प्रदिप सापकोटा

यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यपान गर्नु अहा ! कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनाबाट मुक्ति पाउँछ । २०५९ साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुङ सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिब नौ कोष पश्चिमको दुरीमा पर्ने बाग्लुङ जिल्लाको पुरानो सदरमुकाम एरिया हो ।

प्रकृतिले आफ्नो घुम्टो उघारिन । वेलगाम छु म । कसैको पर्वाह छैन । यात्राको थालनीमा युद्ध विजेता जस्तै आनन्दित हुन्छु । बजारको जीप पार्कबाट जीप चढेर कालीमाटी,विहुँकोट तर्फ लाग्छौं । टिकाजीको आत्मीय र सद्भावको वजन कुनै पनि तराजुमा जोख्न सम्भव थिएन । उनले मप्रति बजाएका आफ्नोपनका धुनहरुमा म कृतज्ञ थिएँ । उनले त्यतातिरको परिवेशबारे जानकारी दिदै गए । धुलाम्मे र आउडे खाउडे बाटो । तिव्रगतिमा कुदेको जीप, सीट संख्या भन्दा बढी यात्रु । गजबको अनुभव हुँदैछ । विहुँकोट पुगेर अलिकति दाहिने मोडिन्छ बाटो । वस्तीको बीचबाट जान्छ । सानो गाँउले बजार रहेछ ।

विहुँकोट उर्वर लाग्छ । बस्ती पनि अलिक चाक्लै छ । रातो माटो र कमेराले पोतेका परम्परागत घरहरु । साँच्चै विहुँको डाँडा सुन्दर छ । यहाँ कंडेल थरका मानिसहरुको बाहुल्यता भएको टिकाजीले बताए । प्रायः बाटोमा देखिएका मानिसहरुको निधारमा लगाइएको लामो चन्दनको ठाडो टिकाले वैष्णवहरुको संख्या बेसी छ भन्ने अनुमान गर्न गाह्रो परेन मलाई । धुलो उडेर कुईरीमण्डल छ । बाटो आसपासका घरका झ्यालहरुमा उत्तिकै टाँसिएको छ धुलो । टिकाजीले विहुँकोटको मन्दिर देखाए । एकदम सुन्दर लाग्यो मलाई ।

घोडाबाँधे पुगियो । बाग्लुङ बजारबाट करिब ६ कोष पश्चिमको जीपको यात्रा सकियो । यस ठाँउको नाममा केहि ऐतिहासिकता रहेछ । उतिबेला राजा महेन्द्रले उहिले घोडा चढेर यहाँ आई थकाई मारेका थिए रे । सोही कारण यस ठाउँको नाम घोडाबाँधे भएको रे । डाँडामा अलिक फराकिलो समथर स्थान रहेछ । जीपहरु यहिँसम्म आएर फर्किंदा रहेछन् । यहाँ जस्तापाताहरुले बारेर बनाइएका पसल, होटल, लज छन् । यहाँबाट गल्कोट भेगका नरेठाँटी, हटिया, मल्म हरिचौर, दुदिलाभाँटी, ढोरपाटन पैदलै जान पर्ने रहेछ । यहाँबाट ती स्थानहरुसम्म मालसामान ढुवानी गर्न खच्चरको प्रयोग गरिंदो रहेछ ।
एउटा होटलमा खाना खान गयौं । वन्दाकोभीको तरकारी, सेल्टुंगको दाल र गोलभेंडाको चटनी ।भोकाएका थियौं हामी, साँच्चै अपूर्व स्वाद र सन्तुष्टी पायौं खानामा ।

घाम नलाग्ने छाँट देखियो आज । निम्छरो जस्तो भएँ चिसोले । हात खुट्टा कठ्याँग्रिए । कस्तो निरसिलो बाई मौसम । मैले सायद जीवनमै कल्पना पनि गरेको थिइन यति टाढा आइपुग्छु भनेर । उसो त मान्छेको जीवन सोचेजस्तो कहाँ हुनु । साँच्चै अर्गानिक भौगोलिक धरातलमा पाइला टेकेको छु मैले । धर्तीको अनुपम देहमा पदचाप राख्न सबैलाई अवसर कहाँ मिल्छ र ?

धौलागिरी हिमाल मुस्कान छरिरहेछ आफ्ना सफेद दाँतहरु देखाएर । म उसको मुस्कानमा आफ्ना एकजोडी आँखा विछ्याइरहेछु । एक टक नियाँले मैले घोडाबाँधेबाट । मलाई खुशी नै खुशी मिलेको छ र यो खुशीमा मेरो मन गदगद भईरहेको थियो । भावनाजनित तरंगहरुमा तरंगित थिएँ म ।

केहीबेरपछि हामी अलिक ओरालो,त्यसपछि तेर्साे बाटो लाग्यौं । डुंगडुंग्ती गन्हाउने बाटो खच्चरको पिसाव र गोवरले । साँच्चै अचम्मको कुरा एउटा खच्चरले पिसाव गरेकै ठाँउमा अरुले पनि गर्दा रहेछन् । बाटोमा पिसावको कुलो नै बगेको छ । बाटोमा घण्टी बजाउँदै घोडावाँधे तर्फ उक्लँदै गरेका खच्चरहरुसँग पनि जम्का भेट हुन्छ ।
दाँयावाँयाको बनजंगल हरियाली । चरीहरुको चिरविर संगीत । साह्रै प्राकृतिक मनोरम छटाले भरिपूर्ण परिवेश शब्दमा यहाँ कसरी उधिन्न सक्नु । साँँच्चै मनोरम गाउँले वातावरणले मेरो मन छोएको छ ।

हामी घसाको ओरालो झर्दैछौं । बाक्लै मान्छेहरु घोडावाँधेतिर उक्लिरहेका भेटिन्छन् । टिकाजीले चिनेका मान्छेसँग भलाकुसारी गर्न भ्याएँ । उनी अघि अघि म पछि पछि । म दाहिने तिर आँखा डुलाँउदै थिएँ । कति सुन्दर बस्ती । क्यामेरा निकालेर फोटो खिचेँ मैले । साँच्चै खोलाको किनाराबाट अलिक माथि मानौं स्वर्गबाट झरेको टुक्रो । एक टक नियाँले ।
ए साथी,झरौं न हो । कहाँ टोलाएर बसेको ?
खासमा म टोलाएको थिइन । टीका जी,मलाई त्यो खोलापारीको गाँउको सुन्दरताले मोहनी लगायो ।
तिमीलाई त जे देखे पनि मोहनी लाग्दो रहेछ । अचम्म ।
टीकाजी प्रकृतिको सुन्दरता कसलाई पो मन पर्दैन र ? जाँउ अब ।
हामी घसाको ओरालो झरेर सितलपाटी पुग्दैछौ । सितलपाटी नि.मा.वि. देखिन्छ दाहिनेतिर । त्यहिं नजिक कुनामा म टुसुक्क शरीर बिसाउँछु । कुनामा चिया होटल रहेछ । टीकाजी पनि सँगैको वेन्चमा बस्छन् । होटलवाला यसरी हेर्छन् कि म उनीसँग आँखा जुधाउनै सक्दिन ।
मिठो चिया पकाउनुस त साहुजी । टीकाले मुख फोर्छन ।
काँटी आउनु भा हो के रे सरहरु ?
कालो वर्णका ती अर्धवैश्य होटल साहुले हाम्रो बारेमा चासो राख्छन् । मभन्दा अघि सरेर टीकाजीले वेली बिस्तार लगाँउछन् । चिया खाँदै गर्दा नजिकको स्कुल नियाल्छन् मेरा आँखा । उदास र कोपरिएका भित्ता देख्दा विधुवाको सिंउदो जस्तै उजाड लाग्दो देखिन्छ विद्यालय भवन । बडो जिर्ण छ । यस भेगका भोलीको भविश्य बालबालिकाहरुले ज्ञान आर्जन गर्ने थलो साँच्चै मन दुख्ने खालको छ । झ्यालहरु फाटेको लुगा जस्तो ह्वाङह्वाङ्ती परेका छन् भने ढोकाहरु फुटेका छन् । आम सार्वजनिक विद्यालयहरुको अवस्थाको प्रतिनिधित्व गर्छ यस विद्यालयको दृश्यले । उफ हाम्रो देशको वेथिती र अव्यवस्था । पिडाले मनमा औडाहा भयो । शौचालय उस्तै,चौरमा फोहर उस्तै । मन धमिलियो ग्रहण लागे झैं । टीकाले भोली विहान यहिँ समुह गठन हुने जानकारी गराए मलाई । हामी सितलपाटीबाट भण्डारी गाँउको ओरालो झर्दैछौं ।
यात्राका फुलहरुको एउटा माला गाँस्ने प्रयत्न मेरो । शान्त परिदृष्य देखिन्छ । बाटो सुनसान छ । सिकुवामा बसेर तमाखु तान्दै गरेका बाजे देखिन्छन् बाटो नजिकैको घरमा । पर धारो छ । पानी पिउन गएँ म । चिसो पानी के पिउन सक्नु । धारामा अंजुली थापेर दुई अंजुली पानी पिएँ । यात्राको जीवन्त भोगाईको मज्जा कसरी पोख्नु । एक हुल खच्चड पिठ्युँमा भारी बोकेर झर्दै छन् । तिनका पछी स-साना लौरो हातमा लिएका दुई जना सज्जनहरु खटेका छन् । अलिक पर पुगेपछि भेटिए बजार जाँदै गरेका स-साना भुन्टाभुन्टी बोकेका आमाहरु भेटिए । पिठ्युँमा नानाबाबु ,हातमा झोला । कहाँदेखि आएका होलान् विचरा ति आमाहरु । उनीहरुको अनुहार पढ्दा भेटिएका थकाईहरु देख्दा मन अविराम पोलिरह्यो ।

विषम पहाडी भौगोलिक धरातल,यातायातको असुविधाको कारण हामीले भोग्नु परेको शाश्वत सत्य पीडा हो यो । काशः आज यहाँ यातायातको पहुँच भएको भए उनीहरुले यस्तो अप्ठ्यारो यात्रा तय गर्नुपर्ने थिएन ।
हामी ओरालो सकेर नरेठाँटी खोलाको किनारै किनार तेर्सिन्छौं । करिव ८ मिनेट पैदल हिंडेपछि बन्दै गरेको पुल आँउछ । जाली र ढुँगाको ग्याप्लिंग गरिएको छ नरेठाँटी बजारलाई खोलाबाट जोगाउन । वाक्लो बजार रहेछ नरेठाँटी । दाँया वाँया घरहरु बीचमा ढुंगा छापेको बाटो । अलिक भित्तापट्टि रहेछ महेन्द्र मावि । यो विद्यालयको भौतिक संरचना राम्रै लाग्यो मलाई । त्यहाँको बजारमा मुस्लिमहरुको बसोबास पनि रहेछ । चुरा,धागा,पोते पसलहरु धेरैवटा देखें । मिठाइ पसल पनि रहेछ ।

हल्लो हिरा सर । एउटा मध्यम कदका गोरा पुष्ट गाला भएको युवालाई टिकाजीले ध्यान आकृष्ट गराँउछन् । उनी हामीतिर फर्कन्छन् ।
ओहो टिका सर । नमस्ते है नमस्ते । हात जोड्छन् हिरा सर ।
उनको मुहारले उनी मगर भएको खुट्याउन गाह्रो भएन है मलाई । मलाई टिकाजीले परिचय गराँउछन् । दोहोरो परिचय पछि हामी उनको फर्माइसमा चिया पिँउछौं नजिकैको चिया पसलमा ।
हिरा सर परिवार सहित त्यहिं बजारमा बस्दा रहेछन् । उनको सानो फेन्सी पसल पनि रहेछ । महेन्द्र माविमा उनी शिक्षक हुन । हसिंलो र फरासिलो छन् उनी । मृदुभाषी उस्तै । हामी केहिबेर चिया गफमा भूलेर हाम्रो यात्राको उद्देश्यबारे उनलाई जानकारी गराई सहयोगको अपेक्षा पनि राख्छौं र फेरी भेट्ने भन्दै अगाडी बढ्छौं । बजारको पल्लोपटि छेउमा अलिक ठूलो किराना पसल छ । त्यहाँ एक जना मोटी मोटी साहुनी दिदि देखिन्छिन् । टिकाजीले हात जोड्छन् भाउजुको नाता लगाउँदै ।

सर कहिले आउनुभयो बाग्लुङबाट ? केही कार्यक्रम पक्कै होला ? दाई एक छिनमा आउनुहुन्छ । चिया खाउँ ल ? एकै पटक बोल्छिन भाउजु ।
हामी पेटीमा भएको खाली बेन्चमा बस्छौं । चिया पाक्छ चियाको सुरुपसँगै गफगाफ चल्छ । यस्तैमा एकजना होचो कदका दाई आँउछन् कालो बर्णका । औपचारिकतासँगै थाहा भो उनी नरेठाँटी रेडक्रस उपशाखाका सभापति रहेछन् । केयरसिंह दाईको नामले चिनिने उनी सफल ब्यापारी भएपनि समाजसेवामा उत्तिक्कै मुठ्टी खोेलेर सहयोग गर्दारहेछन् । स्कुलमा दुई कोठे पक्की भवन बनाउँदै रहेछन् । त्यहिं गएर आएका रे । हामी भोली विहानको कार्यक्रम बारे फेहरिस्त बताँउछौं । खबर गर्न पनि अनुरोध गर्छाैं । खाजा खान्छौं त्यहिँ हामी । बेलुका यहिँ बस्नुपर्छ नि सरहरु भनि पाहुना लाग्न अनुरोध गर्ने ति केयरसिंह दाई र भाउजुलाई स्विकारोक्ति दिंदै स्कुलतिर लाग्छौं हामी ।

महेन्द्र माविमा विद्यार्थी संख्या उल्लेख्य छ । पाँण्डे प्रधानाध्यापक रहेछन् । शिव पाण्डे सर जो रेडक्रस बागलुङ जिल्ला शाखाका उपसभापति पनि हुनुहुन्छ । यसैगरि अर्का दीनेश पन्त सरसँग पनि चिनापर्ची र भलाकुसारी गरियो । भोली विहानकोलागि समुदायमा आधारित दैवी प्रकोप पूर्वतयारी कार्यक्रम (सिविडिपी) अन्तर्गत समुह गठन गर्न सहभागिताको लागि खवर गरिदिन अनुरोध गरेर हामी विद्यालयबाट ओझेल परेउँ । गोपाल शर्मा दाईको बजार छेउमा पसल छ । उनी हुलाक कार्यालयमा जागिरे पनि रहेछन् । उनी रेडक्रस उपशाखाका कोषाध्यक्ष हुन,उनलाई भेटेर सहभागी जुटाईदिन अनुरोध गरेउँ ।
समय रह्यो टिकाजीले मलाई पर दुधिलाभाँटी तिर जाने बाटोसम्म लगे । बर्षातको मौसम । खोलाको बहाव बढेकै देखिन्छ । फेरी दुधिलाभाटीतिरबाट पनि अर्काे खोला मिसिने रहेछ । अहा कति समथर फाँटमा हरियाली धानवाली । गल्कोट एरिया हो यो । यो जिल्लाको मध्यभागमा पनि पर्छ रे । नरेठाँटी, हटिया, हरीचौर, मल्म, काँडेवास आदि गाविस पर्दारहेछन् । मनोरम प्राकृतिक छटा,उर्वरयोग्य जमिन, ऐतिहासिक गल्कोट दरवार,नजिकैको घुम्टे पर्वत जुन बागलुङ कै सबैभन्दा अग्लो पहाड हो। यो देखेर किन मन मोहित नहुनु ! निलुवा,कोतमैदान,गाईघाट झरना पनि यहि क्षेत्रमा पर्छ रे केयरसिंह दाइले भनेको । सम्भव भयो र समयले साथ दियो भने अवलोकनमा जानेछु मनमनै भनें मैले । यसो हेर्दा लाग्यो मलाई टाठाहरुले सदरमुकाम अपायक बनाएका रहेछन् । कहाँ यो जिल्लाभरीको बीच भाग । कहाँ अहिलेको सदरमुकाम ।
गल्कोट क्षेत्रका थुप्रै मानिस भारत मात्र नभएर बैदेशिक रोजगारको क्रममा जापान,जर्मन,अष्टेलिया आदि देशमा रहेछन् । यहाँ व्रम्हाणक्षेत्री,जनजाति मगर नेवार,दलित लगायतको बसोबास रहेछ । केयरसिंह दाजुका अनुसार यो पहिले राजा आनन्द बम मल्लको समय विं.सं. १६३० ताका एक स्वतंत्र राज्य थियो रे । गल्कोटे मल्ल राजाको दरवार यसको प्रमाण हो । पहिले यस क्षेत्रको नाम गोलकोट थियो रे । यसबाट पछि अपभ्रंस हुँदै गलकोट भएको हो रे । यस्तै यस्तै थुप्रै जानकारी केयरसिंह दाईले हामीलाई गराए ।
ति दाजु भाउजुको आत्मीयता र आतिथ्य सत्कार सम्हालिनसक्नु भयो हाम्रा लागि । मेरो मनको मानचित्रमा नमेटिने गरि कोरियो आत्मीय भाव र त्यसको अर्थ । मायाको थालमा स्नेही हातहरुले पस्किएको मिष्ठान्न भोजनको तृप्तिसंगै थकाई मेटाएर आनन्दको ओछ्यानमा मिठा सपना देख्दै कति बेला निदाएछु म पत्तै पाइन ।

तपाईको प्रतिक्रिया