क्रान्ति सुब्बा / हङकङ ।

जुन १८ तारीख आइतबार हङकङको वेस्टर्न डिस्ट्रिक्टको साइ वान क्षेत्रको ४८४-४८६ क्वीन्स रोड , सन अन बिल्डिङमा रहेको म्याकडोनल्ड्स रेष्टुरेन्टमा कार्यरत वङ वुत-सान नामका एक ३८ वर्षीय पुरुष म्यानेजर र त्यहीँ काम गर्ने चान चि- सिङ नामका एक २९ वर्षीय पुरुष सहकर्मी बीच झगडा परेको खबर प्रहरीले करिब दिउँसो ३ बजे तिर प्राप्त गरेको थियो । चानले दौडिएर छेउको मासु पसलबाट चक्कु उठाए र फर्केर म्यानेजर वङ माथी त्यही चक्कुले प्रहार गरेका थिए । त्यसपछि आक्रमणकारी घटनास्थलबाट फरार भएका थिए । घटनाको अनुसन्धान गर्न केही समयपछि प्रहरी अधिकारीहरू त्यहाँ पुगेका थिए।

रिपोर्टका अनुसार यो फास्ट फुड रेस्टुरेन्टमा ती आक्रमणकारी भर्खरै भर्ना भएका नयाँ कर्मचारी हुन। काम गर्न थालेको केहि दिन पनि नबित्दै ती पुरुष आक्रमणकारी र म्यानेजर बीच  जुन १८ तारीखका दिन दिउँसो २:२८ बजे भनाभन भएको थियो । त्यसपछि ती व्यक्ति रेस्टुरेन्टबाट बाहिर निस्केर करिब २० मिटर टाढा क्विन्स रोड वेस्टमा रहेको सुँगुरको मासु बेच्ने पसलबाट  हत्तपत्त दुई वटा चक्कु उठाएर घटनास्थल तर्फ फर्किए र   म्यानेजरलाई त्यही चक्कुले आक्रमण गरेका थिए ।

घटना भएको समयमा त्यहाँ एउटा बच्चाको जन्मदिन मनाउने काम भैरहेको थियोे र धेरै जना अभिभावकहरु जम्मा भएका थिए र  छुरा प्रहार भएको धेरैले  देखेका थिए। वयस्क र केटाकेटीहरू डराएर आतंकित हुदै  घटनास्थलबाट भागेका थिए।

मासु पसलका मालिक वङले आफू त्यतिबेला पसलमा  नभएको र उनकी श्रीमती पसलमा रहेकोे बताएका थिए। पसलको बाहिर पट्टी  तीनवटा चक्कु राखिएको थियो र शंकास्पद व्यक्तिले आफ्नी श्रीमतीको आँखा छलेर दुई वटा चक्कु उठाएर लगेको  हुन सक्ने आशंका गरिएको थियो ।

प्रहरीले आक्रमणकारीको खोजी सुरु गरेको थियो र घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको डेस भोक्स रोड वेस्ट र चिउ क्वोङ स्ट्रिटको चौराहा नजिकै दस मिनेट पछि चान लाई पक्राउ गरेको थियो। ऊनी भागेको बाटोमा राखिएको सुरक्षा क्यामेराको माध्यमबाट उनलाई पक्राउ गरिएको थियो । गस्तीमा रहेका र एन्टि टेरोरिजम युनिटका प्रहरीले उनलाई समतेको थियो । अनुसन्धानको लागि उनलाई  वेस्टर्न पुलिस स्टेसनको हिरासतमा राखिएको थियो ।  म्याकडोनल्ड्स कम्पनीले स्तब्ध हुदै दुःखका साथ घाइते कर्मचारीप्रति गहिरो समवेदना व्यक्त गरेको थियो । कम्पनीले पीडित र तिनका परिवारलाई सबै किसिमका  आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको थियो  ।

पीडित वङलाई होस मै रहेको अवस्थामा उपचारका लागि क्वीन मेरी अस्पताल लगिएको थियो । उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो  र उनको अवस्था गम्भीर थियो  । अनलाइनमा शेयर गरिएको एक भिडियोमा रगतले टाउको र शरीरको माथिल्लो भाग ढाकेको थियो र भेस्ट लगाएका एक मसलदार मान्छेले  उनलाई पछाडिबाट समातेको देखिएको थियो  ।

म्याकडोनल्ड्सको यो शाखामा करिब एक वर्षदेखि काम गरिरहेकी एक महिला कर्मचारीले बताए अनुसार आक्रमणमा परेका म्यानेजर बास्तबमा सबैले  मन पराएका व्यक्ति थिए  र  सहकर्मीहरूसँगको उनको सम्बन्ध पनि राम्रो भएको उनले बताइन्।
उनले ती आक्रमणकारी कर्मचारी रेस्टुरेन्टमा भर्खरै काम गर्न सुरु गरेको पनि उल्लेख गरिन। 
त्यहाँ काम गर्ने  धेरै सहकर्मीहरूले ती नयाँ कर्मचारीमा  पक्कै पनि मानसिक स्वास्थ्य सम्बन्धि केहि समस्या भएको महसुस गरेका थिए । अति सुस्त गतिमा काम गर्ने शैली र कसैसँग पनि घुलमिल हुन नसक्ने उनको स्वाभाव देखेर उनको व्यक्तित्वमा गडबडी भएको शंका गरिएको थियो । “ऊनी सधैं नबोली बस्दथे  र कोही पनि उसंग बोल्दैन थिए ,” उनले भनिन्। “ऊनी सुस्त र भुलक्कड थिए । “

स्थानीय मिडियासंग कुरा गर्ने यी महिला कर्मचारीले आक्रमणको दृश्य प्रत्यक्ष देखिनन तर उनी त्यतिबेला रेष्टुरेन्ट मै थिइन् । उक्त घटनाका कारण  रेस्टुरेन्टमा हंगामा मच्चिएको थियो । अस्तव्यस्तता कम भएपछि मात्र म्यानेजरलाई छुरा प्रहार गरिएको उनले थाहा पाइन् ।
उनले उक्त दृश्यलाई “धेरै अराजक” भनी वर्णन गरेकी थिइन् र म्यानेजरको टाउको र घाँटीमा चोट लागेको बताएकी थिइन्। त्यतिबेला होसमा भए पनि उनको चोटबाट अत्यधिक रक्तस्राव भएको थियो र कर्मचारीहरू निकै चिन्तित थिए। ‘हामी सबै निकै डराएका थियौं र रोइरहेका थियौं,’ उनले भनिन्।
प्रत्यक्षदर्शीका अनुसार यो म्याकडोनल्ड्समा केही दिनदेखि मात्र काम शुरु गरेका चानलाइ घटना घट्नु अघि अर्थात करिब दिउँसो २:२८ बजे काम राम्रोसंग नगरेकोमा म्यानेजर वङले उनलाइ गाली गरेका थिए । दुई जना सहकर्मीहरूबीच विवाद बढ्दै गयो र चान अचानक उत्तेजित भए। त्यसपछि ऊनी , नजिकैको  मासुको पसलमा गएर ३० सेन्टिमिटर लामो दुईवटा चक्कु लिएर आए र वङमाथि जाइलागे।

घटनापछिको भिडियो अनलाइनमा सार्वजनिक भएको थियो  । भिडियोमा पुरुष म्यानेजरलाई टाउको र घाँटीमा गम्भीर चोट लागेको, रगतले लतपतिएको र हातले घाँटी समातेको देखाइएको थियो । अन्य कर्मचारी र ग्राहकहरू सहायताको लागि चिच्याएको र स्तब्ध भएर रोएको सुनिन्थ्यो । म्यानेजरले शंकास्पद व्यक्तिलाई संकेत गर्दै “तिमीहरुले उसलाई किन जान दियौ?” भनेर सोधेको सुन्न सकिन्थ्यो ।

एउटी महिला कर्मचारी रोइरहेकी र चिच्याइरहेको सुन्न सुनिन्थ्यो। “बचाउ ! बचाउ ! एम्बुलेन्स कहाँ छ ?”

प्रहरीले घटनालाई गम्भीर आक्रमणको रूपमा वर्गीकृत गरेको छ र घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीले अनुसन्धानमा सहयोग पुग्ने कुनै पनि सूचना कसैसँग भए सार्वजनिक गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जुन १९

पीडितको टाउको र घाँटीमा चोट लागेको र टाउकोको हड्डी फुटेको थियो । उनको शल्यक्रिया गरिए पछि उनको उपचार  क्वीन मेरी अस्पतालको सघन उपचार कक्ष ( आइसियु ) मा भैरहेको थियो ।

पीडितको घाँटी र पछाडिको भागमा क्रमशः ८ सेन्टिमिटर र १० सेन्टीमिटर लामो चक्कुले काटेको चोट थियो । जुन १९ तारीख साँझसम्ममा उनी खतरामुक्त भैसकेका थिए ।

प्रहरीले जनाए अनुसार शंकास्पद व्यक्तिमा कुनै मानसिक रोग भएको इतिहास फेला परेको छैन। घटनाबारे थप अनुसन्धानका गर्ने जिम्मा वेस्टर्न डिस्ट्रीक्ट क्राइम स्वाडले लिएको छ।

जुन २०

संदिग्ध चानलाई जुन २० तारीख  पूर्वी मजिस्ट्रेटको अदालतमा उपस्थित गराइएको थियोे । अभियोजकले प्रहरीलाई आफ्नो अनुसन्धानलाई पुरा गर्न थप समय लाग्ने भएकोले  १५ अगस्टसम्मका लागि मुद्दा स्थगन गर्न निवेदन दिएका थिए। यस अवधिमा प्रतिवादीलाई  थुनामा राखिनेछ।

तपाईको प्रतिक्रिया