संजिता धमला

धरानः धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादलाई ब्राण्डिङ गरेर लानु पर्ने आवश्यकता औल्याएका छन्।

धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन प्रमुख अतिथिको मन्तब्य राख्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग गर्न विद्यार्थीलाई हौसला पनि दिए । साथै यसका लागि सुझाव दिन उनले  विज्ञहरुलाई आग्रह पनि गरेका छन् । धरानको पर्यटनलाई समृद्ध बनाउन हस्पिटालिटी सेक्टरको महत्वपूर्ण भूमिका रहने भन्दै मेयर साम्पाङले धरानको विशिष्ट स्वाद पर्यटक माझ पस्कन आफू लालायित भएको सुनाए । धरानमा जातजातिगत रुपमा तामाङ, नेवार, मगर,राई, लिम्बु ,बाहुन क्षेत्री र मारवाडी  समेत रहेकाले पर्यटनलाई स्वाद अनेक प्रकारका दिएर स्टे गराउन सकिने बताए।

स्वीजरल्यान्डका एक्जेक्युटिभ सेफ गुन्थर नट्जको प्रशिक्षणमा भएको २१ दिनसम्मको तालिममा विद्यार्थीले डेजर्ट आइटम, इटालियन फुड, कन्टिनेन्टल कुजिन, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेजलगायतका सीप आर्जन गरेका छन् । कार्यशालामा प्रशिक्षक नट्जले आफ्नो सिग्नेचर कुजिन, वाइन ,सुप लगायत इटलियन, कन्टिनेन्टल कुजिन प्रस्तुत गरेका थिए । एक्जेक्युटिभ सेफ नट्जले प्रेम, समर्पण र कलात्मकताको संयोजनमा खानालाई तयार गर्न प्रशिक्षार्थीलाई प्रोत्साहन गरेको बताए ।

प्रशिक्षण अवधिको अनुभव सुनाउँदै एक्सेक्युटिभ सेफ नट्जले नेपालमा उपलब्ध स्रोत साधनका आधारमा प्रशिक्षण प्रदान गरेको बताए । २१ दिनसम्म विद्यार्थीले आर्जन गरेको सीप उनीहरुको व्यावसायिक र सामाजिक जीवनमा फलदायी हुने विश्वास व्यक्त गरे । प्राप्त सीपले अन्तर्राष्ट्रिय बजारमा विद्यार्थीलाई घुलमिल हुन सहयोग पुर्याउने उनको भनाइ छ । नेपाली सत्कारको प्रशंसा गर्दै एक्सेक्युटिभ सेफ नट्जले आफू कृतज्ञ भएको बताए । उनले नेपाली मौलिक खानाको विछ्ट्ट कै स्वादको सम्झना रहने बताए ।

कार्यशालाका अवसरमा विद्यार्थीले तयार गरेको कुजिन धरानका शिक्षक, प्राध्यापक, जनप्रतिनिधि र संचारकर्मीहरुलाई सर्भ गरिएको थियो । इटालियन तथा कन्टिनेन्टल परिकार, किचन हाइजिङ, फुड डेकोरेसन, फुड स्टोरेज लगायतका सिप सिकेको प्रशिक्षणमा सहभागी विद्यार्थी निशा राईले बताइन् । खानाका परिकारसँगै किचनका रुल्स एण्ड रेगुलेसनबारे जान्ने मौका पाएको निशाले बताइन् ।

समापनमा विद्यार्थीले तयार गरेका  एप्पेटाइजर्समा पटेटो सुप, सलाद, मेन कोर्समा हर्ब राईस, प्यान चिकन विद भेजटेबल्स प्रस्तुत गरेको विद्यार्थी रोहित साहले बताए । धरानको पर्यटनमा ‘हस्पिटालिटी सेक्टर’लाई जोड्न पाक शिक्षा प्रशिक्षण ‘कलिनरी वर्कसप’ सन्चालन गरिएको कार्यक्रम संयोजक सन्जिप वान्तवा राईले जानकारी दिए । स्वीस कन्ट्याक्टको संयोजनमा धरान इन्टरनेसनल  कलेज अफ होटल म्यानेजमेन्टको आयोजनामा प्रशिक्षण भएको कलेजका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

८ वर्ष अघि स्थापना भएको कलेजमा हाल ४२ जना विधार्थी अध्ययनरत छन् । कलेजले उत्पादन गरेका ३ सय ५० भन्दा बढी विधार्थी हस्पिटालिटी क्षेत्रमा कार्यरत रहेको  प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले बताए । तालिममा १५ दिनसम्म विद्यार्थीहरुले प्रशिक्षण लिए भने एक हप्ता प्रयोगात्मक कार्यशालामा सहभागी भएका थिए  । प्रशिक्षणमा धरानका ४२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया