काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा आज जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेअनुसार अध्यक्ष ओलीको तर्फबाट आज आयोगमा जवाफ पेश गरिएको हो ।

जवाफमा अध्यक्ष ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल, प्रचण्ड दोस्रो वरियताको अध्यक्ष कायम रहेको जानकारी दिएका छन् । दाहाल–नेपाल समूहले आफूलाई अनुशासनको कारबाही गर्दै माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको सो पत्रमा उल्लेख गरिएको छ ।

‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ,’ ओलीले पठाएको जवाफमा भनिएको छ ।

नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल–नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पनि पत्रमा उल्लेख छ । दाहालसमेतले आयोगमा पत्र पठाइ पार्टी विभाजनको हिसाबले पत्राचार गरे पनि नेकपा विभाजन नभएको अध्यक्ष ओलीले पठाएको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् जवाफको पूर्ण पाठः

तपाईको प्रतिक्रिया