अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् ।

कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । अध्यक्ष पदको एक मत बदर भएको थियो ।

अनेसासको विधान सातौँ संशोधन २०२१ अनुसार भएको ट्रस्टी कार्यसमितिका निर्वाचनबाट चयन हुने कूल ९ पदाधिकारीमध्ये अध्यक्ष र महिला सदस्य पदमा निर्वाचन भएको थियो । निर्वाचन भएको महिला सदस्य पदमा रश्मी भट्ट (न्युयोर्क) ६५ मत प्राप्त गरी विजयी भएकी छन् भने अर्का प्रत्यासी गृष्मा पौड्याल (जापान) ले ४९ मत प्राप्त गरेकी छन् ।

दुई उपाध्यक्षहरु क्रमशः विष्णुप्रसाद घिमिरे (जापान) र तीर्थ पाण्डे (मेरिल्यान्ड), महासचिव प्रकाश नेपाल (मेरिल्यान्ड), सचिव नारायण अधिकारी (भर्जिनिया) तथा दुई सदस्यहरु धर्मराज कोइराला (क्यालिफोर्निया) र ऋषिराम बराल (नेपाल) निर्विरोध निर्वाचित भएका छन् ।

हिजो डिसेम्बर १३ को मध्यरात जुमका माध्यमबाट निर्वाचन घोषणासभाका माध्यमबाट निर्वाचन समितिले उक्त निर्वाचन प्रकाशन गरेको हो । प्रमुख निर्वाचन अधिकृत सीपीए भीम कार्कीले निर्वाचन परिणामको घोषणा गर्दै विजयी सबैलाई बधाई ज्ञापन गर्दै निर्वाचनमा भाग लिने ट्रस्टीहरु तथा बिओटी निवर्तमान समितिलाई धन्यवाद ज्ञापन गरे । उक्त सभामा विजयी बिओटी अध्यक्ष पदम विश्वकर्मा, बिओटीका निवर्तमान अध्यक्ष गीता खत्री, केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, बिओटी अध्यक्षका उपविजेता सीता पाण्डे तथा महिला सदस्य विजेता रश्मी भट्टले निर्वाचनमा संलग्न सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

सन् २०१५ मा ट्रस्टी बनी बिओटी पदको अध्यक्षमा विजयी पदम विश्वकर्मा आजीवन सदस्यका रुपमा सन् २०१० मा कोलोराडो च्याप्टरको अध्यक्ष, २०१२ मा केन्द्रीय कार्यसमितिको महासचिव, २०१४ देखि २०१८ सम्म दुई कार्यकाल केन्द्रीय अध्यक्ष हुनुका साथै सन् २०१९ देखि सन् २०२२ सम्म निवर्तमान बिओटी कार्यसमितिका उपाध्यक्ष हुन् । अनेसासमा ट्रस्टीहरुको सन् २०१४ सम्म २३ रहेकामा ८ वर्षमा यो संख्या बृद्धि भई हाल १२२ पुगेको छ ।

दुई ट्रस्टी सदस्यको निधन भएकाले मतदाता ट्रस्टीको संख्या हाल १२० रहेको छ । अनेसासको विकास र विस्तारमा विगतमा विभिन्न कार्यक्रमहरु, सभासम्मेलन तथा विभिन्न देशमा शाखा विस्तार गर्नुका साथै ट्रस्टी सदस्यको संख्यामा बृद्धि गर्नमा निर्वाचित अध्यक्ष पदम विश्वकर्माले महत्वपूर्ण योगदान पुर्याएको तथ्य अनेसासभित्र सबैले जानकारी राख्छन् ।

विधानअनुसार हाल निर्वाचित दुई उपाध्यक्षमध्ये एकले अनेसास प्रतिष्ठानको जिम्मेवारी लिनेछन् भने अर्को उपाध्यक्षले अनेसासले वितरण गर्ने सबै पुरस्कारहरुको व्यवस्थापनका लागि कुशल संयोजन गर्नेछन् । गत वर्ष अनेसासले सर्वोत्कृष्ट पुस्तक पुररस्कारका रुपमा अमेरिकी डलर १०,९०० विभिन्न विधाका सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गरेको छ ।

यसै कार्यसमितिले गठन गर्ने अनेसास प्रतिष्ठानले नेपाली भाषाका उत्कृष्ट कृतिलाई अंग्रेजी तथा अन्य भाषामा अनुवाद र प्रकाशन गर्ने, नेपालका विश्वविद्यालयमा नेपाली भाषालाई अनलाईमा अध्ययन गर्न सकिने गरी पाठ्यक्रमको व्यवस्था गर्न विश्वविद्यालयसँग सहकार्य गर्ने, अमेरिकाका विश्वविद्यालयमा नेपाली भाषामा अध्यापन गर्न आवश्यक व्यवस्थाका लागि समन्वय गर्ने लगायतका कार्यहरु गर्ने विधानले व्यवस्था गरेको छ ।

अनेसासले विगत लामो समयदेखि केन्द्रीय कार्यालय भवन अमेरिकाको वासिङ्टन डीसी क्षेत्रमा खरिद गर्ने योजना गरिरहेकामा गत वर्षदेखि यसले मूर्त रुप लिएको छ र निर्वाचित अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा निर्वाचित कार्यसमितिले यो कार्य छिटै पूरा गर्ने अपेक्षा अनेसास वृत्तले गरेको छ ।

अनेसासको विधान अनुसार बिओटी कार्यसमितिको कार्यावधि ४ वर्षको रहनेछ भने अध्यक्ष भइसकेको व्यक्ति फेरि अध्यक्ष पदमा प्रत्यासी हुन नसक्ने व्यवस्था विधानले गरेको छ ।

तपाईको प्रतिक्रिया