान्छे निरोगी हुनका साथै दान गर्नु अघि र दान गरिसकेपछि आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्न अति आवश्यक छ।

तपाईको प्रतिक्रिया