काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यस निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो ।

आज बुधवार काठमाण्डाैमा आयोजित ‘काठमाण्डाै महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उपमेयर डंगाेलले एक हप्ताभित्र सबै वडामा महिला सञ्जाल गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिनुभयो । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनुभएकी उहाँले त्याे सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘महिला सञ्जाल वडा–वडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौँ । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि भनेको मेलमिलाप नै हो । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरि न्याय निरूपण गरिन्छ ।’

काठमाण्डाै महानगरले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न त्याे केन्द्र पनि स्थापना गर्नुपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया