धरान । डेङ्गु रोगको महामारीले ग्रस्त धरानेहरुको सुबिधाको लागि सुनसरी उद्योग वाणिज्य संघले आफ्नै हलमा सुरु गरेको निशूल्क डेङ्गु शिविरमा काठमाडौँमा रहेका धरानेहरुको संस्था हामी धराने काठमाडौँले डेङ्गु परिक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् ।

भर्खरै स्थापित “हामी धराने काठमाडौँ ” संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी तथा किट सहयोग गरेको हो । संस्थाले ६ सय ५० डेङ्गु परिक्षण किट सहित सिटामोटल , स्लाइन लगायत डेङ्गु संक्रमितहरुलाई आवश्यक औषधी सहयोग गरेको हो ।

संस्थाका सचिव विनोद श्रेष्ठको नेतृत्वमा रोजेश शाक्य, पुजन न्यौपाने , पुनम प्रधान लगायतको ४ सदस्य टोलीले सुनसरी उद्योग वाणिज्य संघमा संचालित शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेको थियो । हामी धराने काठमाडौँको नेतृत्वको टोलीले संघका अध्यक्ष विजय श्रेष्ठ,पुर्व अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरेको थियो ।

धरानमा फैलिएको यो महामारीमा हामी धराने , काठमाडौँका संयोजक राजेन्द्र श्रेष्ठ (गणेश वनेपालि) र सदस्य संगम श्रेष्ठको नेतृत्वमा काठमाडौमा रहेका धरानेहरुसँग सहयोग संकलन अभियान सुरु गरी किट तथा औषधी खरिद गरी धरान लिएर आएको र आपत विपतको समयमा मात्र नभई धरानको विकास निर्माण समेत आफूहरु सदैव धरानको साथमा रहेका संस्थाका सचिव विनोद श्रेष्ठले बताए । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धरानले संस्था संगै काठमाडौमा रहेको सहयोगी धरानेहरुलाई धन्यवाद दिंदै भबिष्यमा पनि यसरी नै साथ तथा सहयोगको अपेक्षा रहेको बताए ।

तपाईको प्रतिक्रिया