धरान/ गत शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा धरान संगीत प्रतिष्ठानले विश्व संगीत दिवसको अवसरमा आयोजित “सिलेब्रेटिंग वर्ल्ड म्युजिक डे २०२३ ” कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरेको छ। धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रमेश राई, प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, तथा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गायक दिप श्रेष्ठको हातबाट गीत-संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै वरिष्ठ गायिका लोचन भट्टराई, गायिका हर्षु राईलाई सम्मान तथा गाउँ गाउँबाट उठ लगायत थुप्रै कालजयी गीतका सर्जक वरिष्ठ गीतकार तथा संगीतकार श्याम तमोटलाई अभिनन्दन गरेका थिए।धरानकी गायिका लोचन भट्टराईले आफुले अहिलेसम्म पाएको १३५ वटा अवार्ड ,सम्मान भन्दा पनि आफ्नो घरको यो सम्मानले जीवनकै उल्लेखनीय सम्मान भएको बताउदै आफ्ना चर्चित गीतहरु टाढा -टाढा नभई जाउ तिमी , माया गर्नेको , गरिबको चमेली , खोटांग जिल्ला लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन्।त्यस्तै वरिष्ठ गायक दिप श्रेष्ठले साहिली बरी , मेरो आँखामा , हुँ यात्री म एउटा लगायतका चर्चित गीतहरु गाएका थिए। दुवैले मेयर साम्पाङ्गको खुलेर प्रशंशा गरेका थिए।धरानको गीत, संगीतको क्षेत्रको उत्थानको लागि आवश्यक सहयोग गर्ने बताएका मेयर हर्क साम्पाङले हाम्रो धर्ती हाम्रो आकाश बोलको गीत प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुले समेत गीत प्रस्तुत गरेका थिए ।
। प्रतिष्ठानका अध्यक्ष राईले संस्थाको संरक्षक धरान उप- महानगरपालिकाका मेयर रहने व्यवस्था गरिएको जानकारी दिदै गीत, संगीतको विकासको लागि उपमहानगरपालिकाबाट आवश्यक बजेट विनियोजना गरिदिन आग्रह पनि गरेका थिए ।सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया