काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओली तानाशाह बन्न खोजेको उनको आरोप छ ।

गणेशमान सिंह तथा स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै नेता सिटौलाले संविधान विपरीतको कदम चाल्नेले निर्वाचन गरेर देशलाई ट्रयाकमा ल्याउने विश्वास आफूलाई नलागेको बताए ।

संविधानमै नभएको संसद विघटनको कदमले प्रधानमन्त्री ओलीलाई तानाशाही बनाएको भन्दै सिटौलाले संविधान नै कब्जा गर्नेले कस्तो निर्वाचन गर्लान् भनेर प्रश्न गरे ।

आफू संविधान मस्यौदा समितिमा सभापति रहँदाको स्मरण गर्दै सिटौलाले संविधान बनाउँदा नै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको बताए ।

संसद विघटनको क्रमले नेपालमा संसदीय व्यवस्थालाई बदनाम गराएको आरोप लागेकै कारण अहिलेको संविधानमा प्रधानमन्त्रीले विघटन गर्ने प्रावधान नराखिएको उनले अनुभव सुनाए ।

नेता सिटौलाले नेकपाको घर झगडाको कारण मुलुक बन्धक बन्न नहुने पनि बताए ।

तपाईको प्रतिक्रिया