बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका तीन जना सांसदले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणासहित मुख्यमन्त्री राईविरुद्ध गरिएको हस्ताक्षर फिर्ता लिएका हुन् ।

प्रचण्ड–माधव समूहको दवावमा आइ प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिने निर्णय गरेका हुन् । तीन सांसदको यो निर्णयसँगै प्रदेश १ मा अब प्रचण्ड माधव समूह निकै कमजोर बनेको छ ।

सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी चुनावको घोषणा गरेसँगै पार्टीबाटै अलग भएर गएको सो समूहले ओलीनिकट मुख्यमन्त्री राईविरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको थियो । अबिश्वास प्रस्तावमा नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए ।

यसअघिनै बसन्ती यादव र कला घलेले हस्ताक्षर फिर्ता गरिसकेका छन् । शेरधनविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ५ जना सांसदले फिर्ता लिएपछि अब नेकपा प्रदेशसभा संसदीय दलमा मुख्यमन्त्री राई बहुमतमा पुगेका छन् ।

भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ६६ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३२ सांसद रहेका छन् भने विपक्षमा ३४ सांसद पुगेका छन् ।

तर, दुवै पक्षले अविश्‍वासको प्रस्ताव पारित गराउन वा सरकारको समर्थनका लागि कांग्रेसको साथ लिनुपर्ने भएको छ।

 

तपाईको प्रतिक्रिया