क्रान्ति सुब्बा । हङकङ ।

हङकङ सरकार र हङकङका सार्वजनिक संस्थाहरूले हङकङ चीनमा गाभिएको २६ औं वर्ष पुगेको ऐतिहासिक दिन अर्थात जुलाई १ शनिबारलाई भव्यताका साथ मनाउन विविध गतिविधि सम्पन्न गर्ने योजना बनाएको छ। सरकारले हङकङका निजी संस्थाहरूलाई पनि यो उत्सवसंग संबंधित गतिविधि गर्न  प्रोत्साहन गरेको छ।

त्यस दिन मनोरञ्जन र सांस्कृतिक सेवा विभाग अन्तर्गतका खेलकुद केन्द्रहरू, स्विमिङ पुलहरू र वेटल्याण्ड पार्कहरू लगायतका मनोरञ्जन र सांस्कृतिक सुविधाहरू सर्वसाधारणका लागि निःशुल्क खुला हुनेछन्।  यसबाहेक विज्ञान सङ्ग्रहालय र अन्तरिक्ष सङ्ग्रहालयका स्थायी प्रदर्शनीहरू, सांस्कृतिक र कला सङ्ग्रहालयका विशेष प्रदर्शनीहरू, र M+ सङ्ग्रहालयका सबै प्रदर्शनीहरू र प्यालेस सङ्ग्रहालयका सातवटा प्रदर्शनी हलहरूमा पनि प्रवेश  नि:शुल्क गरिनेछ । यसका अलावा हङकङका १२ वटा ऐतिहासिक भवनहरूका लागि गाइडेड भ्रमणको व्यवस्था गरिनेछ र वेटल्याण्ड पार्कहरू निःशुल्क खुला हुनेछन्। त्यहाँ नि: शुल्क कार्यशालाहरू र विद्यमान  सेवाहरु परिस्कृत रूपमा उपलब्ध गराइने छ ।

सार्वजनिक यातायातको सन्दर्भमा निम्न फेरि रुटहरु जुलाई १ तारीखका दिन निशुल्क हुनेछन् – सेन्ट्रलदेखि हुङ हम, चुन मुनदेखि ताइ ओ र नर्थ पोइन्टदेखि क्वुन तङ ।
स्टार फेरी अन्तर्गतको चिम शा चुइदेखि वान चाइको मार्ग र हङकङको वाटर ट्याक्सी सेवा पनि निःशुल्क हुनेछ।
यसबाहेक ट्राम सेवा पनि जुलाई १ देखि लगातार पाँच दिन निःशुल्क हुनेछ । जुलाई महिनाभरी कृषि, मत्स्यपालन र संरक्षण विभागले आफ्ना केहि निश्चित उत्पादनहरूमा ७१% सम्म छुट दिनेछ। र “ग्रीन इन डिस्ट्रीक्ट” ले रिसाइकल वा खाद्य सम्बन्धि फोहोरको रिसाइकलमा भाग लिनेलाई अतिरिक्त रिवार्ड पोइन्ट प्रदान गर्नेछ। जुलाई १ तारीखदेखि लगातार सात दिन सम्म तरकारी बजार संगठन (भेजिटेबल मार्केटिङ अर्गनाइजेसन) र मत्स्य पालन संगठन (फिसरिज मार्केटिङ अर्गनाइजेसन) अन्तर्गतका स्टलबाट लगातार सात दिनसम्म विशेष उत्पादन खरिद गर्ने ग्राहकले ७१% सम्म छुट पाउनेछन्।  एक हजार भन्दा बढी रेस्टुरेन्टहरूले तोकिएको परिकार वा खानामा ७१% सम्म छुट दिनेछन्।

वेस्ट काउलुन कल्चरल डिस्ट्रिक्ट अथोरिटीले बताए अनुसार  जुलाई १ मा M+ सङ्ग्रहालय भ्रमण गर्ने योजनामा ​​रहेका आगन्तुकहरूले अग्रिम बुक गर्न आवश्यक छैन । प्यालेस म्युजियममा भ्रमण गर्न चाहने आगन्तुकहरूले २१ जुन उप्रान्त “फ्री स्ट्यान्डर्ड टिकट” आरक्षित गर्न सक्छन्। जसले  M+ म्युजियम वा प्यालेस म्युजियमका लागि स्ट्यान्डर्ड टिकटहरू खरिद गरिसकेका छ्न उनीहरुलाई टिकेटिङ प्लेटफर्मले कसरी आफ्नो पैसा फिर्ता लिने र प्रवेश प्रबन्ध कसरी मिलाइन्छ भन्नेबारे व्याख्या गर्न खरिदकर्तालाई सम्पर्क गर्नेछ।

तपाईको प्रतिक्रिया